समाचार शनिबार, भदौ २८, २०७६

डेङ्गीको भयावह, सरकार अझै सचेत छैन

रामु सापकोटा

अवस्था कतिसम्म दयनीय छ भने मन्त्रालयसँग रोग नियन्त्रणमा काम गर्ने किटविज्ञान विशेषज्ञ (इन्टोमोलोजिस्ट) को दरबन्दी नै छैन। डेङ्गीको प्रकोप देखिएका दक्षिण एशियाली देशहरू बाङ्लादेश र श्रीलङ्काको सरकारले करीब ३०० र पाकिस्तानले ७०० किटविज्ञान विशेषज्ञ खटाएका छन्।

तस्वीरहरु : माेनिका देउपाला

२६ भदौको प्रतिनिधिसभा बैठक मार्फत सभामुख कृष्णबहादुर महराले डेङ्गीबारे यथाशीघ्र जवाफ दिन सरकारलाई रुलिङ गरे । सांसदहरूले अघिल्लो दिनको प्रतिनिधिसभा बैठक मार्फत ‘डेङ्गी आतङ्क’ बढेको भन्दै सभामुख महराको ध्यानाकर्षण गराएका थिए ।

सांसद विनादेवी बुढाथोकीले द्रुत गतिमा फैलिरहेको डेङ्गीका कारण जनता आत्तिएकाले नियन्त्रण गर्न सरकारले ठोस कदम चाल्नुपर्ने सुझाव संसदमा दिइन् । सभामुख महराले सरकारसँग जवाफ माग्नुअघि २६ भदौको बैठक मार्फत सांसद कृष्णगोपाल श्रेष्ठले मुलुकका विभिन्न ठाउँमा डेङ्गीले ‘महामारी’ को रूप लिंदा समेत सरकार नबोलेको भन्दै आपत्ति जनाएका थिए ।

यसैगरी २५ भदौको राष्ट्रिय सभा बैठक मार्फत नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा गर्न माग गरे । अधिकारीले डेङ्गीका कारण नागरिक भयभीत बनेको तर महामारी नियन्त्रण गर्न सरकारको उपस्थिति नदेखिएको बताएका थिए ।

यसैबीच अमेरिकाले २६ भदौमा एशिया, अफ्रिका, मध्यपूर्व र अमेरिकी महादेशमा यात्रा गरिरहेका अमेरिकी नागरिकलाई डेङ्गीको प्रकोप बढिरहेकाले सतर्क रहन ‘ट्राभल नोटिस’ जारी गरिसकेको छ ।

स्वास्थ्य मन्त्रालयले २५ भदौमा गरेको निर्णय अनुसार डेङ्गी सङ्क्रमण देखा परेका क्षेत्र तथा केन्द्रका अस्पतालहरूमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीलाई अर्को आदेश नभएसम्म यथास्थानमा कार्यरत रहन निर्देशन दिएको छ । मन्त्रालयले डेङ्गी प्रकोप बढेपछि उपचार गर्न अस्पताल आएका बिरामीलाई भदौ पहिलो सातादेखि निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको छ ।

प्रतिनिधिसभा मार्फत सभामुख महराले सरकारसँग जवाफ मागिरहेका बेला १ साउनदेखि २४ भदौ २०७६ साँझसम्म ६२ जिल्लामा डेङ्गीबाट प्रभावितको संख्या ५ हजार ९४ र मृत्यु हुनेको संख्या ७ पुगेको छ । यद्यपि डेङ्गी सङ्क्रमितको संख्या यो भन्दा अझै बढी रहेको आकलन गरिएको छ । डेङ्गी सङ्क्रमण सम्बन्धी पछिल्लो १६ वर्षको तथ्याङ्क नियाल्दा यसको जोखिम प्रत्येक वर्ष बढिरहेको छ ।

डेङ्गी सङ्क्रमणकै कारण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम २४ भदौ र कृषिमन्त्री चक्रपाणि खनाल १९ भदौमा अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् । उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू पनि डेङ्गीबाट सङ्क्रमित भएका छन् ।

वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइत सहित उनको परिवारका चार जनालाई डेङ्गी सङ्क्रमण भएपछि २३ भदौमा अस्पताल भर्ना भएर उपचार गराइरहेका छन् । यसको नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सेना परिचालन गर्नेसम्मको अभिव्यक्ति दिए । उपप्रधानमन्त्री समेत रहेका स्वास्थ्यमन्त्री यादव नेतृत्वको मन्त्रालयले डेङ्गी नियन्त्रण गर्न भने सकेको छैन ।

