गृहनगरको सम्मेलन बहिष्कारबाट शेखरले गरेको संकेत
एमालेसँग सत्ता समीकरण भएसँगै निरन्तर पार्टी संस्थापनको आलोचनामा उत्रिएका कांग्रेस नेता डा. शेखर कोइरालाले गृहनगरमा भएको पार्टीको सम्मेलन समेत बहिष्कार गरे, किन?
विराटनगरस्थित एक होटलको सभाकक्ष मंसीर २२ मा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले खचाखच थियो। कांग्रेस कोशी प्रदेशको प्रथम सम्मेलन उद्घाटनका लागि मञ्चमा नेताहरू अटेसमटेस गरी बसिरहेका थिए।
मञ्चको केन्द्रमा कांग्रेस सभापति शेरबहादुर देउवा र कोशी प्रदेश कार्यसमितिका सभापति उद्धव थापा थिए। दुवैतिर उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, कोषाध्यक्ष उमेश श्रेष्ठ, नेता विजयकुमार गच्छदार, पूर्व महामन्त्री डा. शशांक कोइराला लगायत थिए। तर गृहनगरमा प्रदेश सम्मेलन हुँदा नेता डा. शेखर कोइराला उपस्थित थिएनन्।
विराटनगर सम्मेलनमा कांग्रेसका केन्द्रीय पदाधिकारी, पूर्व पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, स्थानीय तहका सभापति र कार्यकताको बाक्लो उपस्थिति थियो। मञ्चमा डा. कोइरालालाई नदेखेपछि कांग्रेस नेता तथा कार्यकर्ताले अड्कल काट्न थाले- शेखर कोइरालाले त बहिष्कार गरेछन्।
यसअघि मंसीर २२ बिहान कांग्रेस सभापति देउवा विराटनगरस्थित कोइराला निवासमा पुगेका थिए। देउवासँगै पूर्व महामन्त्री डा. शशांक कोइराला पनि कोइराला निवासमा देखिए। तर त्यहाँ पनि डा. शेखर कोइराला देखिएनन्।
उनी भने गृहनगरमा भइरहेको पार्टी सम्मेलनका लागि विराटनगर नगएर चितवनतर्फ लागे। पार्टी कार्यक्रम बहिष्कार गरेर चितवनतिर लागेको कोइराला निकट एक नेता बताउँछन्। “आफ्नै प्रदेशको सम्मेलन हुँदा कोही नेता सहभागी नहोलान् त! उहाँले बहिष्कार गर्नुभएको हो,” ती नेता भन्छन्।
कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलिया भने कोशी प्रदेशमा भएको सम्मेलनबारे ढिलो जानकारी पाएकाले सहभागी हुन नसकेको प्रतिक्रिया दिन्छन्। “चितवनको शोकसभामा जाने कार्यतालिका पहिले नै निर्धारित थियो। प्रदेश सम्मेलनबारे मंसीर १७ गते बेलुका मात्रै जानकारी गराइयो,” थपलिया भन्छन्, “शोकसभा सार्न नमिल्ने भएकाले निर्धारित कार्यक्रममा जानुभएको हो।”
चितवनमा कांग्रेसका पूर्व केन्द्रीय सदस्य उद्धव लोहनीका बुबा टेकबहादुर लोहनी र अर्का केन्द्रीय सदस्य दिनेश कोइरालाका बुबा भीष्मकान्त कोइरालाको शोकसभा थियो। दुवै शोकसभामा सहभागी हुन डा. कोइराला चितवन पुगेका थिए।
संस्थापन पक्षका केन्द्रीय सदस्य मीन विश्वकर्मा भने प्रदेश सम्मेलनबारे सबैलाई एकैदिन जानकारी गराइएको बताउँछन्। “सबैलाई मंसीर १७ गते नै जानकारी गराइएको हो,” विश्वकर्मा भन्छन्, “कसैलाई बिहान, कसैलाई दिउँसो, कसैलाई साँझतिर जानकारी गराइएको होला, ढिलो गरिएको होइन।”
अर्कातिर, कोइरालाले कांग्रेसको विराटनगर सम्मेलनमा सहभागी हुन आवश्यक पनि ठानेनन्। किनकि उनले चार दिनअघि नै आफू निकट स्थानीय तहका सभापतिको भेला गराइसकेका थिए। मंसीर १८ मा विराटनगरमै कांग्रेसका पालिका सभापतिको भेला भएको थियो। कांग्रेस केन्द्रले भेला नगर्न निर्देशन पनि दिएको थियो। तर कोइरालाले त्यसको वास्ता गरेनन्।
