शारदाको सफलता
स्कूलदेखि नै पढाइमा अब्बल शारदा थपलिया शिक्षकका रूपमा कक्षाकोठामा प्रवेश गरेको तीन दशकपछि उपकुलपति बनेर विश्वविद्यालय हाँकिरहेकी छन्।
साढे पाँच दशकअघि काठमाडौंको महेन्द्र प्राथमिक विद्यालयमा पढ्दै गर्दा शारदा थपलियालाई भविष्यमा के बन्ने भन्ने यकीन थिएन। उनको ध्यान पढाइमै हुन्थ्यो, अन्य कुरा तपसिल थिए। पढाइमा अब्बल उनी कक्षामा पनि पहिलो हुन्थिन्।
कक्षा ६ सम्म महेन्द्र प्राविमा पढेकी उनी त्यसपछि भने लैनचौरस्थित कन्या माविमा भर्ना भइन्। कन्यामा पढ्दा पनि उनलाई कसैले उछिन्न सकेनन्।
स्कूलको पढाइ सक्दासम्म उनले कुनै पनि कक्षामा शुल्क तिर्नु परेन। त्यसको एउटै कारण थियो, कक्षा उत्कृष्ट। “कक्षामा पहिलो हुने भएकाले शुल्क मिनाहा हुन्थ्यो,” उनी सम्झिन्छिन्।
२०३६ सालमा स्कूले पढाइ सकेपछि काठमाडौंको अमृत क्याम्पस पुगिन्। अमृतमा पनि उनको पढाइ अब्बल रह्यो। आईएस्सी सकेपछि भारततिर लागिन्। भारतबाट ‘बीभीएस्सी एन्ड एएच (ब्याचलर इन भेटेरिनरी साइन्स एन्ड एनिमल हस्बेन्ड्री)’ को पढाइ पनि राम्रो अंक ल्याएर पूरा गरिन्।
स्नातक तहको अध्ययन सकेर नेपाल फर्के लगत्तै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषि तथा वन विज्ञान अध्ययन संस्थान, रामपुरमा काम पाइन्। २०४७ सालमा उपप्राध्यापकका रूपमा संस्थानमा अध्यापन शुरू गरेसँगै उनको यात्रामा ऊर्जा थपियो। “त्यस वेला कृषि संकायमा सहायक प्राध्यापक तहमा शिक्षक नियुक्ति गरिन्थ्यो। भेटेरिनरी संकायमा भने मलाई सीधै उपप्राध्यापक दिइयो,” थपलिया भन्छिन्, “त्यस समय भेटेरिनरीमा जनशक्ति ज्यादै कम थियो।”
.jpg)
त्यहींबाट शुरू भएको हो, थपलियाको विश्वविद्यालय यात्रा। त्यसको ३३ वर्षपछि गत पुस ८ मा कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू)को उपकुलपति बनेकी छन्। देशको एक मात्रै प्राविधिक विश्वविद्यालयको उपकुलपति बन्ने उनी पहिलो महिला हुन्।
विश्वविद्यालय यात्रा
एएफयू १४ वर्षअघि विश्वविद्यालयमा परिणत भएको हो। त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामपुरस्थित कृषि तथा पशु विज्ञान अध्ययन संस्थानलाई २०६७ सालमा कृषि तथा वन विज्ञान विश्वविद्यालय बनाइएको हो। चितवनको रामपुरमा केन्द्रीय कार्यालय रहेको एएफयूमा कृषि, पशु चिकित्सा, पशु विज्ञान, मत्स्य विज्ञान र वन विज्ञानमा स्नातक, स्नातकोत्तर एवं विद्यावारिधि तहको अध्ययन-अध्यापन हुन्छ।
थपलिया भने विश्वविद्यालय बन्नुअघि संस्थान छँदैदेखि यस संस्थासँग परिचित छन्, सँगसँगै हिंडेकी छन्। २०४७ सालमा संस्थानमा जोडिएपछि अध्यापनसँगै छात्रावासको वार्डेनको जिम्मेवारी वहन गरेकी थिइन्। त्यति वेलाका विद्यार्थी अहिले पनि उनको अनुशासन र लगनशीलता सम्झिन्छन्।
त्यही क्रममा उनलाई ‘मास्टर्स लिडिङ टू पीएचडी’ कार्यक्रम अन्तर्गत जापानमा स्नातकोत्तर र विद्यावारिधि गर्ने अवसर मिल्यो। पाँचवर्षे जापान बसाइमा ‘फार्माकोलोजी’ मा विद्यावारिधि गरेर नेपाल फर्किइन्। त्यसले उनको प्राज्ञिक क्षमता मात्रै वृद्धि गरेन, नेतृत्व क्षमतालाई पनि उचाइ दियो। लगत्तै सहायक क्याम्पस प्रमुखमा नियुक्त भइन्। जसलाई उनले कुशलतापूर्वक निर्वाह गरिन्।
