पोखरामा चर्किंदै कोटिहोम विवाद
धार्मिक अनुष्ठानलाई लिएर पोखरामा बढ्दै गएको विवाद झडपसम्म पुगेको छ।
मानव सेवा फाउन्डेशनले कोटिहोमका लागि पोखराको बाराहीघाटमा शुक्रबार भूमिपूजनको कार्यक्रम तय गरेको थियो। भूमिपूजनका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले शुक्रबारको साइत दिएको थियो।
भूमिपूजन सकिए लगत्तै विवाद उत्पन्न भयो। भूमिपूजनका लागि लागि उपस्थित कोटिहोम आयोजक र महानगर प्रहरीबीच झडप नै भयो। महानगरले अनुमति नदिइएको भन्दै भूमिपूजन रोक्न नगर प्रहरी खटाएको थियो। नेपाल प्रहरीको टोली पनि परिचालन गरिएको थियो।
धकेलाधकेलबाट शुरू भएको विवाद झडपमा परिणत भएको हो। दुवै पक्षबाट ढुंगा र लाठी प्रहार भएको थियो। दुवै पक्षका गरी १३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। पाँच जना नगर प्रहरी र आठ जना कोटिहोम आयोजक घाइते छन्।
भूमिपूजनस्थल।
झडपका क्रममा मानव सेवा फाउन्डेशनका संस्थापक विजय भण्डारी पनि उपस्थित थिए। कार्यक्रममा उपस्थित भएकाहरूले महानगरका मेयर धनराज आचार्य विरुद्ध चर्को नाराबाजी गरेका थिए।
फाउन्डेशनले आउँदो वैशाख १७ देखि जेठ २६ गतेसम्म ‘ऐतिहासिक श्रीगण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट् महायज्ञ’ आयोजना गर्दै छ। त्यसका लागि आज भूमिपूजन गरिएको छ भने चैत १७ देखि प्रचारात्मक कार्यक्रम गर्ने फाउन्डेशनले जनाएको छ।
महानगरले भने कोटिहोमका लागि अनुमति दिएको छैन। महानगरको अनुमति विना कार्यक्रम गर्न नदिइने मेयर आचार्यले जनाएका छन्।
आयोजक संस्था मानव सेवा फाउन्डेशनका संस्थापक भण्डारीले भने जसरी पनि कोटिहोम सञ्चालन गर्ने बताउँदै आएका छन्। विजय कृष्णमूर्तिका नामले परिचित धर्मगुरु भण्डारीले कोटिहोम नगरी पोखराबाट नफर्किने बताउँदै आएका छन्। उनले जुनसुकै हालतमा कोटिहोम गर्ने बताएका छन्।
कोटिहोम आयोजक संस्था मानव सेवा फाउन्डेशनका संस्थापक विजय भण्डारी र समर्थक।
कोटिहोम आयोजना गर्न फाउन्डेशनले पोखराका पुराना वरपीपलका रूख काटेको थियो। त्यसलाई लिएर चर्को विरोध भएको थियो। चौतर्फी विवादपछि महानगरले वरपीपलका रूख काटेर संकलन गरिएको काठ बरामद गरेको थियो। फाउन्डेशनले काटिएका रूख नेपाल ट्रस्टको जग्गा रहेको रत्न मन्दिरभित्रै थुपारेको थियो। महानगरले ताला फोडेर काठ जफत गरेको थियो।
पर्यटकीय शहर घोषणा भएका कारण लेकसाइडछेउ यति लामो कार्यक्रम गर्न नहुने मेयर आचार्यको भनाइ छ। लेकसाइडमा लामो समय कार्यक्रम गर्दा पर्यटकीय गतिविधिमा असर पर्ने भन्दै स्थानीय स्तरबाट पनि दबाब आइरहेको छ।
त्यसपछि कोटिहोम आयोजक महानगर विरुद्ध अदालत गएका थिए। उच्च अदालत, पोखराले अन्तरिम आदेश दिंदै महानगरलाई अवरोध नगर्न भनेको थियो।
लगत्तै कोटिहोम आयोजक विरुद्ध अधिवक्ता भगवती पहारी, गीता आचार्य र कुमारी रानाभाट पनि अदालत पुगेका थिए। फेवा तालछेउमा कोटिहोम गर्न नहुने भन्दै उनीहरूले रोक्न आदेश माग गरेका छन्। यस रिटमा फागुन २६ गते पेशी तोकिएको छ।
बाराहीघाट क्षेत्रमा तैनाथ सुरक्षाकर्मी।
अदालती प्रक्रियामा रहँदारहँदै शुक्रबार फाउन्डेशनले भूमिपूजन गरेको हो। स्थानीय सरकारको अनुमति विना कोटिहोम आयोजकले कार्यक्रम गर्न थालेपछि झडपको स्थिति आएको हो। अधिवक्ता पहारी यस्तो किसिमको द्वन्द्वको अवस्था आउन सक्ने आकलन गरेरै संवेदनशीलता अपनाउन अदालतमा निवेदन दिएको बताउँछिन्।
तर भण्डारीले अब ठाउँ सार्दा घाटा हुने भएकाले बाराहीघाटमै कोटिहोम गर्ने बताएका छन्। शुक्रबारको झडपपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, “कोटिहोम हुन नदिने ठूलो षड्यन्त्र भएको छ। प्रचारप्रसारको तयारी गरिसकेका छौं, यो ठाउँबाट अर्को ठाउँमा जाँदा दशौं करोड घाटा हुन्छ।”
कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे आयोजकले स्थानीय तहबाट अनुमति लिनुपर्ने बताउँछन्। “अनुमति दिने निकाय स्थानीय तह नै हो, आयोजकले पनि अनुमति लिएर मात्रै कार्यक्रम गर्नुपर्छ,” पाण्डे भन्छन्, “यो संवेदनशील विषय भएकाले दुवै पक्ष संवादमा आउनुपर्छ।”
कोटिहोम आयोजक र नगर प्रहरीबीच झडप भएपछि बाराहीघाट क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। फेरि झडप हुन नदिने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डे बताउँछन्। दुवै पक्षलाई संवादका लागि अनुरोध गरेर छिटै विवाद समाधानको निर्णयमा पुगिने उनको भनाइ छ।