व्यक्तित्व शनिबार, भदौ १४, २०७६

पहिलाे ‘माउन्टेन डाक्टर’

शरद ओझा

चिकित्सक निमा नाम्गेल शेर्पाले सन् २०१२ मा अस्पतालबाट राजीनामा दिंदा धेरैले ‘पागल’ को संज्ञा दिए भने आमाबुवा दुःखी भए। तर, नयाँ चुनौतीले उनलाई ‘माउन्टेन डाक्टर’ मात्र होइन, हिमाल आरोही र पर्यटन व्यवसायी पनि बनायो ।

 

डा.निमा नाम्गेल शेर्पा अस्पतालमा भेटिनुपर्ने हो । तर, उनी हिमाल चढिरहेका हुन्छन् । अथवा आधारशिविरमा आरोहीको स्वास्थ्य जाँच गरिरहेका हुन्छन् । निमाका बाजे ट्रेकिङ गाइड थिए । बाबुले लज खोले । उनी भने चिकित्सक भए । तर; एप्रोन, स्टेथोस्कोप, अस्पतालमा मन अडिएन । जसले उनलाई नेपालको पहिलो माउन्टेन डाक्टर, पर्यटन व्यवसायी र हिमाल आरोही बनायो । 

निमा बाजेका पाइला पछ्याउन चाहन्थे । “बाजे बिरामी भएका पर्यटकलाई घरमा ल्याउनुहुन्थ्यो । तर, उपचार राम्रो हुँदैनथ्यो” निमा भन्छन्, “जसले गर्दा मलाई डाक्टर बनेर हिमालमा काम गर्ने प्रेरणा मिल्यो ।”

चीनमा एमबीबीएस पढाइ सकेर निमा सन् २००८ मा नेपाल फर्किए । मेडिकेयर अस्पतालमा जागिर शुरू गरे । छोरो डाक्टर भएपछि परिवार दङ्ग थियो । तर, निमा खुशी हुन सकेनन् । त्यसैले सन् २०१२ मा काम छोड्ने निर्णय गरे । अनि डिप्लाेमा इन माउन्टेन मेडिसिनको कोर्स गरे । खुम्बु क्लाइमिङ सेन्टरमा हिमाल आरोहण र लाङटाङमा आइस क्लाइमिङ तालिम पनि लिए ।

उनको गाउँ खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ खुम्जुङमा ‘डाक्टर पढेर पनि काम नपाएपछि ट्रेकिङमा लागेको’ हल्ला चल्यो । परिवारका सदस्य दुःखी भए । तर, निमालाई यस्ता कुराले छोएन । उनले उद्देश्य पूरा गरेरै छाडे । विगतका एक्सपिडिसनमा विदेशी डाक्टर मात्र जान्थे । पछिल्लो समय नेपाली डाक्टर पनि जान थालेका छन् ।

अस्पतालपछिको यात्रा

निमा अस्पताल छोडेपछि एक्सपिडिसन टीमसँग सगरमाथा आधारशिविर जान थाले । हिमालमा हुने समस्या र उपचारबारे किताबी ज्ञान थियो तर हिमालको अनुभव थिएन । त्यसैले हिमालयन एक्सपिडिसन र एशियन ट्रेकिङका लागि काम गरे ।

निमा माउन्टेन डाक्टर, टीम लिडर हुँदै आधारशिविर म्यानेजरसम्म भए । करीब पाँच वर्ष काम गर्दा स्वास्थ्य सेवा, सुरक्षा, जोखिम व्यवस्थापन, अतिथि सत्कार लगायतमा समस्या देखे । लाइसेन्स पाएका गाइडलाई प्राथमिक उपचारको सामान्य जानकारी पनि थिएन । नेपाली कम्पनीबीचको अस्वस्थ प्रतिस्पर्धाले ‘फेक रेस्क्यू’ बढिरहेको थियो । अनि हिमाल आरोहणमा हुने स्वास्थ्य समस्यामा काम गर्ने योजना बनाए ।