.jpg)
क्याम्पसबाट विश्वविद्यालय बन्यो। विश्वविद्यालयसँगै उनको करिअरले पनि फड्को मार्यो। थपलिया विश्वविद्यालयको योजना निर्देशक बनिन्। अध्यापन पेशामा जोडिए लगत्तै उनमा एकपछि अर्को जिम्मेवारी थपिंदै थियो। उनले सबै व्यवस्थापकीय जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गरेकी थिइन्। जसले गर्दा विश्वविद्यालय बन्ने बित्तिकै योजना निर्देशकको जिम्मेवारी पाएकी थिइन्।
उनको अगुवाइमा नै एएफयूको पहिलो १० वर्षे रणनीतिक योजना र पाँचवर्षे कार्ययोजना बन्यो। आफ्नो कामप्रति दत्तचित्त थपलिया योजना निर्देशकको कार्यकाल पूरा नहुँदै पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको डीन भइन्। त्यहाँ पनि उनले आफ्नो क्षमता प्रदर्शन गरिन्।
डीन भएको समयमा पाँच वटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना भए। जसले उनको मात्रै होइन, एएफयूको पनि उचाइ बढ्यो। “पशु स्वास्थ्य, भैंसी, कुखुरा र बाख्रा वन्यजन्तु सम्मेलन गर्न सफल भयौं,” थपलिया भन्छिन्, “त्यसले अन्तर्राष्ट्रिय स्तरका सम्मेलन गर्न सक्षम छौं भन्ने प्रमाणित गर्यो।”
डीन हुँदै उपकुलपति
पशु विज्ञान, पशु चिकित्सा तथा मत्स्य विज्ञान संकायको डीनका रूपमा उनले गरेको कामले प्रशंसा बटुल्यो। विश्वविद्यालयमा अब्बल प्राध्यापकका रूपमा परिचित त थिइन् नै, व्यवस्थापकीय भूमिकामा पनि सफल देखिइन्। त्यसैले त डीनको कार्यकाल बाँकी छँदाछँदै कार्यवाहक उपकुलपति बनिन्। त्यो समयमा रजिस्ट्रार पद पनि खाली थियो। प्राज्ञिक सँगसँगै विश्वविद्यालयको प्रशासनिक काम पनि उनैले सम्हालिन्।

रजिस्ट्रार बनेपछि विश्वविद्यालयमा सञ्चालन हुने सबै कामकाजलाई पारदर्शी बनाउन जोड दिइन्। विश्वविद्यालयको कार्यकारी परिषद्बाटै निर्णय गराएर एएफयूलाई प्रविधिमैत्री बनाउने कार्य अघि बढाइन्। रजिस्ट्रारको जिम्मेवारीमा आएपछि रजिस्ट्रारको कार्यालयको बेरुजु शून्यमा झारेको उनी सुनाउँछिन्।
लेखा प्रणालीलाई नयाँ स्वरूप दिइन्। जसका लागि आर्थिक दिग्दर्शन नै तयार पारिन्। “समयसापेक्ष हरहिसाब राख्न लेखा प्रणाली ‘आर्थिक दिग्दर्शन, २०७९’ बनाइएको छ,” थपलिया भन्छिन्, “यसले विश्वविद्यालयका आर्थिक गतिविधि पारदर्शी बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।”
त्यसपछि २०७७ पुस २२ मा विश्वविद्यालयको रजिस्ट्रार नियुक्त भइन्। रजिस्ट्रारका रूपमा उनले चार वर्ष एएफयूको प्रशासनिक कामलाई कुशलतापूर्वक सम्हालेकी थिइन्। त्यसले उनलाई विश्वविद्यालय हाँक्ने आत्मविश्वास मिल्यो। अहिले उपकुलपति बनेकी छन्। “पहिलेका पदको जिम्मेवारी लिएर काम गर्दै आउँदा अनुभवी भएँ,” उपकुलपति थपलिया भन्छिन्, “अहिलेसम्म जुन जुन जिम्मेवारी पाएँ, तिनलाई पूरा गर्दाको अनुभव र सिकाइ नै मेरो ऊर्जा र नैतिक बल बनेको छ।”
कार्यवाहकमै कमाल
यसअघि थपलिया १४ महीना कार्यवाहक उपकुलपति रहिन्। त्यही वेला विश्वविद्यालयलाई विकास साझेदारहरूसँग जोड्ने प्रयत्न गरिन्। त्यसका लागि विकास साझेदारहरूको भर्चुअल सम्मेलन गरिन्। जुन सम्मेलनकै उपलब्धिका रूपमा विश्वविद्यालयको नीतिगत सुधारको लागि पाँचवर्षे परियोजना सञ्चालन भइरहेको छ।
