एकपछि अर्को गर्दै यो वर्ष ‘ब्लकबस्टर’ बनेका फिल्मले उकासिएको नेपाली फिल्मको बजार कति दिगो होला?
लक्ष्मीपूजाको दिन अर्थात् कात्तिक १५ बाट सिनेमाघरमा चलेको फिल्म पूर्णबहादुरको सारङ्गी ले मनग्गे लक्ष्मी बटुलिरहेको छ र याे गति अझै राेकिने देखिँदैन।
तेस्रो सातामा पनि सिनेमाघरमा दर्शक खचाखच छन्। निर्माता विनोद पौडेलका अनुसार फिल्मले मंसीर २ गतेसम्म ३४ करोड ३६ लाख रुपैयाँको व्यापार गरेको छ। यो फिल्म तीन करोड ३० लाख रुपैयाँमा बनेको हाे। ‘एक कान, दुई कान, मैदान’ पूर्णबहादुरको सारङ्गी मा ठ्याक्कै लागू भएको छ।
विजय बराल, अञ्जना बराइली, प्रकाश सपुत, मुकुन भुसाल, बुद्धि तमाङ लगायतको अभिनय रहेको यस फिल्मले सामाजिक सञ्जाल प्रयाेगकर्ताकाे पनि साथ पायाे। सञ्जालमा आएका सकारात्मक प्रतिक्रियाले दर्शकलाई हलसम्म पुर्याइरहेको पौडेल सुनाउँछन्।
VIDEO
पूर्णबहादुरको सारङ्गी को सफलताले नेपाली फिल्मको बजार उकासिंदै गएको चर्चालाई बल पुगेको छ। उसो त यस वर्ष दशैंको छेका पारेर आएका केही फिल्मले पनि राम्रो व्यापार गरेका थिए। “वर्षमा एकाध फिल्म मात्र ‘ब्लकबस्टर’ हुन्थे। यस वर्ष एकै पटक चार वटा फिल्म ‘ब्लकबस्टर’ भएका छन्, यो राम्रो संकेत हो,” कलाकार एवं निर्माता दीपकराज गिरी भन्छन्।
यसअघि केकी अधिकारीको अभिनय रहेको बोक्सीको घर फिल्म ‘ब्लकबस्टर’ बन्यो। सुलक्षण भारतीको निर्देशन रहेको यो फिल्म केकी अधिकारी फिल्म्सले निर्माण गरेको थियो।
त्यस्तै, दीपाश्री निरौलाको छक्कापञ्जा-५ , विराज भट्टको १२ गाउँ पनि ‘ब्लकबस्टर’ बने। छक्कापञ्जा शृंखलाको पाँचौं फिल्ममा दीपकराज गिरी, वर्षा शिवाकोटी, केदार घिमिरे लगायतको अभिनय छ। त्यस्तै, १२ गाउँ मा विराजसँगै उनका छोरा समीर, न्यान्सी खड्का, सनिशा भट्टराई लगायतले अभिनय गरेका छन्। “नेपाली फिल्मका लागि यो वर्षको शुरूआत निकै उत्साहजनक रह्यो, अहिलेसम्म चार वटा फिल्म त ‘ब्लकबस्टर’ बने, यो खुशीको कुरा हो,” गिरी भन्छन्।
यी बाहेक यस वर्ष आएका थुप्रै फिल्मले दर्शकको साथ पाए। जस्तो- घरज्वाइँ, गाउँ आएको बाटो, फर्कीफर्की, पूजार सार्की, महाजात्रा, ज्वाइँसाब, बेहुली फ्रम मेघौली, मनसारा, शाम्भाला, डिग्री माइला ले राम्रो कमाइ गरे।
VIDEO
पछिल्ला फिल्मले त सिनेमाघरमा एकछत्र राज गरे। प्रायः हिन्दी फिल्मको दबदबा रहने सिनेमाघरमा यस पटक नेपाली फिल्म छाउँदा विदेशी फिल्म छायामा परे। निकै ठूलो ब्रान्डका हिन्दी फिल्म सिंघम अगेन र भुलभुलैया-३ समेत पछारिए।
अहिले सिनेमाघरमा देखिएको दर्शकको लहर कत्तिको दिगो हुन्छ? नेपाली फिल्मको पछिल्लो व्यापारले आशा जगाएको निर्माता तथा निर्देशकहरू बताउँछन्। यसलाई दिगो बनाउन विषयवस्तुमा ध्यान दिनुपर्ने उनीहरूको कथन छ। अहिलेको चर्चित फिल्म पूर्णबहादुरको सारङ्गी का निर्माता पौडेल भन्छन्, “विषयवस्तुमा ध्यान दिनुपर्छ, पूर्णबहादुरको सारङ्गी विषयवस्तुले नै चलेको हो।”
