लिम्बूलाई ‘मूर्ख’ भन्ने भाष्य पछाडिको राजनीति
विकासका नाममा आदिवासीको भूमि, तिनको विश्वासपद्धति र मान्यतामाथि विकासको ‘बुल्डोजर’ चलाइन्छ। मुन्धुम र मुन्धुमी भूमि अतिक्रमित गरिन्छ। यी सबै प्रकरणलाई अध्ययन गर्दा सरकार आदिवासीहरूप्रति कति पूर्वाग्रही छ भन्ने प्रस्ट हुन्छ।
सीता मादेम्बा
घटना माघ १२ गतेको हो। ताप्लेजुङस्थित मुक्कुमलुङ (शक्ति प्राप्त गर्ने थलो) भूमिमा रहेको हाक्पारा (माथिल्लो फेदी)मा मुक्कुमलुङ ताङसेप (संरक्षण) समूहको बैठक चलिरहेको थियो। मुक्कुमलुङमा केबलकार बनाउने निर्णय शुरू भएदेखि नै लिम्बू जातीय संस्थाहरू र अन्तरदलीय संयन्त्रका व्यक्तिहरू एकीकृत भई त्यसको प्रतिरोध गर्दै आएका थिए। मुक्कुमलुङ ताङसेप त्यसैका निम्ति बनाइएको थियो। यो समूहमा किरात याक्थुङ चुम्लुङ समिति, किरात धर्म साहित्य उत्थान समूह, थरगत (याक्थुङ सयङ) सहजीकरण समूह, मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति र पाथीभरा केबलकार खारेजी संयुक्त संघर्ष समितिमा आबद्ध छन्।
माघ ८ गते एक्स्काभेटर ल्याई केबलकारको बेस स्टेशन बनाउने काम शुरू भएपछि त्यसको विरोधमा माघ १३ गते काम भइरहेको स्थल नजीकै विरोधसभा गर्ने तयारीका निम्ति बैठक बोलाइएको थियो। मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समितिका संयोजक श्री लिङ्खिमका अनुसार बैठकमा विभिन्न ठाउँबाट करीब २०० जति स्थानीय बासिन्दा भेला भएका थिए।
यता तयारी बैठक चलिरहेको थियो, तल नामजाङ (बलुडाँडा)मा सशस्त्र र नेपाल प्रहरीको टोली आएर प्लेकार्ड बनाइरहेका र भान्सामा खाना पकाइरहेकामाथि कुटपिट शुरू गरेछन्। ७१ वर्षीय केन्द्रसिङ फुरुम्बोका अनुसार दिउँसो साढे ३ बजे यो घटना भएको थियो। उनी सहित भान्साघरमा दीपेश लिम्बू, जितबहादुर लिम्बू ,शशिहाङ पोमू र जीवन लिम्बू थिए। पाँच जनालाई नै सशस्त्र प्रहरीले कुटपिट गरे र घरभित्रका खानेकुरा पनि फालिदिए। कतिपय व्यक्ति प्लेकार्ड बनाउँदै थिए। उनीहरूका सामग्री पनि नियन्त्रणमा लिइयो। सुरक्षाकर्मीले राजन लिम्बू र एलिसा लिम्बूको घरबाट तीन वटा बामफोक र गेटिस लगे, जुन हतियारका रूपमा प्रहरीले प्रमाण भनेको छ।
त्यति मात्र होइन, सुरक्षाकर्मीले खगेन्द्र फेम्बूको दोकानबाट मिनरल वाटर र रेडबुल समेत खाइदिए। उनीहरूमाथि आन्दोलनकारीलाई ‘शेल्टर’ दिएको भन्दै कुटपिट र लूटपाट गरिएको केन्द्रसिङ फुरुम्बा सुनाउँछन्। नामजाङमा श्री लिङ्खिमको नेतृत्वमा आन्दोलनकारीले गत सालको पुसदेखि नै ‘शेल्टर’ बनाएर बस्दै आएका कारण सुरक्षाकर्मीले केही दिनदेखि निहुँ खोज्दै आएको केन्द्रसिङले जानकारी दिए।
