युद्धको छायामा छेलिएका लाहुरे जीवनका पत्र
लाहुरे जीवनसँगै जोडिएर आउने लडाइँ, मारपिट, हत्या, हिंसा र क्रूरता मात्रै होइन, प्रेम, दया, भावुकता र कोमलता पनि केलाइएको छ, ‘लाहुरेको रेलिमाई’ मा।
रक्ष राई
घाइतेहरूको समूहमा केही गोर्खाली दाजुभाइ पनि थिए। सबैभन्दा पहिले तिनीहरूले लगाएको कपडा खोलेर जलाइयो। तिनमा जुम्रा परेका थिए। ती ठ्वास्स गनाउँथे। लाग्थ्यो, तिनका लुगामा जर्मनका बम, बारूद, रगत र पसिनाका गन्ध टाँसिएका थिए।
लेखक विजय हितानले लाहुरेको रेलिमाई उपन्यासमा उतारेका यी पंक्तिले युद्धमा तैनाथ सिपाहीको अवस्थालाई दर्शाउँछन्। आममान्छे सोच्ने गर्छन्- युद्धमा केवल क्रूरता, कठोरता मात्र हुन्छ। यो उपन्यासले आमसोचाइ र युद्धप्रतिको मान्यतालाई उल्टाइदिएको छ।
वास्तवमा भावुकता, प्रेम, दया, सेवाको भाव र महत्त्व युद्धको समयमा पनि उत्तिकै हुन्छ। आममान्छे जस्तै सिपाही पनि युद्धमा खुशी हुन्छ, दुःखी हुन्छ, रुन्छ, हाँस्छ। मास्टर मित्रसेन थापाको जीवनीमा आधारित यो उपन्यासले युद्धका त्यस्तै विविध पाटो उजागर गरेको छ।
२६ अध्यायमा तयार पारिएको भए पनि उपन्यासको कथाक्रम हेर्दा दुई खण्डमा रचिएको देखिन्छ। पहिलो खण्डमा मास्टर मित्रसेन थापाको गोर्खा सेनामा प्रवेश र युद्ध अनुभव समेटिएको छ। दोस्रो खण्ड सैनिक सेवाबाट अवकाशपछिको नागरिक जीवनको भोगाइ, साहित्य, संगीत, कला र सामाजिक अभियानका अनुभव संगृहीत छन्।
युद्ध साहित्यले विशेषगरी युद्धपूर्व, युद्धकाल र युद्धपश्चात्को भौतिक तथा मानसिक अवस्थालाई मुलभूत विशेषताका रूपमा हेर्छ। युद्धपूर्वमा सैनिक संस्कार, संस्कृति र जीवनपद्धतिलाई हेरिन्छ।
युद्धकालमा सैनिक परिचालनका प्रकृति र प्रवृत्ति, युद्धकला, भिडन्तको भौतिक अवस्था, ध्वंसात्मक घटनाको चित्रण, वर्णन, असंख्य मृत्यु, हत्याहिंसा, पीडानुभूति, अपराधजन्य घटना र भौतिक तथा मानसिक क्षतिलाई हेरिन्छ। युद्धपश्चात् पराजित पक्षमा युद्धको विध्वंस, मृत्यु, घाइते, अंगभंग, रोग, भोक, शोक, हीनताबोध र आत्मग्लानिको अवस्थालाई उल्लेख गरिन्छ।
विजयी पक्षमा खुशीसँगै उदासीको दोधारे मनोविज्ञान हुन्छ। दुःखी भावले छोप्दा विजयका क्षण सँगसँगै हुन्छन् भने खुशी हुन खोज्दा युद्धप्रतिको विरक्त भावले चिमोट्छ। तसर्थ युद्धपश्चात् प्रकट हुने भौतिक तथा मानसिक क्षतिसँगै सिपाहीको मानसिक चोट र अभिघात तथा त्यसको प्रभावलाई हेरिन्छ।
