गाउँ नै रित्तो पारेर भारततिर
भोकमरीबाट बच्न पहाडबाट झरेका कैलालीको ओलानीका बासिन्दा तराईमा पनि दैनिकी चलाउन मुश्किल भएपछि परदेशतिर लागिरहेका छन्।
मकैको रोटी पनि पाउन मुश्किल भएपछि दलबहादुर साउद २०२७ सालतिर बुबा र छिमेकीसँगै पहाडबाट तराई झरे। अछामबाट कैलाली पुगेका उनीहरू गोदावरी नदी पश्चिमको खाली मैदानमा बसे। केही वर्षअघि आएका गाउँले पनि त्यही वरिपरि टहरा बनाएर बसिरहेका थिए।
१९ वर्षको उमेरमा तराई झरेका उनी त्यति वेला ‘माल जाने’ भनेर आएको सुनाउँछन्। “पहाडमा भोकमरी चल्यो। खानलाउनै नपाइने भयो,” साउद साढे पाँच दशकअघिको अवस्था स्मरण गर्दै भन्छन्, “मालतिर खनिखोस्रो गरौं, ऐलानी बनाउन सक्यो भने भात खान पाइन्छ भनेर आएका थियौं।”
अछामका अन्य गाउँबाट पनि भातकै खोजीमा तराई झर्ने क्रम २०२२ सालतिर शुरू भएको थियो। त्यही वेला रामबहादुर जैगडीका बुबाबाजे पनि तराई झरेका थिए। अछामको सिम्लीबाट आएका जैगडीका बुबाबाजेले गोदावरी पश्चिमकै फाँटमा जंगल फाँडेर जग्गा जोडे। यो फाँट गोदावरीदेखि मछली खोलासम्म फैलिएको थियो। “पहाडमा भोकमरी भयो। जग्गाजमीन थिएन, खानलाउन पुगेन,” जैगडी सुनाउँछन्, “बाबुबाजेले कटान गरेर मालमा जग्गा बनाए।”
२०२२ सालतिर सुदूरपश्चिमी पहाडमा भोकमरी चलेको थियो। बिस्तारै पहाडका अन्य ठाउँबाट पनि मान्छे तराई झर्न थाले। खोला किनारका समथर क्षेत्रमा कटान गरेर घरटहरा बनाउन थाले। मछली खोला पूर्व र गोदावरी नदी पश्चिमको यो बस्ती पनि त्यहीमध्ये एक थियो।
औलमा बसेकाले ओलानी नाम राखे। त्यति वेला लामखुट्टे हुने, औलो लाग्ने ठाउँलाई औल भनिन्थ्यो। “औलमै बसेर खेतीपाती गर्यौं,” साउद सम्झिन्छन्, “मकै, कोदोको रोटी पनि पेटभरि नपाइने पहाडबाट आएका मान्छेलाई दुई छाकै भात खान मिल्दा त आनन्दै भयो। साह्रै खुशी भयौं।”
पश्चिममा मछली खोला र पूर्वमा गोदावरी नदी रहेको ओलानी क्षेत्रमा अहिले कैलालीको गोदावरी नगरपालिकाका वडा नं. १०, ११ र १२ पर्छन्। तीन वडामा गरी १५ हजार १८ जनसंख्या छ। राष्ट्रिय जनगणना, २०७८ अनुसार तीनै वडामा तीन हजार १८८ घर छन्।
तर यति वेला ओलानी क्षेत्रका घर रित्ता छन्। धेरैजसो घरमा ताला लागेका देखिन्छन्। कहाँ गए होलान् ओलानीका बासिन्दा? “याँ त केही पुक्तैन, सबका दुःख यसै त हुन्,” गोदावरी-१० का ७३ वर्षीय दलबहादुर साउद भन्छन्, “सबै भारततिर गया।”
