रिपोर्टआइतबार, २९ भाद्र , २०७६

किन बढ्दै छ बालबालिकामा बेचैनी?

नुनुता राई

 सन्दर्भ : बाल दिवस

छोरीले पहिले भन्दा अर्कै व्यवहार देखाउन थालेपछि  काठमाडौं सुकेधाराकी कमला थापा चिन्तित भइन् । नौ वर्षीया छोरी निद्रामा झक्किने, बेलाबेला एकोहोरिने, केही सोध्दा झर्किने गरेपछि उनले एक साताअघि मनोचिकित्सककहाँ लगिन् । चिकित्सकले मानसिक स्वास्थ्य समस्या ‘डिप्रेसन’ को लक्षण देखिएको बताएको कमला सुनाउँछिन् ।

बाल मानसिक रोग विशेषज्ञ डा.अरुण कुँवर युवावस्थामा बढी देखिने डिप्रेसन पछिल्लो समय बालबालिकामा पनि देखिन थालेको बताउँछन् ।

डा.कुँवरका अनुसार, सात/आठ वर्षका बालबालिकालाई डिप्रेसनले सताउनु निकै खतरा हुन्छ । “किशोरावस्था र त्यसमाथिका उमेरले आफूलाई भएको कुरा बताउन सक्छन् र उनीहरूको अनुहारको उदासीबाट पनि समस्या थाहा पाउन सकिन्छ । तर बालबालिकामा त्यस्तो नहुने भएकाले बढी सचेत हुनुपर्छ”, उनी भन्छन् ।

वयस्क मानिसमा जस्तै बालबालिकामा देखिने डिप्रेसन पनि उपचारपछि ठीक हुने डा.कुँवर बताउँछन् ।

 परिवार र विद्यालयले बाटो बिराउँदा

चिकित्सकहरूका अनुसार, तनाव बढी भयो भने मानसिक स्वास्थ्य समस्या हुन्छ । बालबालिकामा मानसिक समस्या बढ्नुमा पारिवारिक कलह, अभिभावकको बेवास्ता र आवश्यकता भन्दा बढी नियन्त्रण, विद्यालयले दिने सजाय, बुलिङ जस्ता कारण प्रमुख छन् ।

हुन पनि, आजका बालबालिका तनावै तनावले घेरिएका छन् । घरदेखि विद्यालयसम्म अनेक नियम–कानून र दबाब झेल्दै उमेरले नधान्ने बोझ् बोक्न बाध्य बालबालिका नजानिंदो रूपमा तनावको शिकार हुन थाल्छन् ।

बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढ्नुमा परिवारसँगै विद्यालय र समाज पनि उत्तिकै जिम्मेवार रहेको विद्यालय मनोविद् मधुविलास खनाल बताउँछन् । उनको भनाइमा विद्यालयमा जीवन बाँच्ने कला भन्दा पनि बालबालिकालाई अस्वस्थ प्रतिस्पर्धाको लागि दबाब दिइँदा उनीहरू मानसिक भार बोक्न बाध्य हुन्छन् ।

खनाल भन्छन्, “धेरै नम्बर ल्याउनु नै अब्बल र सफल तथा थोरै नम्बर ल्याउनु काम नलाग्ने हुनु हो भन्ने शिक्षा पद्घति र शैक्षिक अभ्यासका कारण हाम्रा बालबालिकामा तनावको बीजारोपण भएर मानसिक स्वास्थ्य समस्या शुरू भइरहेको छ ।”

हुन पनि, आजका बालबालिका तनावै तनावले घेरिएका छन् । घरदेखि विद्यालयसम्म अनेक नियम–कानून र दबाब झेल्दै उमेरले नधान्ने बोझ् बोक्न बाध्य बालबालिका नजानिंदो रूपमा तनावको शिकार हुन थाल्छन्।

किताबी ज्ञानमा मात्रै जोड दिने परिपाटीका कारण बालबालिकाले विद्यालयमा दैनिक ६–७ घण्टा बिताएर पनि घरमा अङ्क र अक्षरकै संसारमा बाँधिनुपर्ने हुन्छ । एकातिर विद्यालयले दिएको गृहकार्य थेगिनसक्नुको हुन्छ, अर्कातिर अभिभावकले पनि बच्चाहरूले हरबखत किताब समाएको देख्न चाहन्छन् ।

