वैदेशिक रोजगारबाट मिर्गौलारोग लिएर फर्कंदै युवा
रोजगारका लागि खाडी मुलुक र मलेशिया गएका युवा खानपान र जीवनशैलीको तारतम्य नमिल्दा मिर्गौलारोगी बनेर फर्किरहेका छन्।
धनुषाको नगराइन नगरपालिका-३, फुलगमाका जगदीश साह (३५)को केही समययता नियमित कर्म भएको छ, सातामा दुई पटक अस्पताल धाउनु। मिर्गौलाका रोगी उनी डायलासिस गराउन हरेक मंगलबार र शुक्रबार जनकपुरस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्छन्।
डायलासिस गराउने क्रममा अस्पतालमा भेटिएका जगदीशले खिन्न हुँदै भने, “परिवारलाई लागेको ऋण तिर्न विदेश गएको थिएँ। घरपरिवारको रेखदेख गर्नुपर्ने वेला आफैंलाई स्याहार चाहिने अवस्थामा पुगें।”
उनी एक दशकअघि रोजगारका लागि मलेशिया गएका थिए। कान्छी बहिनीको विवाह गराउँदा ऋण लागेपछि घरको जेठो छोराको जिम्मेवारी बोध गर्दै उनी २४ वर्षको रहरलाग्दो उमेरमा विदेश हान्निएका थिए।
मलेशिया जाने वेलामा जगदीश साह।
मलेशियामा उनी कपडा उद्योगमा सिलाइको काम गर्थे। दैनिक काम गर्ने समय आठ घण्टाको थियो, तर उनी थप पैसा कमाउन ‘ओभरटाइम’ सहित १० देखि १२ घण्टासम्म खट्थे। मासिक रु. ३० हजारदेखि ३५ हजारको बीचमा कमाउँथे।
श्रमिक जीवनमा खानपान र शौच कर्म व्यवस्थित थिएन। जोडले तिर्खा नलागी पानी पिउँदैनथे, पिसाब रोकेर काममा एकोहोरिन्थे। कारखानामा खाजाका लागि ३० मिनेट छुट्याइएको थियो। यस्तै, शौचालय कति चोटि र कुन वेला गएको भनेर रेकर्ड राखिन्थ्यो। त्यसका लागि शौचालय जाने वेला ‘पन्च कार्ड’ बोक्नुपर्थ्यो। अर्कातिर, शौचालयमा कामदारको लामै लाइन हुन्थ्यो। यो सबै कुराले जगदीशलाई शौचालय जान झन्झटिलो लाग्थ्यो। उनी पिसाब च्यापेरै सिलाइको काममा दत्तचित्तले लाग्थे।
तीन वर्षपछि उनी छुट्टी लिएर घर फर्किए। आएको साता-दश दिनमा उनको दृष्टि धमिलिन थाल्यो। उनी बेहोश पनि भए। स्वास्थ्य जाँच गराउँदा उच्च रक्तचापको कारण त्यस्तो भएको भनिएको थियो। त्यसको केही महीनामा उनका दुवै मिर्गौला बिग्रेको भन्ने थाहा भयो।
तीन वर्ष मलेशिया बसेर कमाएको पैसा ऋण तिर्दा र काठमाडौंमा प्रारम्भिक उपचार गराउँदा नै सकियो। “छोराले कमाएको सबै पैसा उपचारमा खर्च भयो। उपचार गराउन हामीले जग्गा पनि बेच्नुपर्यो,” जगदीशकी आमा मन्तोरिया देवी भन्छिन्।
आमाबुबासँगै जगदीश साह। तस्वीरहरू: पिंकी श्रीस राना/हिमालखबर