उनको घरमा पनि अहिले तीन जना मात्रै छन्। स्कूल पढ्ने नाति र दुई बुढाबुढी। हुर्किएका नातिनातिनी र छोराबुहारी भारतको बेङ्लोरमा बस्छन्। उनीहरू चाडपर्वमा मात्रै गाउँ फर्किने गरेको साउद सुनाउँछन्। “केही दिनमा हामी पनि उतै जान्या हौं,” उनी भन्छन्।
पहाडबाट तराई झरेको ६ दशकपछि फेरि ओलानीका बासिन्दालाई साँझ-बिहान भात पाउन गाह्रो हुन थालेको छ। खेतीपातीले नपुग्ने र अन्य आयआर्जनका उपाय नभएपछि हातमुख जोर्नकै लागि गाउँ छोडिरहेका छन्। धेरैजसो भारततिर लागेका छन्। अधिकांशले परिवार पनि सँगै लगेका छन्।
गोदावरी-१०, सीतापुरका रामबहादुर जैगडी गाउँमा खेतीपाती गरेर खान नपुग्ने भएपछि भारततिर जानुपरेको सुनाउँछन्। “मंसीरपछि गाउँ नै खाली हुन्छ। घरमा ताल्चा लगाएर परिवार सहित भारत जान्छन्,” जैगडी भन्छन्।
सीतापुर गाउँमा ४०० घरधुरी छन्। जहाँ दुई हजारभन्दा बढी जनसंख्या छ। तर अहिले गाउँमा मान्छे भेट्न मुश्किल हुन्छ। रोजगारीका लागि ८० प्रतिशत मानिस गाउँ बाहिर रहेको जैगडी बताउँछन्।
गोदावरी नगरपालिका-१० का वडाध्यक्ष रवीन्द्र शाही पनि गाउँमा खानलाउन मुश्किल भएपछि ओलानीवासी भारततिर लागेको बताउँछन्। भारतमा आवतजावत सहज र रोजगार पनि पाइने भएकाले धेरैजसो भारत गएको वडाध्यक्ष शाही सुनाउँछन्। “गाउँमा त १० देखि १५ प्रतिशत मात्रैले रोजगार सिर्जना गरेर बसेका होलान्,” उनी भन्छन्।
गाउँमा बसेकाहरू पनि सरकारी रोजगारीमा कमै छन्। अधिकांशले डकर्मी, सिकर्मी, बेमौसमी तरकारी खेती गरिरहेको वडाध्यक्ष शाही बताउँछन्। “स्थानीय सरकारले सानोतिनो रोजगारी त सिर्जना गरेको छ, तर त्यो पर्याप्त छैन,” उनी भन्छन्, “प्रदेश र संघीय सरकारले कलकारखाना खोले मात्रै हो, स्थानीय सरकारसँग धेरै रोजगारी सिर्जना गर्ने बजेट पनि हुँदैन।”
किन छोड्छन् गाउँ?
पहाडबाट तराई झरेका ओलानीवासी धेरैजसोले एक-डेढ बिघासम्म खेत जोडेका थिए। त्यसले वर्षभरि खान पुग्ने अन्न उत्पादन हुन्थ्यो भने त्यही बेचबिखन गरेर नुनतेलको पनि जोहो हुन्थ्यो। तर पछिल्लो एक दशकयता उत्पादन घटेको स्थानीय बासिन्दा बताउँछन्।
स्थानीय रामबहादुर जैगेडीका अनुसार पहिला जस्तो अन्न फल्दैन। चुरे भावरको फेदमा रहेको यस बस्तीमा पानीको समस्या बढ्दै गएको उनी सुनाउँछन्। “पानीको समस्या छ। ह्यान्डपम्पमा पानी आउँदैन, बोरिङ हाल्न सबैले सक्दैनन्, महँगो हुन्छ,” उनी भन्छन्।
पानीको अभावमा सिंचाइ नभएपछि उत्पादन घटेको उनी बताउँछन्। सरकारले हालेका डिप बोरिङमा पनि गर्मी याममा पानी आउँदैन। “अहिले सरकारले खानेपानीका लागि ठाउँ ठाउँमा डिप बोरिङ गाडेको छ। तर गर्मी याममा पानी आउँदैन,” उनी भन्छन्, “सिंचाइ त छोड्नुस्, खानेपानी पनि हुँदैन।”