आफ्नै खर्चमा अमेरिकाबाट ८० घण्टाको वाइल्डनेस फस्र्ट एड (डब्लुएफआर) कोर्स गरे । यो कोर्समा आरोहीको प्राथमिक उपचार गर्न सिके । त्यही कोर्स सिकाउन सन् २०१४ मा हिमालयन मेडिक्स स्थापना गरे ।

निमाले अमेरिकासँगै इटालीबाट पनि माउन्टेन मेडिसिनको तालिम लिएका छन् । त्यहाँका हिमाल आरोहण गरेका छन् । “मैले रेकर्ड राख्न भन्दा पनि हिमालमा कस्ता कस्ता जोखिम आउँछन् भन्ने जानकारी लिन हिमाल आरोहण गरेको हुँ”, उनी भन्छन् ।

उनले सर्वोच्च शिखर सगरमाथाको पनि आरोहण गरिसकेका छन् । एकै वर्ष सन् २०१३ मा उनले सगरमाथा र मनास्लु हिमाल चढे । त्यसअघि आमादब्लम चढिसकेका थिए । उनले ६ हजार मिटर उँचाइबाट आरोहीको उद्धार पनि गरेका छन् ।

विपत्तिमा आरोहीसँगै

सन् २०१२ मा खुम्बु आइसफलमा हिमपहिरो आयो । सन् २०१४ मा पनि सगरमाथा आरोही हिमपहिरोमा परे । सन् २०१५ को भूकम्पले त सिङ्गो सगरमाथा हल्लायो । यी सबै विपत्तिमा निमा आधारशिविरमै थिए । आफूले सामना गरेका विपत्तिले धेरै कुरा सिक्ने अवसर मिलेको उनी बताउँछन् ।

सन् २०१५ को भूकम्पमा उनी आरोही समूहको व्यवस्थापक भएर सगरमाथा गएका थिए । उनको समूहमा २० जना थिए । भूकम्पपछि तीव्र गतिमा हावाहुरी चल्यो । “हिमपहिरोले पुर्छ भन्ने लागेर सबै एउटै पालमा बसेका थियौं । हिउँले पुरे पनि सामूहिक प्रयास गर्दा निस्कन सकिन्छ भन्ने थियो । मृत्यु भइहाले सबैको शव खोज्न सहज होस् भन्ने सोच पनि थियो”, उनी भन्छन् । तर, हिउँ नझ्रेकाले उनीहरू सकुशल रहन सफल भए । 

“मन लाग्नेवित्तिकै वा पैसा हुँदैमा हिमाल चढ्न गइहाल्नुहुँदैन” उनी भन्छन्, “पर्याप्त पूर्वतयारी गर्नुपर्छ ।” शेर्पामा पूर्ण भर पर्ने मानसिकताले हिमालमा दुर्घटना बढाएको उनको भनाइ छ ।

पछिल्लो समय भारतीय र चाइनिज पर्यटकले पर्याप्त पूर्वतयारी नगरी आरोहण गर्ने गरेको उनी बताउँछन् । त्यसमा सरकारले कडाइ गर्नुपर्ने उनको सुझव छ ।

यो वर्ष सगरमाथामा ट्राफिक जाम भएको तस्वीर र समाचार आयो । तर, यो नयाँ नभएको निमा बताउँछन् । “हिमालमा एक–दुई घण्टा जाम हुनु सामान्य हो” उनी भन्छन्, “सगरमाथा हरेक दिन चढ्न सकिंदैन, सबै जना राम्रो मौसम हेरेर बसेका हुन्छन्, त्यसैले मौसम खुलेको दिन भीड हुन्छ ।” सन् २०१३ मा सगरमाथा चढ्दा आफू पनि एक घण्टा जाममा परेको उनले बताए ।