नामजाङमा भएको घटनाको खबर हाक्पाराको बैठकस्थलमा पनि पुग्यो। यसलाई कान्छीथान भनेर चिनिन्छ, जसलाई युमा बसेको स्थानका रूपमा मुन्धुमसाबाहरूले व्याख्या गर्छन्। त्यहींबाट माथि मन्दिरसम्म जीवनको धागो टाँगेर लैजाने चलन छ। हाक्पारामा भेला भएका सबै जना खबर सुन्नासाथ दौडिंदै तल झरे। नामजाङमा भेटिएका मुक्कुमलुङ संयुक्त संघर्ष समितिका कमान्डर भारतीय सेनाका भूतपूर्व सैनिक पूर्ण पालुङ्वाले भने, “हामी बलुडाँडा पुग्दानपुग्दै सशस्त्र प्रहरीले करीब चार राउन्ड अश्रुग्यास र १० देखि १२ राउन्ड गोली चलायो। गोली चलेपछि एकछिन भागाभाग चल्यो। स्वाभाविक रूपमा ढुंगा र दाउराको कचेट हाने केटाहरूले। धन्न दुवैतर्फ कुनै क्षति भएन।”
संयोजक श्री लिङ्खिमले गोली चलेको जानकारी दिन प्रमुख जिल्ला अधिकारी नेत्रप्रकाश शर्मालाई फोन गरे, उठेन। सीडीओसँग सम्बन्ध भएका पहिचानवादी मोर्चा ताप्लेजुङका जिल्ला संयोजक प्रदीप मादेन नजीकै थिए। उनले प्रमुख जिल्ला अधिकारीलाई कल गरे। प्रहरीको गोलीले अत्तालिएका मादेनले आवेशमै प्रमुख जिल्ला अधिकारीलाई ‘यार’ भनेछन्। त्यसपछि पर्सिपल्ट फुङ्लिङबाट उनी पक्राउ परे।
प्रदीप मादेन।
प्रमुख जिल्ला अधिकारीले त्यस दिनको घटना सुनाउँदै भने, “मादेनजी जिल्लाको कमान्डर हुनुहुन्छ। उहाँले प्रयोग गरेको अश्लील शब्द म यहाँ सुनाउन सक्दिनँ। उहाँले ‘तँ...सीडीओ सुरक्षित छैनस्। अब युद्ध शुरू भयो। तँ...जे गर्न सक्छस् गर।’ मैले पनि यदि सीडीओ नै सुरक्षित छैन भने तपाईं पनि सुरक्षित हुनुहुन्न भनें। उहाँको साथमा नेपाली सेनाका पूर्व मेजर असीम पालुङ्वा पनि हुनुहुन्थ्यो। उहाँले आफ्ना तर्फबाट माफी माग्नुभयो। मैले ‘दुवै जना आउनोस्, मादेनजीले एक्स्ट्रिम्ली सरी भने म माफ गरिदिन्छु’ भनें। तर उहाँहरू आउनुभएन।”
प्रमुखको कुरा सुनेपछि हिरासतमा रहेका मादेनलाई भेट्न जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङको हिरासतमै पुग्यौं। साथीहरूलाई गोली प्रहार भएपछि अत्तालिएका उनले रिसको झोंकमा सीडीओलाई ‘यार’ भनेको र झोंकाझोंक भएपछि आवेगमा तँ तँ र म म बोलेको स्विकारे। उनी भन्छन्, “भनाभन भएपछि म आवेगमा आएँ, के के बोलें, थाहै भएन। तर पछि माफी मागें।”
प्रमुख जिल्ला अधिकारी र मादेनबीच फोन विवाद चल्दा र पक्राउ पर्दा पनि सँगै रहेका पहिचानवादी मोर्चाका संघीय सदस्य असीम पालुङ्वासँग पनि बुझ्यौं। “त्यति वेला हवाई फायरसँगै गोली चलिरहेको थियो। हानाहान चलिरहेको थियो। हामी लुकेका थियौं। दुर्घटना नघटोस् भनेर सीडीओ साबलाई प्रदीपले कल गरेको हो। उहाँले ‘सीडीओ साब, हाम्रो मान्छेहरूमाथि प्रहरीले गोली हानिरहेको छ। कुटपिट गरिरहेको छ’ भन्दा ‘यार’ शब्द प्रयोग गर्नुभएछ। म छेउमै थिएँ। त्यत्तिकैमा सीडीओ साबले ‘केको यार, कल्लाई यार भनेको?’ भन्दा तात्तातो बहस शुरू हुन थाल्यो। ‘यदि हाम्रो मान्छे सुरक्षित छैन भने तँ पनि सुरक्षित छैनस् भन्ने चाहिं मैले पनि सुनें। त्यति सुन्ने बित्तिकै मैले तुरुन्तै फोन तानेर सीडीओ साबलाई सरी भनें। सीडीओ साबले बोलाउनुभएको थियो। तर यताको टेन्सनले बिर्सिएछौं,” संघीय सदस्य असीम पालुङ्वा भन्छन्, “उहाँ कुर्सीमा बस्नुभएको छ। मैले पछि पनि फोन गरें। उसले इन्टेन्सन्ली भनेको होइन। सहन नसकेर त्यस्तो शब्द प्रयोग गर्यो। मानवीय नाता, कुर्सी बाहिर बसेर पनि सोचिदिनुहोस् भनेको थिएँ। तँ तँ र म म गर्दा उहाँलाई पनि चित्त दुख्यो होला। क्षमा पनि माग्यौं। तर इगोका कारण उहाँलाई थुनियो।”
भाष्य निर्माणको राजनीति
करीब एक घन्टा जति गोली चलेपछि माहोल शान्त थियो। सबै जना खाना पकाउने तयारीमा थिए। यत्तिकैमा सशस्त्र र नेपाल प्रहरीको करीब ८०-८५ जनाको टोली फेरि नामजाङमा आइपुग्यो। साँझ पौने ६ बजिसकेकाले अँध्यारो भइसकेको थियो। “सशस्त्र प्रहरीको कमान्डरले संयोजकसँग वार्ता गर्ने भन्दै आएपछि हामी संयोजकलाई तयारी गर्दै थियौं। उनीहरूले हामीमाथि धमाधम लाठीचार्ज गर्न थाले। हामीले प्रतिरोध गर्यौं,” कमान्डर पूर्ण पालुङ्वा त्यस दिनको स्मरण गर्दै भन्छन्, “त्यसपछि सशस्त्र र नेपाल प्रहरीले गोली चलाए। उनीहरूले तीन ठाउँबाट गोली चलाएका थिए। हाम्रा दुई जना साथीलाई गोली लाग्यो। दुवैतर्फ घाइते भए। सशस्त्र र नेपाल प्रहरीहरूले करीब ३५ देखि ३७ राउन्ड गोली चलाए।”
प्रमुख जिल्ला अधिकारी शर्मासँग कुराकानी भएको करीब ३० मिनेटपछि यो दोस्रो घटना भएको प्रत्यक्षदर्शी असीम पालुङ्वा बताउँछन्। तर प्रमुख जिल्ला अधिकारी शर्मा मादेनसँग फोनमा भएको बाझाबाझपछि ‘एक्सन’ भएको कुरा मान्न तयार थिएनन्। यसको सत्यतथ्य त भविष्यमा आउला नै, किनभने माघ २३ मा सरकार र आन्दोलनकारीबीच भएको वार्ताका लागि सहजीकरण समितिहरूबीचमा भएको सहमतिको ३ नम्बर बुँदामा ‘२०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानूनी कारबाही गर्ने’ लेखिएको छ।
घटनास्थल पुग्दा मुक्कुमलुङ संरक्षण अभियानका पक्षधरहरू उल्टै प्रतिप्रश्न गरिरहेका थिए, “यदि सीडीओको आदेश नआएको भए सुरक्षाकर्मीले किन आधा घन्टाको फरकमा दुई-दुई पटक गोली चलाए?” स्थानीय प्रशासन ऐन, २०२८ अनुसार दफा ६ को १ (क) र (ख)ले प्रमुख जिल्ला अधिकारीलाई गोली चलाउने अधिकारसम्म दिएको छ। प्रमुख जिल्ला अधिकारीले नेपाली सेना र सशस्त्र प्रहरीको सहयोग पनि लिन सक्छ। त्यसैले प्रश्न स्वाभाविकै हो- सीडीओको आदेश विना कसरी गोली चल्न सम्भव हुन्छ?

