रिपोर्ट बुधबार, भदौ १८, २०७६

मृतकको नाममा कृषि अनुदान

गोपाल गडतौला

झापाको गौरीगञ्ज गाउँपालिका–२ का कृषक समूहले चैते धान खेतीको लागि अनुदान रकममा वर्षाअघि मृत्यु भएकाको नाममा समेत भुक्तानी गरेको देखिएको छ।

२०७१ सालमा निधन भएकी हजुरआमा मनमायाको तस्वीर बोकेका गौरीगञ्ज गाउँपालिका–२ का श्याम न्यौपाने र उनकी आमा शिवकुमारी । निधन भएको पाँच वर्षपछि मनमायाको नाममा २०७६ जेठमा कनकाई कृषक समूह मार्फत अनुदान रकम बुझेको भुक्तानी सूचीमा देखिन्छ ।

झापाको गौरीगञ्ज गाउँपालिका–२ की मनमाया न्यौपानेको ११ मंसीर २०७१ मा ९४ वर्षको उमेरमा मृत्यु भएको थियो । मनमायाको निधन हुनुभन्दा ६ वर्षअघि उनका छोरा नीलप्रसादको पनि मृत्यु भएको थियो । घरमा बुहारी शिवकुमारी र नाति श्याम न्यौपाने मात्र छन् ।

कुनै कृषक समूहमा सदस्य नरहेकी मनमायाले मृत्यु भएको पाँच वर्षपछि चैते धान खेतीको अनुदान रकम रु.६ हजार ६६६ बुझेको गौरीगञ्ज–२ स्थित कनकाई विपत् व्यवस्थापन कृषक समूहको अभिलेखले देखाउँछ । अचम्म मान्दै नाति श्याम भन्छन्, “वर्षौं अघि मरेकी मेरी हजुरआमाको नक्कली दस्तखत गरेर कृषि अनुदानमाथि लुट मच्चाइएको रहेछ ।”

प्रदेश–१ सरकारको कृषि विकास निर्देशनालय अन्तर्गत कृषि ज्ञान केन्द्र, भद्रपुरबाट प्राप्त अनुदान रकम कनकाई कृषक समूहले किसानलाई बाँडेको विवरण १३ असारमा केन्द्रमा पेश गरेको थियो ।

भुक्तानी लिनेहरूको सूचीमा स्वर्गीय मनमायाको नाम छैटौं नम्बरमा छ, उनको हस्ताक्षर समेत गरिएको सूचीमा रकम बुझेको मिति भने उल्लेख गरिएको छैन । त्यस्तै, उक्त समूह मार्फत अनुदान बुझेका किसानको सूचीमा तितो राजवंशीको नाम पनि छ ।

१४ वर्षअघि नै वितेकी हजुरआमाको नाम सूचीमा देखेपछि आश्चर्यमा परेका तितोका नाति गद्दी राजवंशी भन्छन्, “यो हामी गरीबमाथिको मजाक हो ।” गद्दीका अनुसार उनकी हजुरआमाको नाममा एक टुक्रा पनि जमीन थिएन ।

कनकाई मात्र होइन, स्थानीय तुलाचन कृषक समूह र माङसावा कृषक समूह मार्फत चैते धानबालीको लागि अनुदान बुझनेहरूको सूची हेर्दा अनुदान रकममा कतिसम्म हिनामिना गरिएको रहेछ भन्ने प्रष्ट हुन्छ ।

सूचीमा धेरै वर्षअघि मृत्यु भएका, जमीन नभएका र समूहमा सदस्य नै नरहेका कैयौंको नाम छ । त्यस्तै, किर्ते विवरण बनाएर एउटै व्यक्तिको नाममा तीन वटै कृषक समूहबाट र एक जनाको नाममा एउटै कृषक समूह मार्फत दुई पटकसम्म अनुदान लिइएको छ ।

गौरीगञ्ज–२ की गोमादेवी पौडेलले २ फागुन २०७५ मा नातेदार खेमकुमारी गौतमको एक बिघा जग्गा खरीद गरेकी थिइन् । २०७२ सालसम्म उक्त जग्गा खेमकुमारीका श्रीमान् हिमप्रसाद गौतमको नाममा थियो ।

सूचीमा धेरै वर्षअघि मृत्यु भएका, जमीन नभएका र समूहमा सदस्य नै नरहेका कैयौंको नाम छ । त्यस्तै, किर्ते विवरण बनाएर एउटै व्यक्तिको नाममा तीन वटै कृषक समूहबाट र एक जनाको नाममा एउटै कृषक समूह मार्फत दुई पटकसम्म अनुदान लिइएको छ ।

तर हिमप्रसाद वितेको चार वर्षपछि २४ जेठ २०७६ मा उनको नाममा अनुदान बुझेको माङसावा कृषक समूहको अनुदान सम्बन्धी भुक्तानी भर्पाईमा देखिन्छ । चार वर्षअघि नै खारेज भइसकेको जग्गा धनीपुर्जाको दुरुपयोग गरी उनको फर्जी हस्ताक्षर समेत गरी अनुदान रकममा भ्रष्टाचार गरिएको छ ।

