समाज कस्तो छ भनेर डराउने होइन!
दुनियाँले भोग गरिरहेको सुख तिमीले भोग गर्दा कुन अचम्मको, बेइज्जतको कुरा भयो र जीवन नै मास्नुपर्यो? हो, हाम्रा छोरीहरूका लागि यो समाज साह्रै गतिलो होइन। तर अबका छोरीहरू समाज कस्तो छ भनेर डराउने होइन।
राधिका अधिकारी
सान्या (परिवर्तित नाम) सधैं हाँसिरहने केटी हो। त्यस दिन ऊ निकै उदास थिई। आँखाबाट अनियन्त्रित आँसु झारिरहेकी थिइँ। वेलावेला भन्थी, “म बर्बाद भएँ, अब बाँच्दिनँ।”
किनकि ऊसँग जवाफ थिएन। निकै बेरपछि मोबाइलमा आएको एउटा मेसेज देखाई। लेखिएको थियो, ‘तैंले मेरो कुरा मानिनस् भने म हाम्रो सेक्सुअल रिलेशनको भिडिओ सार्वजनिक गरिदिन्छु। त्यसपछि तँ समाजमा कसरी बाँच्छेस्, हेर्छु।’
यही एउटा मेसेज थियो सान्याको थामिनसक्नु भएको आँसु। उसलाई एकै पटक डर, लाज, अपराधबोध- सबै कुराले गाँज्दै लगेको थियो। सान्या र उसका प्रेमीबीच खटपट शुरू भएको दुई महीनाभन्दा धेरै भइसकेको थियो। यसबीचमा सान्याको प्रेमीले यस्ता थुप्रै मेसेज गरेको थियो, जुन मेसेजले सान्या बाँच्नुभन्दा मर्नु जाति भन्ने चरणमा पुगेकी थिई।
आफ्नो भन्दा पनि उसलाई बुबाआमाको इज्जत जाने डर थियो। उसले भक्कानिंदै सोधी, “के मेरो जीवन यहीं आएर टुंगिन्छ?”
त्यति वेला मैले उसको हात समाउँदै सोधेकी थिएँ, “के भयो सान्या?”
उसले काँपिरहेका हातले फोन देखाई। फोनमा भएका मेसेज पढिसकेर केही नबोली मैले उसलाई अँगालो हालें। उसको प्रेमी ऊसँग विवाह गर्न चाहँदैनथ्यो, यौनसुख मात्र चाहन्थ्यो। यही कुरामा उनीहरूको विमति शुरू भएको थियो।
बाबुआमाको इज्जत जाने डरले रोइरहेकी उसले आफू मर्दा बुबाआमालाई कति चोट पर्ला भनेर सम्झिन भने सकिरहेकी थिइन। उसले समाजसँग, प्रेमीसँग लड्ने आँट नै गर्न सकिरहेकी थिइन। ऊ भन्थी, “मलाई सबैले गलत भन्छन्।” आमा, बुबा र दाइले पनि बुझ्दैनन् भन्ने उसलाई डर थियो।
यही पीरले ऊ असाध्यै बिरामी परी। उसलाई अस्पतालमा लिएर म नै बसेकी थिएँ। उसको परिवार काठमाडौं बाहिर भएकाले आउन समय लाग्यो। आएपछि उसका बुबा र दाइलाई मैले सबै कुरा भनें। दाजु केही बोलेनन्। बुबाले भने, “यो दुनियाँमा सेक्स नगर्ने को छ? हाम्रा पालामा पो सानैमा विवाह हुन्थ्यो, शरीरले यौनसुख खोज्ने वेला श्रीमान्-श्रीमती साथमा हुन्थे। अब अहिलेका केटाकेटी ढिलो विवाह गर्छन्। प्रेममा पर्छन्, रिलेशनमा बस्छन्, यो सामान्य कुरा हो।”
त्यसपछि सान्याका बुबाले छोरीका प्रेमीलाई बोलाए। दुई वर्षसम्म प्रेम गरेकामा धन्यवाद दिए। त्यसपछि कड्किएर भने, “मेरी छोरीलाई रिलेशनको भिडिओ सार्वजनिक गर्दिन्छु भनेर धम्की दिएका रहेछौ, हिम्मत भए गरेर देखाऊ।”
त्यस वेला पनि सान्याले भनेकी थिई, “साँच्चिकै मेरा तस्वीर र भिडिओ इन्टरनेटमा गयो भने म बाँच्न सक्छु?”
