ब्लग शनिबार, भदौ १४, २०७६

अविश्वसनीय, अविस्मरणीय बडिमालिका

सेवा भट्टराई

मानव बस्तीबाट धेरै टाढा ४,२०० मिटर उँचाइमा अवस्थित बडिमालिका मन्दिरमा पुगेकाहरु त्यहाँको प्राकृतिक सुन्दरताबाट आल्हादित हुन्छन्।

तस्वीरहरु : माेनिका देउपाला

सुदूर र र मध्यपश्चिममा ग्रामीण देवताहरू बाह्र भाइ मष्टा र नौ भवानीका कथा निकै प्रसिद्ध छन् । तीमध्ये बाजुरामा रहेकी बडिमालिका कान्छी मानिन्छिन् । मानव बस्तीभन्दा धेरै टाढा पहाडमाथि बस्ने भएकाले वर्षेनि जनैपूर्णिमामा उनलाई पूजा पुर्‍याइन्छ ।

जनैपूर्णिमाको एक दिनअघि तीर्थयात्रीहरू बडिमालिका पुग्छन् र यात्राको हरेक चरणमा बडिमालिका देवीको यात्रा वर्णन गर्दै गीतहरू गाउँछन् । दाजुले नजिकको ठाउँ कैलाशमा आफ्नो वासस्थान रोजेपछि आफू भने टाढा जानुपर्दा दाजु–बहिनीको यस्तो संवाद बाजुराका किट्टी बिक, पद्मा बिक र देवी बिक गाएर सुनाउँछन् ।

बहिनीः हामीकन रोज्यौ दाजु येनाशङ्कर 
येनाशङ्कर दाजु धर्तीको छेउ
येनाशङ्कर दाजु कसरी रहुँला
दाजुः मानबिका छिट कपडा त्यहीं पुर्‍याउँला
मानबिका तिम्रो भाग त्यहीं पुर्‍याउँला

अर्थात् बडिमालिकाका दाजुले बहिनी जहाँ, जति टाढा भए पनि मानिसका हातबाट उनलाई चाहिने जति सबै चीज त्यहीं पुर्‍याउने वाचा गर्दछन् । त्यसै अनुसार जनैपूर्णिमाको तीन दिनअघि वरिपरि सात जिल्लाका मानिस त्रिवेणीको फाँटमा पुग्छन् ।

बाजुराबाट हिंडेर आउँदा करीब ३५०० मिटरको उँचाइ चढिसकेपछि झण्डै समतल देखिने फाँटहरूमा पुगिन्छ । यो मौसममा ती फाँटमा जता हेर्‍यो त्यतै हरियाली देखिन्छ । त्रिवेणी फाँटमा रङ्गीविरङ्गी फूल फुलिरहेका हुन्छन् । आँखाले देखेसम्म रातो, पहेंलो, नीलो, वैजनी, सुन्तले र ती बीचका इन्द्रेणी रङ्गका फूलहरू फाँटमा झुलेको देख्दा मन्त्रमुग्ध नहुने कोही हुँदैन ।

मनोरम दृश्यले निकै लोभ्याउँछ । टाढा टाढासम्म किन कुनै घर छैनन् ? किन कोही मानिस यहाँ बस्दैनन् ? मनमा प्रश्न उठिरहन्छन् । दिउँसै कुहिरो लागेर जतिखेर पनि सिमसिम पानी परिराख्ने भएपछि मानिसको रासोवासो कसरी होस् ? त्यसो त उत्तर पनि हिंड्दा हिंड्दै भेटिन्छ ।

त्रिवेणीको फाँटबाट दुईतिरबाट बग्दै आएका नदी गङ्गा र जमुना मिसिइरहेको देखिन्छ । अन्यत्र जस्तै यहाँ पनि त्रिवेणीमा सरस्वती विलुप्त भएको मानिन्छ । फाँटभरि जताततै स–साना पोखरी छन् । वर्षमा एक दिन यो फाँट रङ्गीविरङ्गी पाल र विशेषतः आन्तरिक पर्यटकको भीडले भरिभराउ हुन्छ ।

