अंग्रेजी ग्रामर लेखेर चर्चित बनेका चूडामणि गौतम जीवनको उत्तरार्द्धमा भने नेपाली भाषाको सेवामा समर्पित भए।
“तपाईंले मलाई यो ७३ वर्षको बूढो भयो, सुगर होला, अरू रोग छ होला भन्न खोज्नुभएको? मलाई चिनी र दूध राखेकै कफी मगाउनुस्।”
२०७३ फागुनको कुनै दिनको भेटमा यस पंक्तिकारले सोधेको ‘चिनी हालेको कफी लिनुहुन्छ कि नहालेको?’ भन्ने प्रश्नमा लेखक चूडामणि गौतमले दिएको जवाफ हो, यो।
त्यस दिनको कफी वार्तासम्ममा उनका ९४ पुस्तक बजारमा आइसकेका थिए। गौतम सबथोक बिर्सेर आफ्नो काममा लिप्त हुन्थे भनेर पुस्तकको संख्याले पनि बताउँछ। उनी कति मिहिनेती थिए भन्ने थप दृष्टान्त दिन सकिन्छ।
कफी वार्ताको केही महीनापछि शिक्षक मासिकको कार्यालयमा भेट्दा उनले आफ्नो पुस्तकको पाण्डुलिपि रातदिन लेख्दा कलमले हातमा पारेको घाउ देखाएका थिए। दैनिक १७–१८ घण्टासम्म लेख्दा हातमा छुनै नमिल्ने घाउ लागेको देखिन्थ्यो। त्यति वेला उनले अर्को पुस्तक बृहत्तर नेपाली शब्दकोशको पनि तयारी गरिरहेका रहेछन्। निरन्तरको लेखाइले २५ वर्षमा सक्ने लक्ष्य लिएको ८७ हजार शब्दको शब्दकोश ११ वर्षमै तयार भएको थियो। दुई हजार ६४ पृष्ठको यो शब्दकोशबारे गौतमले २०७९ भदौको एउटा भेटमा उनले भनेका थिए, “लेख्न पच्चीसै वर्ष लागेको भए मेरो जीवनकालमा यो शब्दकोश पूरा नहुने रहेछ।”
भयो पनि त्यस्तै। २०६९ सालमा शब्दकोशको काम थालेका उनले २०७९ सालमा यसको प्रकाशन गरे। लक्ष्य राखेको २५ वर्ष अनुसार काम भएको भए शब्दकोश अधुरै रहने थियो। २०८१ फागुन १२ गते उनको निधन भयो।

गौतमकै शब्दमा कमलमणि दीक्षितको अग्रसरतामा २०६९ सालमा लेखन प्रारम्भ भएको यो शब्दकोशमा शिष्ट परम्परा तथा स्वनामधन्य साहित्यकारको प्रयोगमा आधारित, वर्णविन्यासमा भित्र्याइएका विकृतिबाट मुक्त तथा विभिन्न राष्ट्रभाषाका शब्द प्रयोग भएका छन्।
नेपाली भाषामा विवाद र विकृत अभ्यास भएका वेला गौतमले सही शब्दकोश लेखेर योगदान गरेको भाषाविद् शरच्चन्द्र वस्ती बताउँछन्। उनी भन्छन्, “विकृत शब्दकोशहरूका माझमा चूडामणि गौतमको बृहत्तर नेपाली शब्दकोश एक मात्र शुद्ध र सही कोश हो।”
कोशकार गौतमको २०७४ सालमा वर्णविन्यासघातीहरू कानूनको कठघरामा पुस्तिका प्रकाशन भएको थियो। नेपाल प्रज्ञा-प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागको सिफारिश तथा २०६९ साउनमा तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माको टिप्पणी आदेशमा विद्यालय तहका पाठ्यपुस्तकमा वर्णविन्यास परिवर्तन गर्ने निर्णय गरिएको थियो। मन्त्रीको निर्णयका आधारमा पाठ्यक्रम विकास केन्द्रले सम्पादन तथा प्रकाशन शैली पुस्तिका परिमार्जन गरेर नयाँ नियम कार्यान्वयनमा ल्याएको थियो। जसमा भाषा सरल बनाउने नाममा संयुक्त वर्णको खुट्टा काट्ने, संस्कृतबाट आएका शब्दको दीर्घ ईकार र ऊकार हटाएर ह्रस्व लेख्ने, पद वियोग गर्ने जस्ता नियम बनाइएको थियो। नयाँ नियम अनुसार कक्षा १ देखि १२ सम्मका पाठ्यपुस्तकको वर्णविन्यासमा फेरबदल गरिएको थियो। यो नियमले नेपाली भाषा, साहित्य र संस्कृतिको भाषिक शैलीमाथि प्रहार गरेको भन्दै गौतमले उक्त पुस्तिका निकालेका थिए।
