मुक्कुम्लुङ अर्थात् पाथीभराको सांस्कृतिक महत्त्व बुझाउने ‘मुक्कुम्लुङ : चोःत्-लुङ अफ याक्थुङ’ नाटकभन्दा पनि बढी अभियान र आन्दोलन हो।
पूर्वी नेपालको प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणलाई लिएर केही समययता विवाद चर्किएको छ। स्थानीय समुदाय पनि पक्ष र विपक्षमा विभाजित छ। एउटा समूह जसरी पनि पाथीभरामा केबलकार बनाउन लागेको छ भने अर्को समूह केबलकार बनाउँदा मौलिकता र संस्कृतिको नाश हुने भनेर योजना अघि बढ्न नदिने अभियानमा छ।
ताप्लेजुङमा ‘पाथीभरा देवी मुक्कुम्लुङ दर्शन केबलकार’ निर्माणका लागि डोजर चलिरहेका वेला त्यही विवादलाई लिएर काठमाडौंको मण्डला थिएटरमा नाटक मुक्कुम्लुङ : चोःत्-लुङ अफ याक्थुङ मञ्चन भइरहेको छ। अनिल सुब्बाको परिकल्पना तथा निर्देशन तथा गीलु रातोस, अनिल सुब्बा र विष्णु मोक्तानको लेखन रहेको नाटक माघ ३ गतेदेखि मञ्चन शुरू भएको हो।
यही विषयलाई लिएर गत असोजमा पनि काठमाडौंको शिल्पी थिएटरमा नाटक मञ्चन भएको थियो, मुक्कुम्लुङ । डा. चित्र माबोको पुस्तक डोलीभर्ना मा आधारित भएर राजन मुकारुङको परिकल्पना तथा नाट्य रूपान्तरण र पवित्रा राईको निर्देशनमा मुक्कुम्लुङ मञ्चन भएको थियो।
दुवै नाटक मुन्धुममा आधारित र वर्तमानको सांस्कृतिक अतिक्रमणसँग सम्बन्धित रहे पनि कथा र प्रस्तुतिमा भिन्न छन्। पाथीभरालाई स्थानीय लिम्बू समुदायले मुक्कुमलुङ, सेमुक्तु मुक्तुबो, मुक्तीफो माङ जस्ता नामले चिन्छन्। मुक्कुम्लुङ नाम अझ बढी प्रचलनमा छ।
मुक्कुम्लुङ अर्थात् पाथीभराका विषयमा विभिन्न किंवदन्ती छन्। कुनै समय पाथीभरा डाँडामा गुरुङ समुदायको भेडीगोठ थियो। एक दिन गोठका सबै भेडा हराए। गोठालाको सपनामा आएकी एक महिलाले आफू बस्ने ठाउँमा फोहोर गरेकाले भेडा लुकाएको सुनाइन्।
पाथीभरा देवीको मन्दिर।
गोठालाले हराएका भेडा भेटिएमा एउटा भेडालाई भोग दिने भाकल गरेर पूजापाठ गरे। भाकलपछि हराएका सबै भेडा पहिलेकै ठाउँमा भेटिए। त्यसपछि सबै गोठालाले देवी मानेर त्यस ठाउँमा पूजापाठ गर्न थाले। अरूले पनि भाकल र पूजा गर्न थालेपछि मन्दिर स्थापना भएको किंवदन्ती छ।
यसरी देवी उत्पत्ति भएको पहाड टाढाबाट हेर्दा अन्नले भरिएको पाथी जस्तो देखिन्थ्यो। त्यसैले यसको नाम पाथीभरा देवी रहेको भनाइ छ।
अर्को, किंवदन्तीमा यस क्षेत्रमा लिम्बूको गाईगोठ थियो। एकदिन गाई हराएपछि गोठालाको सपनामा युमा माङ आएर चोखोनितो गर्न निर्देशन दिइन्। गोठालाले पूजा गरेपछि गाई भेटिएको र त्यसपछि मुक्कुम्लुङमा युमा माङको थान स्थापना भएको स्थानीय बासिन्दा सुनाउँछन्।
त्यस्तै, कसैले पाथीभरा डाँडामा पार्वतीले महादेवको तपस्या गरेको कथा सुनाउँछन् भने कसैले युमाले अनेक लीला गर्ने स्थलका रूपमा व्याख्या गर्छन्। लिम्बू भाषामा मुक्कुम्को अर्थ अग्नि वा शक्ति र लुङको अर्थ ढुंगा वा चट्टान हुन्छ। डाँडामा ज्योति निस्किने चट्टान रहेकाले मुक्कुम्लुङ भन्ने गरिएको र पछि त्यही ठाउँमा मन्दिर स्थापना गरिएको कथन पनि छ।
यसरी विभिन्न मिथकसँगै पाथीभरा कि मुक्कुम्लुङ नामबारे चर्चा-परिचर्चा हुँदै आएको छ। पछिल्लो समय यस क्षेत्रमा बनाउन थालिएको केबलकार परियोजनाले विवाद निम्त्याएको छ। मण्डलामा प्रदर्शन भइरहेको नाटक मुक्कुम्लुङ : चोःत्-लुङ अफ याक्थुङ पछिल्लो विवादमा बढी केन्द्रित छ।