त्यस कारण बालबालिकाहरूले शारीरिक र मानसिक विकासको लागि अपरिहार्य हुने खेल र मनोरञ्जनका लागि समय नै पाउँदैनन् । बालबालिकाहरू कलिलो ज्यान लच्किने गरी गह्रुङ्गो झाेला बोकेर विद्यालय जान्छन्, जहाँ उनीहरूले बाल मनोविज्ञान अनुकूल वातावरण र सिकाइको साटो मानसिक सास्ती पाउँछन् ।

अनुशासनको नाममा विद्यालयहरूले लागू गर्ने कठोर नियमले बच्चाहरू प्रताडित हुने विद्यालय मनोविद् खनाल बताउँछन् । अक्षर राम्रो हुनुपर्ने, बालकले छोटो कपाल काट्नुपर्ने, बालिकाले दुईपट्टि कपाल बाट्नुपर्ने, गृहकार्य दुरुस्त बुझाउनुपर्ने र यी नियम पालना नगरे बालबालिकाले सजायको भागिदार बन्नुपर्छ ।

बाल मानसिक रोग विशेषज्ञ डा.कुँवर विद्यालयले बालबालिकालाई अनावश्यक मानसिक भार दिंदा कलिलो मगजमा गहिरो असर पर्ने बताउँछन् । एउटा उदाहरण दिंदै उनी भन्छन्, “एक बालकको कपाल अलिकति लामो देखेपछि शिक्षकले किन नकाटेको भनेर स्कूलमै काटिदिएछन् । त्यसपछि त्यो बालक स्कूल जानै मानेको छैन ।”

विद्यालय मनोविद् खनाल पनि विद्यालयले बालबालिकालाई अप्ठ्यारो होइन, सहज वातावरण बनाइदिनुपर्ने बताउँछन् । विद्यालय बालमैत्री हुनुपर्नेमा गल्ती गर्दा कडा दण्ड–सजाय दिने, जटिल नियम ल्याएर बालबालिका र अभिभावकलाई सकस दिने प्रवृत्ति देखिनु विडम्बना भएको उनको चिन्ता छ ।

उनी भन्छन्, “अक्षर बुझ्नका लागि हो, सफा र बुझिने गरी लेख्न सिकाउनुपर्छ । तर हाम्रा विद्यालयमा अक्षर नराम्रो भएकै निहुँमा मरणासन्न हुने गरी कुटिएका घटना पनि छन् ।”

अर्कातिर, घरको वातावरण र हुर्काइको शैलीका कारण पनि बालबालिकामा मानसिक समस्या बढ्दो छ । सूचना–प्रविधिको सहज पहुँचसँगै अहिले घरघरमा बच्चाको हातमा मोबाइल फोन, ट्याब वा ल्यापटप कम्प्युटर थमाइँदा उनीहरू यी वस्तुको लतमा फसेका छन् ।

समस्या ‘डिजिटल एडिक्सन’

अभिभावकले बच्चालाई पर्याप्त समय दिनेभन्दा अलमल्याउने सजिलो उपायका रूपमा मोबाइल, ट्याब लगायतका वस्तु दिने गरेका छन् । जसले गर्दा समयक्रममा ‘डिजिटल एडिक्सन’ का कारण उनीहरूमा विभिन्न शारीरिक र मानसिक समस्या बढिरहेको मनोविद्हरू औंल्याउँछन् । डिजिटल वस्तुतिर एकोहोरिंदा बालबालिकाहरू असामाजिक बनिरहेको पनि उनीहरूको चिन्ता छ ।

