ब्लग बुधबार, असोज १, २०७६

सिंहदरबार निर्माणमा चन्द्रशमशेरको ‘हिनामिना’

भैरव रिसाल

निर्माणमा रु. ५० लाख पनि खर्च नभएको भनिएको सिंहदरबार चन्द्रशमशेरले नेपाल सरकारलाई रु. २ करोडमा बेचेका थिए।

२५ असार २०३० मा आगलागी हुनु अगाडिको सिंहदरबार ।

पाँचौं राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं. १९६० मा बनाउन लगाएको सिंहदरबार आज पनि देशको राजनीतिको केन्द्रविन्दु हो । संघीय गणतन्त्रात्मक शासन व्यवस्थाको नयाँ संरचना अनुसार प्रशासनिक अधिकार दूरदराजसम्म पुर्‍याउने आकांक्षा सहित ‘गाउँगाउँमा सिंहदरबार’ लैजाने भनिंदैछ ।   

सिंहदरबार बन्नु अघि त्यो ठाउँमा पानीघट्ट थियो रे, मकै/गहुँ आदि पिसाउने । १९५८ असारमा श्री ३ बनेका चन्द्रशमशेरले त्यसको दुई वर्षपछि विशाल दरबार तयार पार्न लगाएका थिए । त्यसपछि कोटिहोम, रुद्री जस्ता धार्मिक विधि गराई उनी थापाथली दरबार (सिंहमहल) बाट सिंहदरबार सरे रे ! उनले २८ वर्ष यही दरबारबाट राज्य चलाए ।

 अरू नपाएपछि सिंहदरबार

चन्द्रशमशेरले आफू श्री ३ हुनासाथ सिंहदरबार निर्माण गर्न लगाएको होइन रहेछ । पुरुषोत्तम शमशेरको पुस्तक ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ मा लेखिए अनुसार प्रधानमन्त्री भएपछि चन्द्रशमशेरले शुरूमा सेतो दरबार वा लालदरबार किन्न खोजेका रहेछन् ।

डिल्ली शमशेर थापा र माहिला पण्डित काशीनाथ आचार्य दीक्षितलाई भन्न पनि पठाएछन् । लालदरबारको हकमा तेज शमशेरले ‘महाराजलाई टक्य्राउन तयार छु, तर मेरो मुमाज्यूलाई कहाँ राखूँ’ भनेछन् । यता, सेतो दरबारबारे गेहेन्द्र शमशेरले ‘महाराज मैले मागेको मोल दिन सकिबक्सन्छ ?’ भनेर पठाएछन् ।

चन्द्रशमशेर । तस्वीर स्रोतः मदन पुरस्कार पुस्तकालय

त्यसपछि पनि अरू ठूला भवन किन्ने प्रयास केही समयसम्म चल्यो । हालको शङ्कर होटल भएको जित शमशेरको दरबार र रुद्र शमशेरको चारबुर्जा दरबार रु.६/६ लाखमा किन्न खोज्दा पनि मिलेनछ ।

त्यसैबीच इन्जिनियर कुमार नरसिंह र कर्णेल किशोर नरसिंह राणा लगायतले चन्द्रशमशेरलाई भनेछन्, “महाराज, यिनी सोझहरूको चित्त किन दुखाइबक्सन्छ । हुकुम भए वर्ष दिनमै लायकको नयाँ दरबार तयार पार्छौं ।” त्यसपछि मात्र सिंहदरबार निर्माणको प्रक्रिया अगाडि बढेछ ।

‘सिंहदरबार’ नाम कसरी रह्यो भन्नेबारे पनि रोचक प्रसङ्ग छ । ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ पुस्तक अनुसार, चन्द्रशमशेर आफ्नी जेठी बडामहारानी लोकभक्त लक्ष्मीदेवीसँग त्यो नयाँ दरबारको कौसीमा टहल्दै रहेछन् ।

