क्यान्सरले थला परेपछि ‘अब बाँचिन्न कि!’ भन्ने ठानेकी अनमी गौरी सुनार निको भएर फेरि बिरामीकै सेवामा फर्किएकी छन्। उनी भन्छिन्, “पहिलेभन्दा झन् हौसला बढेको छ।”
एसएलसी उत्तीर्णसँगै गौरी सुनारलाई परिवारले बिहेका लागि करबल गर्न थाल्यो। उच्च शिक्षा हासिल गर्ने चाहना हुँदाहुँदै पनि बिहेका लागि नाइँनास्ती गर्न सकिनन्। २० वर्षको उमेरमा बिहे भयो।
अछामको बान्नीगढी जयगढ गाउँपालिका-२ जनालिकोट गाउँबाट बिहे गरेर साँफेबगर नगरपालिकाका-८ मा आएपछि गौरीको दैनिकी नै बदलियो। घरमा सासूआमा बिरामी भइराख्थिन्। उपचार गराइराख्नुपर्थ्यो। सासूआमा के-कति कारणले बिरामी हुन्थिन् भन्ने उनले ठम्याउन सकेकी थिइनन्।
उनलाई लाग्थ्यो- मैले पनि नर्स, डाक्टरी पढ्न पाए सासूआमाको उपचारमा सहजता थपिन्थ्यो। तर त्यसरी पढाउन उनको परिवारको बलबुताले भ्याउँदैनथ्यो।
२०५७ सालमा केयर नेपाल संस्थाले दलित विद्यार्थीलाई पूर्ण छात्रवृत्तिको व्यवस्था गरेको थियो।त्यो उनका लागि सुनौलो अवसर सावित भयो। त्यसका लागि लिइएको छनोट परीक्षामा गौरी उत्तीर्ण भएकी थिइन्। “पूर्ण छात्रवृत्तिमा अनमी पढ्न पाउने भएँ,” गौरी उत्साहित हुँदै सुनाउँछिन्।
तर अवसर सँगसँगै चिन्ता पनि थपियो। किनकि काखमा ११ महीनाको छोरो थियो। छोरालाई छोडेर पढ्न जान साह्रै गाह्रो भएको उनी सुनाउँछिन्।
दूधे छोरालाई छोडेरै जानुपर्ने भयो भनेर दुई-तीन दिनअघिबाटै पिरोल्न थालेको उनी सुनाउँछिन्। केही रात त निद्रै परेन। “बच्चालाई छोडेर जानुपर्दा त डाँको छाडेर रोएँ,” उनी घरबाट निस्किँदाको क्षण सम्झिन्छन्।
त्यति वेला त उनलाई ‘जेसुकै होस्, पढ्दिनँ’ भन्ने लागेको थियो। तर उनका श्रीमान्ले सम्झाइबुझाइ गरे। त्यसपछि उनी अछामको साँफेबगरबाट डोटीको दिपायलस्थित सेती प्राविधिक शिक्षालयमा अनमी पढ्न पुगिन्।
छोराकै झझल्कोले बाटाभरि बेचैनी बढायो। सेती प्राविधिक शिक्षालय पुगेपछि भने उनको मन थामियो। त्यहाँ उनी जस्तै अरू महिला पनि पाँच-सात जना बच्चालाई घरमै छोडेर आएका थिए। एक जनाले त ६ महीनाको बच्चा छोडेर आएको सुनाइन्। “बल्ल मन बुझाउने कोशिश गरें,” गौरीले आफैंलाई ढाडस दिइन्, “मनमनै सोचें, मेरो छोरो त ११ महीनाको भइसक्यो। अरू त ६ महीनाको बच्चा छोडेर पनि आएका छन्।”
उसो त गौरीलाई छोराको सम्झनाले वेलावेला नसताएको पक्कै होइन। कुनै दिन त घर फर्किहालूँ जस्तो पनि लाग्थ्यो। “श्रीमान्को ढाडसले पढेरै फर्केने अठोट गरें,” उनी सुनाउँछिन्।
१८ महीने कोर्स भए पनि पूरा हुन दुई वर्ष लागिहाल्थ्यो। अनमीको पढाइ सक्दा छोरा तीन वर्षको भइसकेको थियो। त्यसपछि त उनलाई ‘अब बाहिर गएर भए पनि काम गर्नुपर्छ’ भन्ने लाग्न थाल्यो।
२०५९ सालमा अनमी पास गरेपछि गौरीले खाली बस्नु परेन। दुई महीना नबित्दै युनिसेफ नेपाल अन्तर्गत स्थानीय संस्थाले सञ्चालन गरिरहेको बालबालिका स्याहार सम्बन्धी कार्यक्रममा जागीर पाइन्। शुरूआतका दुई महीना अछामको रामारोशन क्षेत्र खटिइन्। माओवादी सशस्त्र द्वन्द्व चलिरहेको थियो।