बालबालिकाहरू इन्टरनेट मार्फत विभिन्न गेमको अम्मली मात्र बन्दैनन्, पोर्नोग्राफीतिर जाने जोखिम पनि हुने भएकाले अभिभावक विशेष सजग हुनुपर्ने बाल मानसिक रोग विशेषज्ञ डा.कुँवर बताउँछन् । “बच्चाहरूले मोबाइल र ट्याब कति समय खेल्छन् भन्ने कुनै लेखाजोखा हुँदैन, जसले विस्तारै उनीहरूमा डिजिटल एडिक्सन हुन्छ र एक्लोपन बढाउँदै मानसिक रोगी बन्न पुग्छन् ।”

ललितपुर बस्ने विकास खड्काका १२ वर्षीय छोरा मोबाइलमा ‘काउन्टर स्ट्राइक’ गेम खेल्थे । मोबाइलको लतमा पर्दै गएपछि पढ्न, खान र सुत्न समेत छाडेर गेम खेल्ने, विद्यालय जान नमान्ने, वाईफाई अफ गरिदिंदा झ्गडा गर्ने  गर्न थालेपछि छोरालाई उनले मनोचिकित्सककहाँ पुर्‍याए ।

आफ्नै लापरबाहीका कारण छोरो डिजिटल एडिक्सनमा फसेकोमा पछुतो मान्छन्, उनी । “मोबाइल खेल्दा के नै बिग्रेला भनेर दियौं र वास्ता पनि गरेनौं, अहिले छुटाउन एकदम गाह्रो भइरहेको छ”, खड्का भन्छन् । उपचारको क्रममा रहेका छोरा पछिल्लो समय विद्यालय जान अलि सहज मान्न थालेको उनी सुनाउँछन् ।

मनोचिकित्सक डा.कपिलदेव उपाध्याय अभिभावकले नै आफ्ना बच्चालाई डिजिटल एडिक्सनमा धकेलिरहेको भन्दै उनीहरूलाई मोबाइल, ट्याब, भिडियो गेम जस्ता चीजबाट टाढा राख्न सुझाउँछन् । “अढाइ वर्षको बच्चाले मोबाइलमा आफैं भिडियो खोजेर हेर्न जान्दा मक्ख पर्ने आमाबुवाले समयक्रममा त्यो बच्चा फोनको लतमा पर्दा निम्तिने मानसिक समस्याबारे पहिले नै सावधान हुनुपर्छ”, उनी भन्छन् ।

बालबालिकालाई सूचना–प्रविधिको जञ्जालमा हराउन नदिन उनीहरूको साथी बन्ने कोशिश गर्दै गुणस्तरीय समय दिनुपर्ने डा.उपाध्यायको सुझाव छ । शारीरिक र मानसिक सबलीकरणमा सघाउने खेलकुद र सिर्जनशील कार्यमा बच्चाहरूसँग आफू पनि सहभागी हुने तथा परिवारभित्र र छरछिमेकका अन्य बालबालिकासँग घुलमिल गर्न प्रेरित गरेर सामाजिक सम्बन्ध विकसित गर्नुपर्ने उनी बताउँछन् । 

मानसिक तनावकै कारण बालबालिकाले सानै कुरामा प्रतिक्रिया जनाएर अनपेक्षित घटना हुने क्रम पछिल्लो समय देखिन थालेको छ । कतिपयले आत्महत्या गर्नेसम्मको कदम चाल्ने गरेकाले बालबालिकाको मानसिक स्वास्थ्यमा घरपरिवार, विद्यालय र राज्य संवेदनशील बन्नुपर्ने देखिएको छ।

बालबालिकामा डिप्रेसन, एन्जाइटी, अप्सेसिभ इम्पलसिभ डिसअर्डर (ओसीडी) लगायत मानसिक समस्या देखिने गरेको छ । डिप्रेसन भएका बालबालिका सामान्य कुरामै रिसाउने, झर्काे मान्ने, नियमित काममा अरुचि देखाउने जस्ता लक्षण देखिन्छन् भने एन्जाइटी भएमा विना कारण आत्तिने, डराउने, स्कूल जान नमान्ने हुन्छन् । यस्तै, तीन/चार वर्षको उमेरदेखि देखिन सक्ने ओसीडी भएका बालबालिकाले एउटै कुरा बारम्बार सोधिरहने, कुनै काम गर्न शुरू गरेपछि एकोहोरो गरिरहने गर्छन् ।

