नक्कली नोट कारोबारीको बात लगाएर भारती सुरक्षा एजेन्सीले आपराधिक गिरोह मार्फत नेपालीको शृंखलाबद्ध हत्या गर्ने घटनामा पहिलो पटक ‘योजनाकार’ पक्राउ परे पनि गहिरो अनुसन्धान भएको छैन।
करीब ११ महीनाअघि २०८१ वैशाख १६ गते राति ११ बजेतिर वीरगन्ज-रक्सौला सीमाक्षेत्र नजीक गोली चल्यो। जिल्ला प्रहरी कार्यालय, पर्साले ४५ वर्षीय गणेशकुमार भनिने बब्लु पासवानलाई नियन्त्रणमा लियो। उनी भारतको सीमावर्ती बजार रक्सौलका बासिन्दा हुन्।
प्रहरीले उनको साथबाट अमेरिकामा बनेको लेखिएको गोली लोड गरिएको एउटा पेस्तोल, ४९ ग्राम खैरो हेरोइन र ८८० ग्राम गाँजा बरामद गर्यो। सुरक्षा जाँच गर्ने क्रममा उनी भाग्न खोजेपछि प्रहरीले चलाएको गोली बब्लुको दायाँ खुट्टाको घुँडामुनि लाग्यो।
पर्सा प्रहरीले लागूऔषध र हातहतियार तथा खरखजानाको कसूरमा मुद्दा चलाएको छ। गत साउनमा जिल्ला अदालत, पर्साले उनलाई थुनामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो। मुद्दाको फैसला हुन बाँकी नै छ भने बब्लु अहिले पुर्पक्षका लागि वीरगन्ज कारागारमा छन्।
यो त प्रहरीमा अभिलिखित विवरण भयो। बब्लुबारे पर्सा प्रहरीको अनुसन्धान प्रतिवेदनमा नलेखिएका कुरा पनि छन्, जसले बब्लु पक्राउ कति महत्त्वपूर्ण परिघटना हो र यससँग नेपाली नागरिकको हत्या घटनाको शृंखला कसरी गाँसिएको छ भन्ने खुलाउँछ।
लागूऔषध र हतियार सहित पक्राउ परेका बब्लु दुई वर्षअघि काठमाडौंमा भएको नेपाली व्यवसायीको हत्या घटनाका मुख्य योजनाकारका रूपमा प्रहरीले चित्रण गरेका व्यक्ति हुन्। २०७९ असोजमा काठमाडौंको गोठाटारमा व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गरिएको थियो, जुन घटनाको प्रमुख ‘डिजाइनर’ प्रहरीले बब्लुलाई मानेको छ। व्यवसायी मोहम्मद विगतमा भारतीय नक्कली नोट नेपाल हुँदै भारत पुर्याउने गिरोहमा सामेल भएको आरोप लागेका व्यक्ति हुन्।
गोठाटारमा व्यवसायी लाल मोहम्मदलाई गोली प्रहार गरिंदै।
नक्कली भारतीय नोटको कारोबारमा संलग्न भएको आरोप लगाउँदै भारतले आपराधिक व्यक्ति प्रयोग गरेर नेपाली नागरिकको हत्या गराउँदै आएको प्रहरी अनुसन्धानमा देखिन्छ। भारतीय गुप्तचर संस्था ‘रिसर्च एन्ड एनालाइसिस विङ (रअ)’ र इन्टेलिजेन्स ब्यूरो (आईबी)ले पर्दा पछाडि बसेर नक्कली भारतीय नोटको कारोबारीको आरोप लगाउँदै आपराधिक समूह मार्फत नेपालीको हत्या गराउँदै आएका छन्। यस्ता हत्या शृंखलाको २५ वर्षे इतिहासमा नेपालले पक्राउ गरेका बब्लु सबैभन्दा ‘हाई प्रोफाइल’ अभियुक्त हुन्।
यसअघि नेपाली उद्यमी युनुस अन्सारीलाई २०६७ फागुनमा जेलभित्रै गोली हानेर मार्ने प्रयास गरिएको गरिएको थियो। त्यस घटनामा ‘शार्प शूटर’ जसवन्त सिंह भनिने मनमित सिंह भाटियालाई पक्राउ गरिएको थियो। भाटिया एक वर्षअघि २०६६ असोजमा भएको अब्दुल अजिद मनिहारको हत्यामा संलग्न ‘शार्प शूटर’ समेत थिए। मनिहारको हत्यापछि उनी फरार थिए। बब्लु पक्राउअघि नक्कली भारतीय नोटसँग जोडिएको अन्तर्देशीय अपराधका घटनामा नेपाल प्रहरीले पक्राउ गरेका सबैभन्दा उपल्लो तहका व्यक्ति ‘शार्प शूटर’ मनमित नै थिए।