उनले कौसीबाट बागदरबार औंल्याउँदै रानीलाई भनेछन् ‘ऊ बागदरबार ।’ तब लोकभक्त लक्ष्मीले ‘महाराज, त्यो बागदरबार हो भने यो दरबारलाई सिंहदरबार भन्न कसो होला ?’ चन्द्रशमशेरले मुसुक्क हाँस्दै ‘सिंहदरबार’ नाम राखिदिएछन् ।

 रु.२ करोडमा बिक्री

सिंहदरबार तयार भएपछि चन्द्रशमशेरले भारदारी सभा गठन गरी सभा समक्ष ‘अबदेखि जो श्री ३ महाराज हुन्छ ऊ यो सिंहदरबारमा बस्न पाउनेछ । तसर्थ यो दरबार मैले नेपाल सरकारलाई आजैदेखि बेचें’ भनेछन् ।

जङ्गबहादुरले प्रकोप आदिका कारण मुलुक सङ्कटमा परेमा प्रयोग गर्न भनी सरकारी ढुकुटी कौसीमा रु.११ करोड राखेका रहेछन् । त्यसबाट चन्द्रशमशेरले रु.२ करोड झिकेर लिएछन् ।

त्यतिवेला सिंहदरबार बन्न रु.५० लाख पनि खर्च भएको थिएन भनिन्छ । किनकि, कामदारको व्यवस्था र निर्माणमा लागेका धेरैजसो सामग्री निःशुल्क जुटाइएको थियो । काठको काम गर्ने सिकर्मी, गारोको काम गर्ने डकर्मीदेखि कुल्ली जस्ता सबै काम सैनिक, पुलिस, पिपा र कैदीहरूबाट गराइएछ ।

काठको व्यवस्था पनि काठमाडौं नजिकैको ‘छरिया जङ्गल’ बाट एक पैसा खर्च नगरी गरिएछ । चन्द्रशमशेरले कामदारहरूलाई वेलावेला राँगा र खसी काटेर भोज पनि खुवाउँदा रहेछन् ।

राणा शासनमा नौ जना प्रधानमन्त्री भए । चन्द्रशमशेरपछिका श्री ३ महाराजहरू भीमशमशेर, जुद्धशमशेर, पद्मशमशेर र मोहनशमशेर सबैले यही सिंहदरबारबाटै राजपाठ चलाए ।

ऐतिहासिक महत्वको सिंहदरबारमा २५ असार २०३० मा भने विपत् आइपर्‍यो । त्यो दिन भीषण आगलागी भएर ७० वर्षअघिको वास्तुकला ध्वस्त भयो, अग्रभाग मात्र बचाउन सकियो । परराष्ट्र मन्त्रालयसँग सम्बन्धित महत्वपूर्ण कागजात जलेर नष्ट भए । दूरसञ्चारको पूर्वाधार जोगाउन सरकारले परराष्ट्र मन्त्रालयको कबलमा बम पड्काएर संभावित क्षति रोकेको थियो ।

१२ वैशाख २०७२ को भूकम्पले सिंहदरबारलाई फेरि धक्का दियो । भूकम्पले दरबार नढाले पनि पश्चिमी मोहडा नराम्रोसँग चर्कायो । नयाँ बनाउने वा प्रबलीकरण (रेट्रोफिटिङ) गर्ने भन्ने दुई विकल्पमा छलफल चल्यो । अन्ततः प्रबलीकरण गर्ने निष्कर्ष अनुसार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८.८ रेक्टर स्केलको भूकम्पले पनि असर नगर्ने डिजाइन बनाएर काम गरिरहेको छ । 

फर्केर हेर्दा विगत ११६ वर्षयताको सिंहदरबारको परिवर्तित तस्वीर रोचक लाग्छ । पानीघट्ट घुमेर एउटा युगको प्रतिनिधित्व गर्ने त्यो भूखण्ड अहिले अत्याधुनिक सञ्चार सुविधा सम्पन्न भएर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उपचारका लागि सिङ्गापुरमा छँदै सिंहदरबार हाँके । युग कसरी बदलियो !

प्रतिकृया दिनुहोस