रिपोर्ट विहीबार, भदौ १९, २०७६

खुम्बु क्षेत्रमा कर नतिरी अर्बको कारोबार

शरद ओझा

सेवा क्षेत्रको व्यवसायमा वार्षिक रु.२० लाखभन्दा बढीको कारोबार भए भ्याटमा दर्ता हुनुपर्छ । खुम्बुमा दर्ता भएका ६३३ मध्ये ७२ संस्था मात्र भ्याटमा दर्ता छन् ।

नाम्चेबजार । तस्वीर : बिक्रम राई

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा सञ्चालित ६३३ व्यावसायिक तथा व्यापारिक संस्थाले आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकारलाई रु.१ करोड ७९ लाख कर तिरे । कुल रु.२ करोड २४ हजार नाफा कमाएको स्वघोषणा गरेका ती संस्थाले रु.५० लाख ६ हजार आयकर र रु.१ करोड २१ लाख मूल्य अभिवृद्धि कर (भ्याट) तिरे ।

तर खुम्बु क्षेत्रको व्यापारका परिमाणमा अहिलेको कर सानो अंश मात्र हो । यस क्षेत्रका धेरै व्यवसायीले व्यवसाय नै नगरेर/कारोबार रकम कम देखाएर कर छली गरिरहेका छन् । गत जेठमा हिमाल संवाददाता खुम्बु क्षेत्र पुग्दा स्थानीय व्यवसायीले नै ‘अधिकांश कारोबार करको दायराभन्दा बाहिर रहेको’ स्वीकारेका थिए । खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिम दोर्जे शेर्पा पनि व्यवसायीले वास्तविक आय विवरण नबुझाएको बताउँछन् ।

खुम्बु क्षेत्रबाट ८००० मिटरभन्दा अग्ला चार हिमाल (सगरमाथा ८,८४८, लोत्से ८,५१६, मकालु ८,४६३ र चोयु ८,२०१ मिटर) एकै साथ हेर्न सकिन्छ । यसबाहेक कोङ्ग्माला पास (५,५३५ मिटर), चोला पास (५,४२० मिटर), रेन्जोला पास (५,३४५ मिटर) र लार्केला पास (५,१३५ मिटर) पदमार्ग पनि खुम्बु क्षेत्रमा छन् । यहाँ पुग्ने पर्यटक १५ देखि २० दिनसम्म बस्छन् ।

सगरमाथाका प्रथम आरोही एडमण्ड हिलारीले स्थापना गरेको विद्यालय रहेको खुम्जुङ ग्रीन भ्यालीसम्म पुगेर सगरमाथा लगायत हिमाल नजिकबाटै हेर्न सकिन्छ । त्यहाँ पुगेर फर्किने पर्यटक पनि कम्तीमा पाँच दिन खुम्बु क्षेत्र बस्छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष ५७ हजार ९२० विदेशी पर्यटक खुम्बु क्षेत्र पुगेका थिए । स्वदेशी पर्यटक, पथप्रदर्शक, भरिया समेत जोड्दा खुम्बु पुग्नेको संख्या करीब एक लाख हुन्छ ।

 कारोबार अर्बौ, घोषणा करोडमा

व्यवसायी लाक्पा ग्याल्जेन शेर्पाका अनुसार खुम्बु क्षेत्रमा एक रात बस्न, तीन छाक खाना, वाईफाई र तातोपानी चलाउन विदेशी पर्यटकले कम्तीमा रु.४ हजार खर्च गर्नुपर्छ । लुक्लामा केही कम रकम खर्च हुने भए पनि उँचाइ बढ्दै जाँदा महँगी पनि बढ्दै जान्छ । ५,१६४ मिटर उँचाइको गोरकसेपमा रहेका होटलले विदेशीसँग एक लिटर तातोपानीकै रु.४०० सम्म लिन्छन् ।

यो संवाददाता सगरमाथा आधारशिविर पुग्दा एक दिनको बसाइमा नेपालीको औसत खर्च रु.२ हजार ५०० र विदेशीको रु.४ हजार ५०० हुने पाइएको थियो ।