मन्त्रालयको कमजोरी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रत्येक तीन वर्षमा प्रकोपका रूपमा देखिंदै आएको डेङ्गी सङ्क्रमण समस्यालाई बेवास्ता गरेकै कारण अहिलेसम्म डेङ्गी नियन्त्रण गर्न आवश्यक नीति, कार्यक्रम र रणनीति तयार हुन नसकेको हो ।

धरानबाट प्रि–मनसुन (३० वैशाख–२९ जेठ २०७६) मा देखा परेको डेङ्गी सङ्क्रमण रोक्न स्वास्थ्य मन्त्रालयले ध्यान नदिंदा डेङ्गी प्रमुख स्वास्थ्य समस्या बनेको हो । यो दृष्टान्तले महामारीजन्य रोग नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयको तयारी कस्तो हुँदोरहेछ भन्ने देखाउँछ ।

ईडीसीडीका जनस्वास्थ्य अधिकृत रेशम लामिछाने स्वास्थ्य मन्त्रालयसँग डेङ्गी जस्ता सङ्क्रमणजन्य रोग नियन्त्रण गर्ने ‘रोडम्याप’ नभएको र समुदाय स्तरसम्म पुगेर यसबारे अध्ययन हुन नसकेको बताउँछन् ।

अवस्था कतिसम्म दयनीय छ भने मन्त्रालयसँग रोग नियन्त्रणमा काम गर्ने किटविज्ञान विशेषज्ञ (इन्टोमोलोजिस्ट) को दरबन्दी नै छैन । भएका एक जना सहायक किटविज्ञान विशेषज्ञ ‘किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र’, हेटौडामा कार्यरत छन् । किटविज्ञान विशेषज्ञहरूले डेङ्गी लगायतका कुनै पनि किटजन्य रोग नियन्त्रण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छन् ।

नेपालमा डेङ्गी नियन्त्रणका लागि तालिमप्राप्त दक्ष जनशक्ति करीब ८० जना छन् । गत वर्ष यी सबैलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादव रहेकै बेला ‘जगेडा’ मा राख्ने निर्णय गरियो ।

किटविज्ञान विशेषज्ञहरूले डेङ्गी जस्ता किटजन्य रोगको प्रकोप फैलिएका ठाउँमा ‘खोज र नष्ट गर’ (सर्च एण्ड डिस्ट्रोए) अभियान अन्तर्गत विषादी छर्कन, सङ्क्रमितको तथ्याङ्क सङ्कलन गर्न र बहुक्षेत्रीय सहकार्य गरी नियन्त्रणमुखी कार्यक्रम सञ्चालन गर्न सक्छन् ।

किटविज्ञान विशेषज्ञहरूले समुदायमा पुगेर डेङ्गीको सङ्क्रमण फैलाउने लामखुट्टे नियन्त्रणसँग सम्बन्धित काम गर्ने गर्छन् । डेङ्गीको प्रकोप देखिएका दक्षिण एशियाली देशहरू बाङ्लादेश र श्रीलङ्काको सरकारले करीब ३०० र पाकिस्तानले ७०० किटविज्ञान विशेषज्ञहरू खटाएका छन् ।

सरकारले डेङ्गी नियन्त्रणको तालिम प्राप्त गरेका ‘भेक्टर कन्ट्रोल निरीक्षक’ र ‘मलेरिया इन्स्पेक्टर’ हरूलाई समेत अहिलेसम्म काममा खटाउन सकेको छैन ।

हाल नेपालमा डेङ्गी नियन्त्रणका लागि तालिमप्राप्त दक्ष जनशक्ति करीब ८० जना छन् । गत वर्ष यी सबैलाई स्वास्थ्यमन्त्री उपेन्द्र यादव रहेकै बेला ‘जगेडा’ मा राख्ने निर्णय गरियो । ईडीसीडीका पूर्व महानिर्देशक डा.बाबुराम मरासिनी किटजन्य रोग नियन्त्रण गर्न सघाउने किटविज्ञान विशेषज्ञहरूलाई गत वर्ष स्वास्थ्य मन्त्रालयले जगेडामा राखेकै कारण नियन्त्रण गर्न सकस परेको बताउँछन् ।

“स्वास्थ्य मन्त्रालयले इन्टोमोलोजिस्टलाई काम नगरी तलब खाएर मात्र बस भनेर ठूलो गल्ती गर्‍यो” मरासिनी भन्छन्, “सङ्गठनात्मक रूपमा उनीहरूको समूहलाई कमजोर बनाइयो ।” नेतृत्वमा बस्ने व्यक्तिले स्वार्थपूर्तिका लागि पहुँच र प्रभावका आधारमा निर्णय गर्ने गरेका कारण दक्ष जनशक्ति व्यवस्थापनमा समस्या परेको ईडीसीडीका निर्देशक डा.विवेककुमार लाल बताउँछन् ।