आफ्नै चार कम्पनी

निमाले प्राथमिक उपचारको तालिम दिन सन् २०१४ मा हिमालयन मेडिक्स खोले ।

यो उनको पहिलो कम्पनी थियो । उनले हिमाल आरोहीको स्वास्थ्य क्षेत्रमा काम गरेको पाँच वर्ष भइसकेको थियो । उनलाई सन् २०१७ मा चाइनिज कम्पनीले स्थानीय साझेदारको रूपमा काम गर्न अफर गर्‍यो ।

निमालाई ट्रेकिङ र एक्सपिडिसनमा काम गर्ने मन थियो । तर, कम्पनी खोल्ने सोच थिएन ।

उनी भन्छन्, “चाइनिजको अफर राम्रो लाग्यो, व्यावसायिक रूपमा कम्पनी चलाउन सकिन्छ भन्ने लागेपछि अफर स्वीकारें ।” उनले साझेदारीमा खाईथु एक्सपिडिसन खोले । यो कम्पनीले डेढ वर्षमा ४० जनालाई सफलतापूर्वक ८ हजार मिटरभन्दा अग्ला हिमाल आरोहण गराइसकेको छ ।

उनको तेस्रो कम्पनी हो, एभरेष्ट–१३५ । यसले २१६ किलोमिटरको म्याराथन गराउँछ । म्याराथन जिरीबाट शुरू हुन्छ । नाम्चे, चोला पास, रेन्जोला पास, सगरमाथा आधारशिविर हुँदै लुक्ला पुगेर टुङ्गिन्छ ।

सहभागीले १५० घन्टाभित्र दौड पूरा गर्नुपर्छ । एभरेष्ट–१३५ ले यो दौडलाई चाइनिज कम्पनीसँगको सहकार्यमा प्रवद्र्धन गरिरहेको छ ।

निमाको चौथो कम्पनी ‘आउटडोर एजुकेसन’ हो । जहाँ बालबालिकाले एकै स्थानमा वाल क्लाइमिङ लगायत साहसिक खेल खेल्छन् ।

अबको लक्ष्य

३६ वर्षीय निमाको अबको लक्ष्य हेलिकप्टर पाइलट बन्ने छ । हिंड्न सकिएन भने आफैं हेलिकप्टर उडाएर उद्धारमा जान पाइलटको लाइसेन्स लिन खोजेको उनी बताउँछन् ।

सिटी टुर प्याकेजमा रुचि नभएको बताउने उनी पदयात्रा र हिमाल आरोहणमा केन्द्रित हुन चाहन्छन् । त्यस्ता पर्यटक भित्याउन चाइनिज बजारमा केन्द्रित हुने उनको अर्काे योजना छ । त्यसका लागि उनी चाइनिज भाषा सिकाइमा छन् ।

अब भने उनलाई हिमाल नचढ्न परिवारबाट दबाब आउन थालेको छ । “मैले गरेको कामबाट बुवाआमा खुशी त हुनुहुन्छ तर, अब हिमाल नचढ्न आग्रह गरिरहनुहुन्छ । मेरो भने मनै मान्दैन” निमा भन्छन्, “मलाई त हिमाल चढ्न भन्दा काठमाडौंमा गाडी चलाउन जोखिमपूर्ण लाग्छ । हिमालमा पूर्वतयारी गर्ने हो भने ९० प्रतिशत जोखिम आफ्नो नियन्त्रणमा हुन्छ ।” उनी घरमा आधारशिविर मात्र पुग्ने बताएर हिमालतिर लाग्छन् । आरोहण गरिसकेपछि फोनबाट जानकारी दिन्छन् ।

अस्पतालबाट राजीनामा दिंदा उनलाई कतिपयले पागल पनि भने । तर, उनी आफू हिंड्ने बाटोप्रति ढुक्क थिए । किनभने डा.निमा जोखिमकै काममा रमाउँछन् ।

प्रतिकृया दिनुहोस