बाघ सँगसँगै बर्दियाको ‘ब्रान्डिङ’ अभियान
बाघका लागि प्रख्यात बर्दिया राष्ट्रिय निकुञ्जलाई समेटेर पूरै बर्दिया जिल्लाकै पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्न ‘घुम्न जाऔं बर्दिया’ अभियान थालिएको छ।
बर्दिया भन्ने बित्तिकै दिमागमा बर्दिया राष्ट्रिय निकुञ्ज र बाघको तस्वीर आउँछ। यस बाहेक पनि बर्दियामा पर्यटक लोभ्याउने गन्तव्य छन्। यी सबैलाई समेटेर बर्दियाको ‘ब्रान्डिङ’ गर्न नयाँ अभियान थालिएको छ, ‘घुम्न जाऔं बर्दिया’।
लुम्बिनी प्रदेश सरकारले बर्दियाको ठाकुरबाबा नगरपालिकासँगको समन्वयमा पुस ४ मा अभियान शुरू गरेको हो। देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्ने बर्दियालाई लक्षित गरेर अभियान शुरू गरिए पनि यसले लुम्बिनी प्रदेशकै गन्तव्यको प्रवर्द्धन हुने विश्वास गरिएको छ।
समग्र प्रदेशको पर्यटकीय विकासका लागि प्रदेश सरकारले ‘घुम्न जाऔं बर्दिया’ कार्यक्रम ल्याएको मुख्यमन्त्री चेतनारायण आचार्य बताउँछन्। “मुख्यत: बर्दियाको पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्नु नै हो। यस सँगसँगै लुम्बिनी प्रदेशका पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य हो,” मुख्यमन्त्री आचार्य भन्छन्।
अभियानको उद्घाटन गर्दै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य।
बर्दियाको नारा दिइएको भए पनि यस अभियानले पूरै लुम्बिनी प्रदेशलाई पर्यटकीय गन्तव्यका रूपमा प्रचारप्रसार गर्न सघाउ पुग्ने उनको भनाइ छ। बर्दियाका माध्यमबाट लुम्बिनीको पनि प्रवर्द्धन गर्न खोजिएको उनी बताउँछन्। मुख्यमन्त्री आचार्य भन्छन्, “घुम्न जाऔं बर्दिया कार्यक्रम प्रदेशको पर्यटन विकासमा कोशेढुंगा बन्ने विश्वास छ।”
प्राथमिकतामा आन्तरिक आगन्तुक
बर्दियाको प्रमुख पर्यटकीय गन्तव्यमध्ये एक हो, बर्दिया राष्ट्रिय निकुञ्ज। बर्दियाको मुख्य आकर्षण बाघ नै हो। बाघ हेर्न बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्छन्। “बाघसँगै जंगल सफारी अर्को आकर्षण हो,” स्थानीय पत्रकार शम्भुप्रसाद थारू भन्छन्।
बर्दियामा बाह्रसिंगा।
बर्दिया पुग्ने प्रायः पर्यटक जंगल सफारी गर्छन्। त्यसमा पनि आन्तरिक पर्यटकलाई थप आकर्षित गर्न ‘घुम्न जाऔं बर्दिया’ अभियान थालिएको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपाने बताउँछन्। “यो कार्यक्रम मार्फत धेरैभन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने प्रदेश सरकारको लक्ष्य छ,” न्यौपाने भन्छन्।
बर्दिया आफैंमा पर्यटकीय आकर्षणको केन्द्र हो। त्यसलाई देशभित्र थप प्रवर्द्धन गर्न यो अभियान सहयोगी बन्ने उनको भनाइ छ। “बर्दियालाई केन्द्रित गरेर ‘घुम्न जाऔं बर्दिया’ कार्यक्रम ल्याएका हौं। यसले प्रदेशकै पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ,” उनी भन्छन्।
यसलाई प्रचारात्मक अभियानका रूपमा लिइएको छ। यस अभियानबाट आन्तरिक पर्यटकलाई आकर्षित गर्न सकिने उनी बताउँछन्। बर्दियामा पुग्ने पर्यटकका लागि मुख्य आकर्षण बाघ हेर्ने भए पनि अब गैंडा, जंगली हात्ती, चित्तल, जरायो, बाह्रसिंगा लगायत वन्यजन्तु र चराचुरुंगी अवलोकन गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको उनको भनाइ छ।
जंगली हात्तीको बथान।
के छ बर्दियामा?
कर्णाली र बबई नदीबीचको बर्दिया राष्ट्रिय निकुञ्ज ५०७ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। यहाँ पाटे बाघ, एकसिंगे गैंडा, चितुवा, घोडगधा, जरायो, चित्तल, लगुना, बाह्रसिंगा र जंगली हात्ती लगायत ६१ प्रजातिका स्तनधारी वन्यजन्तु पाइन्छन्।
त्यस्तै, घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा पनि बर्दियाका आकर्षण हुन्। बर्दियामा ५१३ प्रजातिका चरा पाइन्छन्। बसाइँ सरी आउने चरा पनि उत्तिकै हुन्छन्।
निकुञ्जसँगै बर्दियाको दौलतपुर घाटमा पाइने डल्फिन बाह्य पर्यटकको रोजाइमा पर्दै आएको छ। कृष्णसार, जंगली हात्ती, गैंडा पनि बाह्य पर्यटकका लागि चित्ताकर्षक जनावर हुन्।
एकसिंगे गैंडा।
यस्तै, होमस्टे, स्थानीय वेशभूषा, कलासंस्कृति पनि बर्दियाका आकर्षण हुन्। स्थानीय थारू समुदायले सञ्चालन गरेका डल्ला होमस्टे, बारबर्दिया होमस्टे आन्तरिकसँगै बाह्य पर्यटकको पनि रोजाइमा पर्दै आएका छन्।
बढैया ताल, सतखलुवा ताल, तारा ताल, भगर ताल लगायत तालतलैया र सिमसार क्षेत्र अवलोकन गर्न सकिन्छ। बढैया ताल १०९ बिघा क्षेत्रफलमा फैलिएको छ। मानव निर्मित भए पनि स्थानीय थारू समुदायले तालमा जलदेवता रहेको विश्वास गर्छ।
कोठियाघाटमा रहेको लामो पुल अर्को आकर्षण हो। चिसापानीमा रहेको कर्णाली पुलले पनि आन्तरिक पर्यटकलाई आकर्षित गर्दै आएको छ। ऐतिहासिक ठाकुरबाबा मन्दिर लगायत धार्मिकस्थल पनि बर्दियाका पर्यटकीय गन्तव्य हुन्।