मलेशिया जाँदा ऋणको बोझबाट पार पाउनेसँगै माटोको घर पक्की बनाउने र आफ्नो बिहे गर्ने उनको योजना थियो। तर मिर्गौला बिग्रेर काम गर्न नसक्ने भएपछि सबै चाहना र सपना अलपत्र परेका छन्। पक्की घर बनाउने उनको योजना रोजगारीका लागि मलेशिया नै पुगेका उनका कान्छा भाइले साकार पारेका छन्। उनीहरूले भर्खरै एकतले पक्की घर बनाएका छन्।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हप्तामा दुई पटक दिइने नि:शुल्क डायलासिस सेवा लिइरहेका जगदीशको एउटै आशा मिर्गौला प्रत्यारोपणको हो। नेपालको मानव शरीरको अङ्ग प्रत्यारोपण ऐन अनुसार बिरामीले नजीकको नातेदारबाट मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ। तर वृद्धावस्थाका जगदीशका बुबाआमाबाट मिर्गौला दान लिन न जगदीशको मन मान्छ न बुबाआमाको स्वास्थ्यले दिन्छ।
मिर्गौला समस्या देखिएपछि हातमा आएका गाँठागुँठी देखाउँदै जगदीश साह।
एउटा स्वस्थ व्यक्तिमा रगतमा रहेको विषाक्त पदार्थ र फोहोर मिर्गौलाले छुट्याउँछ र पिसाबको माध्यमबाट शरीर बाहिर निकाल्छ। मिर्गौलाले काम गर्न छोडेको व्यक्तिमा यही प्रक्रिया हेमोडायलासिस मेशिनले गरेर रगत शुद्ध पारिन्छ। बिरामीको शरीरबाट रगत निकालेर शुद्ध बनाई फिर्ता पठाउने यो प्रक्रियामा कम्तीमा तीन-चार घण्टा लाग्छ। डायलासिस प्रक्रिया अल्पकालीन उपाय भएकाले दीर्घकालीन समाधानका लागि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने हुन्छ।
डायलासिस गराउन जगदीश मोटरसाइकल चलाएर एक्लै अस्पताल जान्छन्। उमेर र कामको चापका कारण आमाबुबा उनीसँग जान भ्याउँदैनन्। जगदीश बिरामी परेपछि घरखर्च जुटाउन उनका बुबा रामदेव साहले ठेलामा पानीपुरी र मकैको फुला बेच्न थालेका छन्।
धनुषाकै मिठुकुमार मण्डल (२७) इलेक्ट्रिकल सुपरभाइजरका रूपमा काम गर्न दुई वर्षअघि साउदी अरब गएका थिए। हालसालै एक महीना अगाडि उनलाई बान्ता हुन थालेपछि अस्पताल लगियो। मिर्गौलामा समस्या देखिएपछि उनलाई नेपाल फिर्ता पठाइयो।
दुवै मिर्गौला बिग्रेका उनको जनकपुरको सेभ लाइभ्स अस्पतालमा डायलासिस हुँदै आएको छ। डायलासिसका लागि बेडमा सुतेका उनले अनुहार मलिन पार्दै भने, “यो उमेरमा यति ठूलो रोग मलाई लागेको छ भनेर स्विकार्न गाह्रो परिरहेको छ।”
चिकित्सकका अनुसार मिर्गौलारोगको लक्षण अन्तिम चरणतिर मात्र देखिन्छ, जुन वेला धेरैजसोको मिर्गौला बिग्रिसकेको हुन्छ।
सिन्धुलीका अम्बरबहादुर सार्की (४६) डायलाइसिस गराउन तीन घण्टाको यात्रा गरेर हरेक सोमबार र बिहीबार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्छन्।
