कलेजको पढाइ बिग्रिएपछि खोलेको उद्योग बन्यो ढाकाको ब्रान्ड
कलेजको पढाइ बिग्रिएपछि २३ वर्षे युवकले शुरू गरेको ढाका बुन्ने काम झन्डै चार दशकपछि आएर पाल्पाली ढाकाको ‘ब्रान्ड’ बनेको छ।
पाँच दशकअघि पाल्पामा नामी कविराज थिए, एकनाथ पौड्याल। नाति मोहनलाई पनि सानैदेखि आयुर्वेदिक औषधिकै विषयमा सिकाउन थाले। आयुर्वेदमा नातिलाई पनि पोख्त बनाउने चाहना थियो।
मोहन भने हुर्किंदै गएपछि बाजेसँग घरमा बस्न पाएनन्, सरकारी जागीरे बुबा जताजता गए, उतैउतै लागे। उनका बुबा प्रेमचन्द्र शर्मा पौड्याल भूमिसुधारका हाकिम थिए। कहिले गुल्मी पुगे त कहिले रोल्पा। कहिले कपिलवस्तु त कहिले डोटी। जसले लेखपढमा एकाग्र हुन सकेनन्।
पढाइ पाखा लागेपछि के गर्ने होला भन्ने सोच्न थाले। दुई वटा बाटो थियो, खेती किसानी वा इलम। आखिर पाल्पा ढाकाका लागि प्रख्यात नै थियो। उनले पनि सजिलो बाटो ढाका रोजे। “दुई वटा तान राखेर ढाका उत्पादन शुरू गरें,” मोहन झन्डै चार दशकअघिको यात्रा सम्झिन्छन्।
२०४३ सालमा दुई वटा तान राखेर मोहनले शुरू गरेको ‘पौड्याल पाल्पाली ढाका पसल’ अहिले भने देशकै विश्वसनीय ब्रान्ड बनेको छ। हाल मोहन र उनका भाइ मनोजले पाँच बिक्री केन्द्र मार्फत पाल्पाली ढाकाको कारोबारलाई निरन्तरता दिइरहेका छन्।
हजुरबुबाको पालासम्म परिवारले खेतीपाती र जजमानी गर्दै आएको थियो। बुबा सरकारी सेवामा लागे भने उनी व्यवसायतिर। उनीसँगै तीन भाइले व्यवसायमा सघाए। “पाल्पामा कसैले केही व्यवसाय गर्नुपर्दा ढाकाकै काम गर्थे। पाल्पाका छरछिमेक सबैले तान राखेर ढाका बुन्थे। मैले पनि आखिरमा ढाकाकै काममा हात हालें,” व्यवसाय शुरू गर्दाका दिन सम्झिंदै मोहन भन्छन्, “म त्यति वेला २३ वर्षको थिएँ, काम गर्ने जोश थियो।”
पाल्पाबाट काठमाडौंमा व्यवसाय विस्तार गरेका मोहनलाई बिस्तारै बुढ्यौलीले छोप्दै लगेको छ। अहिले ६३ वर्षका भए। काम गर्ने जोश त सेलाएको छैन। काठमाडौंको मैतीदेवीस्थित बिक्री केन्द्रमा बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म खटिने गरेको उनी सुनाउँछन्। अर्डर टिप्ने, सामान बुझ्ने, बक्यौताका लागि ताकेता गर्ने, भुक्तानी भर्ने लगायतको काम पनि गरिरहेका हुन्छन्। उनलाई जीवनसँगिनी अनिताले साथ दिइरहेकी हुन्छिन् भने बाहिरफेर डुल्ने काममा छोरा राहुलले सघाउँछन्।
पाल्पामा ढाका कपडा बुन्ने कामको शुरूआत २०१५ सालमा गणेशमान महर्जनले गरेका थिए। त्यसपछि पाल्पामा ढाका कपडाको व्यवसाय फैलियो, औपचारिक र अनौपचारिक रूपमा। कालान्तरमा पाल्पाली ढाका नै पहिचान बन्यो।
मोहनले पनि दुई वर्ष उद्योग दर्ता नै नगरी ढाकाको काम गरेका थिए। राम्रो हुँदै गएपछि २०४५ सालमा संस्था दर्ता गरे, तान थप्दै गए।
