व्यक्तित्वआइतबार, २९ भाद्र , २०७६

हक्की प्रशासक

सम्झना

विष्णु रिजाल

राजनीतिक नेतृत्वसँग राय बझाउने क्षमता र आँट नभएकाले नेपालको कर्मचारीतन्त्र कमजोर रहेको तर्क प्रशासनिक क्षेत्रमा बलियो छ । सन्तबहादुर राई भने अपवाद थिए । तीन दशक निजामती सेवामा रहँदा मन्त्रीले मौखिक अह्राएका मात्र होइन, तोक लगाएका कतिपय फाइलमा समेत ‘नियमानुसार नमिल्ने’ लेख्ने साहस राईसँग थियो ।

सन्तबहादुर राई (१९ कात्तिक १९९३–२३भदौ २०७६)

पूर्वी पहाडी जिल्ला संखुवासभामा जन्मिएका राईलाई २०१८ सालमा जागिर शुरु गर्दा जाजरकोट खटाइयो । त्यहाँको दुःख भोगेका कारण उनी हक्की स्वभावका भएको ठानिन्छ । दूरदराजका समस्याबारे भने उनी संवेदनशील थिए ।

शुरुआती दिनमा राईले जाजरकोट र तेह्रथुमका जिल्ला पञ्चायतमा काम गरे । उनी २०२६ सालमा पाँचथरको सिडिओ भए । त्यसपछि स्थानीय विकास विभागको उपमहानिर्देशक र महानिर्देशक बने ।

२०३८ सालमा अतिरिक्त सचिव, २०४१ सालमा आपूर्ति, २०४३ सालमा स्थानीय विकास र २०४४ सालमा आवास तथा भौतिक योजना मन्त्रालयमा सचिव भए । राई जनजाति समुदायबाट निजामती सेवामा विशिष्ट श्रेणीमा पुग्ने पहिलो व्यक्ति थिए ।

राईले लामो समय स्थानीय विकास मन्त्रालय अन्तर्गतका निकायमा बिताए । त्यसैले उनलाई स्थानीय विकासको अनुभव र ज्ञान थियो । कसैबाट सामान्य उपहार समेत लिंदैनथे । घरमा मान्छे नभेट्ने उनी समय नलिई आउनेसँगै कुरै गर्दैनथे । प्राप्त जिम्मेवारीलाई जुनसुकै हालतमा पूरा गर्थे ।

उनको ठाडो बोल्ने बानीका कारण सबैका प्रिय थिएनन् । तर, जसले उनलाई नजिकबाट चिन्थ्यो, उसले भने कहिल्यै साथ छाडेन । २०४८ सालमा कांग्रेसको सरकार बनेपछि माथिल्लो तहका कतिपय कर्मचारीले जागिरबाट हात धुनुपर्दा राईले लोकसेवा आयोग सदस्यको जिम्मेवारी पाए ।

२०३८ सालमा अतिरिक्त सचिव, २०४१ सालमा आपूर्ति, २०४३ सालमा स्थानीय विकास र २०४४ सालमा आवास तथा भौतिक योजना मन्त्रालयमा सचिव भए । राई जनजाति समुदायबाट निजामती सेवामा विशिष्ट श्रेणीमा पुग्ने पहिलो व्यक्ति थिए ।

लोकसेवाको प्रतिष्ठा, निष्पक्षता र विश्वसनीयता जोगाउन उनले देखिने गरी भूमिका निभाए । त्यही कारण राईलाई २०५१ मा बनेको तत्कालीन नेकपा (एमाले) को सरकारले अध्यक्ष नियुक्त गरेको थियो । उनी २०५४ मा पुनः अध्यक्ष नियुक्त भएर २०५८ मा निवृत्त भए । त्यसपछि भने सार्वजनिक जीवनमा कमै देखिए ।

राई प्रचार–प्रसारबाट टाढै बस्न रुचाउँथे । जीवनको उत्तरार्द्धमा बिर्सिने रोग (डिमेन्सिया) ले गाँजेपछि उनको जीवन कष्टकर बनेको थियो । ८४ वर्षको उमेरमा राईको २३ भदौमा निधन भएको छ ।

उनका बुबा लाहुरे थिए । त्यसैले बाल्यकालदेखि नै राम्रो शिक्षा प्राप्त गर्ने अवसर पाए । उनले प्राथमिक तह भारतको दार्जीलिङमा पढेका थिए । कलकत्ता विश्वविद्यालयबाट अर्थशास्त्र र इतिहासमा तथा त्रिभुवन विश्वविद्यालयबाट शिक्षाशास्त्रमा स्तानक उनले अमेरिकाको मिचिगन स्टेट युनिभर्सिटीबाट एमएस गरेका थिए ।

लामो समय राईको मातहतमा काम गरेका पूर्वसचिव खेमराज नेपालले ‘सन्तबहादुर राई इतिवृत्त’ पुस्तकमा सम्झिएको एउटा घटनाले उनको स्वभाव जनाउँछ–

“जीवनमा उहाँसँग कसैको दुश्मनी भएको मैले थाहा पाइनँ । म संखुवासभामा कार्यरत हुँदा उहाँ जावलाखेलमा घर बनाउँदै हुनुहुन्थ्यो । उहाँका बुबाले ‘छोराले घर बनाउँदैछ, लगिदिनूस्’ भनेर दुईपल्ट मेरो हातमा केही रकम पठाउनुभएको थियो । ‘बुढेसकालमा छोराले खर्च पठाउने वेला कहाँबाट जोहो गरेर पठाउँदै हुनुहुन्छ’ भनेर सोध्दा ‘केही सुन थियो, त्यही बेचिदिएँ’ भन्नुभएको थियो ।” 

 

प्रतिकृया दिनुहोस