जहाँ जीर्ण कक्षाकोठामा ज्यान जोखिममा राखेर पढ्छन् विद्यार्थी
जाजरकोट र रुकुम पश्चिमका विद्यार्थी एक वर्षअघिको भूकम्पले जर्जर बनाएको कक्षाकोठामा डरैडरमा पढ्न बाध्य छन्। धेरै कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाइँदा उनीहरूको सिकाइ पनि कमजोर भएको छ।
जाजरकोटको भेरी नगरपालिका–२, बाहुनथानास्थित शंखरभवन माध्यमिक विद्यालयको कक्षा ९ की छात्रा हुन्, जमुना ओली (१४)। तर उनलाई विद्यालय जान डर लाग्छ। भरसक जानै नपरे हुन्थ्यो भन्ने लाग्छ।
पढ्न मन नभएर वा शिक्षकको डरका कारण उनलाई यस्तो लागेको हैन। विद्यालयको भवन लडेर किच्ने हो कि भन्ने डरले उनी पढ्न जान हच्किन्छिन्। कक्षाकोठामा रहुन्जेल पढाइभन्दा त्यही डरले उनको दिमागमा डेरा जमाइरहन्छ।
एक वर्षअघि, २०८० कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले जमुना पढ्ने विद्यालय भत्कायो। केही कक्षाकोठा मात्र बचे, तर ती पनि सग्ला रहेनन्। चर्किएर असुरक्षित छन्। भूकम्पपछि उनी सहितका विद्यार्थी केही समय विद्यालयको खुला मैदान र संघसंस्थाले बनाइदिएको बाँसबाट निर्मित अस्थायी सिकाइ केन्द्र (टीएलसी)मा बसेर पढे। तर अहिले चिसो बढेपछि र टीएलसी भवन पनि जीर्ण भएपछि उनीहरू चिरैचिरा भएको कक्षाकोठामै फर्केर पढ्न थालेका छन्।
कक्षाको चर्केको भित्ता देखाउँदै जमुना भन्छिन्, “पढ्दै गर्दा भूकम्प आयो भने हामी यहीं मर्छौं कि भन्ने डर लाग्छ। भित्ता, ढोका, छत पनि भत्किएको छ। मरिन्छ कि भनेर स्कूल आउनै डर लाग्छ।”
उनको यस अभिव्यक्तिमा छेउमा रहेका उनका साथीहरूले पनि सहमति जनाए। सबैजसोले विद्यालय आउन डर लाग्ने सुनाए।
यता रुकुम पश्चिमको सानीभेरी–१, भण्डारवनमा अवस्थित श्री जनप्रिय आधारभूत विद्यालयका विद्यार्थीको मनोदशा पनि यस्तै छ। कक्षा ५ सम्म पठनपाठन हुने यस विद्यालयका सबै कक्षाकोठा भूकम्पले चर्किएका छन्। चर्केको भवनमा बसेर पढ्नुपर्दा कक्षा ५ की विद्यार्थी बिन्दु केसी पहिले धेरै अत्तालिन्थन्। अहिले पनि कक्षामा पस्नुअघि सजग हुन्छिन्। “हाम्रो र अरू कक्षा पनि भूकम्पले चर्किएका छन्। भूकम्प गयो भने हामी मर्ने हौं कि भन्ने लाग्छ,” उनी भन्छिन्।
उनकै कक्षामा पढ्ने पेलना पुन, ईश्वरी खड्का र पवित्रा गड्तीले पनि आफूहरूलाई पनि त्यस्तै लाग्ने सुनाए।
हुन पनि उनीहरूको कक्षाकोठा यति जर्जर छ, भित्ताहरू चिरा मात्र परेका छैनन्, सिमेन्ट र ढुंगा पनि खस्न थालेका छन्। कतिपय कक्षाकोठामा त भूकम्प जाँदा लामो चिरा परेको भित्तामा नै विद्यार्थीले पुस्तक राख्ने गरेको देखियो। कति प्वाल चाहिं शिक्षकले बोरा खाँदेर टालेका छन्। १८२ जना विद्यार्थी भएको यस विद्यालयमा पाँच वटा कक्षाकोठा छन्। त्यसमा पनि दुई वटा टीएलसी छन्।
