रिपोर्टसोमबार, ३० भाद्र , २०७६

नदी उठ्यो, बस्ती सर्‍यो

गोपाल गडतौला

झापाको शिवसतासी नगरपालिका–१ का सटक माझी (४८) सँग कुनै बेला मनग्गे अन्न उब्जिने डेढ बिघा खेत थियो । तर, अहिले दुई कट्ठा मात्र बाँकी छ । बाँकी जमीन बाढीसँगै बगेर आउने माटो र बालुवा थुप्रिएर बगर बनेको छ ।

कमल खोला किनारस्थित घरमा सटक माझी ।

“कुनै बेला यही खेतमा फलेको धान, मकै राँगा गाडीमा लोड गरेर बेच्न लैजान्थें; अचेल रक्सी बेचेर घरखर्च टार्दैछु”, बगर भइसकेको खेतको लालपुर्जा देखाउँदै सटक भन्छन् । हाल कमल खोलाको मूल भँगालो बगिरहेको ठाउँमा पाँच वर्ष अघिसम्म उनको घर थियो । खोलाले जमीन बगाउन थालेदेखि पाँच वर्षमा उनले तेस्रोपटक घर सारिसकेका छन् ।

सटकका भाइ मदन माझी (३५) ले पनि ६ वर्षभित्र दुई ठाउँमा घर सारिसकेका छन् । उनको पनि एक बिघा जमीन मध्ये तीन कट्ठा मात्र बचेको छ । अरू जमीनमा बालुवा थुप्रिएको छ । दुई माझी दाजुभाइ मात्र होइन, यतिबेला कमल खोला किनारमा बसोबास गरिरहेका माझी बस्तीका ४० घरको यही हालत छ ।

निरन्तर क्षति

पूर्व–पश्चिम राजमार्गको झपा खण्डबाट करीब तीन किलोमिटर उत्तर चुरेको फेदी पर्छ । चुरे क्षेत्रको वन विनाश हुँदा भएको भूक्षयले खोलाको सतह उकास्दै लगेको छ । प्रत्येक वर्ष यहाँका खोलाको सतह औसत तीन इञ्चभन्दा बढीको दरले उठिरहेको सिंचाइ मन्त्रालय अन्तर्गतको ‘जनताको तटबन्ध कार्यक्रम’ का इन्जिनियर रूपनारायण अधिकारी बताउँछन् । “चुरेको वन विनाश र भूक्षय रोक्न नसक्नु चुरे दक्षिणको नदी किनारका बस्ती असुरक्षित बन्नुको एक मात्र कारण हो”, उनी भन्छन् । 

 चुरे क्षेत्रको जङ्गलका रूख ढालिएपछि बगेका जरा र ठुटाले कनकाई नदीस्थित ‘कनकाइ सिंचाइ आयोजना’ को मूल नहरको हेडबक्सको धेरै भाग वर्षायाममा थुनिने गरेको छ ।

आयोजनाका अधिकारी यो समस्या समाधान गर्न भूक्षय रोक्नुपर्ने र खोलाको सतह बढ्न नदिन तल्लो भागमा थुप्रिने माटो र बालुवा निरन्तर झिकिरहनुपर्ने बताउँछन् । तर, राजमार्ग दक्षिणको नदी, खोलाबाट यस्ता सामग्री झिकिएको पाइँदैन । जिल्ला प्रशासन कार्यालयका अनुसार, गत असारमा मात्र झपाका ती पाँच खोला किनारबाट ४५ घरपरिवार विस्थापित भएका छन् ।

बाढीसँगै बग्यो लगानी

सरकारले झपामा ‘जनताको तटबन्ध कार्यक्रम’ २०६४ सालमा शुरू गरेको हो । यो कार्यक्रम अन्तर्गत रतुवा, मावा, कमल, कनकाई, विरिङ र मेची नदीको तटबन्ध पर्छन् । भारतीय सीमा क्षेत्रसम्मको नदी किनारको तटबन्ध (कुल ३०३.६६ किलोमिटर) को लागि रु.१९ अर्ब २६ करोड ९ लाख २२ हजार लागत अनुमान गरिएको थियो । उक्त तटबन्ध कहिलेसम्ममा निर्माण गरिसक्ने भन्ने मिति भने तोकिएको छैन ।

समयावधि नतोकिएकै छुट पाएर हुनसक्छ, कच्ची तटबन्ध बनाउन थालेको ११ वर्षमा कार्यक्रमले हालसम्ममा झापाका पाँच वटा खोलामा ७६.५६ किलोमिटर कच्ची तटबन्ध मात्र निर्माण गरिएको छ । यो कुल कामको करीब २३ प्रतिशत मात्र हो । यही गतिले काम सक्न कम्तीमा ७० वर्ष लाग्ने देखिन्छ ।

त्यसो त समयमा काम नसकिनुमा बजेट पनि जिम्मेवार छ । गत आर्थिक वर्ष २०७५/७६ मा रु.३७ करोड २७ लाख बजेट भएको उक्त कार्यक्रमको लागि चालु आर्थिक वर्ष २०७६/७७ को लागि सरकारले रु.१२ करोड छुट्याएको छ ।

चुरेबाट वर्षेनि माटो र बालुवा बगेर आउने क्रम नरोकिएका कारण यस्तो कच्ची तटबन्ध कैयौं ठाउँमा भत्किएको छ । झपाका यी पाँचवटा नदीको बगर मात्र करीब दुईलाख हेक्टर रहेको ‘जनताको तटबन्ध कार्यक्रम’ का अधिकारीहरू बताउँछन् ।

 

प्रतिकृया दिनुहोस