बाँकेको बाल सुधारगृहमा झडप हुँदा ६ जना घाइते भएका छन् भने प्रहरी टोलीले ५० जनालाई नियन्त्रणमा लिएको छ।
डुडुवास्थित जयेन्दु बाल सुधारगृहमा गए राति झडप भएको थियो। झडपमा ६ बाल बन्दी घाइते भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक पातलीले बताए।
डीएसपी पातलीका अनुसार गए राति दुई समूहबीच झडप भएको थियो। एउटा समूहले अर्को समूहका बाल बन्दीलाई नियन्त्रणमा राखेको थियो। उनीहरूलाई बाहिर निस्किन दिएको थिएन।
प्रहरी टोली भित्र जान खोजेपछि ढुंगामुढा गरिएको थियो। उनीहरूले आगजनी समेत गरेका थिए। ढुंगामुढा प्रहारबाट केही प्रहरी घाइते भएको डीएसपी पातलीले बताए।
लामो समयको कसरतपछि शनिबार अपराह्न बाल सुधारगृहभित्र प्रवेश गर्न सकिएको उनले बताए। त्यस्तै, एउटा समूहको नियन्त्रणमा रहेका अर्को समूहका बाल बन्दीलाई पनि मुक्त गरिएको डीएसपी पातलीले जानकारी दिए। बाल सुधारगृहमा २५० बाल बन्दी छन्।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली बाल सुधारगृहभित्र प्रवेश गरेको छ। प्रहरी टोलीले ५० बालबन्दीलाई नियन्त्रणमा लिएको छ। “बाल सुधारगृहभित्र प्रवेश गर्न सफल भएका छौं, ५० जनालाई नियन्त्रणमा लिएका छौं,” डीएसपी पातलीले हिमालखबरसँग भने, “भित्र आगजनी गरिएको छ। दमकलको सहायताले आगो निभाएका छौं।”
एउटा समूहको कुटपिटबाट घाइते भएका अर्को समूहका बाल बन्दीलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल भर्ना गरिएको छ। उनीहरूको उपचार भइरहेको अस्पतालले जनाएको छ। गए राति डेढ बजे घाइतेलाई उद्धार गरेर अस्पताल पुर्याइएको थियो।
यो सुधारगृहमा गत वर्ष पनि झडप भएको थियो। दुई समूहबीच कुटपिट हुँदा एक जनाको ज्यान समेत गएको थियो।
यो पनि पढ्नुहोस् : सुधारगृहमा सल्किएको असन्तोषको आगो