त्यस्तै, तुलाचन कृषक समूहले अनुदान दिएको सूचीको क्रमसंख्या १६ मा नाम रहेका गौरीगञ्ज गाउँपालिका–२ का बेगारु राजवंशीले २४ जेठमा भुक्तानी लिएको उल्लेख छ । ४२ वर्षीय बेगारु कुनै पनि कृषक समूहको सदस्य नरहेको बताउँछन् ।

सात कट्ठा मात्र निजी जमीन भएका उनलाई एक बिघामा चैते धान लगाउन रु.६ हजार ६६६ अनुदान दिएको भनी त्यहाँका तीन वटै कृषक समूहले किर्ते विवरण बनाएर अलग–अलग भुक्तानी लिएको देखिन्छ ।

तुलाचनका अध्यक्ष सुजन श्रेष्ठले घरमै आएर रु.२ हजार बुझ्न भनिरहेको बताउने बेगारु भन्छन्, “मैले रकम लिएको छैन, तर उनीहरूले धेरै किसानलाई घरघरै गएर रकम नलेखिएको भर्पाईमा हस्ताक्षर गराइरहेको थाहा पाएको छु ।”

उक्त समूहबाट २५ जेठमा भुक्तानी बुझ्नेहरूको सूचीको १२औं नम्बरमा बोधराज नेपालीको नाम छ । तर आसपासको गाउँमा कतै पनि त्यो नाम गरेका कृषक छैनन् ।

यस्तै, एउटै परिवारबाट २४ जेठमा लीलादेवी नेपाल र त्यसको भोलिपल्ट उनका श्रीमान् बोधराज नेपालले अनुदान रकम रु.६ हजार ६६६ बुझेको देखिन्छ । यसले काल्पनिक पात्र खडा गरेर तथा एकै परिवारका एकभन्दा बढी सदस्यले किर्ते विवरणबाट अनुदान लिएको देखाउँछ ।

पहुँचवालाको ‘सेटिङ’

एकातिर फर्जी विवरण राखेर कृषि अनुदान रकममा कृषक समूहले नै हिनामिना गरेको छ, अर्कातिर पहुँचको आडमा अनुदानको दुरुपयोग गरिएको छ । गौरीगञ्ज–२ का किनालाल राजवंशी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झापा जिल्ला कमिटीका सदस्य हुन् ।

अघनुप्रसाद राजवंशी (बायाँ),  किनालाल राजवंशी (बीचमा) र बेगारु राजवंशी (दायाँ)।

उनको परिवारले पाँच पटक अनुदान लिएको देखिन्छ । तुलाचन कृषक समूह मार्फत २५ जेठमा अनुदान पाउनेहरूको सूचीको पृष्ठ एकको क्रमसंख्या ५ मा किनालाल र पृष्ठ पाँचको क्रमसंख्या ७ मा उनकी श्रीमती ढुडो राजवंशीको नाम छ ।

यति मात्र होइन, माङसावा कृषक समूहबाट पनि किनालाल, श्रीमती ढुडो र छोरा ग्रहणलालले बेग्लाबेग्लै अनुदान लिएका छन् ।

किनालाल आफ्नो सम्पर्क र प्रभावले दुई वटा कृषक समूहले उक्त अनुदानको योजना स्वीकृत गरेको हाकाहाकी बताउँछन् ।

गएको ७ जेठमा कृषि ज्ञान केन्द्र, भद्रपुरका अधिकारीले फोन गरेर एक बिघा जमीनमा चैते धान लगाउने कृषकलाई रु.६ हजार ६६६ अनुदान दिने योजनाबारे खबर दिएको उनी बताउँछन् ।

कृषक समूहले योजना पेश गर्नुपर्ने १५ दिने सूचना प्रकाशन भएको १४औं दिनमा आएको त्यो खबरपछि किनालालले तत्काल गौरीगञ्ज गाउँपालिकामा कनकाई, तुलाचन र माङसावा कृषक समूहसँग सम्पर्क गरे ।

भोलिपल्ट ८ जेठमा तीन वटै कृषक समूहका अध्यक्ष र किनालाल गौरीगञ्ज–२ का ३१३ जना कृषकका जग्गाका लालपुर्जाका प्रतिलिपि र निवेदनसाथ भद्रपुरस्थित कृषि ज्ञान केन्द्र पुगे ।

केन्द्रले कृषकका जग्गाको विवरणको सत्यतथ्य नजाँची र कुनै सोधपुछ नगरी तीन वटै कृषक समूहका योजना स्वीकृत गरिदियो । सामान्य सोधपुछ समेत नगरी अनुदानको योजना स्वीकृत गरिंदा लालपुर्जाका दर्जनौं किर्ते कागजातको भरमा अनुदान दिने वातावरण बन्यो ।