यो परियोजना अन्तर्गत विश्वविद्यालयको नीतिगत साथै पाठ्यक्रम सुधारका लागि विज्ञ समूह मार्फत काम गरिंदै छ। नेपालको कृषि रोजगारको बजार आवश्यकता अनुसार जनशक्ति उत्पादन गर्न तथा छोटो समयमा सकिने पाठ्यक्रम निर्माण गर्ने लगायत काम परियोजनाबाट हुने उनी बताउँछिन्।
.jpg)
त्यस्तै, बागमती प्रदेश सरकारसँग समन्वय गरी करीब १५ करोड रुपैयाँको लागतमा ‘बीएसएल टु प्लस’ प्रयोगशाला निर्माण भएको छ। यो प्रयोगशाला विश्वविद्यालयका लागि मात्र नभई विशिष्टीकृत अनुसन्धानमा पनि उपयोगी हुने थपलियाको विश्वास छ।
कोभिड-१९ महामारीको समयमा पनि विश्वविद्यालयकै प्रयोगशालामा काम लागेको थियो। कोरोनाभाइरस परीक्षणका लागि यही प्रयोगशाला प्रयोग गरिएको थियो। यहींका पीसीआर मशिन समेत उपयोग गरिएका थिए।
उपकुलपति बनेसँगै विश्वविद्यालयमा आवश्यक भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरेर अध्ययन र अध्यापनलाई चुस्त बनाउने कार्यलाई प्राथमिकतामा राखेकी छन्। त्यसका लागि समयमा नै सम्पूर्ण कार्य पूरा गर्ने गरी शैक्षिक पात्रोको कार्यान्वयनमा लागेको उनी बताउँछिन्।
प्राविधिक विश्वविद्यालय भएकाले सीपयुक्त जनशक्ति उत्पादन गर्नु नै प्रमुख दायित्व हो। “कामले नै काम सिकाउने, सीप विकास हुने भएकाले हामीले उत्पादन गरेको मानव संशाधनमध्ये थोरैले पनि कृषि उद्यममा लागे त्यो विश्वविद्यालयको सफलता हुनेछ,” उनी भन्छिन्।
अहिलेको समय प्रविधिको हो भन्ने उनलाई राम्ररी जानकारी छ। त्यसैले उनले एएफयूमा प्रविधिलाई जोड दिएकी छन्। “विद्यार्थीलाई जुन शैक्षिक कार्यक्रमका लागि भित्र्याएका हुन्छौं। त्यही समयभित्र ग्राजुएट भएर जाऊन् भनेरै काम गरिरहेका छौं,” थपलिया भन्छिन्, “शैक्षिक पात्रो लागू गर्दै गर्दा पठनपाठनमा कुनै सम्झौता हुँदैन, गुणस्तरीय हुनुपर्छ।”

कुनै पनि विश्वविद्यालय आमनागरिकसँग जोडिन सकेका छैनन्। अझ कृषि विश्वविद्यालय त किसान, कृषि व्यवसायीसँग जोडिनै पर्छ। शुरूआतमा विश्वविद्यालयलाई किसानसँग जोड्न ‘कृषकसँग एएफयू’ कार्यक्रम सञ्चालन गरिएको छ। त्यसका लागि विश्वविद्यालयलाई पनि समय अनुसार ‘अपग्रेड’ गर्न जरूरी छ। अहिले एएफयूमा कार्यरत शिक्षक र कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालीम दिन थालिएको उनी सुनाउँछिन्।
एएफयूलाई राम्रो विश्वविद्यालय बनाउने हुटहुटीले उनको अधिकांश समय विश्वविद्यालयमै बित्न थालेको छ। धेरैले उनलाई कडा स्वभावको पनि मान्ने गरेका छन्। उनी भने शिक्षक, कर्मचारी र विद्यार्थीलाई काम र कर्तव्यप्रति जिम्मेवार बनाउन खोज्दा खरो देखिनु स्वाभाविक भएको ठान्छिन्।
बन्द, हडताल र आन्दोलनबीच विश्वविद्यालय सञ्चालन गर्न उनीसामु चुनौतीका चाङ छन्। एएफयू मात्रै होइन, देशभरका शैक्षिक संस्थाका साझा समस्याबारे आफू जानकार रहेको उनी सुनाउँछिन्। सबैभन्दा फरक विश्वविद्यालयका रूपमा स्थापित गर्नु आफ्नो ध्येय रहेको बताउँदै उपकुलपति प्रा.डा. थपलिया भन्छिन्, “देशका सबै विश्वविद्यालयमा थुप्रै चुनौती छन्। चुनौतीलाई अवसरमा बदल्ने हिम्मत तथा आत्मविश्वास मसँग छ।”