अम्बर मलेशियामा पाम तेल उद्योगमा काम गर्थे। उनले काम गर्ने ठाउँको तापक्रम ६० डिग्री सेल्सियस हाराहारी हुन्थ्यो। उनमा उच्च रक्तचापको समस्या देखिन थाल्यो। उच्च रक्तचापले उनको मिर्गौलालाई असर पार्यो।
धनुषाको हाथीपुरहरवराका राम उद्गर मण्डल (४६)ले करिब दुई दशक साउदी अरबमा गाडी चालकको काम गरे। त्यहाँ उनको युवावय मात्र बितेन, उनी मिर्गौलाका दीर्घकालीन रोगी बने। ४२ वर्षको उमेरमा उनका दुवै मिर्गौलाले काम गर्न छाडेको थाहा भयो।
उनी थलिएपछि उपचार खर्च धान्न र घर चलाउन समस्या भयो। विदेशबाट रोगी बनेर आएका उनले पाँच महीनाअघि मात्रै छोरालाई रोजगारीका लागि मलेशिया पठाए, मुटुमाथि ढुंगा राखेर। “घर चलाउन अरू कुनै विकल्प नभएपछि बाध्य भएर छोरालाई पठाएँ। कतै छोराको हालत पनि मेरो जस्तै हुने हो कि भन्ने डर लागिरहेछ,” उनले भने।
यी त केही प्रतिनिधि घटना मात्र हुन्। परिवार पाल्न र आर्थिक स्थिति सुधार्न तराई मधेश सहित देशका विभिन्न भेगका धेरै युवा खाडी मुलुक र मलेशिया जाने गरेका छन्। त्यसरी जानेहरूमध्ये धेरैले कमाएर जीवनस्तर सुधारे पनि कतिपय चर्को गर्मी, कामको प्रकृति, जीवनशैली आदिका कारण मिर्गौला खराब भएर फर्किने गरेका छन्।
गरीबीका कारण वैदेशिक रोजगारमा जाने नेपाली युवाको संख्या बढ्दो छ। आर्थिक अवस्था कमजोर भएकाहरूको रोजगार गन्तव्य खाडी मुलुक र मलेशिया हुँदै आएको छ। वैदेशिक रोजगारमा जानेमा सबैभन्दा धेरै मधेश प्रदेशका युवा छन्। वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना नेपाली श्रमिक वैदेशिक रोजगारमा गएका थिए, तीमध्ये आठ जिल्ला रहेको मधेश प्रदेशबाट मात्रै एक लाख ७२ हजार ८६१ जना थिए।
उपचाररत मिर्गौलापीडित।
तर धन कमाउन जाँदा धेरै युवा जटिल रोग लागेर बीचैमा फर्कन बाध्य छन्। त्यसमा पनि पछिल्लो समय मिर्गौला खराबीका कारण फर्कनेहरू धेरै छन्। मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिसका लागि १०३ जना बिरामी नियमित आउँछन्, यीमध्ये ३० जना वैदेशिक रोजगारबाट फर्केका श्रमिक रहेको डायलासिस विभागकी इन्चार्ज रानी झाले बताइन्। “प्रतिष्ठानले दिने नि:शुल्क डायलासिस सेवा लिन धेरैजसो धनुषा जिल्लाकै बिरामी आउँछन्, केही बिरामी सर्लाही, सिरहा, महोत्तरी र सिन्धुलीबाट पनि आउँछन्,” उनले भनिन्।
किन बिग्रिन्छ श्रमिकको मिर्गौला?