जिल्ला सुरक्षा समितिको अध्यक्ष हुन्छ र जिल्लाको शान्ति सुव्यवस्था कायम गर्ने जिम्मा पनि प्रमुख जिल्ला अधिकारीकै हुन्छ। टेलिफोन वार्तामा ‘यार’ शब्दबाट विवाद बढेको देखिन्छ। कसैलाई धम्क्याउनु पक्कै राम्रो होइन। तर जिम्मेवार पदमा बसेका व्यक्तिले तात्कालिक घटनाको संवेदनशीलतालाई केलाउँदै उत्तेजित व्यक्तिको मनोविज्ञानलाई बुझेर काम गरेको भए गोली नचल्न पनि सक्थ्यो होला।
यो प्रसंग आइरहँदा मलाई लिअनल कप्लानले पूर्वी नेपालका लिम्बू समुदायहरूको भूमि र सामाजिक फेरबदल किताबमा उल्लेख गरेको एक जातीय प्रभुत्वको प्रसंग स्मरण भयो। सन् १९५७ को कुरा हो। लिम्बू एक जना र बाहुन समुदायका दुई जनाबीच खेतमा पानी लगाउने क्रममा झगडा हुँदा लिम्बूले बाहुनलाई कुट्छ। पञ्चायतको अदालतमा मुद्दा दर्ता हुन्छ। मुद्दामा बहस हुँदा पटक पटक ‘म बाहुनलाई लिम्बूले कुट्यो’ भन्छन्।
त्यसको असर न्यायाधीशको निर्णयमा पर्छ। लिम्बूले बाहुनलाई कुटेको आरोपमा लिम्बूलाई लिम्बू भएकै कारण थप सजाय दिइन्छ। ताप्लेजुङका सीडीओले प्रकट गरेको भाव पनि मिल्दोजुल्दो देखिन्छ। उनी भन्दै थिए, “मादेनजीले म व्यक्तिलाई होइन नि धम्क्याएको। राज्यको प्रतिनिधिलाई ज्यान मार्ने धम्की दिएको पो हो त!”
मलाई लागेको के हो भने, प्रदीप मादेनले ‘यार’ शब्द नियतवश प्रयोग गरेका थिए कि भावावेशमा भन्ने कुराको विश्लेषण गरिनुपर्दथ्यो। प्रमुख जिल्ला अधिकारीको उत्तरदायित्व सबैलाई शान्ति सुरक्षा दिनु हो। तनाव र द्वन्द्वग्रस्त क्षेत्रमा त्यो पनि कुनै समुदायको आस्था र विश्वासको मुन्धुमी स्थलमा द्वन्द्व चलिरहेको ठाउँलाई अत्यन्त संवेदनशील ठानिन्छ। यस्ता ठाउँमा राज्यका प्रतिनिधिले स्थानीय सामाजिक र सांस्कृतिक पक्षलाई गहिरो गरी बुझ्न जरूरी ठानिन्छ। जस्तै- लिम्बू बहुल ताप्लेजुङमा तिनको बोलीचाली र संस्कृतिलाई केलाउन जरूरी थियो। त्यो भएको देखिंदैन।
विभिन्न समुदायका आआफ्नै बोल्ने शैली र शब्दहरू हुन्छन्। तर स्थानीय प्रशासकले त्यहाँको जातजातिहरूको रहनसहन र फरक बोलीचालीलाई सन्दर्भ बमोजिम बुझ्नुपर्छ। आफ्नो चालचलनलाई केन्द्रमा राखेर घटनाको विश्लेषण गर्नु पहिले आफूलाई अर्को समुदायको संस्कृति बमोजिम ढालेर सोच्नुपर्छ, ताकि अर्को समुदायको भावनालाई राम्ररी बुझियोस्।