मुन्धुममा ‘मुक्कुम्लुङ’ को चर्चा छ। मुन्धुमको कथा अनुसार धर्तीको पहिलो मानव मुजिङ्ना खेयङ्नाले हावासँगको संसर्गबाट छोरा सुसुवेन लालावेन (सावा युक्पुङ्गेम्बा) जन्माउँछिन्। लालावेन आफ्ना पाँच कुकुर लिएर शिकार खेल्न निस्किन्छन्। शिकार खेल्दै डुल्ने क्रममा चार जना महिलासँग प्रेम हुन्छ।
अर्काको बारीको पिंडालु नसोधी खाएपछि श्राप पाएका लालावेनको बाटामै मृत्यु हुन्छ। उनीसँग प्रेममा रहेका चार महिलाबाट जन्मिएका सन्तान फैलिएर अहिलेका लिम्बू भएको र मुक्कुम्लुङबाटै याक्थुङ लिम्बूको सभ्यता विकास भएको विश्वास गरिन्छ।
यही कथा वरिपरि घुमेको छ, मुक्कुम्लुङ : चोःत्-लुङ अफ याक्थुङ । नाटकले मुन्धुमको कथासँगै वर्तमान समयमा मुक्कुम्लुङमाथि भएको अतिक्रमणबारे आवाज उठाएको छ।
हल बाहिर तङ्सीङको दृश्यमा कलाकार।
हल बाहिरै तङ्सीङको दृश्यबाट नाटक शुरू हुन्छ। गाउँको शान्तिका लागि फेदाम्मा, साम्बाहरूले तङ्सीङ गरिरहेकै स्थानमा विवाद देखिन्छ। लिम्बू समुदायभित्रकै तुम्याहाङहरूबीच मुन्धुमका विषयमा लगाइने फरक फरक अर्थका विषयमा आन्तरिक विवाद छ भने अर्को, पाथीभरा अर्थात् मुक्कुम्लुङमा केबलकार बनाउनु हुन्छ कि हुँदैन भन्नेमा छ।
विकास कि विनाश? यस विषयमा समुदाय दुई ध्रुवमा विभाजित छ। नाटकको विषयवस्तु पनि यही विवादमा शुरू हुन्छ। हल बाहिर तङ्सीङको दृश्यसँगै मीठो गीत सुनिरहेका दर्शक हलभित्र प्रवेश गरेपछि पनि त्यसमै मन्त्रमुग्ध हुन्छन्। बाहिर र भित्रको दृश्य जोड्न संगीतको राम्रो संयोजन गरिएको छ।
नाटकको मुख्य भाग मुन्धुममा वर्णित सृष्टि-कथा रोचक छ, तर यसको प्रस्तुति विस्तृत र सुस्त हुँदा दर्शकलाई दिक्क लाग्छ। अभिनय भने उम्दा छ। विष्णु मोक्तान, वेदना राई, सुरज तमू, प्रतिना राई, मानहाङ लावती लगायत कलाकारको अभिनयले दर्शकलाई बाँधिराख्छ। वेशभूषा, संगीत, प्रकाश संयोजन, मञ्च निर्माण लगायतमा पनि मेहनत देखिन्छ। ख्याली, कविता र प्रत्यक्ष संगीतले नाटकलाई जीवन्तता प्रदान गरेका छन्।
नाटकको अन्त्यतिर हल बाहिर जस्तै हलभित्र पनि पाथीभरामा केबलकार निर्माणको विषय जोडिन्छ। रंगमञ्च वा कला मार्फत कुनै कुरा भन्दा बिम्ब वा प्रतीकको सहायता लिइन्छ। नाटकको शुरू र अन्तिमका केही दृश्य भने सोझै बोलिएका छन्। जस्तो- केबलकार निर्माण कम्पनीका प्रमुखको नामै लिएर नाराबाजी गरिन्छ।
यस्ता केही दृश्यले कलामा राजनीति मिसिएको भान हुन्छ। मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजीको माग गरिरहेका आन्दोलनकारीको प्रभाव नाटकमा झल्किन्छ। त्यसो त नाटकको ब्रोसरमै घोषणा गरिएको छ, ‘यो नाटक होइन अर्थात् नाटक मात्रै होइन।’
एक थिएटर नेपालको सहकार्यमा चुलाचुली रंगमञ्चले प्रस्तुति मुक्कुम्लुङ : चोःत्-लुङ अफ याक्थुङ वास्तवमा नाटकभन्दा बढी अभियान हो, आन्दोलन हो। पाथीभरामा केबलकार बन्न नदिन र मुक्कुम्लुङको मौलिकता जोगाउन कोही ढुंगा र लाठी बोकेर सडकमा छन् भने कोही अभिनय मार्फत रंगमञ्चमा। उनीहरू पाथीभराको सांस्कृतिक महत्त्व बुझाउने प्रयासमा छन्।
नाटकमा शोभा लिम्बू, सौजन सेनेहाङ, मणि के राई, भूमिका थारू, पवनकुमार गोले, अजय लामा, डेविड सुवेदी, सञ्जीत थुलुङ राई, सम्पदा राई, रमिता राई, प्रवीन मगर, अन्जना राई, नुमा राई, अमरबाबु बुढाथोकी, आकाश सुहाङ लिम्बू र इशा सिंजाली लगायत कलाकारको अभिनय छ। माघ २७ गतेसम्म चल्ने नाटक सोमबार बाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुन्छ। शनिबार दिउँसो १ बजे अतिरिक्त मञ्चन हुने गरेको छ।