मानसिक तनावकै कारण बालबालिकाले सानै कुरामा प्रतिक्रिया जनाएर अनपेक्षित घटना हुने क्रम पछिल्लो समय देखिन थालेको छ । कतिपयले आत्महत्या गर्नेसम्मको कदम चाल्ने गरेकाले बालबालिकाको मानसिक स्वास्थ्यमा घरपरिवार, विद्यालय र राज्य संवेदनशील बन्नुपर्ने देखिएको छ ।

डरलाग्दो बाल आत्महत्या

बालबालिकाले आत्महत्या गर्ने क्रम पछिल्लो समय बढ्दै गएको नेपाल प्रहरीको तथ्याङ्कले देखाउँछ । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७०/७१ मा विष खाएर ५२, झुन्डिएर १८० र अन्य दुई जना गरी २३४ बालबालिकाले आत्महत्या गरेर ज्यान गुमाएका थिए । यो संख्या आव २०७५/७६ मा ४५९ छ । (हे. इन्फो)

बालबालिकाको आत्महत्या दर बढ्नुमा मानसिक तनाव, आत्महत्याबारे ज्ञान नहुनु, पारिवारिक घुर्की, गलत बुझाइ र देखासिकी प्रमुख कारण रहेको बाल मानसिक रोग विशेषज्ञ डा.अरुण कुँवर र विद्यालय मनोविद् मधुविलास खनाल बताउँछन् । सञ्चारमाध्यममा आउने आत्महत्याका समाचारहरूले पनि बालबालिकाको मनोभावमा नकारात्मक असर गर्ने खनाल बताउँछन् । “बालबालिकाहरूले आत्महत्याका घटना पढेर, सुनेर र देखेर समस्याको समाधान भनेको त आत्महत्या पो रहेछ भन्ने बुझाइका कारण त्यो बाटो रोजेको पाइन्छ”, उनी भन्छन् ।

गत साउनमा कञ्चनपुरको महेन्द्रनगरस्थित लिटिल बुद्ध कलेजमा कक्षा १२ मा पढ्ने सुरज लेखकले ‘शिक्षकले मानसिक तनाव दिएको’ भन्दै सुसाइड नोट लेखेर आत्महत्या गरे ।

बिरामी भएर कलेज नगएको दिन साथीहरूसँग होटलमा बसेको अवस्थामा शिक्षकले भेटेपछि लिखित रूपमा औंठाछाप गराएर भोलिदेखि नियमित आउन भनिएर उनलाई छाडिएको थियो । त्यसबारे कलेजले अभिभावकलाई पनि गुनासो गरेपछि बदनामी भएको सम्झिएर उनले ‘बुवालाई टेन्सन दिएर बाँच्न नसक्ने’ निर्णयमा पुगेको सुसाइड नोटमा उल्लेख गरेका थिए ।

यसरी सुसाइड नोट लेख्ने क्रम पनि पछिल्लो समय सञ्चारमाध्यमको समाचार प्रभाव र देखासिकीको उपज भएको डा.कुँवर बताउँछन् ।

कुनै चर्चित व्यक्तिले आत्महत्या गर्‍यो भने समाजमा आत्महत्याको दर बढ्ने उदाहरण दिंदै उनी सञ्चारमाध्यमले आत्महत्याको समाचार बनाउँदा व्यक्तित्वसँग जोडेर महिमा गाए जसरी प्रस्तुत गर्न नहुने सुझाउँछन् । “आत्महत्या समस्याको समाधान होइन वा उनले समयमै गुहार पाएको भए बाँच्थे, यसले परिवार र समाजमा गहिरो असर पर्‍यो भन्ने आशयका समाचार लेखिनुपर्छ”, उनी भन्छन् । 

बालबालिकामा आत्महत्यासम्मको सोच विकसित हुन नदिन उनीहरूलाई गर्नुपर्ने बालसुलभ व्यवहारबारे अभिभावकलाई मनोशिक्षा दिन सरकारले लगानी गर्नुपर्ने मनोविद्हरू बताउँछन् ।

प्रतिकृया दिनुहोस