वैदेशिक रोजगारका लागि नेपालीहरू सबैभन्दा धेरै खाडी मुलुकमा जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा सात लाख ४१ हजार २९७ जना श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गएका थिए। यीमध्ये संयुक्त अरब इमिरेट्समा सबैभन्दा धेरै एक लाख ९३ हजार ४३८, साउदी अरबमा एक लाख ४१ हजार ५०२, कतारमा एक लाख ३४ हजार ६६९, मलेशियामा एक लाख तीन हजार ४४२ र कुवेतमा ४० हजार ३६८ जना गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। कामदारको माग आउने र जाने खर्च कम लाग्ने भएकाले यी देशहरू नेपालीहरूका श्रम गन्तव्य हुन्।
वैदेशिक रोजगारमा जाने युवाको ठूलो जमात खाडी मुलुकको चर्को गर्मीमा पसिना बगाउँदै कडा परिश्रम गर्छ। उच्च तापक्रम, एकोहोरो लामो समयको श्रम, कामको प्रकृति, अस्वस्थ खानपान र जीवनशैली, मानसिक तनाव आदिले श्रमिकमा मिर्गौला फेलको जोखिम बढाउने मिर्गौलारोग विशेषज्ञहरू बताउँछन्। बाहिर खुला ठाउँमा तथा गर्मी र धूलोमा काम गर्नेहरूमा मिर्गौलारोगको जोखिम बढी देखिएको चिकित्सकहरूको भनाइ छ।
काठमाडौं वनस्थलीस्थित राष्ट्रिय मिर्गौला उपचार केन्द्रका वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. ऋषि काफ्ले यो रोगको यही नै कारण भनेर निर्धारण गर्न नसकिने बताउँछन्। “तर खाडी देशहरूमा जाने आप्रवासी कामदारहरू तीन-चार वर्षको अन्तरालमा फर्कंदा मिर्गौला फेल भएर आएको प्रवृत्ति देख्दा त्यहाँको उच्च तापक्रम र कामदारको जीवनशैलीले मिर्गौलारोगको सम्भावना बढाउँछ,” उनी भन्छन्।
कामदारको जीवनशैली अरूभन्दा निकै फरक हुने, पैसा कमाउने उद्देश्यले गएकाले अत्यधिक गर्मीमा लामो समयसम्म शारीरिक श्रम गर्ने, पानी कम पिउने, कोकाकोला, हरिया तरकारीभन्दा अत्यधिक मासु सेवन गर्ने कारणले मिर्गौला फेल हुने जोखिम बढ्ने डा. काफ्ले बताउँछन्।
यस्तै अवस्थाका कारण मिर्गौला खराब भएका बिरामी हुन्, धनुषाका जमुनीबासका ललितकुमार बलाम्पाकी (२९)। उनी संयुक्त अरब इमिरेट्सको दुबईस्थित एक उद्योगमा तामा पगाल्ने काम गर्थे। उसै त गर्मी ठाउँमा तामा पगाल्दाको रापले झन् हपक्क पार्थ्यो। सातामा दुई-तीन पटक रातिको ड्यूटी पर्थ्यो। निद्राको अभाव र समयमा खाना नपाउनु उनको दिनचर्या थियो। एक वर्षअघि उनको मिर्गौला फेल भएको थाहा भयो।
“तलब राम्रै थियो, महीनामा रु.४५ हजारदेखि ५० हजारसम्म कमाउँथें। तर कमाएको जति उपचारमा सकिइसक्यो,” उनले भने, “पैसाभन्दा बढी रोग पो कमाएँ।”
