खेलकुदबिहिबार, २ आश्विन , २०७६

सागमा पहिलाे पटक फेन्सिङः नेपालकाे कमजाेर तयारी

निरञ्जन राजवंशी

१३औं दक्षिण एशियाली खेलकुद (साग) मा नयाँ खेल फेन्सिङ (तरबारबाजी) ले प्रवेश पाउँदैछ । तरबारले विपक्षी विरुद्ध आक्रमण गरी अंक बटुल्ने खेल फेन्सिङ हो । साग गेम्समा पहिलो पटक समावेश गरिए पनि यसको इतिहास निकै पुरानो छ ।

सन् १८९६ मा आधुनिक ओलम्पिक खेल प्रारम्भ हुँदा फेन्सिङ पनि समावेश थियो । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका वर्तमान अध्यक्ष थोमस बाच फेन्सिङका पदकधारी ओलम्पियन नै हुन् ।

तर दक्षिण एशियाको लागि भने फेन्सिङ नयाँ हो । भारतमा यो खेलले व्यापकता पाइसकेको छ । पाकिस्तान, बाङ्लादेश र श्रीलंकामा फेन्सिङ भित्रिएको लामो समय भएको छैन । भूटान र माल्दिभ्समा त शुरु नै भएको छैन ।

नेपालमा फेन्सिङ संघले राष्ट्रिय अन्तर्राष्ट्रिय गतिविधि उल्लेख्य मात्रामा गरे पनि चर्चा पाएको छैन । सागमा फेन्सिङ पहिलो पटक समावेश गरिएपछि यसका पदाधिकारी उत्साहित छन् । नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठ भन्छन्, “१३औं सागपछि फेन्सिङका दर्शक पनि बढ्नेछन्, अब यसले दक्षिण एशियामा पनि जरो गाड्ने छ ।”

नेपालमा फेन्सिङ

नेपाल फेन्सिङ संघको स्थापना सन् २०१० मा भएको हो । त्यसको चार वर्षपछि राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भयो । संघलाई अन्तर्राष्ट्रिय फेन्सिङ महासंघ र एशियाली फेन्सिङ महासंघबाट स्वीकृति प्राप्त छ ।

संघले स्थापनाको ९ वर्षमा चारवटा राष्ट्रिय प्रतियोगिता गरिसकेको छ । त्यस्तै इटालीमा भएको वल्र्ड च्याम्पियनसिप, रूसमा भएको जुनियर वल्र्ड च्याम्पियनसिप, थाइल्याण्डमा भएको जुनियर क्याडेड च्याम्पियनसिप, चीनमा भएको एशियन युथ गेम्स र साफ च्याम्पियनसिपमा नेपालले भाग लिइसकेको छ । नेपाली खेलाडीले सन् २०१४ र २०१८ गरी दुई वटा एशियाली खेलकुदमा पनि सहभागिता जनाएका थिए । भारतमा भएको साफ च्याम्पियनसिपमा नेपालले १२ वटा काँस्य पदक जितेको थियो ।

गत वर्ष नेपालगञ्जमा भएको आठौं बृहत् राष्ट्रिय खेलकुदमा पनि फेन्सिङ समावेश थियो । सोही प्रतियोगिताको आधारमा सागका लागि छनोट खेलाडी अहिले बन्द प्रशिक्षणमा छन् ।

तीन वटै विभागीय टोली त्रिभुवन आर्मी, नेपाल पुलिस र सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले फेन्सिङ खेलाडी भित्र्याएका छन् । काठमाडौं बाहेक पोखरा र इटहरीमा पनि प्रशिक्षण शुरु भएको छ । संघका महासचिव श्रेष्ठ भन्छन्, “अन्तर्राष्ट्रिय रुपमा यो खेल जति चर्चित छ नेपालमा छैन, माहोल नहुँदा फैलाउन चुनौती भोगिरहेका छौं ।” सहजै बुझ्न नसकिने हुनाले दर्शकमाझ यो खेलको परिचय बढाउन समय लाग्ने उनले बताए ।

फेन्सिङ खेल्न विशेष प्रकारको तरबार, पहिरन र खेलस्थल आवश्यक हुन्छ । नेपालमा खेल सामग्री र खेलस्थलको अभाव मुख्य चुनौती भएको महासचिव श्रेष्ठ बताउँछन् । खेलाडीले लगाउने विशेष पहिरन, मास्क तथा विद्युतीय सामग्री नेपालमा नपाउने प्रशिक्षक अभिषेक कार्की बताउँछन् । विदेशबाट मगाउँदा महङ्गो पर्छ ।