.jpg)
भारतीय डेकार्ट मशिनबाट काम थालेका उनले २०४७ सालमा धेरै उत्पादन दिने ठूलो पावरलुम मशिन राखे। व्यवसाय बढ्दै जाँदा सात वटासम्म पावरलुम मशिन चलाएको उनी बताउँछन्। ढाकाको व्यवसाय चम्किंदै गएको वेला राजनीतिक अस्थिरताले ग्रहण लाग्न थाल्यो। २०५२ सालमा शुरू भएको माओवादी विद्रोह चर्किंदै जाँदा व्यापार-व्यवसाय गर्न गाह्रो हुँदै गयो।
सशस्त्र द्वन्द्वका कारण जमघट पातलियो। सबै खालका कारोबारमा मन्दी आउन थाल्यो। सार्वजनिक बस कम चल्न थाले। मानिसको आउजाउ कम हुँदै गयो। विवाह, व्रतबन्ध, पूजाआजा, भोजभतेर, रामरमाइलो कम हुँदै गयो। दिनभर चल्ने हाटबजार एक-दुई घण्टामै सकिन थाले। “सामान लिएर हिंड्नवर्न दुःख भयो,” उनी भन्छन्।
अनि मोहनले खर्च कटाउन धेरै कपडा उत्पादन गर्ने पावरलुम मशिन पश्मिना व्यवसायीलाई बेचिदिए। पावरलुमले धेरै उत्पादन दिन्थ्यो भने त्यसमा बुनिएका कपडा सस्ता हुन्थे। डेकार्ट मशिनमा बुनिएका कपडा महँगा हुन्थे। “माओवादी द्वन्द्वले गाह्रो पार्दै ल्यायो, समान लिएर हिंड्नै गाह्रो भएपछि पावरलुम मशिन बेचिदिएँ,” मोहन सुनाउँछन्, “व्यापार-व्यवसाय पनि उस्तै रहेन, खस्किंदै गयो।”
त्यही वेला उनका बुबाले पनि अवकाश पाइसकेका थिए। व्यवसायबाट राम्रो आम्दानी भइरहेको थिएन। चिनजानका मान्छे मार्फत वैदेशिक रोजगारका लागि जापान पुगे। तर सोचे जस्तो भएन। साढे पाँच वर्ष बिताएपछि उनलाई लाग्यो- नेपाल नै फर्किन ठीक छ।
फेरि व्यवसाय विस्तार गरे। एउटा पसलबाट शुरू भएको व्यवसाय अहिले ‘पौड्याल ढाका उद्योग’ मा परिणत भइसकेको छ। ३० जनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। पोखरा, बुटवल लगायत शहरमा पनि पौडेल ढाकाका उत्पादन पाइन्छन्। व्यापार कम भयो भन्ने महसूस गर्नुपरेको छैन।
काठमाडौंमा वार्षिक ३०-४० लाख रुपैयाँ बराबरको कारोबार गर्ने पौड्याल ढाका उद्योगको उपत्यका बाहिरको बिक्री जोड्दा आँकडा अझ धेरै हुन्छ। “पहिलेभन्दा बिक्री कम छ, तर व्यापार निराश बनाउने खालको पनि छैन,” मोहन भन्छन्, “हाम्रा आफ्नै ग्राहक छन्, त्यसैले व्यवसाय चलिरहेको छ।”
.jpg)
कुनै वेला ७०-८० जनालाई रोजगारी दिएको पौड्याल ढाकाले पछिल्ला दिनमा कामदारलाई नै स्वरोजगार बनाउने खाका अपनाएको छ। कामदारलाई व्यवसायी बनाउँदा आफ्नो व्यवसाय पनि फस्टाउने मोहनको बुझाइ छ। “पाल्पामा मैले केही तान राखेको छु। जसले तान राखेको हो, उसैलाई साहु बनाइदिएको छु। शुरूमा लगानी गरिदिने र उसलाई पनि लगानी गर्न लगाउने हो,” उनी सुनाउँछिन्, “धागो पाइराछ, लगानी पाइराछ, बनेको सामान लैजान्छ भनेपछि उसले तनावरहित भएर काम गर्न पाउँछ नि!”