ईडीसीडीको प्रस्ताव अनुसार लोकसेवा आयोगले २०७१ सालमा ‘सहायक किटविज्ञान विशेषज्ञ राख्न मिल्छ’ भनेर स्वीकृति दिंदा समेत स्वास्थ्य मन्त्रालयले त्यसो गर्न मानेन । त्यसबेला ईडीसीडीले दुई जना सहायक किटविज्ञान विशेषज्ञलाई काममा खटाउन प्रस्ताव गरेको थियो । स्वास्थ्य मन्त्रालयमा शान्तबहादुर श्रेष्ठ सचिव रहेका वेला यो प्रस्ताव अस्वीकार गरिएको थियो ।

वातावरणीय कारण
खासगरी तराईका जिल्लामा देखिने डेङ्गी पहाडमा पनि देखिन थालेपछि जनस्वास्थ्य विज्ञहरूले चिन्ता प्रकट गर्न थालेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको सामुदायिक स्वास्थ्य तथा जनस्वास्थ्य विभागको वातावरण र स्वास्थ्य विषयका प्राध्यापक बन्दना प्रधान पछिल्ला वर्षहरूमा लामखुट्टेका लागि अनुकूल वातावरण बन्दै गएकाले डेङ्गी हिमाली र उच्च पहाडी क्षेत्रमा समेत देखिन थालेको बताउँछिन् ।

जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पारेको असरबारे अध्ययन गरिरहेकी प्राध्यापक प्रधानका अनुसार चिसो शुरू हुने महीनामा समेत तापक्रम बढेकाले लामखुट्टे जताततै फैलने वातावरण बनेको हो ।

ईडीसीडीका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेल बढ्दो शहरीकरण र जलवायु परिवर्तनका कारण पहाडी जिल्लामा पनि लामखुट्टे देखिन थालेको बताउँछन् । पोखरेल भन्छन्, “लामो समयसम्म पानी जम्मा गरेर राख्नु, घरमा प्रयोग गरिने एअरकुलरमा पानी जम्मा हुनुु, जथाभावी फ्याँकिएका टायरमा पानी जम्नु र सरसफाइको कमी हुनुले लामखुट्टे वृद्धि हुन उपयुक्त वातावरण बनेको छ ।”

ईडीसीडीका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेका अनुसार १५ देखि ३५ डिग्री तापक्रममा लामखुट्टेको वृद्धि–विकास हुन्छ । २२ देखि ३४ डिग्रीसम्मको तापक्रम भने डेङ्गी भाइरस फैलाउने लामखुट्टेका लागि उपयुक्त वातावरण हो । विज्ञहरू अहिले वर्षा भइरहेको र लामखुट्टेको वृद्धि–विकासका लागि उपयुक्त तापक्रम र आद्र्रता ‘ह्युमिडिटी’ भएकाले पनि डेङ्गीको प्रकोप बढेको अनुमान गर्छन् ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का प्रमुख अनुसन्धान अधिकृत डा.मेघनाथ धिमाल हल्का वर्षा डेङ्गी फैलाउने लामखुट्टेका लागि उपयुक्त वातावरण भएकाले प्रकोपमा परिणत हुन मद्दत पुर्‍याएको बताउँछन् ।

डा.धिमालका अनुसार अघिल्ला वर्षहरूमा मनसुन सकिएपछि मात्र देखिने डेङ्गी यस वर्षदेखि मनसुन शुरू हुनुअघि नै देखिएकाले समस्या निम्तिएको हो । उनी भन्छन्, “डेङ्गी सङ्क्रमण गर्न सघाउने लामखुट्टेका लागि आगामी कात्तिक महीनासम्म उपयुक्त वातावरण हुने भएकाले त्यसबेलासम्म यसको समस्या रहिरहन्छ ।”

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ट्रपिकल मेडिसिनका प्रमुख कन्सल्ट्यान्ट डा.अनुप बास्तोला जलवायुमा आएको परिवर्तनले डेङ्गीको सङ्क्रमण बढ्न सहयोग गर्ने हुँदा गाउँ, घर वरपर सरसफाइ गर्न, घरभित्र भाँडामा भएको पानी छोपेर राख्न, पानी जम्न सक्ने खाल्टाखुल्टी पुर्न, झयालमा जाली लगाउन, लामखुट्टे नष्ट गर्ने अभियान चलाउन, झूल टाँगेर मात्र सुत्न र दिउसोको समयमा घरबाहिर निस्कँदा हात–गोडा छोपिने लुगा लगाउन सुझाउँछन् ।