त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा काम गर्नेहरूको बहुलट्ठीपनका कारण नेपाली भाषाको दुर्दशा शुरू भएको गौतमको ठम्याइ थियो। नेपाली भाषाको सही प्रयोगबारे उनको निष्कर्ष थियो, ‘पढेका र जानेका मान्छे भयो भने मात्र भाषा सुन्दर हुन्छ, विकृत हुँदैन।’
सर्वोच्च अदालतले २०८१ असारमा मन्त्रीको टिप्पणी आदेशका भरमा वर्णविन्यास र व्याकरण परिवर्तन गर्न नहुने फैसला गरिसकेको छ। मन्त्रीस्तरीय निर्णयले नेपाली भाषामा विकृति र भाँडभैलो ल्याएको भन्दै यस विरुद्ध भाषाविद्, लेखक, साहित्यकार, पत्रकारले लेख्दै, बोल्दै आएका थिए। वर्णविन्यासको परिवर्तित नियमलाई नेपाली प्रज्ञा-प्रतिष्ठानले पनि आत्मसात् गरेर नेपाली बृहत् शब्दकोशको संशोधित संस्करण प्रकाशन गरेको थियो। तर भाषाविद् र भाषाप्रेमीले तीव्र विरोध गरेपछि प्रतिष्ठानले उक्त संस्करण फिर्ता लिने निर्णय गरेको थियो।
बिगारिएको वर्णविन्यासको विरोधमा लाग्नेहरूमध्ये गौतमको अतुलनीय योगदान रहेको भाषाविद् वस्ती स्मरण गर्छन्। उनी भन्छन्, “वर्णविन्यासको विकृति विरुद्ध धेरै जना लागे, तर उहाँले जति किताबै लेखेर योगदान कसैले गर्न सकेको छैन।”
ग्रामरबाट नाम–दाम

विसं. २००० असोज १ गते तेह्रथुमको साविक खाम्लालुङ, पाकतिनमा जन्मिएका गौतमको नाम पंक्तिकारले पहिलो पटक २०५३ सालमा जनता मावि (विष्णुनगर)का अंग्रेजी गुरु देवीप्रसाद न्यौपानेबाट सुनेको हो। त्यस वेला अंग्रेजी कक्षामा देवी सरले भनेका थिए, ‘चूडामणि गौतमको ग्रामर पढ्नू।’ पुस्तक रहेछ– हाइअर लेभल इङ्लिश ग्रामर, कम्पोजिशन एन्ड प्रोननसिएशन। हामीले ‘गौतमको ग्रामर’ भनेर चिनेको यो पुस्तकको पहिलो संस्करण २०३७ सालमा निस्किएको रहेछ। यो पुस्तकको १२ संस्करण प्रकाशन भइसकेको छ।
आठराईको मोहन माविबाट एसएलसी दिएका गौतमले लेखेको पुस्तकबाट खासगरी सामुदायिक विद्यालयबाट आएका धेरै विद्यार्थीले लाभ लिएको देखिन्छ। गौतमको ग्रामर अंग्रेजी पृष्ठभूमि नभएका विद्यार्थीका ‘फलामे ढोका’ पार गर्ने भरपर्दो आधार थियो भन्दा फरक नपर्ला।
यस पुस्तकले विद्यार्थीलाई त उकास्यो नै, यसले आफ्नो जीवन नै कायापलट गरेको गौतमले बताएका थिए। उनका अनुसार पहिलो संस्करणको एक हजार १०० प्रति किताब २२ दिनमै सकिएको थियो। आभास कवितासंग्रहबाट पुस्तक प्रकाशन थालेका उनका १०० भन्दा बढी पुस्तक प्रकाशित छन्। यही कर्मले आफूलाई नाम र दाम दुवै दिएको उनी बताउँथे। अक्षर उच्चारण गर्न सिकाउन ८१ वर्षमा उनले शुरू गरेको चूडामणि नामको यूट्यूब च्यानलमा ३२ भिडिओ छन्।
ग्रामर गुरुले पुस्तक बाफरे जिन्दगानी! मा भनेका छन्ः
कालले जतिसुकै वेला जतिलाई पनि टिप्न सक्छ। ...समाजमा शोषण गर्ने व्यक्तिले गरीब टुहुरो पनि भन्दैन। सत्कार्यमा समर्पित व्यक्ति मानिस भए पनि ऊ विधाता नै हो।
यो पनि पढ्नुहोस्- ‘२५ वर्ष लाग्ला भनेको किताब ११ वर्षमै लेखें’