उनले भेला गरी छाडे। जसमा कोशी प्रदेशका १३७ पालिकामध्ये ११३ जना सभापति सहभागी रहेको एक नेता बताउँछन्। भेलालाई सम्बोधन गर्दै कोइरालाले भनेका थिए, “कसैको डर, धाक, धम्कीबाट नआत्तिनुस्। निस्फिक्री घर फर्किनुस्, तपाईंहरूको संरक्षण म गर्छु।”
कोइरालाले गराएको भेलालाई संस्थापन पक्षले भने शक्ति प्रदर्शन गर्न खोजेको रूपमा बुझेको छ। यसलाई पार्टी नीति विपरीतको गतिविधि भनेको छ। केन्द्रीय सदस्य विश्वकर्मा कोइरालाले विराटनगरमा पालिका सभापति भेला गराउनु विधान विपरीत भएको बताउँछन्। उनी भन्छन्, “केन्द्रले पालिकाको भेला बोलाउने विधानमा छैन, तर उहाँहरू विद्रोहीका रूपमा देखिन यस्तो गरिराख्नुभएको छ।”
नेता कोइरालाले पार्टीभित्रकाे वरीयतामा पनि असन्तुष्टि जनाउँदै आएका छन्। कांग्रेसको १४औं महाधिवेशनमा उनी देउवासँग सभापतिमा पराजित भएका थिए। कोइरालाका समर्थकले उनलाई सभापतिपछिको वरीयतामा राख्नुपर्ने माग गर्दै आएका छन्। वरिष्ठ नेताका रूपमा राख्नुपर्ने उनीहरूको तर्क छ। यसलाई संस्थापन पक्षले भने अस्वीकार गर्दै आएको छ।
अहिले कांग्रेसमा सभापतिपछि उपसभापति, दुई जना महामन्त्री, कोषाध्यक्ष र सहमहामन्त्री छन्। डा. कोइरालालाई २६औं नम्बरमा राखिएको छ। उनका स्वकीय सचिव थपलिया भने प्रदेश भेलामा सहभागी नहुनुको कारण वरीयताको विवाद नभएको जिकिर गर्छन्। “वरीयतामा विवाद गर्नुभएको छैन, गलत हल्ला फैलाइएको छ,” उनी भन्छन्।
यससँगै सरकार गठनका लागि एमालेसँग गरिएको सत्ता समीकरणमा पनि कोइरालाले असन्तुष्टि जनाउँदै आएका छन्। पार्टी सत्तामा भए पनि उनी सरकारको आलोचना गरिरहेका छन्। कोइराला माओवादीसँग सत्ता गठबन्धन गर्नुपर्ने पक्षमा थिए। त्यसो नहुँदा अहिले विरोध गरेको संस्थापन पक्षको भनाइ छ। “कांग्रेस-माओवादीको गठबन्धनलाई निरन्तरता दिनुपर्छ भन्ने पक्षमा हुनुहुन्थ्यो। तर त्यसो नहुँदा विरोध गरिराख्नुभएको छ,” केन्द्रीय सदस्य विश्वकर्मा भन्छन्।
कोइराला पक्षका नेता भने सरकारको भन्दा पनि सुशासनको पक्षमा खबरदारी गरेको रूपमा बुझ्न आग्रह गर्छन्। सरकारको नभई सरकारले गरिरहेका गलत कामको आलोचना गरेको उनीहरूको भनाइ छ। “आफ्नो पार्टी सरकारमा छ भन्दैमा गलत कामको समर्थन गर्न त सकिंदैन। उहाँले सरकारको भन्दा पनि गलत कदमको विरोध गरेको हो,” स्वकीय सचिव थपलिया भन्छन्।
राजनीतिक विश्लेषक भने डा. कोइरालाले पार्टीभित्र र बाहिर विमति राख्नु स्वाभाविक भएको बताउँछन्। कतिपयले यसलाई कांग्रेसको आउँदो महाधिवेशनको तयारीका रूपमा अर्थ्याएका छन्। राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्छन्, “फरक मत राख्नु कांग्रेसको परम्परा हो।”
बीपी कोइराला हुँदा पनि कृष्णप्रसाद भट्टराईले तथा गिरिजाप्रसाद कोइराला हुँदा गणेशमान सिंहले फरक मत राखेको उनी स्मरण गराउँछन्। यसलाई कांग्रेसको सकारात्मक पाटोकै रूपमा लिनुपर्ने उनको मत छ।
सरकारको विरोध गर्नु, पार्टीका कार्यक्रममा सहभागी नहुनु, छुट्टै भेला गर्नुलाई विश्लेषक आचार्य कांग्रेसको आउँदो १५औं महाधिवेशनसँग जोड्छन्। “शेखर कोइरालाको विरोध व्यक्तिभन्दा पनि पार्टी प्रक्रियाको अभ्यासको हो। संस्थापन-इतर पक्षबाट फरक मत राख्नु शक्ति पनि हो,” आचार्य थप्छन्, “यो १५औं महाधिवेशनको तयारी पनि हो।”