गाउँ डुलेर काम गर्न अप्ठ्यारो भएपछि छिमेकी गाउँ रिडिकोटमा फर्किइन्। त्यसमै रमाइन्। झन् बालबालिकासँगको कामले उनलाई तानिरह्यो। लामो समय रिडिकोटमै बिताइन्। “रमाइलै थियो, काममा डुबिसकेकी थिएँ,” उनी भन्छिन्।
न्याय हेल्थसँग नयाँ यात्रा
२०६४ सालमा अछामको साँफेबगरमा न्याय हेल्थ नेपालले स्थानीय बासिन्दाको स्वास्थ्योपचार गर्न क्लिनिक सञ्चालनमा ल्यायो। क्लिनिकका लागि अनमीको माग भयो। साँफेबगरकै समाजसेवी राजन कुँवरले न्याय हेल्थले कर्मचारी मागेको सूचना पुर्यायो, गौरीसम्म। नभन्दै गौरी पनि छनोट भइन्।
बयालपाटा अस्पतालमा बिरामीसँग कुराकानी गर्दै गौरी सुनार।
न्याय हेल्थले छनोट गरेको पाँच अनमीमा गौरी पनि एक थिइन्। त्यति वेला १३ कर्मचारीबाट काम शुरू भयो। अर्को वर्ष न्याय हेल्थले बयालपाटा अस्पताल सञ्चालनमा ल्यायो। “२०६५ सालदेखि अहिलेसम्म अस्पतालमै काम गरिरहेकी छु,” बयालपाटा अस्पतालकी कार्यवाहक नर्सिङ इन्चार्ज गौरी भन्छिन्।
बयालपाटा अस्पतालको यात्रा सहज थिएन। थोरै कर्मचारी थिए, धेरै काम हुन्थ्यो। अझ राति त सकसै हुन्थ्यो। “अस्पताल वरिपरि पूरै जंगल थियो। राति एक-एक जनाको ड्यूटी हुन्थ्यो,” उनी सम्झिन्छिन्, “काम गर्न साह्रै गाह्रो थियो।”
आकस्मिक कक्षदेखि ओपीडीसम्म भ्याउनुपर्थ्यो। बिरामीको चाप उस्तै थियो। रातबिरात आउने सुत्केरी लगायतको भरोसा नर्स नै हुन्थे। उनी कैयौं सुत्केरी आमाको ज्यान जोगाएको सम्झिन्छिन्। “अहिलेको संरचना यति राम्रो छ, स्टाफ पनि धेरै छौं। यस ठाउँमा काम गर्न पाउँदा आफैंलाई भाग्यमानी ठान्छु,” गौरी गम्भीर हुँदै भन्छिन्।
कतिपय कुराले मन बिथोलिन्थ्यो पनि। कति घटना त उनले अझै बिर्सिन सकेकी छैनन्। बयालपाटा अस्पताल आउनुअघिको एउटा घटनाले उनलाई अहिले पनि बिझाइरहन्छ।
साँफेबगर क्लिनिकमै कार्यरत थिइन्। रामारोशनबाट एक गर्भवतीलाई बोकेर ल्याइयो। ड्यूटीमा गौरी थिइन्। त्यो वेला अप्रेशन गर्ने सुविधा थिएन। “गर्भवती आमाको पेटभित्रै बच्चा मरिसकेको थियो,” उनी भन्छिन्, “मंगलसेनमा पनि डाक्टर थिएनन्। डडेल्धुरा रिफर गर्नुपर्ने थियो।”
गर्भवती आमालाई डडेल्धुरा पठाउने तयारी गरिन्। रिफरको कागज बनाइन्। “पठाउनै लाग्दा गर्भवती बेहोश भइन्, दोस्रो चरणको ‘लेबर पेन’ भइसकेको थियो,” गौरीको आवाज सानो भयो, “एम्बुलेन्समा राख्दाराख्दै उनको मृत्यु भयो।”
घरबाट ढिला ल्याउँदा, आर्थिक अभाव र स्वास्थ्य सेवाको पहुँच सहज नहुँदा गर्भवती आमाको ज्यान गएको उनी सुनाउँछिन्। त्यो घटनाले धेरै दिनसम्म पिरोलेको उनी बताउँछिन्। “एम्बुलेन्समा आँखै अगाडि अन्तिम सास फेरेको अझै बिर्सिन सकेकी छैन, त्यो दृश्य सम्झिंदा झसंग हुन्छु,” उनी गम्भीर हुन्छिन्।
निराश हुने मात्र होइन, खुशी हुने पनि थुप्रै क्षण छन्, गौरीसँग। कैयौं गर्भवती आमाको ज्यान बचाएका कथा पनि छन्। साँफेबगर क्लिनिकै पनि अर्को घटना उनलाई याद छ, जसले खुशी बनाउँछ।
रामारोशनबाट एक गर्भवतीलाई सुत्केरी हुन नसकेपछि साँफेबगर क्लिनिकमा ल्याइएको थियो। शिशुलाई जन्म दिन सकिराखेकी थिइनन्। शिशुको हात बाहिर निस्किसकेको थियो। घरमै सुडेनीले कोशिश गरेको भए पनि सफल भएकी थिइनन्।
गौरी शिशुलाई निकाल्न सफल भइन्। “शिशुको मृत्यु भइसकेको थियो। शिशुको कारणले आमाको ज्यान पनि जोखिममा थियो,” उनी भन्छिन्, “शिशु जोगाउन नसके पनि आमालाई जोगाउन सफल भयौं।”
लामो समय शिशुको हात बाहिर निस्केकाले समस्या आइसकेको थियो। त्यसले आमाको शरीरमा पनि संक्रमण भइसकेको थियो। “पाँच दिन क्लिनिकमै राखेर उपचार गर्यौं,” उनी खुशी हुँदै भन्छिन्, “अरू बिरामीलाई क्लिनिकमा भर्ना गरिंदैनथ्यो, तर उनलाई निको बनाएर पठाएका थियौं।”
जब आफैं थला परिन्
बिरामीको सेवा गर्दागर्दै २०७९ सालमा गौरी एकाएक बिरामी भइन्। पेट दुख्न थाल्यो। यसरी दुख्यो कि उनी थला नै परिन्। बयालपाटा अस्पतालमै उपचार गराइन्। दुई महीनासम्म पेटको दुखाइ कमै भएन।
त्यसपछि उनी काठमाडौं पुगिन्। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गराइन्। सामान्य दुखाइ भन्दै औषधि दिएर घर पठाए।
औषधि बोकेर अस्पतालमा बिरामीको सेवामा खटिइन्। तर पेटको दुखाइ बीसको उन्नाइस भएन। त्यसपछि धनगढीस्थित माया मेट्रो अस्पतालमा सीटीस्क्यान गराइन्। “प्यांक्रियाजको क्यान्सर देखियो,” उनी भन्छिन्, “म त छाँगाबाट खसे झैं भएँ।”
के गर्ने, कसो गर्ने दोधारमा थिइन्। डा. विकास गौचनले दिल्ली जान सल्लाह दिए, जहाँ उनका साथी काम गर्थे। अनि गौरी थप उपचारका लागि भारतको दिल्लीस्थित सञ्जय यादव नारायण अस्पताल पुगिन्। “डाक्टरले अप्रेशन गर्छौं, ठीक भइहाल्छ, नआत्तिनुस् भनेपछि बाँच्ने आश पलायो,” उनी सुनाउँछिन्।
२०८० जेठ १६ मा शल्यक्रिया भयो। शल्यक्रिया सफल भएपछि उनलाई ‘अब बाँचें’ भन्ने लाग्यो। त्यसपछि दिल्लीकै टाटा मेमोरियल अस्पतालमा किमोथेरापी चल्यो। “टाटा अस्पतालमा १२ वटा किमोथेरापी गरेपछि निको भएँ,” उनी खुशी हुँदै भन्छिन्। दिल्लीमा उपचार गरेर घर फर्किंदा १८ लाख रुपैयाँ सकियो।
फेरि बयालपाटा
क्यान्सर उपचार गरेर आएपछि घरमै बसिन्। पति टक्कर ताम्राकार र छोराछोरीले आराम गर्नमै जोड थिए। उनी पनि काम गर्न सक्ने अवस्थामा थिइनन्।
क्यान्सरमुक्त भएसँगै स्वास्थ्यमा पनि सुधार आयो। पहिले जस्तै कामकाज गर्न थालिन्। परिवारजनले भने काम नगर्न दबाब दिइरहे। उनीहरूलाई कामभन्दा पनि गौरीको स्वास्थ्यको चिन्ता थियो। तर गौरीको मनले घरमा बसिरहन मानेन। “म त फेरि बयालपाटा अस्पतालमा हाजिर भएँ,” उनी भन्छिन्, “पहिले जे जिम्मेवारी थियो, त्यही जिम्मेवारीमा फर्किएँ। बिरामीको सेवा गर्नमै खुशी लाग्छ।”
बयालपाटा अस्पतालमा बिरामीसँग कुराकानी गर्दै गौरी सुनार।
२०८० माघ १० देखि उनी फेरि बयालपाटा अस्पतालमा सिनियर अनमीका रूपमा काम गरिरहेकी छन्। अहिले त कार्यवाहक नर्सिङ इन्चार्जको जिम्मेवारी पनि सम्हालिरहेकी छन्। तीन-तीन महीनाको फरकमा ‘फलोअप’ का लागि दिल्ली पुग्छिन्।
गौरीका श्रीमान् सामाजिक क्षेत्रमा क्रियाशील छन्। छोरी फार्मेसीको पढाइ सकेर काममा लागिसकेकी छन्। छोराले एमबीबीएसको पढाइ सकेका छन्। कान्छी छोरी विज्ञान लिएर कक्षा १२ मा अध्ययनरत छिन्। “अब त केही चिन्ता छैन, बाँकी जीवन बयालपाटा अस्पतालमै बिरामीको सेवामा लगाउँछु,” क्यान्सर जितेकी गौरी भन्छिन्, “पहिलेभन्दा झन् हौसला बढेको छ।”