किन आवश्यक छ एचपीभी खोप?
एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरबाट जोगाउँछ। त्यसैले अहिले चलिरहेको अभियानमा सहभागी भएर खोप लगाउन जरुरी छ।
पाठेघरको मुखको क्यान्सर ‘एचपीभी (ह्युमन पपिलोमाभाइरस)’ बाट हुन्छ। यसका विभिन्न प्रजातिमध्ये ‘एचपीभी-१६’ र ‘एचपीभी-१८’ को बढी जोखिम हुन्छ। यही बढी जोखिम हुने भाइरस विरुद्ध अहिले खोप अभियान शुरू गरिएको छ।
यौनसम्पर्क हुन थालेपछि एचपीभी नामक भाइरस शरीरमा प्रवेश गर्छ। भाइरस प्रवेश गरेपछि खोपले सुरक्षा दिंदैन। त्यसैले भाइरस प्रवेश गर्नुअघि नै खोप लगाउनु उपयुक्त हुन्छ।
नेपालमा महिलामा बढी देखिने पाठेघरको मुखको क्यान्सर गराउन एचपीभीबाट हुने संक्रमण प्रमुख कारक पाइएको छ। यस विरुद्ध अहिले लगाउन थालिएको खोपले ८० प्रतिशत सुरक्षा दिन्छ अर्थात् क्यान्सर हुने सम्भावना ८० प्रतिशत कम हुन्छ।
महिलामा हुने क्यान्सरमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सर हो। सबैभन्दा बढी मृत्यु पनि पाठेघरको क्यान्सरकै कारण हुने गरेको तथ्यांक छ।
त्यसैले खोप लगाउन जरूरी छ। यसले क्यान्सर हुनै नदिने गरी रोकथाम गर्न सघाउँछ।
यो खोपबारे अध्ययन भएको छ। पश्चिमा मुलुकमा सन् २००५ देखि नै खोप लगाउन थालिएको हो। नेपालमा पनि अध्ययन गरेरै खोप अभियान शुरू गरिएको हो।
अहिले १० देखि १४ वर्षसम्मका बालिकालाई खोप लगाइँदै छ। यससँगै २४ वर्षसम्मका युवतीलाई पनि खोप उपयोगी छ। त्यसैले उनीहरूलाई पनि लगाउने व्यवस्था गर्नुपर्छ।
यति हो, १५ वर्षदेखि २४ वर्षसम्मका युवतीलाई तीन डोज लगाउनुपर्छ। क्यान्सरबाट जोगिन बजारमा उपलब्ध खोप पनि लगाउन सकिन्छ।
खोप अभियान फागुन ६ गतेसम्म चल्नेछ। अभियानका क्रममा १० देखि १४ वर्षसम्मका कम्तीमा ९० प्रतिशत बालिकालाई खोप दिने लक्ष्य राखिएको छ।
यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १८ हजार ९०० माध्यमिक तहका विद्यालय र आठ हजार दुई स्वास्थ्य केन्द्रलाई खोप केन्द्र तोकिएको छ।
योसँगै सरकारले खोप लगाउन नसकेका व्यक्तिका लागि एचपीभी स्क्रीनिङ गर्ने अथवा क्यान्सरको प्रथम चरण थाहा पाउन डायग्नोसिस गर्ने लगायत कार्यक्रम सञ्चालन गर्नुपर्छ।
(डा. सुवेदीसँग शमशाद अहमदले गरेको कुराकानीमा आधारित।)