यसबाट कृषि ज्ञानकेन्द्र र तीन वटै कृषक समूहबीच योजना छनोट गर्दादेखि नै सेटिङ भएको स्पष्ट हुन्छ । कृषि ज्ञान केन्द्र झपाका प्रमुख शालिग्राम भट्टराई कृषक समूहले तयार पारेर ल्याएका कागजातको जाँच नगर्नु आफ्नो कमजोरी भएको बताउँछन् । “समूहले यति धेरै नक्कली कागजात बनाउलान् भनेर शङ्का नगर्नु नै भूल भएछ”, उनी भन्छन् ।

सामान्यतः चैते धान वैशाखमा लगाइन्छ र असारमा भित्र्याइन्छ । कृषकले अनुदान लिएपछि खेतीको अनुगमन गर्न कृषि ज्ञान केन्द्रबाट गएका दुई कर्मचारी किनालाल राजवंशी र कृषक समूहका अध्यक्षहरूको साथमा एक पटक गौरीगञ्ज पुगेको तर खेतमा नपुगी फर्किएको स्थानीयले देखेका थिए ।

“उहाँहरू जेठ अन्तिममा आउनुभयो र होटलमा खाजा खाएर फर्किनुभयो, कृषिका हाकिमहरूले किसानलाई भेट्नुभएन”, गौरीगञ्ज–२, तुलाचन बजारका एक होटल व्यवसायी भन्छन् ।

तीन वटा कृषक समूह मार्फत अनुदान ल्याउने सम्पूर्ण प्रक्रियाको शुरूआतदेखि नै कृषक समूहका पदाधिकारी, कृषि ज्ञान केन्द्र भद्रपुरका कर्मचारी र जनप्रतिनिधि समेतको सेटिङ मिलाउन किनालाल राजवंशी र वडा सदस्य अरुण राजवंशीको भूमिका रहेको देखिन्छ ।

अनुदान रकम निकासाका लागि वडा कार्यालयबाट कृषक समूहले असार दोस्रो साताभित्र सिफारिश लिनुपर्ने थियो । ६ असारमा गौरीगञ्ज–२ का वडाध्यक्ष अघनुप्रसाद राजवंशीले ‘कृषक समूहले चैते धान विशेष कार्यक्रम सम्पन्न गरेकोले रकम निकासा दिन’ सिफारिश पत्र लेखे ।

त्यस्तो सिफारिश माग गर्नेमध्येका एक कनकाई कृषक समूहका सचिव अरुण राजवंशी सोही वडाका निर्वाचित वडा सदस्य समेत हुन् ।

तीन वटा कृषक समूह मार्फत अनुदान ल्याउने सम्पूर्ण प्रक्रियाको शुरूआतदेखि नै कृषक समूहका पदाधिकारी, कृषि ज्ञान केन्द्र भद्रपुरका कर्मचारी र जनप्रतिनिधि समेतको सेटिङ मिलाउन किनालाल राजवंशी र वडा सदस्य अरुण राजवंशीको भूमिका रहेको देखिन्छ ।

कृषि ज्ञान केन्द्रबाट तुलाचन कृषक समूहले १३२ जना कृषकको रु.८ लाख ११ हजार, माङसावा कृषक समूहले १०४ कृषकको रु.६ लाख ८४ हजार र कनकाई कृषक समूहले ७७ जना कृषकको रु.३ लाख ६७ हजार समेत गरी कुल रु.१८ लाख ६२ हजार भुक्तानी लिएका थिए ।

कृषि ज्ञान केन्द्र भद्रपुरले गत जेठमा झपाका २१ वटा कृषक समूहलाई यस्तो अनुदान बाँडिएको जनाएको छ ।

अख्तियारमा उजुरी

अनुदान रकमको दुरुपयोग भएको खबर गाउँमा फैलिएपछि २५ साउनमा गौरीगञ्ज–२ का ४२ जना कृषकले कारबाहीको माग गर्दै वडा कार्यालयमा उजुरी दिए ।

त्यसपछि गाउँपालिकाले २७ साउनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयलाई पत्र लेखेर अनुदान दुरुपयोगबारे छानबिन गर्न आग्रह गरेको छ ।

गाउँपालिकाले छानबिनको लागि तीन वटै कृषक समूहले अनुदान रकम वितरण गरेको १४ पृष्ठको सूची समेत बुझएको छ ।

यसैबीच, ५ भदौमा अख्तियारको टोलीले गौरीगञ्ज पुगेर किसान, जनप्रतिनिधि र कृषि ज्ञान केन्द्र, भद्रपुरका कर्मचारीसँग छलफल गरेको छ ।

अख्तियारको इटहरीस्थित क्षेत्रीय कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्र ढकालका अनुसार, कृषक समूह र कृषि ज्ञान केन्द्रको अनुदान भुक्तानीको सूची र अनुदान मागिएका कागजातमाथि अनुसन्धान केन्द्रित गरिएको छ ।

 

 

 

 

 

 

प्रतिकृया दिनुहोस