यस आधारमा लाहुरेको रेलिमाईलाई युद्धकाल र युद्धपश्चात्को अवस्थामा नियाल्न सकिन्छ। उपन्यासमा भाग्सु धर्मशालाबाट बम्बई बन्दरगाह, इजिप्टको श्वेज नहर, फ्रान्सको मार्से बन्दरगाह हुँदै बेल्जियमको फ्लान्डर्स फिल्डसम्मको यात्रामा भोगेको प्रभाव अथवा फौजीको भौतिक तथा मानसिक अवस्था केलाइएको छ। युद्ध मोर्चामा खटिई दोहोरो भिडन्तसम्म पुग्दा युद्धका अनेक चरणको सूक्ष्म विवरण समेटिएको छ।
यो वेला सिपाही दोहोरो अन्तर्द्वन्द्वमा फस्छ। मनमा डर, त्रास, भय र आतंकले छोप्छ। भोलि के हुने हो र युद्ध कस्तो हुने हो भन्ने चिन्ताले पिरोल्छ। यो मनोदशालाई उजागर गर्न जर्मनीबाट पश्चिम बेल्जियम र फ्रान्सतिर बढ्दै गएको फौजलाई दिएको प्रवचन सान्दर्भिक हुन्छ।
ओसीको लेक्चर सुनेपछि शत्रु पक्षको संख्या हामीभन्दा धेरै र हातहतियार हाम्रो भन्दा आधुनिक भएको बुझें। तर हाम्रो तालिम, युद्ध विधा र व्यवस्थापन उनीहरूको भन्दा उत्कृष्ट भएकोले बाँचेर फर्किन सक्ने र बाँकी जीवन पेन्सन खाँदै छोराछोरीसँग बिताउने एक बलियो आधार बन्यो।
यसरी वेलावेला मनले आफैंलाई ढाडस पनि दिन्छ। तैपनि मन न हो, एउटा ठाउँलाई जबर्जस्ती छेक्यो अर्को डिलबाट आँधी र हुरी चलिरहन्छ, अन्तर्द्वन्द्व चली नै रहन्छ। बाँचिएला कि मरिएला? घरपरिवारको के हाल होला? मरियो भने त दुःख नै लुक्यो, घाइते र अपांग हुन पर्यो भने बाँचेर पनि जीवनभरि दुःख खेप्नुपर्ला। यस्तायस्तै मनमा अनेक तर्कनाका भेल उर्लिने र शान्त हुने गर्छन्। त्यो अन्तर्द्वन्द्वको अवस्था भनेको मानसिक युद्धको चरण हो।
त्यस्तै, प्राकृतिक प्रतिकूलता, विकट भूगोल, खराब मौसम र वातावरण सिपाहीका लागि अर्को भौतिक युद्ध हो। अर्को शब्दमा, एउटा भूगोल र प्राकृतिक वातावरणबाट अर्को भूगोल र प्राकृतिक वातावरणमा पुग्दा स्वास्थ्यमा र युद्ध लड्ने जुक्तिमा प्रतिकूल असर पर्छ। प्राकृतिक अवस्था र भूबनोट अनुकूल हातहतियार तयार गर्नुपर्छ भने मौसम अनुसार लुगाफाटा, ओढ्ने, सुत्ने सामग्री र खानपानको बन्दोबस्त र ढुवानीको व्यवस्था मिलाउन सक्नुपर्छ। जस्तो कि बम्बई हुँदै इजिप्ट श्वेज नहरको पूर्वीय गर्मी मौसमबाट पश्चिम यूरोपको ठन्डी मौसममा पुग्दा उनीहरूले सम्पूर्ण लुगाफाटो फेर्छन्।
पहिला कुकहाउसमा गएर खान खायौं। त्यसपछि क्वार्टर मास्टरको स्टोरबाट काने टोपी, हेल्मेट, ओभरकोट, जर्सी, मोजा, लाम्बाउले कमिज, पत्लुङ्ग, भित्रबाट लाउने भेस्ट र अन्डर प्यान्ट लियौं। र, उताबाट लगाएर ल्याएका पातला कपडालाई त्यहीं फालेर न्याना कपडा फेर्यौं।