त्यसको १४ वर्षपछि प्रहरीले ‘शार्प शूटर’ भन्दा माथिल्लो तहको भूमिकामा रहेका बब्लुलाई पक्राउ गरेको हो। तर उनीबारे गहिरो अनुसन्धान भएको छैन। व्यवसायी लाल मोहम्मद हत्याको अनुसन्धान गर्ने क्षेत्राधिकार रहेको काठमाडौं प्रहरी परिसरले बब्लुसँग सामान्य सोधपुछ समेत गरेको छैन। मोहम्मद हत्या घटनाको २०७९ मंसीरमा जिल्ला अदालत, काठमाडौंमा दायर अभियोगपत्रमा बब्लु फरार अभियुक्त भनिएको छ। पर्सा प्रहरीले व्यवसायी मोहम्मद हत्याका योजनाकारकै हैसियतमा बब्बुलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेको थियो।
‘देशका लागि काम गरें’
पर्सा प्रहरीले बब्लुसँग लागूऔषध र हातहतियार खरखजानाको मुद्दामा मात्र होइन, व्यवसायी लाल मोहम्मद हत्याबारे समेत सोधपुछ गरेको थियो। यस घटनाको अनुसन्धान काठमाडौं प्रहरीको क्षेत्राधिकार भएकाले बब्लुसँगको सोधपुछ कानूनी रूपमा अभिलिखित भएन।
भारतीय ‘अन्डरवर्ल्ड’ का कुख्यात डन छोटा राजन समूहको निर्देशनमा मोहम्मद हत्याको योजना बनाएको बब्लुले प्रहरीसँगको बयानमा बताएका छन्। “एजेन्सी (भारतीय सुरक्षा निकाय)ले भने मुताबिक ‘देशका लागि एउटा काम गरिदिन्छु’ भनेर यो काम गरेको हुँ,” बब्लुको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो।
यस्तै घटनामा संलग्न ओमप्रकाश श्रीवास्तव भनिने बब्लु श्रीवास्तवले आफूलाई मोहम्मदको ‘सफाया’ गर्न अह्राएको बब्लुले बताएको बयान दिएका छन्। श्रीवास्तव अहिले भारतीय जेलमा सजाय काटिरहेका छन्। उनलाई हत्या, फिरौती, अपहरण जस्ता ४२ वटा मुद्दा लगाइएको छ।
सन् १९९५ मा सिंगापुरमा पक्राउ परेका उनलाई भारत सुपुर्दगी गरिएको थियो। सन् २००८ मा भारतको अदालतले आजीवन कारावासको सजाय सुनाएपछि उनी अहिले जेलमै छन्। नक्कली नोटको कारोबारीको बात लागेकालाई ‘सफाया’ गर्न श्रीवास्तवलाई भारतीय सुरक्षा निकायले जेलभित्रबाटै परिचालन गर्दै आएको आरोप छ।
जेल सजाय छूट पाउने आशले श्रीवास्तवले भारतीय सुरक्षा निकायका लागि काम गरिरहेको हुन सक्ने नेपाल प्रहरीको आकलन छ। यसका साथै उनले कुनै वेला अर्को ‘अन्डरवर्ल्ड’ समूह दाउद इब्राहिम (डी कम्पनी)का लागि काम गरेका थिए। पछि दाउदसँग दुस्मनी भएपछि श्रीवास्तव अलग्गिएका थिए। दाउदलाई पाकिस्तानी गुप्तचर संस्था ‘इन्टरसर्भिसेज इन्टेलिजेन्स (आईएसआई)’ ले परिचालन गर्दै आएको भारतको आरोप छ।
श्रीवास्तवले जेलभित्रबाटै यस्ता घटनामा मान्छे परिचालन गर्दै आएका छन्। उनले जेल बाहिरको आफ्नो कामको व्यवस्थापन गर्न डीके भनिने सञ्जय तेवारीलाई खटाएका छन्। डीकेले लखनऊलाई आधार बनाएर काम गर्दै आएका छन्।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार तेवारीले बब्लु पासवानलाई नेपाली व्यवसायी लाल मोहम्मदको हत्याका लागि खर्च दिएका थिए। बब्लुले भने ‘मसलन्द खर्च मात्र लिएर राष्ट्रका लागि काम गरेको’ प्रहरीलाई बताएका छन्।
