सीके राउतको पार्टीमा बल्झियो आन्तरिक विवाद
मधेशमा वैकल्पिक शक्तिका रूपमा उदाएको सीके राउत नेतृत्वको जनमत पार्टीभित्र आन्तरिक विवाद बल्झिएको छ।
जनमत पार्टीको बर्दिबासमा केन्द्रीय कमिटी बैठक फागुन २५ मा शुरू हुनुअघि नेता तथा कार्यकर्ताले विवाद साम्य हुने अपेक्षा गरेका थिए। तर त्यस विपरीत केन्द्रीय कमिटी बैठकले नै दुई नेतालाई निलम्बन गर्ने निर्णय गरेपछि आन्तरिक विवाद झन् चर्किएको छ।
सीके राउतको नेतृत्वमा रहेको जनमत पार्टीको निर्माणदेखि नै सक्रिय भूमिका खेलेका दुई केन्द्रीय नेतालाई गम्भीर आरोप लगाउँदै स्पष्टीकरण पत्र थमाएपछि पार्टीभित्रको विवाद सतहमा आएको हो। महोत्तरीको बर्दिबासमा जारी केन्द्रीय कमिटी बैठकले उपाध्यक्ष दीपककुमार साह र कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई स्पष्टीकरण पत्र थमाउँदै जिम्मेवारीबाट पनि निलम्बन गरेको छ।
राउतले मधेशलाई छुट्टै देश बनाउनुपर्ने माग गर्दै गतिविधि शुरू गर्दादेखि नै साह र यादवले साथ दिंदै आएको थिए। उनीहरूले राउतका सबै गतिविधिमा सघाएका थिए। पार्टी निर्माणपछि पनि अध्यक्ष राउतका नजीकका नेताका रूपमा काम गर्दै आएका थिए। तर अहिले एकाएक दुवै जनालाई गम्भीर आरोप लगाउँदै स्पष्टीकरण मागिएपछि आन्तरिक विवाद झन् चर्किएको हो।
जनमत पार्टीको केन्द्रीय अनुशासन समितिकी सदस्यसचिव अनिताकुमारी मण्डलले उपाध्यक्ष साहलाई पार्टी विभाजनसम्मको गतिविधि गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधेकी छन्। त्यस्तै, कोषाध्यक्ष यादवलाई विभिन्न आरोप लगाउँदै चारबुँदे स्पष्टीकरण मागिएको छ। दुवै जनालाई सात दिनभित्र स्पष्टीकरण दिन र प्रक्रिया पूरा नहुँदासम्म पदबाट निलम्बन गरिएको जनाइएको छ।
कोषाध्यक्ष यादवलाई त गम्भीर आर्थिक अपचलनको आरोप लगाइएको छ। उनलाई सोधिएको चारबुँदे स्पष्टीकरणमा पार्टीको राष्ट्रिय कोषाध्यक्ष जस्तो गहन जिम्मेवारी निर्वाह गर्नुपर्ने पदमा रहे पनि अधिकांश समय विदेशमा बिताउने गरेको, पार्टीको महत्त्वपूर्ण बैठक र कार्यमा सहभागी नभएको, गैरआवासीय मधेशी संघको कोषाध्यक्ष समेत रहे पनि हिसाब माग्दा नदिएको र झूटा हिसाब देखाउने गरेको आरोप लगाइएको छ। त्यस्तै, पार्टीको विरोधमा सामाजिक सञ्जालमा पोस्ट गरेको, पार्टी फुटाउन गुटबन्दी गरेको, सप्तरी क्षेत्र नंं. १ र २ मा नेता-कार्यकर्ता भड्काएर निष्क्रिय बनाएको आरोप लगाइएको छ।
यससँगै २०७९ सालको निर्वाचनमा सप्तरी-१ का उम्मेदवार जयकान्त राउत र सप्तरी-२ का उम्मेदवार अध्यक्ष सीके राउतलाई हराउने षड्यन्त्र गरेको आरोप स्पष्टीकरण पत्रमा लगाइएको छ। निर्वाचन भएको दुई वर्षपछि बल्ल चुनावबारे स्पष्टीकरण सोधिएको हो। जयकान्त राउत अध्यक्ष सीके राउतका दाइ हुन्।