जापान बस्दाको अनुभवले उद्यमशीलता तिखारिएको उनको ठम्याइ छ। जापानमा कामलाई नै सर्वस्व मानिने, कुनै काम सानो वा ठूलो नमानिने, साहु र हाकिम पनि कामदारसँगै बसेर खाने, कुनै भेदभाव वा उँच-नीच नभएको देखेर प्रभावित बनेको उनी सुनाउँछन्। “नेपालमा हाकिम वा साहु नहुँदा कामदारले ठग्छन्,” उनी गम्भीर हुँदै भन्छन्, “जीवनमा मान्छेले कसैलाई ठग्न सक्दैन। ठगें भन्ठान्छ भने त्यो भ्रम हो। ठगिएको ऊ आफू हो।”
कामदारले ठग्न थाल्यो भने अर्को कामदार खोजिएला, तर राम्रो काम गर्नेलाई साहु वा हाकिमले पनि ‘काम त राम्रै गर्छ’ भनेर थोरबहुत कमजोरीलाई वास्ता गर्दैन भन्ने उनलाई लाग्छ। “हामीकहाँ भने साहु छैन भने चुरोट, चियाको बहानामा काम छल्ने गर्छन्,” मोहन भन्छन्, “यो प्रवृत्तिले व्यक्ति आफूलाई नै हानि हुन्छ, अरूलाई हुँदैन।”
उनको अनुभवमा जापानमा त काम गर्नेलाई निगरानी गर्नै पर्दैन। यति जनाले यति काम सक्नै पर्छ भन्ने हुन्छ। दायाँबायाँ गर्ने मौका नपाइने उनी सुनाउँछन्। “काममा मात्र ध्यान दिंदा मान्छेले नसोचेको उपलब्धि हासिल गर्छ। तर नेपालमा काममा ध्यान नै दिंदैनन्,” उनको अनुभव छ, “देशले प्रगति गर्न नसक्नुको कारण काम गर्नुपर्ने व्यक्तिले आफूले सकेको काम पनि नगरेकाले हो। यो रोग सबै क्षेत्रमा व्याप्त देख्छु।”
त्यसैले पछिल्ला दिनमा रोजगारी दिनेभन्दा व्यवसायी बढाउने सूत्र पौड्याल ढाका उद्योगले अँगालेको छ। ढाका प्रवर्द्धन गर्न सकिंदा महिला सशक्तीकरण मार्फत सामाजिक रूपान्तरण पनि हुने उनको विश्वास छ।
अर्कातिर, सरकारको गलत नीतिका कारण पनि नेपालमा उद्योग फस्टाउन नसकेको उनको बुझाइ छ। उनलाई लाग्छ- राजनीतिकर्मी र कर्मचारीले आफ्नो दायित्व बुझेनन्। “उत्साही मान्छेलाई हौसला दिने वातावरण नै छैन। व्यवसाय गर्न चाहनेले हौसला होइन, हतोत्साह मात्र पाउँछ,” उनी प्रश्न गर्छन्, “अनि किन कोही व्यवसाय गर्न चाहन्छ?”
चार दशकको व्यावसायिक यात्रामा पौड्याल ढाका उद्योगले ढाका टोपीबाटै पहिचान बनाएको छ। धेरै बिक्ने सामान ढाकाटोपी नै हो। १५० देखि आठ हजार रुपैयाँसम्मका टोपी पाइन्छन्।
त्यस बाहेक ढाकाले बनेका ब्याग, टाई पनि बिक्री हुन्छन्। पछिल्ला दिन ढाकाकै सारी, कोट, इस्टकोटको बिक्री पनि बढ्न थालेको मोहन बताउँछन्। उनका अनुसार ग्राहकको रुचि बुझी नयाँ डिजाइनका लुगा बनाउने बुटिकहरूले पनि ढाका किन्ने गरेकाले बजार विस्तार हुँदै छ।
.jpg)
सामान्यतया चार-पाँच वर्षसम्म गुणस्तर राम्रै रहने मध्यमस्तरीय टोपीको एक-डेढ हजार पर्छ। पौड्याल ढाकामा बढी बिक्ने पनि तिनै खालका टोपी हुन्। ग्राहकको मन पर्ने कपडामा तत्काल ढाका टोपी बनाउने गरिएको छ। “हाम्रोमा टोपी राम्रो हुनुको कारण ढाकालाई पेस्टिङ कपडामा टाँसिन्छ। त्यसले लागत अलिकति बढ्छ, तैपनि टोपी भने राम्रो र टिकाउ हुन्छ,” उनी भन्छन्।