जल तथा मौसम विज्ञान विभागको हावापानी विश्लेषण शाखा प्रमुख डा. इन्दिरा कँडेल सन् १९८१ देखि २०१० सम्मको ३८ वटा केन्द्रबाट लिइएको मौसम सम्बन्धी तथ्याङ्क विश्लेषण गर्दा यो वर्ष कम वर्षा भएको बताउँछिन् । यो वर्ष प्रदेश–२ का केही ठाउँमा औसत र केही ठाउँमा त्योभन्दा बढी वर्षा भएको छ । यस्तै प्रदेश–१ को दक्षिणी भेगमा पनि औसत र केही बढी वर्षा भयो । बाँकी प्रदेशहरूमा सामान्य भन्दा कम वर्षा भएको वरिष्ठ मौसमविद् कँडेल बताउँछिन् । उनी भन्छिन्, “प्रदेश–७ र ६ को उत्तरी भेगमा बढी सुक्खापन देखिएको छ ।”

सजग हुन सुझाव
विश्व स्वास्थ्य सङ्गठनका अनुसार एडिस एजेप्टाइ र अल्बोपिक्टस जातको सङ्क्रमित पोथी लामखुट्टेले टोकेपछि डेङ्गी लाग्छ । किटविज्ञान विशेषज्ञका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्मको हुन्छ । उपयुक्त वातावरण पाउँदा लामखुट्टेले पारेका फुलहरू वर्षौंसम्म रहिरहन्छन् र पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ । डेङ्गी सार्ने लामखुट्टेले दिउसो मात्र टोक्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ट्रपिकल मेडिसिनका प्रमुख कन्सल्ट्यान्ट डा.अनुप बास्तोला जलवायुमा आएको परिवर्तनले डेङ्गीको सङ्क्रमण बढ्न सहयोग गर्ने हुँदा गाउँ, घर वरपर सरसफाइ गर्न, घरभित्र भाँडामा भएको पानी छोपेर राख्न, पानी जम्न सक्ने खाल्टाखुल्टी पुर्न, झयालमा जाली लगाउन, लामखुट्टे नष्ट गर्ने अभियान चलाउन, झूल टाँगेर मात्र सुत्न र दिउसोको समयमा घरबाहिर निस्कँदा हात–गोडा छोपिने लुगा लगाउन सुझाउँछन् ।

चिकित्सकहरूका अनुसार डेङ्गीको विशिष्ट उपचार नभए पनि, समयमै पत्ता लगाई उपचार थाले बिरामीमा यसको प्रभाव कम हुनुका साथै सङ्क्रमणमुक्त बनाउन सकिन्छ । यस्तै, डेङ्गीको सङ्क्रमण फैलिरहेका बेला ज्वरो आउने र जीउ दुख्ने जस्ता समस्या देखिएमा आफैंले घरमा उचित मात्रामा सिटामोल सेवन गर्न सकिने तर ब्रुसेट पानोफ्लाम जस्ता पीडा कम गर्ने औषधि नखान चिकित्सकहरूको सुझव छ । 

सर्वत्र प्रभाव
डेङ्गीको सङ्क्रमण नेपालमा मात्र सीमित छैन । यसको प्रकोप एशियाली मुलुकहरूमा प्रमुख स्वास्थ्य समस्याका रुपमा देखा परेको छ । पछिल्लो समय बाङ्लादेश, भारत, श्रीलड्ढा, भूटान, म्यानमार, थाइल्याण्ड, मलेशिया, सिङ्गापुर, फिलिपिन्ससम्म डेङ्गीको प्रकोप फैलिएको छ ।

श्रीलड्ढामा सन् २०१९ को पहिलो सात महीनाभित्र दुई लाख बढी डेङ्गी सङ्क्रमित भेटिए । सोही अवधिमा सङ्क्रमित मध्ये ४७ जनाको मृत्यु भइसकेको छ ।

बाङ्लादेशमा २०७६ साउन १७ को एकै दिन १९ हजार ५१३ जना डेङ्गी सङ्क्रमित भेटिए । म्यानमारमा पनि सन् २०१९ को पहिलो सात महीनामा १० हजार ७५७ डेङ्गी सङ्क्रमित भेटिएकोमा ४८ जनाको ज्यान गएको छ ।

थाइल्याण्डमा ४९ हजार १७४ जनामा डेङ्गी भाइरस भेटियो र तीमध्ये ६४ जनाको मृत्यु भयो । यस्तै, फिलिपिन्समा ८८ हजार ५९८ जना सङ्क्रमित भएकोमा ३८४ जनाको मृत्यु भयो ।

प्रतिकृया दिनुहोस