यस्ता क्षतिग्रस्त कक्षाकोठामा पढ्ने विद्यार्थी मात्र होइन, पढाउने शिक्षक पनि भयग्रस्त मनस्थितिमा हुन्छन्। जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक लाले राना मगर भन्छन्, “जीर्ण भवनमा पढाउँदा डर त हुन्छ, तर अन्य सुरक्षित कक्षाकोठा नभएकाले जोखिम मोलेरै कक्षा सञ्चालन गर्नुपरेको छ।”
यस्तो ज्यानकै जोखिम रहेको जीर्ण भवनमा कक्षा सञ्चालन गर्नुपरेकोबारे प्रधानाध्यापक रानाले नगरपालिकामा बारम्बार भनिरहेका छन्। तर वडादेखि नगरपालिकासम्म कुरा राख्दा पनि नयाँ भवन निर्माणबारे कुनै संकेत नआएको उनी बताउँछन्। “अर्को वर्ष बन्ने नगरले आश्वासन दिएको छ। त्यतिन्जेल यसरी नै पढाउनुपर्ने भयो,” उनी भन्छन्।
शिक्षकले विद्यार्थीलाई कक्षाकोठामा भएको वेला भूकम्प गयो भने डेस्कमुनि पसेर ज्यान जोगाउन भनेका छन्।
भेरी नगरपालिकाको शंखरभवन माविको मुख्य भवन भूकम्पले भत्काएपछि कक्षाहरू दुई ठाउँमा सञ्चालन हुँदै आएका छन्। कक्षा ९ र १० का कक्षा साविककै ठाउँमा र कक्षा ९ देखि तलका कक्षा मुख्य भवनभन्दा आधा घण्टाको पैदल दूरीमा प्रयोगविहीन अवस्थामा रहेको भवनमा सञ्चालन भइरहेको छ। तर यो भवनलाई पनि भूकम्पले क्षति पुर्याएको छ। सुरक्षित पठनपाठनका लागि स्थानीय शिखरापुर क्लबले विद्यालयमा टीएलसी बनाइदिएको थियो। तर घाम लागेपछि बस्नै नसकिने र चिसोमा धेरै चिसो हुने भएपछि त्यो प्रयोगविहीन छ।
भूकम्पपछि जोखिमयुक्त भवनमा बसेर पढ्नुपर्दा विद्यार्थीलाई मानसिक असर परिरहेको शंखरभवन माविका प्रधानाध्यापक भीमबहादुर चन्द बताउँछन्। “कक्षाभित्र बस्दा केही आइहाल्ने हो कि भन्ने उनीहरूको मनमा गढेर बसेको छ। त्यसैले उनीहरूको ध्यान नै त्यतै हुन्छ,” उनी भन्छन्। उनका अनुसार पहिले त विद्यार्थीहरूमा टोलाइरहने समस्या थियो। डर र अत्यासबाट सिर्जित त्यस्तो समस्या समाधान गर्न विद्यालयले केही महीना परामर्श कक्षा सञ्चालन गरेको थियो।
एकै ठाउँमा बहुकक्षा चलाउँदा समस्या
जाजरकोटको दारनेटास्थित विष्णु प्राथमिक विद्यालयमा हिमाल संवाददाता पुग्दा एउटा कक्षाकोठामा प्राथमिक तहकी एक विद्यार्थी उच्च स्वरमा नेपाली पाठ पढिरहेकी थिइन्, त्यही कोठामा अर्कोतिर कक्षा चारका विद्यार्थी उस्तै चर्को स्वरमा अंग्रेजी पाठ पढिरहेका थिए। उनीहरू वेलावेला रोकिएर एकअर्कालाई हेर्थे, अनि फेरि आफ्नो वाचनलाई निरन्तरता दिन्थे।
विद्यालयकी शिक्षिका जयप्रधा ओलीका अनुसार भूकम्पले क्षति पुर्याएपछि कक्षाकोठा अभावका कारण एउटै कोठामा धेरै वटा कक्षाका विद्यार्थी राखेर पढाउनुपरेको हो। “यहाँ कक्षा ३ देखि ५ सम्मका विद्यार्थी एउटै कक्षामा बसेर पढ्छन्,” उनी भन्छिन्।
नर्सरीदेखि कक्षा ५ सम्म पढाइ हुने यस विद्यालयमा ९६ जना विद्यार्थी छन्। कक्षा ३ देखि ५ सम्मका ४८ जना विद्यार्थीलाई एउटै कोठामा राखेर पढाइन्छ। यसरी फरक फरक तहका विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउँदा सकस हुनेबारे शिक्षिका ओली भन्छिन्, “हामीलाई फरक फरक कक्षाका विद्यार्थीलाई विभिन्न शैक्षिक सामग्री प्रयोग गरेर पाठ पढाउनुपर्ने हुन्छ, तर अलग कक्षाको अभावले सम्भव भएको छैन।”