त्यस बाहेक अचेल रेसमी कपडाको ढाका बुट्टे सारीको पनि बिक्री बढ्दो छ। नेपालीपन झल्किने सारीको सात हजारदेखि २५ हजार रुपैयाँसम्म पर्छ। कोट सिलाउने चलन पनि बढेको उनी सुनाउँछन्।
तथापि पाल्पा र काठमाडौंमा हुने व्यापार भने फरक छ। पाल्पामा पर्यटक धेरै जाने हुँदा कोसेली लैजान सस्तो सामान खोज्छन् भने काठमाडौंमा राम्रो सामान खोजिने उनी बताउँछन्। “पाल्पामा मात्राको व्यापार हुन्छ, काठमाडौंमा गुणस्तरको व्यापार हुन्छ,” मोहन भन्छन्।
व्यवसायीले गुणस्तरीय उत्पादन मार्फत ब्रान्ड राम्रो बनाउनुपर्ने उनी सुझाउँछन्। ब्रान्ड बनेपछि बजारमा विश्वसनीयता बढ्ने र व्यापार फस्टाउने उनको अनुभव छ। “हामीले पनि शुरूमा ब्रान्ड बनाउनै कसरत गरेका हौं। राम्रो सामान बनेपछि ग्राहक आफैं खोज्दै आउँछन्,” उनी भन्छन्।
पछिल्लो समय विदेशी उत्पादन लिएर बिक्री गर्ने चलन बढेको छ। त्यो समस्या ढाकामा पनि देखिएको छ। पाल्पाली ढाकाको काम गर्ने केही व्यवसायीले भारतका ठूला मिलमा बनेको गोरखपुरे ढाकाको सस्तो कपडा ल्याएर सामान बनाउने गरेका थिए। तर त्यसले राम्रो गरेन। “त्यही भएर सामान राम्रो बनाउनुपर्छ। गुणस्तरमा सम्झौता गर्नु हुँदैन। राम्रा सामान दिंदा नै ग्राहक फर्कीफर्की आउँछन्,” उनी भन्छन्।
हालैमा उनको पसलमा भारतीय टेलिसिरियल महाभारतमा कृष्णको भूमिका निभाएका कलाकार नीतीश भारद्वाज आए। ढाका टोपी लगायत सामान किनेर गए। मोहन भन्छन्, “मैले भारतमा आफ्नो व्यवसायको प्रचारप्रसार गरेको त होइन नि। नेपालकै कसैले सिफारिश गरिदिएर न आए।”
केही वर्ष जापान बसेका उनी सिको घडीले उच्च गुणस्तर कायम गर्न अपनाएको सूत्र सबै उत्पादकले सिक्नुपर्ने बताउँछन्। “सिको घडीले एक-एक पाटपुर्जा एक-एक कम्पनीलाई बनाउन दिन्छ। सबैतिरबाट सामान संकलन गरेर उसले फाइनल उत्पादन गर्छ। त्यो गर्दा उसले ‘क्वालिटी कन्ट्रोल’ गरिरहेको हुन्छ,” उनी भन्छन्, “हामीले पनि त्यसैगरी ‘क्वालिटी कन्ट्रोल’ गरेर उत्पादन बनाउनुपर्छ।”
त्यही भएर उनले इलाम र तेह्रथुमका ढाका व्यवसायीसँग पनि ढाका कपडा मगाउने गरेका छन्। एक जनाले सबै थोक बनाउन त सक्ला, तर राम्रो बनाउन गाह्रो पर्ने उनको बुझाइ छ। त्यही भएर कहाँ कहाँ के के राम्रो पाइन्छ, ती सामान झिकाउने गरेको सुनाउँछन्।
उनलाई लाग्छ- अहिलेसम्म पौड्याल ढाकाले कमाएको भनेकै गुणस्तरीय उत्पादन गर्ने ब्रान्ड हो। उनी गुणस्तरमा सम्झौता नगर्ने बताउँछन्। मोहन भन्छन्, “बरु पर्ता परेन भने त्यो समान नै नबनाउने हो, तर ‘क्वालिटी डाउन’ गर्दिनँ।” उनको यही कदमले त पौड्याल ढाकाले चार दशकको यात्रा मात्र पार गरेको छैन, पाल्पाली ढाकाको विश्वासनीय ब्रान्ड पनि बनेको छ।