यसरी युद्धप्रस्थान अथवा युद्धयात्रा जितेर मात्र सिपाही अन्तिम युद्धमोर्चामा आमनेसामने हुन्छ। उपन्यासमा युद्धप्रस्थान अथवा युद्धयात्राका स्वभावलाई प्रशस्त देखाइएको छ। यो उपन्यासले युद्ध साहित्य सिद्धान्तमा थप अर्को विशेषताका रूपमा युद्ध प्रस्थान या युद्धयात्राको चरित्र र गुणलाई पनि उजागर गरेको छ।
मित्रसेनको पल्टन भाग्सु धर्मशाला छाउनी छाडेर युद्धप्रस्थानमा बम्बई बन्दरगाहबाट शुरू भएको पानीजहाज यात्रा इजिप्टको श्वेज शहर पुग्छ। श्वेज नहरको सामरिक महत्त्व बोकेको क्षेत्रको सुरक्षा ड्यूटी पूरा गर्छ। त्यसपछि फ्रान्सको मार्से हुँदै बेल्जियम र फेस्तुबर्तमा पुगेपछि युद्धमोर्चामा प्रवेश गर्छ। जो युद्ध साहित्य सिद्धान्तका युद्धकालको विशेषता अनुसार युद्धमोर्चामा प्रस्थानको यात्रा अवधि पनि हो। त्यसपछि मात्र शुरू हुन्छ गिभान्ची आक्रमण। त्यसले बल्ल पूर्ण युद्ध अथवा दोहोरो भिडन्तको चित्र दिन्छ।
फेस्तुबर्तको पहिलो आक्रमणमा आफ्नोतर्फको पूर्ण तयारीका साथ भीषण गोलाबारी, तोप र आर्टिलरीको वर्षाले जर्मन सेना परास्त हुन्छ। तर साता दिन बित्न नपाउँदै जर्मन सेनाको दोस्रो प्रत्याक्रमण निकै महँगो पर्छ, जसले युद्धको बीभत्स तस्वीर उतार्छ। जर्मन सेनाले जमीनमुनिबाट विस्फोट गराउँदा जमीन नै उल्टिन्छ, ट्रेन्चहरू भत्केर सबै सिपाही माटामा पुरिन्छन्, हिलोभित्र डुब्छन्। मुश्किलले मित्रसेन र नरसिंह नम्बरी बाहिर निस्किन्छन्।
नरसिंह र म कसरी हो कुन्नि फुत्त बाहिर निस्किन सक्षम भयौं। हाम्रा मान्छेहरू पुरिए। कतिको टाउको मात्र देखिन्थ्यो। तिनलाई उद्धार गर्ने कि दुश्मनको प्रतिवाद गर्ने?
नरसिंहलाई कभरिंग फायर दिन भनें। अनि मैले मुन्टो र कम्मरमाथि देखिनेहरूलाई तानेर निकाल्न शुरू गरेँ, ड्याङको मुला गोडेझैं गरी। बिचरा, पुरिएकाहरू पुरिएका पुरियै भए। माटोमुनीका गड्यौला सलबलाएका जस्ता डोबहरू मात्र माथिबाट देखिन्थे।
त्यस्तै, सी कम्पनीको गोलाबारूद सिद्धिएपछि सबै सिपाही सखाप पारिन्छ। राइफल र मेशिन गनका अघि खुकुरीको केही जोर चल्दैन। ठूलो क्षति बेहोरेर भए पनि जर्मनलाई परास्त गरेपछि युद्धकौशल अनुसार कब्जामा लिएका क्षेत्रमा लुकिछिपी बसेका दुश्मनलाई बढार्ने काम गरिन्छ।
गिभान्चीका गल्लीगल्ली बढार्दै गइयो। भग्नावशेष र लासहरूलाई कुल्चिँदै, तोप सिर्जित भङ्गजाला पार गर्दै, जाँदै गरेको गिर्जाघरको प्राङ्गणमा आइपुगियो। एक गोरा सिपाहीलाई मूलद्वारमै क्रसमा यशूलाई जस्तै गरेर तुर्लुङ्गै झुन्ड्याएको पाएँ। शरीरभरि ब्यानेटले घोचेको घाउ आलै थिए।