पर्सा प्रहरी स्रोतका अनुसार श्रीवास्तवका लागि काम गर्नेहरूका लागि लखनऊमा शेल्टर छ, जसलाई उनीहरू ‘सेफ हाउस’ भन्छन्। नेपाली व्यवसायी लाल मोहम्मद हत्यामा खटिएका मोहरम मियाँ, एक नाबालक, सुस्मिता स्याङतान, गुड्डु पटेल, मेरिना तेवारी र राजु भनिने दिनेश पनि लखनऊको ‘सेफ हाउस’ मा भेला भएका थिए। यस घटनामा पक्राउ परेका अन्य अभियुक्तले अदालतमा इन्कारी बयान दिए पनि स्याङतानले भने घटनापछि आफूहरू वीरगन्ज हुँदै लखनऊ गएर १०-१५ दिन बसेको बताएकी छन्। “बब्लुको नेटवर्क हामीले सोचेभन्दा ठूलो र बलियो छ,” ती प्रहरी अधिकृत भन्छन्।
बब्लु पक्राउमा संलग्न प्रहरीले पनि असुरक्षा महसूस गरेका थिए। यसमा संलग्न एक प्रहरी भन्छन्, “बब्लु पक्राउपछि हामी हम्मेसि सीमा पारि गएनौं।”
सोधपुछ नै भएन
नक्कली भारतीय नोटको कारोबारबारे अनुसन्धान, अभिलेख गर्न नेपाल प्रहरीमा अलग्गै एकाइ छ, विशेष ब्यूरो। प्रतिआतंकवाद, आन्तरिक विद्रोह सहित नक्कली भारतीय नोटका घटनामा यही ब्यूरोले अनुसन्धान गर्छ। तर नक्कली नोट कारोबारीको बात लगाएर भारतले नेपालभित्र चलाउने ‘अप्रेशन’ मा संलग्न योजनाकार पक्राउ गर्दा पनि ब्यूरोले सामान्य सोधपुछ समेत गरेको छैन। “संस्थागत अभिलेखका लागि पनि ब्यूरोले बब्लुसँग सोधपुछ गर्नुपर्ने हो,” ब्यूरोमा काम गरेका एक पूर्व प्रहरी अधिकृत भन्छन्।
यसअघि २०६७ सालमा जेलभित्रै युनुस अन्सारीलाई गोली हान्ने मनमित सिंह भाटिया पक्राउपछि प्रहरीले बब्लु श्रीवास्तवबारे महत्त्वपूर्ण सूचना पाएको थियो। त्यसअघि नेपालमा नक्कली भारतीय नोट कारोबारीको आरोप लागेकाहरूलाई छोटा राजन समूह मार्फत हत्या गरिंदै आएको थियो। भाटिया पक्राउपछि श्रीवास्तवको समूह पनि यसमा सामेल भएको खुलेको हो।
बब्लुको पक्राउले पनि नक्कली नोटको अन्तर्देशीय अपराधको नेटवर्कमा धेरै पछिसम्म प्रभाव पार्ने ‘क्लू’ फेला पर्न सक्छन्। तर गुप्तचरको ‘अप्रेशन’ गर्ने सुरक्षा एजेन्सीको इच्छा नहुँदानहुँदै बब्लु पक्राउ परेकाले पनि विशेष ब्यूरोले गहिराइमा अनुसन्धान गर्न नखोजेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीको भनाइ छ।
त्यस्तै, वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावासमा रहेका आईबी र रअका अधिकारीले पनि सक्रियता देखाएका थिए। उनीहरूले बब्लुलाई भेट्न खोजेको प्रहरी स्रोतको भनाइ छ। “प्रहरी हिरासतमा रहेका बब्लु पासवानलाई भेट्न खूब बल गरेका थिए, तर हामीले मानेनौं,” वीरगन्ज प्रहरी स्रोतले भन्यो।
नेपाल-भारतबीच पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता नहुँदा भारतमा अपराध गरेर नेपालका लुकेका र नेपालमा अपराध गरेर भारतमा लुकेकाहरूलाई औपचारिक माध्यमबाट पक्राउ गरेर ल्याउन सम्भव छैन। त्यसैले दुवै देशका सुरक्षा निकायले सौदाबाजीमा अभियुक्तहरूको साटफेर गर्दै आएका छन्।
वर्षदिनअघि वीरगन्जमा पक्राउ परेका भनिएका बब्लु पासवान र फागुन १८ मा काठमाडौंको टोखामा गोली हानेर पक्राउ गरिएका भनिएका गुड्डु पटेल दुवै देशका सुरक्षा एजेन्सीबीच भएका सौदाबाजीका पछिल्ला उदाहरण हुन्। तर व्यवसायी लाल मोहम्मदको हत्याका योजनाकार बब्लु पासवानबाट हात लाग्ने सूचना लिन नेपाल प्रहरी चुकिरहेको घटनाक्रमले देखाउँछन्।
यो पनि पढ्नुहोस् :