बुबाले शान्त हुँदै भने, “हो, यो सजिलो छैन । तर के तिमीलाई लाग्छ, आत्महत्या नै समाधान हो? तिमी मर्न चाहन्छौ, तर त्यो मान्छे त बाँच्नेछ, अरूलाई पनि उस्तै गर्नेछ। बरु हिम्मत जुटाऊ, सामना गर। कानूनी लडाइँ लड, म तिम्रो साथमा छु।”
बाबुको अँगालोमा सान्या डाँको छोडेर रोई। उसको प्रेमीले ‘सरी’ भन्यो र त्यहाँबाट हिंड्यो। सान्याको दाजुले भने बहिनीले ठूलै गल्ती गरेको ठान्यो। ऊ केही नबोली अस्पतालबाटै गाउँ फर्कियो।
सान्याले आमालाई आफूमाथि बितेको वृत्तान्त सबै विस्तारमा भनी। आँसु झार्दै, डराउँदै उसले आफ्नी आमाको प्रतिक्रिया हेरी। तर आमाले उसलाई अँगालो मारिन्। “छोरी, तिमी मेरी सन्तान हौ। तिमी हजार गल्ती गर्न सक्छौ, तर हार्न पाउँदिनौ। तिमीलाई केही भयो भने हाम्रो हालत के हुन्छ?”
सान्या हिजोआज भन्छे, “हो, समाज केही समय गफ गर्छ, तर जिन्दगी बाँच्न छोड्नु हुन्न रहेछ।”
सान्या जस्तै थुप्रै युवती प्रेममा असफल भएका छन्। प्रेमीले धोका दिएका छन्। सान्याले जस्तै भावनात्मक ब्ल्याकमेलको शिकार भएका छन्। यही कारण थुप्रैले जीवन समाप्त पारिरहेका छन्।
गत फागुन ४ गते ओडिसाको एक प्राविधिक विश्वविद्यालयमा नेपाली चेली प्रकृति लम्सालको मृत शरीर भेटियो। साथीले गरेको दुर्व्यवहारका कारण उनले आत्महत्या गरेको भनिएको छ। उनले कलेज प्रशासनसँग गुहार पनि मागेकी थिइन्। कलेज प्रशासनले आवश्यक कारबाही गरेन। ह्यारेसमेन्ट र इमोशनल ब्ल्याकमेलिङका कारण उनले आत्महत्या गरिन्।
उनी जीवन सक्ने निर्णयमा पुगिन्। तर कोसौं टाढा बसेर आफ्नी छोरीको सफलताको सपना देखिरहेका आमाबुबा सम्झिन सकिनन्। डर र भयले सतायो। उनको यही भयका कारण दुःख, संघर्ष गरेर छोरीलाई पढ्न पठाएका उनका बुबाआमाका सबै सपना एकै झट्कामा भताभुंग भए। शव लिन भारत पुगेको प्रकृतिको परिवारले नेपालमै ल्याएर उनको सदगत गरिसकेको छ।
असंख्य किशोरी प्रेमीका कारण जीवनसँग हार मानिरहेका छन्। समाजको एउटा अन्धकार पक्ष के हो भने, जब सम्बन्धहरू बिग्रिन्छन्, महिलालाई नै दोष दिने चलन छ। प्रेम सम्बन्धमा रहँदा दुई जना बराबरी हुन्छन्, तर जब कुनै कारणवश सम्बन्ध टुट्छ, तब महिलालाई ब्ल्याकमेल गर्ने, मानसिक यातना दिने प्रवृत्ति देखिन्छ। प्रेमीले सम्बन्धका निजी कुराहरू सार्वजनिक गर्छु भनेर धम्क्याउने गरेका छन्। यो धम्कीसँग छोरीहरू खूब डराउँछन्। आफ्ना कुरा बाहिरिने डरले उनीहरू जीवनको अन्त्य रोजिरहेका छन्।
हाम्रो समाजमा यस्ता कथा मनग्गे छन्। २०७९ मंसीर २२ मा प्रेमीले विवाह गर्न अस्वीकार गरेकै कारण २७ वर्षीया एक युवतीले आत्महत्या गरिन्। प्रेमीले ‘इन्गेजमेन्ट’ तोडेपछि आत्महत्या गरेकी उनले बाबुआमाले आफूमाथि लगानी गरेको समय, भावना, उनलाई लिएर बाबुआमाले देखेका सपना, छोरीको सपनाका निम्ति लत्याएका आफ्ना सपना र रहर, बगाएको रगत र पसिना केही सोच्नै सकिनन्। सामाजिक लाञ्छनाको डरले एक सक्षम युवतीले आफ्नै शरीरमा आगो लगाएको त्यो क्षण निकै कहालीलाग्दो थियो।