यो खेलले खेलाडीहरूलाई भने आकर्षित गर्न थालेको प्रशिक्षक कार्की बताउँछन् । उनी भन्छन्, “अहिले काठमाडौं बाहिर पनि प्रशिक्षण हुन थालेको छ । हामीले अन्तर्राष्ट्रिय महङ्खव बुझाउन सके फेन्सिङ तीव्र गतिमा फैलिन्छ ।” १३औं सागबाट नेपालमा यो खेलका दर्शक बढ्ने फेन्सिङ संघका पदाधिकारीको आशा छ ।

सागमा फेन्सिङ

दक्षिण एशियाली ओलम्पिक काउन्सिलले आगामी १५–२४ मंसीरमा हुने सागमा फेन्सिङ समावेश गर्ने निर्णय गरेको छ । प्रतियोगितामा भूटान र माल्दिभ्स बाहेक पाँच राष्ट्रका खेलाडीले १२ पदकका लागि प्रतिस्पर्धा गर्ने छन् ।

नेपालका महिला र पुरुष गरी दुई दर्जन खेलाडी बन्द प्रशिक्षणमा छन् । प्रशिक्षक कार्की भन्छन्, “फेन्सिङमा भारत अब्बल छ, हामी धेरै रजत पदक जित्ने उद्देश्यले तयारी गरिरहेका छौं ।”

नेपालभन्दा धेरैपछि मात्र फेन्सिङ खेल्न थालिएकाले पाकिस्तानको स्तर तलै रहेको उनको भनाइ छ । गत वर्ष बैंकक्मा भएको एशियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले श्रीलंका र बाङ्लादेशका खेलाडीलाई पराजित गरेका थिए ।

गत वर्ष नेपालगञ्जमा भएको आठौं बृहत् राष्ट्रिय खेलकुदमा पनि फेन्सिङ समावेश थियो । सोही प्रतियोगिताको आधारमा सागका लागि छनोट खेलाडी अहिले बन्द प्रशिक्षणमा छन् ।

फेन्सिङमा इपी, सोबर र फोयल गरी तीन विधामा प्रतिस्पर्धा हुन्छ । टीम स्पर्धामा नेपालले रजत जित्ने निश्चित जस्तै भएको कार्की बताउँछन् । अमित भण्डारी, पायोस योञ्जन, जलेन्द्र शाही, कमला श्रेष्ठ लगायत खेलाडीले व्यक्तिगतमा पनि राम्रो खेल्ने आशा गरेको उनले बताए । ल

पदाधिकारीको खर्चमा चल्छ संघ

 नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल श्रेष्ठ (तस्वीर) कार्गो व्यापारी हुन् । उनी सन् २०१० देखि लगतार ९ वर्ष अध्यक्ष छन् । यसबीच भएका दुई निर्वाचनमा उनी निर्विरोध अध्यक्ष भए । संघमा स्वयंसेवा गर्नुपर्ने हुँदा आफू निर्विरोध भएको उनी बताउँछन् ।

खेलको प्रायोजक पनि आकर्षक नभएकाले पदाधिकारीको आर्थिक सहयोगमा संघ चलिरहेको उनको भनाइ छ । अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्न र अन्तर्राष्ट्रिय सहभागिताका बेला आफूहरूले नै खर्च गर्ने उनी बताउँछन् ।

“राखेपमा दर्ता भएपछि भने वार्षिक रु.१ लाख अनुदान आउँछ, त्यति नै हो सहयोग” श्रेष्ठ भन्छन्, “हामीले शून्यबाट खेल अगाडि बढायौं । अहिले परिचय दिने अवस्थामा छौं । अब हामी विद्यालय खेलकुदमा केन्द्रित हुने अभियानमा छौं ।” १३औं सागपछि नेपाली खेलप्रेमीलाई फेन्सिङको परिचय दिइरहनु नपर्ने श्रेष्ठको भनाइ छ ।

नेपालमा हुने १३औं सागमा पहिलो पटक समावेश गरिएको फेन्सिङका १२ स्वर्णका लागि पाँच राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिकृया दिनुहोस