जस्तै- माघ १७ गते जिल्ला प्रशासन कार्यालयमा सीडीओसँग अन्तर्वार्ता गरिरहेका थियौं। मेरो छेउमा एक जना सुरक्षा अधिकृत आएर बसे। चिनजान भयो। कुराकानीको क्रममा उनले ‘लिम्बूहरूको अलिक यस्तो छैन’ भन्दै कानमाथि कन्चटको भागलाई चोर औंलाले देखाउँदै औंला घुमाए। उनको आशय थियो- लिम्बूहरूको बौद्धिक स्तर कमजोर छ र ती रिसाहा छन्।
मुक्कुमलुङ संरक्षणका पक्षधरबाट केही महीनायता प्रशासनले निकै तनाव झेलिरहेको थियो। मुक्कुमलुङ संरक्षणमा लागेकाहरू ‘युमाको खुट्टामा एक्स्काभेटरले चोट पारेको’ भन्दै विरोधमा उत्रिएका थिए। २०५३ सालमा सरकारले पाथीभरा क्षेत्र विकास समिति गठन गरेदेखि नै विवाद चर्किरहेकामा केबलकारको काम शुरू भएपछि मुक्कुमलुङ संरक्षणका लागि प्रतिरोध नै शुरू हुन थाल्यो।
यिनै पृष्ठभूमिका आधारमा ती अधिकृतले लिम्बू समुदायप्रति आफ्नो धारणा बनाएका होलान्। यस्तो रूढिवादी सोचले पनि अशान्ति फैलाउन भूमिका खेलेको हुन्छ।
धेरैको मुखबाट बारम्बार सुन्ने वाक्य हो- ‘ख्यालख्यालमा चार इन्च’। ठट्टा र रमाइलो पारामा लिम्बू समुदायलाई चित्रण गर्ने यो चलन पुरानो हो। यसरी जान-अन्जानमा कुनै समुदायलाई ‘मूर्ख’ र ‘रिसाहा’ ठान्नु जातिका आधारमा गरिने सामाजिक र राजनीतिक विभेद हो। यसलाई चेस्टर पियर्यले ‘जातीय माइक्रोएग्रेशन’ भनेका छन्। यो समुदायका लागि अत्यन्तै हानिकारक हुनुका साथै यसले मनोसामाजिक असर पनि पार्छ।
जातीय आधारमा हुने सामाजिक विभेदलाई निरन्तर रूपमा उत्पादन र पुनरुत्पादन गर्न सहयोग गर्छ। बारम्बार यो समुदाय यस्तो हो भनिरह्यो भने त्यो व्यक्तिले त्यसलाई ‘इन्टनरलाइजेशन’ (आन्तरिकीकरण) गर्छ र आफूलाई प्रस्तुत गर्दा ‘हो म यस्तै हो’ भनेर सामान्य मानेर स्वीकार गर्छ। यो भाष्य जाँड र रक्सीसँग पनि गाँसिन्छ।
दुई-चार जना जाँड खाएर झगडा गरेका भरमा सम्पूर्णलाई झगडालु देखिरहँदा यसको सांस्कृतिक पाटो पनि छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन। मुक्कुमलुङ युमा (लिम्बूको पित्री) बस्ने ऐतिहासिक मुन्धुमी स्थल हो। यहाँका ढुंगा, माटो, गुराँस, गोब्र सल्ला र सिङजाङगो फूल विना लिम्बूहरूको मुन्धुमले पूर्णता पाउँदैन जसमा लिम्बू समुदायको जीवन र दर्शन हुन्छ। जन्मिनु, जिउनु र मर्नुसँग गाँसिएको मुक्कुमलुङसँगको मुन्धुमी मायालाई बचाउने समुदायलाई मूर्खका रूपमा हेर्ने व्यक्ति विवेकी हो कि मूर्ख रूपमा चित्रित ती व्यक्तिहरू विवेकी हुन् त?