कालीकोटबाट हिंडेर बडिमालिका पुग्न एक दिन लाग्छ भने जुम्ला र डोटीबाट ८–९ दिन । त्रिवेणी फाँटमा हामीलाई आफ्नो पालमा सबैतिरबाट हावा छेकेर बस्दा समेत गाह्रो भइरहेका बेला दर्जनौं मानिस खुला आकाश मुनि थिए ।

माथि त्रिपाल र भुइँमा प्लास्टिक ओछ्याएर बस्नेहरु पनि धेरै थिए । पाल मुनि कतिपयले आगो बालेर चनाको तरकारी, रोटी र चिया बेचिरहेका थिए । सबैजना देवीको दर्शन गर्न ‘चोखैभोकै’ जाने भएकाले जुठो मानिने भात कतै पाइँदैन । कतिपय तीर्थालुले हावा छेक्नकै लागि वरिपरि छाता खोलेर राख्छन् र रातभरि जाग्राम बस्छन् ।

रात पर्दै गएपछि बडिमालिकाको यात्रा वर्णन समेटिएका गीतहरु सुनिन्छन् । यस्तो गीतलाई कोही मङ्गल वा माङ्गल भन्थे भने कोही फाग वा चाँचडी । बाजुराको कोर्दा गाउँबाट आएका नन्दा साउँद र अरूले बडिमालिकालाई चढाउन ल्याएका सामानहरूको वर्णन गीत मार्फत नै गरेको सुनियो।

माताजीका मण्डल केउले भरियो ?
माताजीका मण्डल फूलले भरियो

यसै गरी फल, दूध, अन्न, सुन, चाँदी जस्ता शुभ वस्तुका बारे गीत गाइसकेपछि उनीहरू बडिमालिकाको कथा लय हालेर गाउँदा रहेछन् ।
तीर्थालुहरु बडिमालिकालाई दुर्गाको एउटा रुप भएको र उनले त्रिवेणीको फाँटमा दानवहरुमाथि विजय प्राप्त गरेको मान्दा रहेछन् । विजयपछि आफ्नो वासस्थान (पहाडको चुचुरो) तिर जाँदा एउटा हात नभएको बीरा भन्ने राक्षसले बाटो छेक्छ र बडिमालिकाले गीत मार्फत राक्षसलाई बाटो छाडिदिन भन्छिन् ।

मेघ न बरसिगयो, बाटो न बदलिगयो
बीरा बाटो छोडिदे, कान न जेवर पनि
तैंर बीरा सौंपिजाउँला, बीरा बाटो छोडिदे

बडिमालिकाले राक्षसलाई आफ्ना हरेक गहना दिएर फकाएपछि उसले बाटो छोड्छ र उनी अघि बढ्छिन् ।

नजिकैको पालमा बाजुराकै रिठु कठुवाल लगायतका महिलाहरू बडिमालिकासँग के बर माग्ने भन्ने गीत गाइरहेका थिए ।

के माग्दा के माग्दा
बरै माग्दा यनै बरै माग्दा
दुर्गा देवी बरै देउ
अन्नै बरू देउ न दुर्गा देवी
फूलै माग्दा फलै माग्दा

बडिमालिकाले मागेको कुरा दिन्छिन् भन्ने विश्वासका साथ मानिसहरू यो मन्दिरमा अन्न, गाईवस्तु, फलफूल र सन्तान आदि माग्ने गर्दछन् । रातभरि जसो गीत गाएपछि भोलिपल्ट बिहानै फाँटका मानिसहरू एक–एक गर्दै उकालो लाग्छन् । बेला–बेलामा नाकै ठोक्किने उकालो र कहींकतै तेर्सो बाटो समेत गरेर करीब ६–७ घण्टा हिंडेपछि बडिमालिका पुगिन्छ ।

यात्राको यो खण्डमा वातावरण प्रदूषित गर्ने केही भेटिंदैन– चारैतिर हरियाली र पाटनमा फुलेका फूल मात्रै देखिन्छन् । पहाडको टुप्पामा बस्ने बडिमालिका जस्तै अरु देवीदेवतालाई पनि अक्सर शुद्धता र पवित्रतासँग जोडेर हेरिन्छ ।