त्यस्तै, पार्टीको जानकारी र अनुमति विना विदेशमा बस्दै आएका ६० जना भन्दा बढी कार्यकर्ता, नेता तथा एरिया इन्चार्जबाट लगानी शेयर र लेबीका नाममा संघका पूर्व अध्यक्ष इन्जिनीयर वसन्तकुमार कुशवाह र इन्जिनीयर शम्भुनाथ साहसँग मिलेर करोडौं रुपैयाँ उठाएको कोषाध्यक्ष यादवलाई आरोप लगाइएको छ। यसरी उठाएको रकमले काठमाडौंको कोटेश्वरमा घर किनेर प्रवासी होटल चलाएको, जनकपुरमा घर र स्कूल चलाएको आरोप छ। पैसा दिने व्यक्तिहरूलाई त्यसको हरहिसाब, लाभहानि विवरण नबुझाएको, पैसा पनि फिर्ता नगरेको लगायत आरोप कोषाध्यक्ष यादवलाई सोधिएको स्पष्टीकरण पत्रमा उल्लेख छ।
पार्टीमा थितिको वकालत गर्दा नियोजित रूपमा स्पष्टीकरण सोधिएको दुवै जनाको भनाइ छ। अहिले अध्यक्ष राउतका दाइ जयकान्त राउतले जनमत पार्टीमा बलियो पकड बनाउँदै लगेका छन्। उनको कार्यशैलीलाई लिएर दुवै जनाले असहमति जनाएपछि दण्डित हुनुपर्ने अवस्था आएको नेताहरूको भनाइ छ।
दुवै जनाले स्पष्टीकरण बुझाउने तयारीमा लागेको बताएका छन्। हिमालखबरसँगको कुराकानीमा उपाध्यक्ष साहले पार्टीलाई विभाजन गर्नेसम्मको हैसियत आफूमा नरहेको प्रतिक्रिया दिए। “म त्यति ठूलो नेता हैन, जो पार्टीलाई विभाजनसम्म गर्न सक्छु,” साहले भने।
बर्दिबासमा चलिरहेको केन्द्रीय कमिटी बैठकका सहभागीलाई पनि उनले प्रश्न गरेका छन्। पार्टी विभाजन गर्न खोजेको भन्ने झूटा आरोप भएको जिकिर गर्दै साह भन्छन्, “केन्द्रीय कमिटीको बैठकमा सहभागी नेताहरूलाई मेरो प्रश्न छ- आफ्ना सन्तान वा आमाबुबालाई साक्षी मानेर खुलेर भन्नुहोस्, मैले तपाईंलाई कहिल्यै फोन गरेर जनमत पार्टी फोड्न भनेको छु?”
त्यस्तै, कोषाध्यक्ष यादव पनि आफूमाथि लगाइएको आरोप निराधार भएको जिकिर गर्छन्। “म पार्टीको संस्थापक हो। पार्टी निर्माणमा मेरो पनि खून-पसिना बगेको छ,” यादव भन्छन्, “पार्टी नेतृत्वको आफू इमानदार र बाँकी बेइमान भन्ने सोच हितकर छैन, यसले पार्टीलाई हित गर्दैन।”
जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादव भने स्पष्टीकरण सोधेको विषय सामान्य भएको प्रतिक्रिया दिन्छन्। कुनै पनि जीवन्त पार्टीका लागि स्पष्टीकरण सोध्ने कार्य सामान्य भएको र त्यसलाई अतिरञ्जित बनाउने कार्य गलत भएको यादवको भनाइ छ। “यसअघि मधेश प्रदेशका मुख्यमन्त्रीलाई समेत स्पष्टीकरण सोधिएको थियो, धेरै नेताहरूलाई सोधिएको छ,” प्रवक्ता यादव भन्छन्, “पार्टीलाई जवाफ चित्तबुझ्दो लागेको खण्डमा पुरानै जिम्मेवारी समेत दिइएको छ। त्यसकारणले पार्टीले स्पष्टीकरण सोध्नै नहुने भन्ने त भएन।”