मिर्गौलारोगको उपचार खर्चिलो छ। सरकारले मिर्गौला काम लाग्ने भएका बिरामीलाई नि:शुल्क उपचार अन्तर्गत सातामा दुई पटक डायलासिस गर्न सहयोग गर्दै आएको छ। कहिलेकाहीं बिरामीलाई यतिले नपुगेर सातामै तेस्रो पटक पनि डायलासिस गर्नुपरेमा बिरामीले आफ्नै खर्चमा गर्नुपर्ने हुन्छ। एक चोटि डायलासिस गरेको दुई हजार ५०० रुपैयाँ लाग्छ।
मिर्गौलारोगी बिरामी शारीरिक शिथिलताका कारण श्रम गर्न सक्दैनन्। यस्तोमा उनीहरू खर्च चलाउन सरकारले जीविकोपार्जन भत्तास्वरूप दिने मासिक रु. पाँच हजारमा निर्भर रहँदै आएका छन्। तर यो रकम समयमा नआउँदा समस्या हुने गरेको बिरामीहरू बताउँछन्।

कुनै वेला परिवारमा कमाउने एक मात्र खम्बा रहेका धनुषाको सुरज थापा मगर (३०) मिर्गौलाले काम नगरेर शिथिल भएपछि सरकारले दिने भत्ता रकमकै पर्खाइमा हुन्छन्। उनका अनुसार केही औषधि सरकारले नि:शुल्क दिन्छ, तर नि:शुल्क दिने भनिएका धेरैजसो औषधि सरकारी अस्पतालको फार्मेसीमा पाइँदैनन् र बाहिर आफैंले किन्नुपर्छ।
“समयमै भत्ता नआउँदा आम्दानीको स्रोत नभएका बिरामीले ती औषधि किन्न सक्दैनन्,” सुरज भन्छन्, “कहिलेकाहीं त भत्ता ६/७ महीनापछि जम्मा हुन्छ। भत्ता रकम पर्याप्त छैन। कहिलेकाहीं मेरो स्वास्थ्य बिग्रिंदा उपचार गर्ने ऋण खोज्नुपर्छ।”
उनी कुवेतमा आल्मुनियमका झ्याल र ढोका जडानको काम गर्थे। गर्मी याममा ५० डिग्रीभन्दा माथिको तापक्रममा दैनिक १० घण्टा खटिन्थे। पानी पिउने ठाउँ कार्यस्थलबाट टाढा भएकाले उनी प्रायः तिर्खा खपेर काम गर्थे।
एक रात बान्तामा रगत देखिएपछि उनी चार वर्षअघि स्वदेश फर्किए। उपचार गराउँदा उनका दुवै मिर्गौला खराब भइसकेको रहेछ। उनी सातामा दुई पटक डायलासिस गराउँदै आएका छन्।
डा. शैलेन्द्र शर्माको नेतृत्वमा मिर्गौलारोग विशेषज्ञहरूले गरेको हालैको अध्ययनले कुल मिर्गौला बिरामीमध्ये एकचौथाइ वैदेशिक रोजगारीबाट फर्केका कामदारहरू हुने बताउँछ। यस अध्ययनमा ३५४ मिर्गौलापीडित मध्ये ३१ प्रतिशत आप्रवासी कामदार रहेका थिए। त्यसमा ७० प्रतिशत आप्रवासी कामदारहरूले दिनहुँ उच्चतम तापक्रममा काम गरेको पाइयो। उच्च वातावरणीय तापक्रमसँगै विश्राम विनाको कामको चाप र थकानले पनि मिर्गौलारोगको जोखिम आप्रवासी कामदारमा बढाउने यस अध्ययनले भन्छ।
त्यस्तै २०८० सालमा, बर्नमथ विश्वविद्यालय र ग्रीनतारा नेपालले धनुषाको लक्ष्मीनिया गाउँपालिका र क्षीरेश्वरनाथ नगरपालिकामा वैदेशिक रोजगारीका लागि खाडी मुलुक र मलेशिया गएका आप्रवासी युवामा मिर्गौलारोगबारे अध्ययन गरेका थिए। आप्रवासी कामदारको खानेपानी र शौचालयको व्यवस्थित सुविधा नहुँदा, खाना र स्वास्थ्यमा हेल्चेक्र्याइँ गर्दा, कामको सिलसिलामा प्रदूषकहरूको सम्पर्कमा आँउदा र दुखाइ कम गर्ने औषधिको अत्यधिक प्रयोगले पनि मिर्गौलारोगको जोखिम बढाउन सक्ने यस अध्ययनको निष्कर्ष छ।