निर्माता दीपेन्द्र गौचन पनि कथावस्तुमै जोड दिन्छन्। तथापि फिल्म कुल वेला चल्छ भन्ने भरोसा नहुने उनको भनाइ छ। “कुनै कुनै अपेक्षा नै नगरेका फिल्म ‘ब्लकबस्टर’ भएका छन्। कुनै महँगो लगानीमा धेरै आशा गरेर बनेका फिल्म पनि ‘फ्लप’ भएका छन्,” गौचन भन्छन्, “त्यसैले फिल्मको ब्रान्डभन्दा पनि कथावस्तुलाई प्राथमिकता दिनु जरूरी हुन्छ।”
यससँगै फिल्मले दर्शक र समाजलाई के सन्देश दिन्छ भन्ने महत्त्वपूर्ण हुने उनको भनाइ छ। यसमा निर्माताहरू पनि निकै संवेदनशील हुनुपर्नेमा गौचन जोड दिन्छन्।
कलाकार गिरी पनि विषयवस्तुलाई ध्यान दिनुपर्ने बताउँछन्। सामाजिक सञ्जाल तताएर दर्शकलाई जबर्जस्ती हलमा जान लगाउनुभन्दा पनि मन छुने फिल्म बनाएर आफैं हलसम्म पुग्ने बनायो भने अहिलेकै रफ्तारमा व्यापार चल्नेमा उनी विश्वस्त छन्। “नेपाली फिल्मको अहिलेको व्यापार दिगो हुने कुरा फिल्मको कथावस्तु र गुणस्तरीयतामा निर्भर रहनेछ,” उनी भन्छन्।
VIDEO
निर्माता पौडेल सामाजिक कथावस्तुलाई जीवनसँग जोडेर पस्किनुपर्ने बताउँछन्। जसले गर्दा दर्शकले आफ्नो जीवनलाई फिल्ममा पाउँछन्। उनी थप्छन्, “फिल्म मनले बनाइनुपर्छ। त्यसमा लगानी र अन्य कुराभन्दा पनि फिल्म हेरिरहँदा दर्शकको मन छोयो भने त्यही चल्छ र दिगो पनि हुन्छ।”
कसरी दिगो बनाउने?
‘फिल्म जस्तो भयो जिन्दगी।’ प्रायः भावनामा बग्दा धेरैले भन्ने वाक्य हो, यो। यसले फिल्म भनेको वास्तविक जीवनभन्दा परको कथा हो भन्ने भाव दिन्छ। तर पछिल्लो समय दर्शकले रुचाएका फिल्मले भने यसलाई उल्टाइदिएका छन्। आमजीवनसँग मेल खाने, सबैको साझा कथालाई नै दर्शकले रुचाइरहेका छन्।
यस्ता कथाले दर्शकलाई सिनेमाघरसम्म पुर्याएका छन् भने रुवाउँदै फर्काएका पनि छन्। काल्पनिक संसारभन्दा वास्तविक जीवनसँग मेल खाने कथामा दर्शक झुम्मिने गरेको निर्माता गौचन सुनाउँछन्। “फिल्म भनेको मानिसको साधारण जीवनभन्दा ठूलो हुन्छ, घटनाक्रम पनि जिन्दगीमा नघट्ने खालका एकदम अनौठो, एकदमै रोमाञ्चक हुन्छन् भन्ने छाप बसेका दर्शकले अहिले सामाजिक यथार्थमा आधारित कथा रुचाएका छन्,” उनी भन्छन्, “अहिले आएर दक्षिण भारतीय र बलिउड फिल्मको ठाउँमा नेपाली फिल्म मन पराउन थालेका छन्।”
नेपाली फिल्म जगत् र दर्शक बलिउड फिल्मबाट प्रभावित हुँदै आएका छन्। अहिले पनि बलिउडकै सिको गरिंदै आएको छ। यस्तो वेला दर्शकले नेपालीपनको फरक स्वाद मन पराउनुलाई राम्रो संकेतका रूपमा हेरिएको छ। यसलाई फिल्मकर्मीले पनि नेपालीपन, सामाजिक कथावस्तु उजागर गर्ने अवसरका रूपमा लिनुपर्ने गौचनको भनाइ छ।