यसरी समाजले लगाउने लाञ्छना र परिवारको इज्जतका लागि जीवन गुमाउने युवतीको संख्या ठूलो छ। कति समाचारमा आएका छन्, कति समाचार समेत बन्न सकेका छैनन्। तर अब छोरीहरूलाई समाज यस्तै छ भनेर मर्ने छूट छैन।
प्रेममा पर्नु, यौनसुख भोग गर्नु, जीवनमा उतारचढाव आउनु, प्रेम टुट्नु सामान्य कुरा हुन्। पितृसत्ताले गाँजेको समाजमा आफूले चाहे अनुसार छोरीहरूलाई भोग गर्न नपाएपछि डोमिनेट गर्नु, ब्ल्याकमेल गर्नु, दबाउन खोज्नु नौलो कुरा होइन। पितृसत्ताले जकडिएको समाजमा महिलाको इच्छालाई अस्वीकार गरेर जबर्जस्ती आफ्नो अधीनमा राख्न खोज्ने प्रवृत्ति नयाँ होइन; यो शक्ति प्रदर्शनको पुरानै नृशंस रूप हो।
त्यसैले यो समाजमा छोरीहरूले मान्छे भएर बाँच्न अझै समय लाग्छ। त्यसो भन्दैमा अबका छोरीहरूले पनि समाज यस्तै छ भन्दै, जीवनसँग हार खाँदै जाने हो भने समाज कहिल्यै परिवर्तन हुँदैन। पुरुषहरूले उसैगरी खेलिरहनेछन् छोरीहरूका भावना, शरीर र मनसँग।
अबका छोरीले प्रेमीका ब्ल्याकमेलमा परेर जीवन मास्ने होइन, छोरीलाई मात्रै दोषी देख्ने सामाजिक मान्यता, हाम्रो चेतना, हाम्रो संस्कार सबैसँग लडेर उभिने हिम्मत राख्नुपर्छ। यसको मतलब प्रेमीले तिमीसँगको सम्बन्धका हरेक कुरा सार्वजनिक गर्छन्, तिमी चूप लागेर बस्नुपर्छ भन्न खोजेको होइन।
हाम्रा छोरीलाई आफ्नो प्रेमका बारेमा, आफूले प्रेमीसँग बिताएका प्रेमिल दिनका बारेमा आफन्तले थाहा पाउँछन् भन्ने चिन्ता छ। प्रेमीहरू उनीहरूको यही भावनात्मक कमजोरीको फाइदा उठाउँछन् र ‘इमोसनल ब्ल्याकमेल’ शुरू गर्छन्। केटीहरू त्यसैमा डराउँछन् र आत्महत्याको बाटो समात्छन्। तर दुनियाँले थाहा पाएर के फरक पर्छ? यहाँ प्रेम नगर्ने को छ? केटाहरूले दिने सबैभन्दा ठूलो धम्की रहेछ, ‘तँसँग रिलेशन राखेको भिडिओ तेरा आफन्तलाई पठाइदिन्छु।’
सम्झनुहोस्, पठाइदिए पनि के फरक पर्छ? यौनसुख भोग कसले लिएका छैनन्? दुनियाँले भोग गरिरहेको सुख तिमीले भोग गर्दा कुन अचम्मको, बेइज्जतको कुरा भयो र जीवन नै मास्नुपर्यो? हो, हाम्रा छोरीका लागि यो समाज साह्रै गतिलो होइन। तर अबका छोरी समाज कस्तो छ भनेर डराउने होइन। परम्परागत सोचले तिमीहरूका अस्तित्वलाई सीमित गर्न खोजे पनि तिमीहरू सीमा तोड्न सक्षम छौ।
जिन्दगीमा गल्ती हुन्छ, गल्ती नगर्ने मानिस संसारमा कोही छैन। संसारमा अनेकौं चुनौती आउँछन्, त्यसको सामना गर्नुपर्छ। अबका छोरीहरूले बुझ्नुपर्छ- समाजले जे सोच्छ, त्यसको परवाह नगरी आफूलाई स्वीकार गर्न सक्नुपर्छ। जीवन अप्ठ्यारो मोडमा पुग्दा आत्महत्या होइन, आत्मसुधारको बाटो रोज्नुपर्छ।