लुक्ला विमानस्थल पुगेदेखि नै खुम्बु क्षेत्रको महँगी अनुभव हुन्छ । लुक्ला बजारमा विदेशीलाई एक लिटर पानी रु.१०० मा बिक्री गरिन्छ भने गोरकसेपमा रु.४०० लिइन्छ । सामान हेलिकप्टर वा हवाईजहाजबाट लुक्लासम्म ढुवानी गर्दा प्रतिकेजी रु.१०० देखि १५० पर्छ । भरिया वा खच्चरबाट ढुवानी गर्दा प्रतिकेजी प्रतिदिन रु.४० सम्म लाग्छ ।

व्यवसायीले लागत उठाउन पर्यटकबाट बढी मूल्य असुले पनि राज्यलाई भने कर तिर्न आनाकानी गरेको देखिन्छ । खुम्बु क्षेत्रमा औसत बसाइ अवधि सात दिन मान्दा पनि पर्यटकले खान र बस्न न्यूनतम रु.२८ हजार खर्च गर्नुपर्छ । गत वर्ष ५७ हजार ९२० विदेशी पर्यटकको खर्च मात्र गणना गर्दा पनि खुम्बु क्षेत्रमा होटल लजमा करीब रु.१ अर्ब ६२ करोड १७ लाख बराबरको कारोबार भएको अनुमान गर्न सकिन्छ ।

त्यसमा स्वदेशी पर्यटक, पथप्रदर्शक, भरिया, खुम्बुका स्थानीय बासिन्दा, विभिन्न निकायका प्रतिनिधि समेतले गर्ने खर्चलाई जोड्ने हो भने खुम्बु क्षेत्रमा वार्षिक रु.४ अर्बभन्दा बढीको कारोबार हुने खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष तथा होटल व्यवसायी लक्ष्मण अधिकारी बताउँछन् ।

तर सरकारी निकायको बेवास्ताका कारण व्यवसायीले मनलाग्दी मूल्य लिने तर कम आम्दानी देखाएर कर छल्ने गरेका छन् । गत वर्ष २० प्रतिशत मात्रै नाफा गरेको मान्दा पनि खुम्बु क्षेत्रका व्यवसायीले रु.८० करोड कमाए । त्यसबाट रु.२० करोड आयकर मात्र तिर्नुपर्ने देखिन्छ । तर खुम्बुका व्यवसायीले सरकारलाई बुझाएको करका आधारमा रु.२ करोड २४ लाख मात्र नाफा कमाएको देखिन्छ ।

आयकरमा दर्ता भई विवरण बुझाउने व्यवसायीले पनि कारोबार रकम र नाफा कम मात्र देखाउने कर कार्यालयका अधिकारीको भनाइ छ । १० वर्ष अमेरिका बसेर फर्केका खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडाध्यक्ष छिरिङ फिन्जो शेर्पाले रु.६ करोड भन्दा बढी रकम खर्च गरेर नाम्चेमा होटल खोलेका छन् । नाम्चेभन्दा माथि होटल बनाउँदा लागत झनै बढ्ने उनी बताउँछन् । छिरिङ फिन्जो प्रश्न गर्छन्, “नाफा नगर्ने हो भने किन करोडौं लगानी गरेर होटल बनाउने ?”

खुम्बु क्षेत्रका व्यावसायिक संस्थाले बुझाएको आयव्यय विवरण वास्तविक भए/नभएको हेर्ने जिम्मेवारी पाएको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवट कारोबार नियमन गर्न नसक्दा राज्यले ठूलो कर गुमाइरहेको स्वीकार्छन् । खुम्बु पासाङल्हामु गाउँपालिका–५ थमोका पासाङ ग्याल्जेन शेर्पा भने धेरै व्यवसायीलाई कर कसरी र कहाँ तिर्ने जानकारी नहुँदा दायरामा आउन नसकेको बताउँछन् ।

अधिकांश विना दर्ता

गएको वर्ष खुम्बु पासाङल्हामु गाउँपालिकाले त्यहाँ सञ्चालित व्यवसायको एक सर्वेक्षण गरेको थियो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश पाण्डे सर्वेक्षण अनुसार खुम्बु क्षेत्रमा साना ठूला गरी १७०० व्यवसाय सञ्चालनमा रहेको तर आन्तरिक राजस्व कार्यालयमा ६३३ मात्र दर्ता देखिएको बताउँछन् ।