नपुगेको सरकारी प्रयास
नेपाल सरकारले २०७३ वैशाखमा मिर्गौलारोगीलाई डायलासिस सेवा नि:शुल्क गर्ने निर्णय मन्त्रिपरिषद् बैठकबाट गरेको थियो। नि:शुल्क डायलासिस सेवाबाट धेरै बिरामीले राहत पाए। त्यसको दुई वर्षपछि मिर्गौलारोगी र क्यान्सर जस्ता दीर्घकालीन रोग लागेका बिरामीलाई मासिक रु. पाँच हजार जीविकोपार्जन भत्ता दिन थालियो।

स्वास्थ्य सेवा विभागका अनुसार देशभरि १०७ अस्पतालले नि:शुल्क डायलासिस सेवा दिंदै आएका छन्। तर ती सबै अस्पतालमा मिर्गौलारोग विशेषज्ञ चिकित्सक छैनन्। मधेश प्रदेशमा ११ अस्पतालमा नि:शुल्क डायलासिस सेवा उपलब्ध छ, तीमध्ये जनकपुरमा तीन वटा अस्पताल छन्। यी तीनै अपस्तालमा मिर्गौलारोग विशेषज्ञ छैनन्।
वरिष्ठ मिर्गौलारोग विशेषज्ञ डा. काफ्ले सरकारले मिर्गौलारोग विशेषज्ञहरूलाई पर्याप्त तलब नदिने भएकाले सरकारी अस्पतालमा काम गर्न इच्छुक नहुने बताउँछन्। “सरकारी सेवामा राम्रो तलब सुविधा नहुने भएकाले चिकित्सकहरू निजी अस्पतालमा आबद्ध हुन्छन्,” उनी भन्छन्।
नि:शुल्क डायलासिस सेवा उपलब्ध हुने १०७ अस्पतालमध्ये प्रदेशगत हिसाबमा सबैभन्दा धेरै ४४ वटा अस्पताल बागमती प्रदेशमा छन्। यसले गर्दा उपत्यका बाहिरका धेरै मिर्गौलारोगी आफ्नो उपचारका लागि काठमाडौंमा बस्न बाध्य छन्। स्वास्थ्य सेवा विभागका अनुसार बागमती प्रदेशमा मात्र आठ हजार ९३ विपन्न मिर्गौलारोगीले उपचार सेवा लिइरहेका छन्।
वैदेशिक रोजगार बोर्डले २०७७/७८ देखि २०८०/८१ को मंसीरसम्म राखेको तथ्यांक अनुसार वैदेशिक रोजगारबाट फर्किएका एक हजार ९५३ कामदारमध्ये २६५ जना मिर्गौलारोगी थिए। कार्यस्थलमा दुर्घटनामा परी मृत्यु भएका वा नेपाल फर्केकाको संख्या सबैभन्दा बढी रहेको छ। त्यसपछि सबैभन्दा उच्च रहेको संख्या मिर्गौलापीडित भएर फर्केका कामदारको छ। यस तथ्यांकले आर्थिक सहायता लिएकाको संख्या मात्र देखाउँछ। मिर्गौला खराब भएर फर्केर पनि बोर्डबाट आर्थिक सहायता नलिएकाहरूको संख्या अझ बढी हुने गर्छ।
सरकारले मिर्गौलारोगीलाई दिंदै आएको उपचार सुविधा र आर्थिक सहयोग पर्याप्त नभए पनि सराहनीय भएको तर यससँगै जनचेतना बढाउनेतर्फ पनि ध्यान दिइनुपर्ने डा. शैलेन्द्र शर्माको नेतृत्वमा भएको अनुसन्धानमा संलग्न डा. पूजा शेरचन बताउँछिन्। खाडी मुलुक र मलेशिया जस्ता देशमा काम गर्दा हुने सम्भावित स्वास्थ्य जोखिम थाहा हुँदाहुँदै पनि नेपालीहरू जान नछोड्ने भएकाले सरकारले रोगको रोकथामको पक्षमा काम गर्नुपर्ने उनको सुझाव छ।
“खाडी मुलुकहरूमा जाने कामदारलाई मिर्गौलारोग के हो, बढी तापक्रममा काम गर्दा स्वास्थ्यमा के-कसरी ध्यान दिने भनेर बुझाउने गरी कार्यशाला गरेर पठाउने गरेमा ठूलो परिवर्तन ल्याउन सक्छ,” उनी भन्छिन्।
