अघिल्लो रात मर्मतका लागि ग्यारेजमा छोडेको गाडी लिन बल्खु गएका सबिन महर्जन एक्कासि तीनकुनेको प्रदर्शनमा मारिएको खबर सुनेदेखि परिवारजन सम्हालिन सकेका छैनन्। 
सदा झैं चैत १५ को अपराह्न पनि भविषा ठकुरी मल्ल काठमाडौंको कीर्तिपुर नगरपालिका-४, गाम्चास्थित घरमै थिइन्। ७ वर्षीया छोरी सुबिसासँगै घरायसी काममै व्यस्त थिइन्। एकाएक उनको मोबाइलमा खबर आयो- सबिन महर्जनको मृत्यु भयो।
सबिन महर्जन उनै २९ वर्षीय युवक हुन्, जसको तीनकुनेमा गोली लागेर ज्यान गयो।सबिन भविषाका श्रीमान् हुन् ।
यो खबर पनि त्रिवि शिक्षण अस्पतालबाट आएको थियो। उनी महाराजगन्जतिरै दगुरिन्।
भोलिपल्ट अर्थात् चैत १६ गते बिहान मात्रै घर फर्किन्। उनी घर नपुग्दै गाउँले जम्मा भइसकेका थिए। छरछिमेकी र आफन्तजन घरमा पुगिसकेका थिए।
श्रीमान्को शव शिक्षण अस्पतालमै छोडेर घर पुगेकी उनी छोरीसँगै टोलाइरहेकी थिइन्। आफन्तजन सम्झाइबुझाइ गरिरहेका थिए। “मेरा बूढोको देब्रे छातीमा गोली लागेको देखें। ऐया पनि भन्न पाउनुभएन होला,” गाम्चास्थित घरमा पीडा सुनाउँदै प्रश्न गरिन्, “अहिले घरमा अनेक मान्छे आएर हामी तपाईंका लागि केही गर्छौं भनिरहेका छन्। मेरा बूढा फर्काउन सक्छन्?”
सबिन चैत १५ गते बिहान केही बेरमा फर्किन्छु भनेर घरबाट निस्केका थिए। अघिल्लो राति बल्खुस्थित ग्यारेजमा मर्मतका लागि गाडी छोडेर आएका थिए।
गत १० वर्षदेखि उनी हेटौंडा-काठमाडौं चल्ने वेलकम सुमो सेवाको गाडी चलाउँथे। प्रायः राति हेटौंडामै बस्थे। गाडी मर्मत गर्नुपर्दा गाम्चास्थित घर आइपुग्थे।
 
कीर्तिपुर-४, गाम्चास्थित सबिन महर्जनको घर। 
 
 
एक सातापछि चैत १४ मा हेटौंडाबाट काठमाडौं आएका थिए। त्यही राति बल्खुस्थित एक ग्यारेजमा गाडी बनाउन दिएका थिए। राति  घर आएका उनी चैत १५ गते बिहान १० बजे गाडी लिन गएका थिए।
गाडी लिन बल्खु गएका सबिन कसरी तीनकुने पुगे भन्ने परिवारजन र सहकर्मीले पनि मेसो पाएका छैनन्। “गाडी बनाउन भनेर हिंड्नुभएको थियो। तर आन्दोलनमा मृत्यु भएको खबर सुनें। खै, कसरी पुग्नुभयो!” भविषा भन्छिन्।
सबिनले भविषालाई अरू केही भनेका थिएनन्। बल्खुको ग्यारेजबाट गाडी लिएर फर्किने बताएका थिए। “ग्यारेजबाट कसैले उता लग्यो कि, वा अरू नै कामले पो तीनकुने जानुभयो? थाहा छैन,” उनी धेरै बोल्न सकिनन्।
परिवारजन पनि सबिन कसरी तीनकुने पुगे भन्नेमा चकित छन्। अहिलेसम्म सबिन कुनै आन्दोलन वा कार्यक्रममा गएको आफन्तजनलाई थाहा छैन। उनी प्रायः आन्दोलन, प्रदर्शन होस् वा अन्य भेलासेलामा नजानेमा पर्छन्। “हुलहुज्जतमा कहिले गएन, आफ्नै काममा हुन्थ्यो,” काका विकास महर्जन भन्छन्।
विकासले नै सबिनलाई हुर्काएका थिए। सबिनले पाँच वर्षमै आमा गुमाएका थिए। आमाको मृत्युपछि बुबाले अर्को बिहे गरे। त्यसपछि आफूसँगै हुर्किएको विकास सुनाउँछन्।
अहिले पनि सबिनको परिवार काकाले दिएकै घरमा बस्दै आएको छ। उनीहरूलाई काका विकासले दुई कोठा दिएका छन्। 
 