गाउँपालिका अध्यक्ष ङिमदोर्जे शेर्पा व्यवसाय गर्न करमा दर्ता हुनै पर्छ भन्ने जानकारी नहुँदा समस्या भएको बताउँछन् । “पहिला–पहिला घरमै पर्यटक राखिन्थ्यो, पछि खुम्बुवासीको व्यवसायमा परिणत भयो” उनी भन्छन्, “त्यसैले अझै पनि धेरैलाई किन करमा दर्ता हुने भन्ने थाहा छैन । तर अब व्यवसाय र आर्जन गर्नेले नियमानुसार करमा दर्ता हुनै पर्छ ।”

गएको वर्षसम्म व्यवसाय दर्ता गर्न र कर तिर्न सिरहाको लहान पुग्नुपर्ने बाध्यता थियो । तर असोज २०७५ देखि करदाता सेवा कार्यालय लुक्लामै राखिएको छ । आन्तरिक राजस्व विभागका प्रवक्ता तथा उपमहानिर्देशक यज्ञप्रसाद ढुङ्गेल खुम्बु क्षेत्रको राजस्व उठ्ने सम्भावना देखेरै लुक्लामा कार्यालय स्थापना गरिएको बताउँछन् ।

लुक्लाको करदाता सेवा कार्यालयलाई बजार अनुगमन गर्ने, करदाता दर्ता गर्ने, कर सङ्कलन गर्ने लगायत अधिकार दिइएको छ । तर कर कार्यालय स्थापना भएको १० महीनासम्म पनि करदाताको संख्या बढेको छैन । (हे. इन्फो)

स्राेत : आन्तरिक राजस्व विभाग

आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कमलबहादुर राजलवट खुम्बु क्षेत्रमा करदाता शिक्षा कार्यक्रम गर्ने योजना रहेको बताउँछन् । “भ्याटमा दर्ता हुँदैमा व्यावसायिक लागत बढ्दैन भनेर बुझाउन नसक्दा दर्ता भएका संस्थाले पनि विवरण बुझएका छैनन्”, राजलवटले भने ।

भ्याटमा दर्ता भएको होटलले ग्राहकबाट थप १३ प्रतिशत उठाउनुपर्ने तर दर्ता नभएका व्यक्तिले एक रुपैयाँ पनि राज्यलाई नबुझाउने हुँदा प्रतिस्पर्धा स्वस्थ नभएको खुम्बु पासाङल्हामु–५ का वडाध्यक्ष तथा होटल व्यवसायी छिरिङ फिन्जोको भनाइ छ ।

सेवा क्षेत्रको व्यवसायमा वार्षिक रु.२० लाखभन्दा बढीको कारोबार भए भ्याटमा दर्ता हुनुपर्छ । खुम्बुमा दर्ता भएका ६३३ मध्ये ७२ संस्था मात्र भ्याटमा दर्ता छन् ।

अन्तःशुल्क सम्बन्धी ऐन अनुसार नेपालमा मदिराको कारोबार गर्न अन्तःशुल्कमा अनिवार्य दर्ता हुनुपर्छ । खुम्बु क्षेत्रमा रहेका प्रायः सबै होटलले मदिराको कारोबार गरे पनि अन्तःशुल्कमा १६७ वटा मात्र दर्ता छन् । लुक्लामा कर कार्यालय स्थापना भए पनि गत वर्ष अन्तःशुल्कको रकम कोष तथा लेखा नियन्त्रण कार्यालयमा बुझाइएको थियो । कार्यालय लुक्लामै स्थापना भएको जानकारी नपाउँदा व्यवसायी कर तिर्न कोष तथा लेखा नियन्त्रण कार्यालय पुगेका हुन् ।

करदाता सेवा कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा रु.१ लाख ८३ हजार मात्र कर सङ्कलन गरेको थियो । कार्यालयका प्रमुख कुसुम सिर्मल लुक्लामा कार्यालय स्थापना गरिएको जानकारी दिन विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भन्दै चालु आर्थिक वर्षबाट करदाताको संख्या बढ्ने बताउँछन् ।

प्रतिकृया दिनुहोस