नेपाली फिल्म राम्रो चल्दा र राम्रो कमाइ गर्दा बलिउड तथा दक्षिण भारतीय फिल्मसँग दाँज्ने गरिन्थ्यो, तर त्यो भाष्यलाई पनि पछिल्ला नेपाली फिल्मले बदलिदिएका छन्। यस वर्ष ‘ब्लकबस्टर’ बनेका चार फिल्मलाई हेर्दा त नेपाली दर्शकको रोजाइमा पनि विविधता देखिएको छ। अधिकारीको बोक्सीको घर फिल्म हरर जनरामा बनेको थियो। निरौलाको छक्कापञ्जा-५ कमेडी जनराको हो भने भट्टको १२ गाउँ फिल्म एक्सन जनराको हो।
VIDEO
फरक फरक जनराको फिल्म बनिरहँदा हरेकले आफ्नोपन बोकेको गौचनको निष्कर्ष छ। पूर्णबहादुरको सारङ्गी चलिरहँदा फेरि त्यही किसिमको फिल्म बनाउनुभन्दा नेपालीपनको फरक बनाउनु उत्तम हुने उनको बुझाइ छ। “नेपाली पाराकै मिठास बोकेको वा नौलोपनलाई पस्किदियो भने दर्शकको कमी हुँदैन,” उनी भन्छन्।
एकै किसिमका फिल्म बनिरहेको वेलामा फरक विषयवस्तु समेटिएको कथा आएकाले दर्शकले रुचाएको गिरीको विश्लेषण छ। नेपाली समाजमा भएका अनेकथरी कथालाई संवेदनशील र सिर्जनात्मक ढंगले प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ।
यससँगै फिल्म क्षेत्रमा पनि स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने निर्माता तथा निर्देशकहरूको भनाइ छ। नेपाली फिल्मले बजार पाइरहेको वेला फिल्मकर्मीबीच सहयोगी भावना बढाउनुपर्नेमा उनीहरूको जोड छ। राम्रा फिल्म आपसमा जुध्दा आलोचना पनि हुने गरेको छ। जसले गर्दा न सकारात्मक समीक्षा पाउँछन् न त दर्शक नै।
यस्तो वेला ध्यान दिनुपर्ने कलाकार गिरी बताउँछन्। भर्खरै उनी अभिनीत फिल्म छक्कापञ्जा-५ र ज्वाइँसाब को प्रदर्शन समय जुधेको थियो। चाडपर्व लक्षित गरेर प्रदर्शन गर्दा जुधे पनि दुवै फिल्मले राम्रो व्यापार गरे। यस पटक भने आलोचनाले पनि विज्ञापनको काम गरेको गिरी सुनाउँछन्।
तर सधैं यस्तो हुँदैन। कहिलेकाहीं एउटा फिल्मले राम्रो प्रदर्शन गरिरहेको वेला अर्को फिल्मले पर्खिन सक्नुपर्ने विश्लेषकहरूको भनाइ छ। अहिले केटी हराएको सूचना फिल्म पक्षले त्यही गरेको छ।
VIDEO
“एउटा फिल्म चलिरहेका अथवा राम्रो व्यापार गरिरहेका वेला एकअर्काले साथ दिने हो भने फिल्म क्षेत्रको व्यापार अझ फस्टाउँछ,” निर्माता गौचन भन्छन्, “अहिले पूर्णबहादुरको सारङ्गी ले राम्रो व्यापार गरिरहेको छ। फिल्म क्षेत्रले इतिहास रचिरहेको वेला प्रतिस्पर्धाभन्दा पनि सहयोग गर्नु महत्त्वपूर्ण हुन्छ भनेर सारेका हौं।”
फिल्म पूर्णबहादुरको सारङ्गी ले अहिलेसम्मकै सबैभन्दा बढी कमाउने नेपाली फिल्मको कीर्तिमान बनाएको छ।दोस्रोमा रहेको १२ गाउँ ले २५ करोड ५० लाख, कबड्डी-४ ले २१ करोड ३९ लाख र छक्कापञ्जा-५ ले १९ करोड ८१ लाख कमाएका छन्। त्यस्तै, छक्कापञ्जा-४ ले १७ करोड ५३ लाख, जारी ले १७ करोड १८ लाख र महाजात्रा ले १६ करोड आठ लाख रुपैयाँ कमाएको तथ्यांक छ।
यो पनि पढ्नुहोस् : ‘सानो संसार’ र ‘पूर्णबहादुरको सारंगी’को झंकार