काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाका मुख्य अभियुक्त मानिएका दुर्गा प्रसाईं पक्राउ परेका छन्।
प्रहरी उच्च स्रोतका अनुसार भारतीय प्रतिजासूसी संस्था इन्टेलिजेन्स ब्यूरो (आईबी)को सहयोगमा प्रसाईंलाई आसामबाट नियन्त्रणमा लिएको हो। आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई दुई देशका सुरक्षा निकायले समन्वय गरेर पक्राउ गर्दै आएका छन्।
भारतको गृह मन्त्रालय मातहत सञ्चालन हुने आईबीले त्यहाँको आन्तरिक सुरक्षा र प्रतिजासूसीको काम गर्छ। सन् १८८७ मा सेन्ट्रल स्पेशल ब्रान्चका रूपमा स्थापना भएको आईबी रअको स्थापनापछि आन्तरिक सुरक्षा र प्रतिजासूसीमा केन्द्रित छ।
प्रहरीले भने विज्ञप्ति जारी गरेर प्रसाईं पक्राउ नपरेको दाबी गरेको छ। यसअघि पनि भारतमा पक्राउ गरेका व्यक्तिलाई भारतीय सुरक्षा निकायले नेपाललाई नबुझाउँदासम्म नेपाल प्रहरीले पक्राउ परेको स्विकार्ने गरेको थिएन।
आईबीले प्रसाईंलाई नियन्त्रणमा लिएपछि नेपाल प्रहरीको विशेष ब्यूरोको दोस्रो टोली भारत गएको छ। प्रहरीको एउटा टोली भने केही दिनअघिदेखि नै आईबीसँगको समन्वयमा भारतमै छ। प्रसाईंका चालकले आसामसम्म पुर्याएको बयान दिएपछि प्रहरीको टोली भारत पुगेर अनुसन्धानमा समन्वय गरिरहेको थियो।
तीनकुने घटनाको तीन दिनपछि चैत १८ मा प्रसाईंले आफू काठमाडौंमै रहेको भन्दै फेसबूक मार्फत भिडिओ सार्वजनिक गरेका थिए। त्यो भिडियो सन्देशको पृष्ठभूमिमा मन्दिर समेत देखिन्छ। त्यो मन्दिर आसामस्थित प्रसाईं लुकेर बसेको घरकै रहेको प्रहरी स्रोतको भनाइ छ। “पाठक थरका व्यक्तिको घरमा प्रसाईं बसेका थिए। त्यहींबाट पक्राउ परेका हुन्,” प्रहरी स्रोतले हिमालखबरसँग भन्यो।
प्रसाईंको सचिवालयले चलाउने फेसबूक आईडीमा पनि उनले भारतमा प्रहरीसामु आत्मसमर्पण गरेको दाबी गरिएको छ। “हिजो मात्र हामीले सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुन्छौं भनेका थियौं र आज उपस्थित भयौं,” प्रसाईंको सचिवालयले लेखेको छ।
प्रसाईंलाई पूर्व राजा ज्ञानेन्द्र शाहले राजसंस्था फर्काउने अभियानको कमान्डर तोकेका थिए। चैत १५ गते प्रसाईंको कमान्डमै भएको आन्दोलन हिंसात्मक बन्दा प्रहरीको गोली लागेर एक जनाको र प्रदर्शनकारीले भवनमा लगाएको आगोमा जलेर अर्का एक जनाको ज्यान गएको थियो। प्रहरीको गोली लागेर २० जना घाइते भएका छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले एसएलआर, इन्सास जस्ता अर्धस्वचालित हतियारबाट आन्दोलन नियन्त्रण गर्न ११० राउन्ड गोली प्रहार गरेको थियो। यद्यपि प्रहरीले ५८ राउन्ड मात्र गोली हानिएको दाबी गरेको थियो।
प्रदर्शनकारीले निजी सम्पत्ति, व्यापारिक भवनदेखि राजनीतिक दलको पार्टी कार्यालयमा समेत आगजनी, तोडफोड र लूटपाट मच्चाएका थिए। पक्राउ परेका व्यक्तिहरू विरुद्ध आपराधिक उपद्रव, राज्यद्रोह र संगठित अपराधको कसूर लगाइएको छ।