डा. काफ्ले मिर्गौलारोगीका लागि डायलासिस तत्कालका लागि प्राणवायु भए पनि दीर्घकालीन समाधान मिर्गौला प्रत्यारोपण नै भएकाले त्यसमा सहजता र सहुलियत हुने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताउँछन्। नि:शुल्क डायलासिस भएपछि यो सेवा लिनेको संख्या बढ्ने, प्रत्यारोपणतिर आकर्षण घट्नाले मानिसको आयुमा कमी ल्याउनुका साथै उत्पादनशीलता घट्ने भएकाले बिरामीको आयु र सक्रिय जीवनका लागि प्रत्यारोपणमै प्राथमिकता दिइनुपर्ने उनको सुझाव छ।
“सरकारले जीवनभर नि:शुल्क डायलासिस सेवा प्रदान गर्नुको सट्टा ब्रेन डेथ (मस्तिष्क मृत्यु) भएका बिरामीहरूको मिर्गौला प्रत्यारोपण गर्ने गरी सहज व्यवस्था गर्न सके प्रभावकारी र कम खर्चमै समाधान हुन्छ,” डा. काफ्ले भन्छन्।
काठमाडौंमा मात्र सडक दुर्घटनामा परेर बर्सेनि करीब एक हजार मानिसको मस्तिष्क मृत्यु हुने आकलन छ। देशभरि त्यो संख्या बढी हुने अनुमान गर्न सकिन्छ।
जगदीशका बुबा रामदेव पनि मस्तिष्क मृत्यु भएका बिरामीको मिर्गौला प्रत्यारोपण गर्न थालिए आफ्ना छोरा जस्तै धेरै मिर्गौलारोगीले नयाँ जीवन पाउने बताउँछन्। विदेशबाट रेमिटेन्स पठाएर देशको अर्थतन्त्र थेग्ने युवा बिरामी पर्दा सरकारले हेर्नुपर्ने उनको भनाइ छ। “सडक र पूर्वाधार मात्र बनाउनुभन्दा मिर्गौलारोगले थलिएका युवाहरूमा लगानी गर्नुपर्छ, ताकि उनीहरू स्वस्थ व्यक्ति सरह भएर फेरि देशका लागि योगदान गर्न सकून्। युवाहरू नै रहेनन् भने त विकास पूर्वाधारको के काम?”
‘मिर्गौला फेल नयाँ महामारी जस्तै बनेको छ’
नि:शुल्क हेमोडायलासिस उपचार दिइने अस्पतालहरूमा दिनभर व्यस्त रहने एउटा विभाग हो, डायलासिस विभाग। त्यहाँ विभिन्न उमेर, जात र लिंगका बिरामी डायलासिस सेवा लिन पालो पर्खिरहेका हुन्छन्। मिर्गौलाले काम नगरेका बिरामी १५ वर्षे बालकदेखि वृद्धवृद्धासम्म छन्।
“विदेशमा रहेका कामदारमा मिर्गौलारोगको जोखिम बढी भए पनि विश्वव्यापी रूपमा मानिसहरू यो रोगबाट पीडित भएको देखिन्छ र यो रोग हाम्रो बदलिंदो जीवनशैली, खानपानसँग सम्बन्धित छ,” डा. काफ्ले भन्छन्।
रोगको प्रकृतिले भन्दा पनि रोग बढ्दै गएको तरीकाले मिर्गौला फेललाई महामारी भन्न सकिने उनी बताउँछन्।
स्वास्थ्य सेवा विभागका अनुसार देशभर २८ हजार २६६ मिर्गौलारोगी छन्। तीमध्ये १७ हजार ४४ पुरुष र ११ हजार २२२ महिला हुन्। यी संख्याले विपन्न नागरिक कोष अन्तर्गत उपचार सेवा लिने नागरिकहरूलाई मात्र समेट्छ। कुल मिर्गौलारोगीको संख्या योभन्दा बढी छ। आर्थिक वर्ष २०८०/८१ को नौ महीनामा नयाँ मिर्गौलारोगीको संख्या नौ हजार १७६ थियो।