बडिमालिका पनि यस्तै शुद्धता खोज्दै त्यहाँ पुगेकी हुन् भन्ने भनाइ छ । बडिमालिकाको वासस्थान पुग्दा उनले खोजेको शुद्धताको आभास जताततै पाइन्छ । यही शुद्धताका नाममा रजस्वला भएका महिलालाई मन्दिर जान निषेध रहेछ ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो ठाउँमा अन्य समयमा पनि जान पदयात्रा मार्गको विकास गरेर पर्यटक भित्र्याउने प्रयास स्थानीय सरकारले थालेको छ । सरकारी स्तरबाट बडिमालिकामा पूजा गर्ने चलन निर्वाह गर्न पुगेका बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपाने भन्छन्,

“यस ठाउँमा वर्षको एक पटक मात्र मानिसहरु आउने भएकाले बाटोमा होटल लगायतका पूर्वाधार बनाइएका छैनन् । हिंडेर आउँदा निकै समय लाग्ने ठाउँ भएकाले केबलकार उपयुक्त हुन सक्छ ।”

बडिमालिका नगरपालिकाका मेयर पदम बडुवाल भने सडकमार्गकै पक्षमा छन् । उनी भन्छन्, “मन्दिरसम्म गाडी पुर्‍याउन नसकिएला तर पदयात्राको बाटो छोट्याउन सडकमार्ग बनाउने ध्येयले वातावरण मूल्याङ्कन गरिसकेर त्यसको विस्तृत परियोजना विवरणमा काम भइरहेको छ ।”

धार्मिक र साहसिक पर्यटनका लागि यात्रा गर्ने सबैले बास बस्न टेण्ट, स्लीपिङ ब्याग र म्याट बोकेरै हिंड्नुपर्छ ।

सधैं पानी परिराख्ने र हावा लागिराख्ने यहाँको मौसममा साहसिक पदयात्रा गरिरहनेहरूलाई साँच्चै रमाइलो होला तर उनीहरुले पनि दुई–दुई घण्टाको दूरीमा भात मात्रै होइन ‘एप्पल पाई’ र ‘स्पागेटी’ जस्ता विदेशी परिकार र राति आगोको वरिपरि न्यानो भएर ढुक्कले सुत्न पाइने अन्नपूर्ण पदमार्गको यात्रा झल्झली सम्झन्छन् ।

यहाँको बसाइ निकै कठिन भएको बुझेर जनैपूर्णिमाको दिन बिहानै बाजुराका रमिलादेवी उपाध्याय र देवकीदेवी उपाध्याय पनि त्यस्तै भावमा मालिकाको बिदाइ गीत गाउँदै थिएः

आफूकन रोज्यौ दाजु पुर्व पाटन
हामीकन छोड्यौ दाजु येनाशङ्कर
येनशङ्कर दाजु धर्तीको शिरमा
येनशङ्कर दाजु यहीं बसिरहुँला

एकातिर यी गीतले विवाह गरेर माइती र परिवारबाट टाढा भएका महिलाको भाव समेटेको छ भने अर्कोतर्फ पुस्तौं पुस्ताको अभ्यासले खारिएका गायनशैली र लय पाइन्छ । रातभरि पानी परेपछि बिहानै खुलेको आकाश र सूर्य उदाउने बित्तिकै साइपाल हिमालमा पोखिएको घामको झुल्कोले टल्किएको हिमाल देख्दा जोकोहीलाई ‘स्वर्ग’ मै पुगेको अनुभूति दिलाउँछ ।

केबलकार अथवा सडकमार्गले यात्रा केही सहज र होटल लज जस्ता पूर्वाधार समेत विकास गर्न सकियो भने प्राकृतिक सौन्दर्य खोज्न संसार चहार्दै हिंड्ने पर्यटकलाई बडिमालिका र त्रिवेणी फाँटले अरू बेलामा आकर्षित गर्न सक्छ ।

 

प्रतिकृया दिनुहोस