हामीले नेपाली समाजको विविधता सहितको विशेषतालाई राम्ररी मनन गर्न जरूरी छ। सन् १७३४ मा गोर्खा राज्य र लिम्बुवान राज्यबीचमा भएको सहमति (नुनपानी तिथि)पछि धेरै पटक लिम्बूवानमा सामाजिक र राजनीतिक प्रतिरोध भएको थियो। २०६२/६३ सालको राजनीतिक परिवर्तनपछि पनि लगातार लिम्बुवान राज्य स्थापनाका लागि प्रतिरोध भइरहेको छ। यसरी इतिहास हेर्दा लिम्बूहरूको स्वभाव विभेद विरुद्ध विद्रोही र क्रान्तिकारी देखिन्छ। यही चरित्रलाई मूर्खका रूपमा व्याख्या गर्दै आइएको हुन सक्छ।
यो कुनै नयाँ सिर्जित भाष्य होइन। मानवशास्त्री डम्बर चेम्जोङले रिस्ले (१९८१) र भान्सिटटार्ट (१८९४) लाई उद्धरण गर्दै हिन्दू र बौद्धका लागि लिम्बूहरू ‘झगडालु’ र ‘व्यवस्थापन गर्न नसकिने समुदाय’ भनेर वर्णन गरेका छन्। चेम्जोङले विदेशी अनुसन्धाताले पनि लिम्बूलाई गलत तरीकाले वर्णन गरेको विवरणमा भर परेको तर्क गरेका छन्। अझै यही भाष्यलाई पछ्याउँदै जाने हो भने हामी कहिल्यै एकअर्काको भावना बुझ्न सक्दैनौं र त्यसले द्वन्द्वको फसललाई मलजल गर्ने काम र्ने गर्नेछ।
विकासका नाममा मुन्धुमी स्थलहरूको विनाश गर्ने यो पहिलो प्रकरण चाहिं होइन। २०७२ सालमा धरान उपमहानगरपालिकाले एशियाली विकास ब्यांकको ऋण अनुदानमा खानेपानी आयोजना शुरू गर्यो। विजयपुरस्थित भताभुंगे दरबारमा खानेपानी ट्यांकी राख्न नगरपालिकाले १०० भन्दा बढी रूख काटेपछि त्यहाँका आदिवासीले ऐतिहासिक मुन्धुमी स्थलमा ‘अतिक्रमण’ गरेको भन्दै विरोध गरेपछि ट्यांकी निर्माण रोकियो। विजयपुरको त्यो जंगललाई किरातहरूले पवित्र स्थल मान्छन्। उँधौली र उँभौलीको दिन पहिले त्यहाँ पुगेर पूजा गरेपछि मात्र आआफ्नो तरीकाले दिनभरि उत्सव मनाउँछन्।
त्यस्तै सप्तकोशी नदीमा स्टीम जेट यातायात सहजताका लागि भन्दै ‘खुवालुङ’ लाई फुटाउने प्रधानमन्त्री केपी शर्मा ओलीले भाषण गरेपछि किरातहरूले प्रतिरोध गरे। त्यसपछि त्यो योजना स्थगन भएको छ। यसरी बारम्बार विकासका नाममा आदिवासीको भूमि, तिनको विश्वासपद्धति र मान्यतामाथि विकासको ‘बुल्डोजर’ चलाइन्छ। मुन्धुम र मुन्धुमी भूमि अतिक्रमित गरिन्छ। यी सबै प्रकरणलाई अध्ययन गर्दा सरकार आदिवासीहरूप्रति कति पूर्वाग्रही छ भनेर प्रस्ट हुन्छ।
(लेखक मादेम्बा मानवशास्त्री हुन्।)