हुन पनि तहगत कक्षा अनुसार विषयहरू फरक हुन्छन्। कम तहको कक्षाका थोरै र माथिल्लो कक्षाका धेरै विषय हुन्छन्। तर स्थानको कमीका कारण सबै कक्षाका विद्यार्थीलाई लगभग समान समय र समान विषय पढाइएको शिक्षक बताउँछन्। “एकै कक्षाकोठामा राखेर सबै प्रयास गर्दा पनि मुख्य गरी कक्षा ४ र ५ का विद्यार्थीलाई राम्ररी पढाउन सकिरहेका छैनौं,” शिक्षिका ओली भन्छिन्, “यसरी पढाएको एक वर्ष भयो। उनीहरूले पनि राम्ररी पढ्न र सिक्न सकेका छन् जस्तो लाग्दैन।”
रुकुम पश्चिमको सानीभेरी नगरपालिका–१ स्थित प्रगति आधारभूत विद्यालयमा पनि कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई एउटै कक्षाकोठामा राखेर पढाइन्छ। भूकम्पपछि विद्यालय भवनमा क्षति पुगेर कक्षाकोठाको अभाव भएकाले यसरी कक्षा चलाउनु बाध्यता भएको प्रधानाध्यापक सौरभ केसी बताउँछन्। “यहाँ त हाम्रो शैक्षिक गतिविधिमा वर्षा, हावाहुरी सबैले बाधा पुर्याउँछन्। राम्रो मौसममा पनि एउटै कोठामा धेरै वटा कक्षाका विद्यार्थी राखेर पढाउँदा हामीलाई नै राम्रो लाग्दैन,” उनी भन्छन्।
जाजरकोटको शंखरभवन माविमा त कक्षा ९ र १० लाई एकै स्थानमा राखेर पढाइएको छ। जबकि कक्षा १० का विद्यार्थीले आउँदो चैतमा एसईई परीक्षा दिंदै छन्। यस्तो वातावरणमा पढेर उनीहरूको सिकाइमा कति असर पर्ला?
सानीभेरी नगरपालिका–१, पक्रैयाको शीतल माध्यमिक विद्यालयको अवस्था पनि यस्तै छ। भूकम्पले भवन क्षतिग्रस्त बनाएपछि यस विद्यालयमा प्रारम्भिक बाल विकास (ईसीडी)देखि कक्षा ५ सम्मका कक्षा प्रभावित छन्। विकल्प नहुँदा भित्ता चर्केको कक्षाकोठामै कहिले कक्षा १ देखि ३ सम्म त कहिले ३ देखि ५ सम्मका विद्यार्थी राखेर पढाउनुपरेको प्रधानाध्यापक वेदकुमार पुन बताउँछन्। यस विद्यालयमा २९१ विद्यार्थी छन्।
प्रधानाध्यापक पुन भन्छन्, “कक्षा चलाउन गाह्रो त भइरहेको छ, तर त्योभन्दा पनि ठूलो कुरा चाहिं दिउँसोको समयमा भूकम्प गयो भने के गर्ने भन्ने चिन्ता लाग्छ।”
कोभिड–१९ र लकडाउनले विद्यार्थीको पढाइ पहिलेभन्दा कमजोर भएको अवस्थामा भूकम्पपछि एकै स्थानमा विभिन्न तहलाई पढाउँदा विद्यार्थीको सिकाइ झन् प्रभावित भएको शिक्षकहरू बताउँछन्। शीतल माविका प्रधानाध्यापक वेदकुमार पुन भन्छन्, “दुई फरक कक्षाका विद्यार्थीलाई एकै ठाउँमा राखेर पढाउँदा दिक्क मानेको पाउँछु। जति गर्दा पनि विद्यार्थीको ध्यान आफ्नो पाठ्यपुस्तकतिर जाँदैन।”
यस्तो समस्याकै कारण विद्यार्थी विद्यालय नियमित नआउने समस्या बढेको उनको भनाइ छ।
शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमा कक्षाकोठामा क्षमताभन्दा बढी विद्यार्थी राखेर पढाउनु २० जना क्षमताको होटलमा ४० जना कोचेर खुवाउनु सरह भएको बताउँछन्। “त्यस्तो अवस्थामा होटलमा ग्राहकले खान त खान्छन्, तर कोहीले उभिएर र कोहीले भुइँमै बसेर खानुपर्ने हुन्छ। एउटै कोठामा धेरै जनालाई राखेर पढाउँदा पनि विद्यार्थीले पढ्न त पढ्लान्, तर सिकाइ राम्रो हुँदैन र पढाइ खस्किँदै जान्छ,” उनी भन्छन्।
भवन निर्माणमा ढिलाइ
एक वर्षअघिको भूकम्पबाट जाजरकोटमा ४०० विद्यालयको भवनमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय, जाजरकोटको तथ्यांक छ। भूकम्प गएपछि केही समय विद्यालयमा पठनपाठन बन्द भयो। तर अहिले जीर्ण र जोखिमयुक्त भवनमै कक्षा सञ्चालन हुँदै आएको छ।
ज्यानको जोखिमबीच विद्यार्थी र शिक्षकले त्रासको मनस्थितिमा पढ्दै/पढाउँदै आए पनि स्थानीय सरकारले भने विद्यालय भवन निर्माण गर्न तदारुकता देखाएको छैन। आफ्नो बजेटले भवन बनाउन सक्ने अवस्था नरहेको उनीहरूको भनाइ छ। सानीभेरी नगरपालिका–१ का वडाध्यक्ष टेकबहादुर पुन संघसंस्थाले लगानी गरिदिए भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने बताउँछन्। “सानो लागतले सुरक्षित भवन नबन्ने भएकाले स्थानीय तहको पहुँचमा छैन। त्यसैले यसमा संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्छ,” पुन भन्छन्। आधारभूत तहका विद्यालयका भवन बनाउन प्रदेश सरकारसँग बजेटको माग गरेर पठाए पनि उपलब्ध नभएको उनको भनाइ छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव लक्ष्मीप्रसाद भट्टराई भत्किएका विद्यालयका संरचनाको अवस्था हेरेर प्राथमिकता अनुसार भवन बनाइने बताउँछन्। भवन निर्माणका लागि मन्त्रालय अन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन एकाइ बनेको छ। विभिन्न दातृ निकायले विद्यालय भवन बनाउन आर्थिक सहयोग पनि गरिरहेको छ। भवन बनाउने कतिपय आयोजनामा दातृ निकायसँग सम्झौता भइसके पनि निर्माण कार्यअघि नबढेकोबारे भने थाहा नभएको सहसचिव भट्टराईको भनाइ छ।
“भूकम्पले क्षति गरेको वर्षदिन नाघिसक्दा विद्यालय भवन निर्माणको काम त शुरू भइसक्नुपर्ने हो। तर किन रोकिएको छ, हामीले पनि थाहा पाएका छैनौं,” भट्टराई भन्छन्, “केही प्रक्रियाका कारण ढिलो भएको हुन सक्छ।”
भवन निर्माणमा ढिलाइ भइरहँदा सरकारको मुख ताकेर विद्यालयले जोखिमयुक्त कक्षाकोठामै पढाउनुभन्दा विकल्प हेर्नुपर्ने शिक्षाविद् माथेमा सुझाव दिन्छन्। असुरक्षित भवनबाट विद्यार्थी निकालेर चौरमा अलग अलग कक्षा सञ्चालन गर्न सकिने उनी बताउँछन्। उनका अनुसार विश्वको उदाहरणीय शिक्षा पद्धति मानिने भारतको कलकत्तामा रहेको रवीन्द्रनाथ टेगोरको शान्ति निकेतन पाठशालामा सधैं बाहिर खुला ठाउँमै पढाइ हुन्छ। उनी आफैंले पनि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा लामो समय बाहिरै प्रकृति नजीक विद्यार्थीलाई राखेर पढाएका थिए। “बाहिर चिसो भए पनि तत्कालको विकल्पमा ज्यान जोगिने र सिकाइ पनि कमजोर नहुने तरीका यही हो,” उनी भन्छन्।
चिसो मौसममा यो विकल्पले काम नगरे केही सुरक्षित कोठा छन् भने बिहान र बेलुका रुटिन मिलाएर कक्षा सञ्चालन गर्न सकिने माथेमाको सुझाव छ।
यो पनि पढ्नुहोस्-