सीतापुर बस्तीमै पनि धेरै किसानले खेती गर्न छोडेका छन्। जति मिहिनेत गरे पनि एक बिघामा १०-१२ बोरा धान फल्ने गरेको स्थानीय सुनाउँछन्। त्यसले पाँच-सात महीना मात्रै खान पुग्ने उनीहरूको भनाइ छ।
स्थानीय दलबहादुर साउद सिंचाइको व्यवस्था नहुँदा ओलानीको अधिकांश खेत बाझो रहेको बताउँछन्। सरकारले पनि सिंचाइको व्यवस्था नगरेको उनको गुनासो छ। “सिंचाइ छैन, खेत बाझो छ। रोजगारी पनि छैन,” उनी भन्छन्, “परिवार पाल्न भारत जानै पर्यो।”
चुरेमा भएको दोहनले ओलानीको पूर्व र पश्चिममा रहेका नदीनालामा पानी घटेको छ। गर्मी याममा त खोलानाला सुक्खा रहने गरेको साउद सुनाउँछन्। “बर्खामा बाढी आउँछ, अन्य सिजनमा पानी नै हुँदैन,” उनी भन्छन्।
अहिले जमीनमुनिको पानीको सतह पनि घटेको छ। चुरेको फेदमा भएकाले सजिलै जमीनमुनिको पानी निकाल्न पनि सकिंदैन। पहिलो केही फुटमै पानी आउँथ्यो भने अहिले २०-२५ फिट गहिरो खन्दा पनि पानी नआउने गरेको साउद सुनाउँछन्। पानीको सतह घट्दा खेत पनि सुक्खा रहने गरेको उनको भनाइ छ।
अर्कातिर, कुन समयमा कुन खेती गर्ने भन्ने ज्ञान नभएकाले पनि समस्या भएको उनी सुनाउँछन्। धानमै निर्भर किसानले अन्य खेतीतिर ध्यान नदिंदा समस्या भएको साउद बताउँछन्। “जमीन कस्तो छ, कुन खेती गर्नुपर्छ भनेर सरकारले बताउनुपर्थ्यो,” उनी भन्छन्, “त्यही अनुसारको बीउबिजन, मलखाद दिएको भए खेत बाँझो रहने थिएन।”
कैलाली र कञ्चनपुरको चुरे क्षेत्रका धेरैजसो बस्तीमा यस्तै समस्या बढ्दै गएको स्थानीय बताउँछन्। पहिले पहाडी क्षेत्रबाट मात्रै भारततिर जाने गरेकामा अहिले तराईबाट पनि जान थालेको जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रवक्ता शिवराज जोशी बताउँछन्। अन्न उत्पादनमा कमी आउन थालेसँगै खेतीपातीमै निर्भर तराईका बासिन्दा पनि भारततिर जाने क्रम बढेको जानकारी रहेको जोशीको भनाइ छ। यसको तथ्यांक भने छैन।
गाउँ नै रित्तो हुने गरी विदेशतिर जाँदा यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्न थालेको छ। गाउँमा मान्छे नहुँदा स्थानीय बासिन्दाले गरिरहेको व्यापार-व्यवसाय पनि सुस्ताउने गरेकाे छ।
ओलानीकै सीतापुरका जैगडीले किराना पसल पनि राखेका छन्। तर पसल पनि मंसीरपछि बन्द हुने गरेको छ। “दशैंतिहारसम्म गाउँमा मान्छे हुन्छन्, पसल पनि चल्छ,” उनी भन्छन्, “मान्छे नै नभएपछि कसले सामान किन्छ? मंसीरपछि मेरो पसल पनि बन्द हुन्छ, म पनि भारततिरै लाग्छु।”
यो पनि पढ्नुहोस् :