सबिनको परिवारको कोठा। 
 
 
सबिनले कक्षा ८ सम्म पढेका थिए। त्यसपछि उनी १४ वर्षको उमेरमै गाडीको लाइनमा लागेका थिए। त्यही क्रममा हेटौंडाकी भविषासँग प्रेम बस्यो। उनीहरूले २०७२ सालमा प्रेमविवाह गरेका थिए।
काम र परिवार बाहेक यताउता नजाने भएकाले उनका धेरै साथी पनि नरहेको विकास सुनाउँछन्। “घर बाहिर कहीं नजाने। त्यही भएर गाउँमा साथी पनि थिएनन्,” विकास भन्छन्, “कहिल्यै राजनीतिक कुरा गर्दैनथ्यो। तीनकुने कसरी पुग्यो, पुग्यो!”
यसअघि कतै आन्दोलनमा गएको पनि नदेखेको उनी सुनाउँछन्। “फेरि पहिला आन्दोलनमा जाने गरेको भए त हिजो पनि नजा बाबु भन्नहुन्थ्यो। के के भो, भो!” उनी निराशा पोख्छन्।
सबिनसँगै वेलकम सुमो सेवामा काम गर्ने सागर थापा पनि सबिन कसरी तीनकुने पुगे भन्ने मेसै नपाएको सुनाउँछन्। जहिले गाडी ल्याएर मात्र ग्यारेजबाट फर्किने गरेको उनी बताउँछन्। “गाडी बनाउन गएको मान्छे, बनाएरै मात्र फर्किन्थ्यो। यो चोटि खोइ के भयो?” सबिनका साथी सागर भन्छन्, “आन्दोलनमा परेर बितेछ।”
कीर्तिपुर-४ का वडाध्यक्ष राजेन्द्र बानियाँ पनि सबिनलाई अहिलेसम्म राजनीतिक तथा सामाजिक गतिविधिमा नदेखेको सुनाउँछन्। सबिन प्रायः हेटौंडामै बस्ने गरेको उनी बताउँछन्। “यहीं ठाउँका अरू युवा सबैलाई चिन्छु, सबिनलाई त खासै चिनेको पनि थिइनँ। ऊ प्रायः हेटौंडातिरै हुँदो रहेछ,” वडाध्यक्ष बानियाँ भन्छन्, “साधारण मान्छेले यसरी गोली खायो! यसको जिम्मेवारी कसैले त लिनै पर्छ।”
सबिनको मृत्यु भएको खबर फैलिएसँगै आफन्त, छरछिमेकी त घरमा पुगिरहेका छन् नै, विभिन्न संघसंस्थाका मान्छे पनि गाउँमा पुगेका छन्। तीनकुनेमा प्रदर्शन गरेका पूर्व राजा ज्ञानेन्द्र शाहका समर्थकदेखि सरकारका प्रतिनिधि सबिनको घरमा पुगिरहेका छन्। तर भविषालाई कसैसँग मतलब छैन। ७ वर्षीया छोरी सुविसासँगै कोठामा टोलाइरहेकी छन्।
जोसुकैको आन्दोलन होस्, त्यससँग आफ्नो कुनै सरोकार नभएको उनी बताउँछिन्। त्यो दिन पनि कसको आन्दोलन थियो भन्ने पत्तो नभएको उनी सुनाउँछिन्। “यो आन्दोलन किन भएको भन्ने पनि थाहा छैन। शान्तिपूर्ण आन्दोलन भएको भए किन यो सबै हुने थियो,” उनी भन्छिन्।
त्यो दिन भविषा गाउँकै सहकारीको कार्यक्रममा व्यस्त थिइन्। उनी पनि कुनै दलको समर्थनमा हिंड्ने गरेकी छैनन्। सबिनलाई पनि कसैको मतलब नरहेको भविषा सुनाउँछिन्।
 
सबिन महर्जन। 
 
 
काका विकास पनि सबिनलाई कुनै पक्षको ‘ट्याग’ नलगाउन आग्रह गर्छन्। विभिन्न पक्षका मान्छे आएर फकाउन थालेपछि दिक्क लागेको उनी बताउँछन्। “हामी केही वादी हैन, सर्वसाधारण हौं। यसको वा उसको भनेर अवहेलना नगरून्,” उनी भन्छन्, “अरूको त के भयो र! सबैको राम्रै छ। हाम्रो पो छोरा बित्यो।”
सबिनको ज्यान गएसँगै परिवार पनि समस्या परेको छ। उनकै कामकाजले परिवारको दैनिकी चलिरहेको थियो। नातिनी र बुहारीको भविष्यका लागि सरकारले सघाउनुपर्ने उनको भनाइ छ। “अब जे गरे पनि सबिन त फर्केर आउँदैन। नातिनीको भविष्यका लागि सरकारले हेरिदिए हुन्थ्यो,” उनी भन्छन्।
भविषाले भने केही सोच्नै सकेकी छैनन्। सबिन गाडी लिन ग्यारेज गएदेखि बल्खुतिर रहेको उनको ध्यान मृत्यु भयो भनेर फोन आएदेखि भने शिक्षण अस्पतालतिर एकोहोरिएको छ। शुरूमा त उनलाई पत्यार लागेको थिएन। शिक्षण अस्पताल पुगेर शव देखपछि भने अचेत भइन्।
एक रात अस्पतालमै बिताएकी उनी चैत १६ गते बिहान मात्र घर फर्केकी छन्। अब सबिन त फर्किंदैनन्, सबिनको शव पर्खिरहेकी छन्।
यो पनि पढ्नुहोस्: