स्थानीय भाषा, संस्कृतिको व्यापक प्रयोग र अभ्यास नै सांस्कृतिक उपनिवेशवादबाट मुक्त हुने बलियो आधार हो।
गणेश खनिया
प्रेमसँगै बलिदानको महीना हो, फेब्रुुअरी। सन्त भ्यालेन्टाइन त बलिदानका प्रतिमूर्तिका रूपमै चिनिन्छन्। प्रेमी-प्रेमिकाको स्वतन्त्रताका लागि उनले जीवन नै उत्सर्ग गरे।
फेब्रुअरी महीनामा बलिदानको अर्को कथा पनि गुन्जिन्छ। त्यो बलिदान भने भाषा प्रेमका खातिर थियो। अनि घटना थियो, हाम्रै छिमेकी भूगोल अर्थात् बाङ्लादेशको।
सात दशकअघि हो, त्यतिखेर बाङ्लादेश पूर्वी पाकिस्तानका रूपमा चिनिन्थ्यो। त्यसैताका सन् १९५२ मा उर्दूलाई पाकिस्तानको राष्ट्रिय भाषा कायम गरियो। बंगालीबहुल पूर्वी पाकिस्तानीलाई त्यो कदम मान्य भएन। उनीहरू आन्दोलित बने। आन्दोलन दबाउन पाकिस्तानी सैन्यबलले अत्यन्तै बर्बर दमन शुरू गर्यो।
ढाका, खुल्ना, राजशाही, चटगाउँ लगायत शहरस्थित विश्वविद्यालय र शैक्षिक संस्थाहरू आक्रमणको तारो बने। तर आन्दोलन भुसको आगो झैं भित्रभित्रै सल्किंदै गयो। केही बाङ्लादेशीले पाकिस्तान सरकारका लागि सुराकीको काम गरे, दमनका लागि खुलेरै पाकिस्तानी सेना-प्रहरीसँग मिसिए। ‘राजाकार’ का रूपमा निन्दित उनीहरूकै कारण धेरै हताहत भए, कैयौं महिला बलात्कृत भए। तर आन्दोलन रोकिएन।
आवामी लिगका नेता शेख मुजिबुर रहमानको जुझारु नेतृत्वमा आन्दोलनले अग्रगति लिंदै गयो। प्रेमले ‘बंगबन्धु’ (बंगालीका साथी) उपनामले पुकारिन्थ्यो, रहमानलाई। बंगबन्धुको ‘एवारेर संग्राम मुक्तिर संग्राम (यो पटकको लडाइँ स्वतन्त्रताको लडाइँ हुनेछ)’ गर्जनमा सारा बंगाली जोडिए। ‘आमा, सानिमा हतियार उठाओ, बाङ्लादेशलाई स्वतन्त्र गराओ’ जस्ता नारा शहरभर गुन्जिए।
बाहिरी विश्वको साथ बढ्न थाल्यो, भारतले खुलेरै सघायो। फलस्वरूप २१ फेब्रुअरी १९५२ का दिन थालिएको भाषा आन्दोलनको झिल्काले उग्ररूप लिंदै गयो। भाषाकै जगमा सन् १९७१ मा बाङ्लादेश स्वतन्त्र बन्यो र त्यही दिनको सम्झनामा हरेक वर्ष ‘एकुसे’ फेब्रुअरी विशेष महत्त्वका साथ मनाउन थालियो। त्यही २१ फेब्रुअरीलाई बाङ्लादेशीहरू एकुसे फेब्रुअरी भन्छन्।
सूचना प्रविधिको विकाससँगै संसारभर अंग्रेजीको प्रयोगमा व्यापक विस्तार हुन थाल्यो। बाङ्लादेशका स्कूल-कलेजमा बंगाली भाषाको वर्चस्व अझै कायम छ। भाषाप्रतिको अतिरिक्त मोह छ, उनीहरूमा। मध्य फेब्रुअरीबाट देशका प्रमुख शहीद मिनारमा सप्ताहभर विशेष कार्यक्रम गरिन्छ। बाङ्लादेशी कवि, लेखकले साहित्यमा भाषा आन्दोलनको विषय सघन ढंगले प्रयोग गरेका छन्।
तिमीलाई स्वागत छ बाङ्लादेश
तिमी फर्की आयौ
रातो सूर्य अंकित झन्डाभित्र
जसको उज्यालोमा अहिले
रंगिएको छ साहसी दुनियाँ।
यसरी कवितामा विजय पताका फहराउने अघिल्लो पुस्ताका लेखक सैयद सामसुल हकदेखि गल्पकार हुमायून अहमद अनि पछिल्लो पुस्ताका सेलिना होसैन समेतले आफ्ना सिर्जनामा स्वाधीनताको विषयलाई गम्भीरतासाथ उठाएका छन्। अंग्रेजीमा लेख्ने ताहमिमा आनमले यही विषयको ऐतिहासिकता तथा स्वतन्त्रतापछिका प्रारम्भिक प्रभावमा केन्द्रित गरेकी छन्, बंगाल ट्रिलोजीका अघिल्ला दुई उपन्यास ए गोल्डन एज र दि गुड मुस्लिम लाई।
भाषा आन्दोलनको अन्तर्राष्ट्रिय प्रभाव बढ्दै गएपछि यही बलिदानलाई सम्मान गर्दै सन् २००० बाट संयुक्त राष्ट्रसंघले २१ फेब्रुअरीका दिनलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो। बंगालीभाषी भारतीय राज्यहरू कलकत्ता, त्रिपुरा र आसाममा समेत यो दिवसलाई विशेष उत्सवका रूपमा मनाइन्छ।
भाषिक भिन्नता अस्थिरताको स्पष्ट आधार देखिन्छ, धेरै ठाउँमा। भाषाकै बलमा पृथक्ता आन्दोलन भइरहेका देश, राज्य र क्षेत्र पनि छन्। स्पेनको क्याटालोनिया, क्यानडाको क्वेबेक दशकौंदेखि यही अस्थिरता र द्वन्द्वबाट गुज्रिरहेका छन्। भारतका पहाडी मूलका आदिवासीका भाषिक अधिकार पनि छायामा पारिएका छन्। आन्दोलित छन्, आसाम, दार्जीलिङ अझै पनि।
त्यस्तै, श्रीलंकाको तामिल पृथक्तावादी आन्दोलनको कारक पक्ष नै भाषिक विविधतालाई नस्वीकार्नु थियो। भारतको तामिलनाडुमा यसैको प्रभाव पर्यो र अझै मुक्त हुन सकेको छैन। पाकिस्तानको बलुचिस्तान र बलुचीहरूको व्यथा उस्तै छ। उर्दूको सट्टा बलुची भाषाको प्रयोगको मागमा एकताबद्ध छन्, उनीहरू।
न्यूजिल्यान्डमा १७ प्रतिशत आदिवासी मावरीहरू छन्। उनीहरू आफ्नो भाषिक सांस्कृतिक पहिचान र अधिकारमा ठगिंदै आएका छन्। ६५ हजार वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका आदिवासीको अवस्था पनि उत्साहजनक छैन। उनीहरूका २५० भाषा छन्, तर खुम्चिंदै छन् दिनानुदिन आफ्नै मूलथलोमा।
एलेक्स राइट अस्ट्रेलियाको क्वीन्सल्यान्ड राज्यकी वान्यी समुदायकी लेखक हुन्। रैथाने संस्कृति तथा इतिहासबारे बहस-पैरवी पनि गर्दै आएकी छन्। उनलाई वान्यीभाषी घट्दै गएकामा चिन्ता छ।
काइवाहरू अमेरिकाको मूलधारमा गाभिने अन्तिम रेड इन्डियन जाति थिए। यही समुदायका पाका कवि थिए एन. स्कट मोमाडे। जातीय अस्तित्वको रक्षार्थ उनी लेखिरहन्थे। उनको कविता सुनिरहँदा त्यही जुझारुपन झल्किन्छ। अस्तित्वको खातिर उनको जोदाहापन कवितामा प्रकट हुन्छ, ‘गुरुत्वाकर्षणका कारणबाट मात्र हामी माटोसँग जोडिएका होइनौं। यही माटोबाट हामी उम्रिएका हौं, अनि यसैमा विलिन हुनेछौं कालान्तरमा।’
मेक्सिकोको चियापासमा जन्मेकी मिकेयास् सान्चेज रैथाने भाषा ‘जोक’ मा सिर्जनारत कवि हुन्। लेखन, अनुवाद र अभियानमा बराबर संलग्न उनी स्पेनी भाषाको दबदबामाझ रैथाने भाषा मर्दै गएकामा भाषिक पुनर्जागरणमा केन्द्रित छिन्। “कविता भाषिक प्रतिरोधको माध्यम हो। हाम्रो रैथाने भाषालाई सार्वजनिक, प्राज्ञिक अनि कलाका क्षेत्रमा स्थापित गर्ने प्रयत्न पनि हो,” सान्चेज भन्छिन्, “पहिले पहिले हामीलाई अलि मसिनो आवाजमा बोल्न बाध्य पारियो। किनकि आफ्नै भाषा प्रयोग गर्न हामीलाई लाज लाग्थ्यो। रैथाने भाषाप्रति प्रेम गर्न कसैले सिकाएको होइन, बिस्तारै आफैंले सिकेको हो।”
स्थानीय भाषाको अभ्यास गर्ने सन्दर्भमा छुटाउन नहुने नाम हो, केन्याली लेखक न्गुगी वा थियोङो। एक दशक पहिलेसम्म अंग्रेजीमा लेख्ने यी लेखक हाल आफ्नो स्थानीय गिकुयु भाषामा लेख्छन्। पश्चिमी भाषा, संस्कृतिको दबदबाको विरोधस्वरूप उठेको उनको सचेत कदम हो यो। पहिले दिमागलाई उपनिवेश हुनबाट जोगाउनुपर्छ भन्ने सार छ, उनको निबन्ध संग्रह डिकोलोनाइजिङ द माइन्ड मा। स्थानीय भाषा, संस्कृतिको व्यापक प्रयोग र अभ्यास नै सांस्कृतिक उपनिवेशवादबाट मुक्त हुने बलियो आधार हो।