यी दुइटै घटनाको वर्णनले युद्धको बीभत्सता र कठोरताको तस्वीर देखाउँदै युद्धकौशलको नियमको चित्रलाई एकैसाथ उतारेको छ। युद्धको शृंखला अघि बढेर जान्छ। त्यसपछि न्यु सफल आक्रमण हुन्छ, जो जर्मन सेना जितेर कब्जा गरेको हुन्छ। प्रत्याक्रमणमा दुवैतर्फका सेना हताहत हुन्छन्, धेरै क्षति बेहोर्छन्। मित्रसेनलाई नरसिंह नम्बरी मारिएको चिन्ताले पिरोल्छ। अनि यिप्रको लडाइँ हुन्छ। एड्जुटेन्टलाई गोली लाग्छ र ओसी मारिन्छन्।
मित्रसेनसँग नरसिंह हुँदैनन्। उनी नरसिंहको अभाव महसूस गर्दै युद्ध लडिरहन्छन्। जर्मनको क्लोरिन ग्यासको आक्रमणले हताहत पार्छ। ग्यास युद्धको पहिलो आक्रमणले गर्दा धेरै साथी भकाभक ढल्छन्। त्यस्तै फेस्तुबर्त आक्रमणमा झन् भीषण लडाइँ हुन्छ। धनजनको धेरै क्षति हुन्छ। मित्रसेन पहिलो पटक घाइते हुन्छन्।
त्यस्तै, पहिलो कुत आक्रमण असफल भएपछि दोस्रो आक्रमण गरिन्छ। दोस्रो कुत आक्रमणले झन् ठूलो क्षति बेहोर्न पर्छ। कारण, कुतमा टर्क सेनाले घेराबन्दीमा राखेका ११ हजार सेनालाई उद्धार गर्दा ३० हजार सेना मारिन्छन्। कुत कब्जामा आएपछि बगदात जाँदै गर्दा दियालामा मित्रसेनको सेक्सन दुश्मनको एम्बुसमा पर्छ र उनका सातै जना साथी मारिन्छन्।
मित्रसेन दोस्रो पटक घाइते भएर बाँच्न सफल हुन्छन्। त्यसपछि गठबन्धन सेना प्यालेटाइन युद्धमा रमाना हुन्छ। त्यहाँ पुगेर मेगिडडो र सेरोन आक्रमण भए। जोर्डन नदी र दमास्कस आक्रमण कब्जामा आए।
यहाँनेर आइपुग्दा युद्धले उत्कर्ष रूप लिन्छ। युद्धले आतंक र भयावह रूप प्रदर्शन गर्दा युद्धमा के के हुन्छ भन्दा पनि के के मात्र हुँदैन भन्ने दृश्यचित्र उपन्यासमा उतारिएको छ। यसभित्र युद्धको साथसाथै युद्धकलाको प्रदर्शन पनि पाइन्छ। युद्धकौशलमा पर्ने कुराहरू जस्तै कम्पनीको तहदेखि बटालियन, ब्रिगेड, डिभिजन र कोर तहसम्मको सैनिक संरचनाको गठन र पुनर्गठन प्रक्रिया छन्।
यसरी युद्ध उत्कर्षमा पुगेको वेलामा पनि उपन्यासमा केवल कठोरता, क्रूरता, निर्दयीता र बीभत्सता मात्र छैन। मानवता, भावुकता, कोमलता, दया, आत्मीयता, विश्वास र प्रेमका अभिव्यक्ति पनि प्रशस्तै छन्। युद्धभूमिमा एकैछिन फुर्सद पाउँदा पनि मित्रसेन कलावतीलाई सम्झेर कल्पिन्छन्।
मलाई पनि प्यारी कलावती र दुई मुटुका धड्कनको यादले खुबै सतायो। तिम्रा कोमल स्पर्शबाट टाढा रहनु परेको पनि आज दुई वर्षभन्दा पनि बढी भैसकेछ। तिमी छोराछोरीलाई काख च्यापेर जहिल्यै सम्झिन्छौ होला है मलाई? त्यही भएर त हिक्क... हिक्क बाडुल्की लागिरहन्छ।
