रिपोर्टशनिबार, २८ भाद्र , २०७६

रहरमानको ‘दोस्रो जीवन’

रामु सापकोटा

न्यूरो अस्पतालका लागि त्यो दुर्लभ ‘केस’ थियो । तर बिरामी जतिसक्दो बचाउनुपर्छ भन्ने चिकित्सकको जोडबलले रहरमानले ‘दोस्रो जीवन’ पाए।

बासबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्याशनल इन्ष्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड अलाइड साइन्सेज्को वार्डमा सारिएका रहरमान तामाङ, न्यूरोसर्जन डा. प्रत्यूश श्रेष्ठ (बायाँ) सहित बिरामीका आफन्त । तस्वीर : माेनिका देउपाला

१५ भदौ, काभ्रेको रोसी गाउँपालिका–४ का रहरमान तामाङ (२०) भक्तपुर, झौखेलस्थित गोर्खा प्रिकास्ट एण्ड विन्डोर्समा मेशिनले छड काटिरहेका थिए । एक्कासी छडले उनको बायाँ निधार छेड्यो र पछाडि दायाँ भागबाट निस्कियो । बेहोश उनको बायाँ हात र खुट्टा चल्न छोड्यो ।

तामाङलाई हत्तपत्त आफन्तले भक्तपुरको एक अस्पताल पुर्‍याए । त्यहाँ उपचार सम्भव नभएपछि तत्कालै त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याइयो । तर, आईसीयूमा बेड अभाव भएको भन्दै अस्पतालले भर्ना लिन मानेन । आफन्तले तामाङलाई साँझ बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्याशनल इन्ष्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड अलाइड साइन्सेज्मा भर्ना गरे । उनको अवस्था नाजुक थियो ।

अस्पतालमा अहिलेसम्म त्यस्तो जटिल चोटको उपचार नभएकाले एकछिन त चिकित्सक नै अलमलमा परे । यसअघि नेपालमा यस्तो उपचार भएको थाहा नपाएपछि चिकित्सकहरूले अन्तर्राष्ट्रिय जर्नल खोज्न थाले।

उपचारमा संलग्न न्यूरोसर्जन डा. प्रत्यूश श्रेष्ठले भारतको लोकमान्य तिलक म्यूनिसिपल जेनरल हस्पिटलमा यस्तै दुर्घटनामा परेका घाइतेको उपचार बारे पबमेडमा  प्रकाशित लेख पनि फेला पारे । “रहरमानको उपचार गर्न हामीसँग धेरै समय थिएन” डा. श्रेष्ठ भन्छन्, “अन्य धेरै जर्नलहरू अध्ययन गरेर भोलिबाट उपचार शुरू गरौंला भन्ने विकल्प सोच्नै सकिंदैनथ्यो । टाउकामा छड जति धेरै समय बस्यो उति नै संक्रमण फैलिएर जटिलता निम्तिन सक्थ्यो ।”

बिरामीको टाउकोमा छड जुन दिशाबाट छिरेको हो, त्यसको उल्टो दिशाबाट निकाल्नुपर्ने हुन्छ । छिरेकै दिशाबाट निकाल्दा टाउकोमा थप क्षति पुर्‍याउने सम्भावना हुन्छ । । छड निकाल्ने क्रममा नसाहरूमा क्षति पुगेर बिरामीको ज्यानै जाने सम्भावना पनि हुनसक्छ । यस्ता जोखिमलाई मध्यनजर गर्दै चिकित्सकको टोली शल्यक्रियामा लाग्यो ।

न्यूरो अस्पतालका रेजिडेन्ट डा.सुवास लोहनी, न्यूरोसर्जन शिखर श्रेष्ठ, डा.रञ्जन लामिछाने, डा.माधव गौतम लगायत १५ जनाको टोलीले तामाङको उपचार गरेको थियो । उपचार शुरू गर्नुअघि न्यूरोसर्जन प्रा.डा.लक्ष्मी पति, बेलायती चिकित्सक डा.टेरेन्स होप लगायतसँग सुझाव पनि लिएको थियो ।

चिकित्सकहरूले पहिला क्रानियोटोमी (हड्डी निकाल्ने प्रविधि) गरेर टाउको छेडेको छड निकाले । टाउकोबाट रड निकाल्ने क्रममा हुनसक्ने थप क्षति, मस्तिष्कमा फैलिन सक्ने संक्रमण र संभावित रक्तस्रावमा पनि उत्तिकै ध्यान दिए ।

करीब दुई घण्टामा शल्यक्रिया सकियो । छेडिएको छडले मस्तिष्कभित्रका प्रमुख नसामा क्षति नपुगेका कारण बचाउन सम्भव भयो । उपचार शुरू गरेको ४८ देखि ७२ घण्टामा बढी जोखिम निम्तिन सक्ने भए पनि चिकित्सकले त्यसलाई नियन्त्रण गर्न सफल भएका थिए ।

न्यूरोसर्जन डा.श्रेष्ठ आफ्नो १० वर्षे चिकित्सा पेशामा यस्तो घटना पहिले नदेखेको बताउँछन् ।

तामाङको उपचार शुरू भएको दुई हप्ता भयो । उनको स्वास्थ्य सुधारोन्मुख छ । आपत्कालीन कक्षबाट उनलाई १८ भदौमा वार्डमा सारिएको छ । उनी मान्छे चिन्न र कुरा गर्न सक्ने भएका छन् ।

कहिलेकाहीं वाक्वाक् लाग्ने बाहेक अन्य समस्या नभएको डा.श्रेष्ठ बताउँछन् । थप संक्रमण फैलिन नदिन तामाङले नियमित औषधि सेवन र फिजियोथेरापी गर्नुपर्ने उनको भनाइ छ ।

तामाङको उपचारमा संलग्न चिकित्सकले यस्तै अरू घटनाको उपचारमा सहयोग पुर्‍याउन जर्नलमै लेख प्रकाशन गर्ने तयारी पनि थालेका छन् । “हामीले जसरी अरूको अनुभव पढेर उपचार गर्न सक्यौं, यसैगरी अरूलाई पनि हाम्रो अनुभव सहयोगी हुन सक्छ”, डा.श्रेष्ठ भन्छन् ।

खोई व्यवसायजन्य स्वास्थ्य सुरक्षा ?

रहरमान तामाङको घटनाले मुलुकमा व्यवसायजन्य स्वास्थ्य सुरक्षाको अवस्था दयनीय रहेको देखाउँछ । उनी हेल्मेट नलगाई काम गरेकै कारण दुर्घटनामा परे । तामाङको उपचार खर्च गोर्खा प्रिकास्ट एण्ड विन्डोर्सले नै व्यहोर्ने भएको छ ।

सिनामङ्गलस्थित काठमाडौं मेडिकल ,कलेजको सामुदायिक चिकित्सा विभाग प्रमुख प्रा.डा.सुनिलकुमार जोशी व्यवसायजन्य स्वास्थ्य सुरक्षाबारे सरकारले नीतिनियम जारी गरे पनि कार्यान्वयन हुन नसकेको बताउँछन् ।

उनी भन्छन्, “कामदारहरूमा रोजगारदातासँग सुरक्षा माग गर्न सकिन्छ भन्ने चेतना नै छैन ।” अनौपचारिक क्षेत्रमा रोजगारदाताले स्वास्थ्य र सुरक्षाको व्यवस्था नगरी काममा लगाइरहँदा पनि सरकारले नियमन गर्न नसकेकाले दुर्घटना भइरहेको जोशी बताउँछन् ।

 

 

प्रतिकृया दिनुहोस