संसारभर नै थोरै संख्यामा बोलिने भाषाहरू मर्दै गएका छन्। युनेस्कोको प्रतिवेदनमा विश्वभरका ६ हजार भाषामध्ये झन्डै आधा जति मासिने अवस्थामा पुगेको उल्लेख छ। हामीकहाँ पनि केही भाषा मरिसके, कतिपय मरणासन्न अवस्थामा छन्। केन्द्रीय तथ्यांक कार्यालयको विवरण अनुसार पछिल्लो जनगणना २०७८ सालमा १२२ भाषा समावेश गरिएका छन्। तर २१ भाषा बोल्नेको संख्या मात्र एक लाखभन्दा माथि छ।
त्यस्तै, २५ भाषा बोल्नेको संख्या १० हजारभन्दा माथि छ। ती पनि दोस्रो भाषाका रूपमा बोल्नेहरू हुन्। प्रयोगका आधारमा बाँच्ने रहेछ, भाषा। त्यसैले डार्विनको सिद्धान्त ‘सक्षमहरू नै अस्तित्वमा रहन्छन् अथवा सर्भाइभल अफ द फिटेस्ट’ ले भने जस्तै अल्पसंख्यकको भाषा बिस्तारै विलिन हुँदै जाने रहेछ।
भाषा मर्नु भनेको एउटा सिंगो समुदायको अस्तित्वको अवसान हो, एउटा सभ्यताको अन्त्य हुनु हो, रैथानेपनको अन्त्य हो। यही सभ्यताको जगेर्नाका लागि कालान्तरमा बहुभाषा शिक्षा हामीकहाँ पनि अभ्यासमा आएको छ। यसले मातृभाषाको महत्त्व स्थापित गरेको छ। आजभोलि प्रज्ञा-प्रतिष्ठान मातहत सञ्चालित कार्यक्रममा मातृभाषाका सिर्जनाले प्रकाशन, प्रसारण, विमर्श र बहस-पैरवीमा स्थान पाएका छन्। यसअघि लामो समय एकल भाषा, संस्कृतिलाई बढावा दिइयो।
जापानी आख्यानकार हारुकी मुराकामी भन्छन्, “नयाँ एउटा भाषा सिक्नु भनेको बिल्कुल नयाँ मान्छे बन्नु हो।” त्यसैले त भाषा केवल संवादको माध्यम मात्र होइन, नयाँ संस्कार, संस्कृति, जीवनयापन, अलग ज्ञानसम्म पहुँच बढाउने आधार पनि हो।
स्थानीय संस्कृति र पहिचान जोगाउन केही दशकदेखि चालिएका सांस्कृतिक पहिचानका आन्दोलन र कदमले सकारात्मक प्रभाव छोडेका छन्। मुन्धुमी ज्ञानको खोज र दस्तावेजीकरणमा सक्रिय अग्रज बैरागी काँइलादेखि सिर्जनशील अराजकता, उत्तरवर्ती सोच आदिका प्रयासले भाषिक तथा सांस्कृतिक पहिचानको गोरेटो बिस्तारै चौडा सडकमा रूपान्तरण हुँदै छ। किताब, सिनेमा, नाटक, वृत्तचित्र, चित्रकला आदि माध्यमबाट निरन्तर हस्तक्षेप भइरहेको छ।
सिनेमा क्षेत्रमा नवीन सुब्बाको नुमाफुङ देखि उपेन्द्र सुब्बाको जारी , लेखनमा राजन मुकारुङ, स्वप्नील स्मृतिदेखि पछिल्लो पुस्ताका पराजित पोमु, मिथोच, सयपत्री थुलुङसम्मका कविता-उपन्यास, नाटकमा जोखना, खुवालुङ, मासिन्या, मेखिदण्डदेखि हालै मञ्चित मुक्कुमलुङ सम्मले भाषिक तथा सांस्कृतिक पहिचानको सवाल उजागर गरेका छन्। केटी हराएको सूचना सिनेमाबाट रजतपट मार्फत मधेशी जनजीवन र सवाल सार्वजनिक वृत्तमा उठेको छ, तर अझ धेरै समेटिनु जरूरी छ।
सुदूरपश्चिमका विविध साहित्य, संस्कृतिको रसपान नेपालभर गराउन अरू सहकार्य जरूरी छ। त्यसरी नै अरू थुप्रै अल्पसंख्यक जाति, समुदाय र भेगका भाषालाई पनि सिर्जनात्मक र व्यावहारिक प्रयोगमा ल्याउन ती समुदायभित्र र बाहिरका अभियन्ता तथा अनुसन्धाताको सक्रिय संलग्नता आवश्यक छ। देशभित्रका एक समुदायका रचना अर्को भाषी समुदायसम्म पुर्याउन अझ सघन सहकार्य आवश्यक छ।