मित्रसेन युद्धमा मारिएका इन्डियन शिख हिन्दू सैनिकको अन्येष्टि देखेर भावुक हुन्छन्। मित्रसेनको त्यो भावुकता, कोमलता र दयाको यो अर्को नमूना हो। उनी भन्छन्, ‘हिन्दू शिख मरेपछि नजिकै पेचहाम भन्ने ठाउँमा लगिन्थे। त्यो अन्त्यष्टि स्थललाई छत्तरी नामकरण गरिएको थियो। छत्तरीमा जल्दै गरेको चिता देखेर भावुक हुन्थेँ। बरर आँसु झर्थे।’
उपन्यासमा एक-अर्काबीचको कम्पनी, बटालियनसम्मको सैन्य सामाजिक सम्बन्ध देखाइएको छ। ब्रिगेडदेखि डिभिजन र कोरसम्मको भावनात्मक सम्बन्ध बुझाइएको छ। अझ सेक्सनको तहमा पारिवारिक सम्बन्धको कसिलो बन्धनलाई पनि उपन्यासमा महसूस गराइएको छ।
मित्रसेन र नरसिंहको नम्बरीको साइनो-सम्बन्धको कसिलो बन्धन, आत्मीयता र विश्वलाई पारिवारिक सदस्य जस्तो देखाएको छ। नम्बरीबारे मित्रसेन यसो भन्छन्, ‘हुन पनि हो, उसले हाम्रो सेक्सनलाई धेरैपल्ट बँचाएको थियो। युद्धमा बाउ भने पनि आमा भने पनि नम्बरी नै हुँदो रहेछ। बरु आमाबा त्याग्न सकुँला, तर नम्बरी त्याग्न नसक्ने अवस्थामा म पुगेको छु।’
फेस्तुबर्त लडाइँमा दिनभरि भीषण बमबारी र रातभरी हवाई हमलामा परेर धेरै सैनिक मारिन्छन्। दुश्मनको रेकीमा खटिएको नरसिंह फर्किंदैन। न त उसको लास नै भेटिन्छ। भिडन्त रोकिएपछि मित्रसेन नरसिंह कतै भेटिन्छ कि भनेर बमगोलाले धजा परेका जमीनका खाल्डाहरू नाघ्दै दगुर्छ। मरेका लासहरू पल्टाउँदै नरसिंहको लास खोज्दै हिंड्छ।
दर्जनौं लास क्षतविक्षत अवस्थामा पल्टेका पाइए। मेरा आँखा भने नम्बरी नरसिंह कतै जिउँदै अवस्थामा भेटिन्छ कि भनी खोज्नतिर तल्लिन रहे। कतिपय लास हिलो माटोमुनि पुरिएका भेटिए। जिम्दै कोही भेटिएन। रातभरिमा पहिचानै गर्न नसकिने गरी केही लास जङ्गली जनावरले खाइसकेका रहेछन्।
उपन्यासले युद्ध जति कठोर र निर्दयी हुन्छ, त्यसले सिपाहीलाई त्यति नै कोमल र संवेदनशील बनाएको हुन्छ भन्ने भान गराएको छ। जसले गर्दा सैनिक संगठनभित्र सिपाहीबीच एकै परिवारका सदस्य जस्तो मन र भावनात्मक सम्बन्धको गाँठो कसिलो गरी बाँधिएको हुन्छ।
युद्ध नियति या बाध्यता हो। सैनिक कर्म सिपाहीको पेशा, जागीर अथवा रोजगारी हो। तर मानवता र भावना मानवीय गुण हो। उपन्यासमा मूलतः मित्रसेन र नरसिंह पात्रको चरित्रले त्यो भावनालाई अभिव्यञ्जित गरेको छ।
अन्त्यमा, युद्धमा विध्वंस मात्र हुँदैन, पुनर्निर्माण र विनिर्माण पनि सँगसँगै हुन्छ। युद्धमा मृत्यु, हत्या, हिंसा र क्रूरता मात्र हुँदैन, प्रेम, दया, भावुकता र कोमलता पनि सँगसँगै रहन्छ। ध्वंसले मानिसलाई पुनर्निर्माण र विनिर्माणको मात्रै होइन, सिर्जनात्मक चेततिर पनि लैजान्छ। अँध्यारोबाट उज्यालोतिर लैजान्छ। समग्रमा मित्रसेनको जीवनको चित्रण गर्दै उपन्यासले जीवन बाँच्ने कला सिकाएको छ।