क्रसर र ढुंगाखानीले थिलथिलो बनाएका भीरपाखा दुई दिन लगातार परेको झरीले पग्लिएर पहिरो र बाढी आउँदा रोशी र पनौतीका बासिन्दाले जनधनको ठूलो क्षति बेहोर्नुपरेको छ।
असोज पहिलो सातासम्म काभ्रेपलान्चोकको रोशी र पनौतीका बासिन्दा रोशी खोला वारपार गरिरहेका थिए। चर्को घाममा कतिपय त खोलामै नुहाइधुवाइ पनि गरिरहेका थिए। रोशीले घरखेत नै बगाउला भन्ने कल्पना नै गरेका थिएनन्, किनकि पानी थोरै थियो।
तर रोशी खोला उस्तै रहेन। दुईदिने झरीमा उर्लिएर आएको रोशीले पनौती नगरपालिका र रोशी गाउँपालिकाका कैयौं बस्ती बगायो। घरखेत बगरमा परिणत भए। जनधनको ठूलो क्षति भयो। “रोशी खोला छेउछाउका कैयौं बस्ती सखाप भएका छन्। घरखेत, विद्यालय, पक्की पुल बगेका छन्,” रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा भन्छन्, “क्षतिको विवरण संकलन गरिरहेका छौं, सबै ठाउँमा पुग्न भने सकेका छैनौं।”
असोज १० गते रातिबाट वर्षा शुरू भएको थियो। असोज १२ गते बिहानसम्म त रोशी खोलाको स्वरूप नै परिवर्तन भइसकेको थियो। स्थानीय बासिन्दा यति ठूलो बाढी यसअघि कहिल्यै नदेखेको बताउँछन्। बाढीले आसपासमा पर्ने पनौती नगरपालिका र रोशी गाउँपालिका बस्ती बगाएको छ। पनौती नगरपालिकाको वडा नं. १, २, ३, ११ र १२ मा धेरै क्षति भएको छ। वडा नं. २ र १२ मा रोशीको उद्गम क्षेत्र पर्छ।
पनौती नगरपालिका-२ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीका अनुसार बाढी र पहिरोमा परी पनौतीमा २० जनाको ज्यान गएको छ। तीन जना हराइरहेका छन्।
त्यस्तै, रोशी गाउँपालिकामा १२ जनाको मृत्यु भएको गाउँपालिका अध्यक्ष लामा बताउँछन्। उनका अनुसार बाढीपहिरोमा परी ५० जनाभन्दा बढी घाइते भएका छन्।
बाढीले १० शय्याको रोशी अस्पताल बगाएको छ। ५०० भन्दा बढी घर बगेको गाउँपालिका अध्यक्ष लामा बताउँछन्। “विद्यालय, पक्की पुल, संग्रहालय, चिस्यान केन्द्र बगाएको छ,” उनी भन्छन्। उनका अनुसार १२ वटा विद्यालयमा क्षति पुगेको छ।
बाढीपहिरोमा परी काभ्रेमा ६९ जनाको मृत्यु भएको छ। त्यस्तै, ७१ जना घाइते भएका छन्।
धेरैजसो क्षति रोशी खोला आसपासमै भएको छ। रोशी खोलाले नार्के बजार, कालढुंगा बजार, फलामे साँघुको बस्ती बगाएको पनौती नगरपालिका-२ का वडाध्यक्ष अधिकारी बताउँछन्। “अहिले रोशी खोला आसपास पहिरो नगएको ठाउँ छैन,” उनी भन्छन्।
रोशी खोला क्षेत्रमा रहेका क्रसर र ढुंगाखानी।
रोशी खोला किन यसरी उर्लेर आयो? क्रसर र ढुंगाखानीका कारण विपद् आइलागेको स्थानीय बासिन्दा बताउँछन्। भीरपाखा, खोला छेउछाउका पहाड क्रसर र ढुंगाखानीले तहसनहस गर्दा रोशी खोलामा ठूलो बाढी आएको विज्ञहरूको पनि भनाइ छ।
हुन पनि रोशी खोला आसपास २२ वटा क्रसर उद्योग र ढुंगाखानी रहेको जनप्रतिनिधि बताउँछन्। गेग्रानले खोलाको बाटो छेकिंदा र खनिएका पहाडबाट ठाउँ ठाउँमा पहिरो जाँदा रोशीको रूप फेरिएको छ।
अहिले त रोशी खोलाले आफ्नो बाटो नै फेरेको छ। बस्तीको बीचबाट रोशी खोला बगिरहेको छ। जसले गर्दा कैयौंको उठिबास लागेको छ।
पछिल्लो समय त रोशी खोला छेउछाउबाट ढुंगा, गिट्टी, बालुवा झिक्ने प्रतिस्पर्धा नै चलेको स्थानीय बासिन्दा बताउँछन्। पनौती नगरपालिका र रोशी गाउँपालिकाका अनुसार अहिले रोशी खोला क्षेत्रमा ११ वटा ढुंगाखानी र ११ वटा क्रसर उद्योग छन्।
ढुंगा, गिटी र बालुवाका लागि अन्धाधुन्ध उत्खनन गर्दा अहिलेको अवस्था आएको विपद् जोखिम न्यूनीकरण विज्ञ डा. वसन्तराज अधिकारी बताउँछन्। “रोशी खोलाको माथिल्लो तटीय क्षेत्रमा रहेका क्रसर र ढुंगाखानीले अव्यवस्थित रूपमा गेग्रान जम्मा गरिरहेको हुन्छ। एकै पटक पानी पर्दा खोलाले त्यो गेग्रान बगाएर ल्याउँदा अझ बढी क्षति गर्यो,” डा. अधिकारी भन्छन्।
क्रसर उद्योग खोल्दा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने नियम छ। तर यो क्षेत्रका उद्योगले त्यो नियम पालना गरेका छैनन्। अझ सरकारी अनुगमन नहुँदा पनि मनमौजी रूपमा उत्खनन गर्दै आएका छन्। “वातावरणीय प्रभाव मूल्यांकनका नियम लागू भएको देखिंदैन। माटो र गेग्रान तल खोलामा जान नदिने व्यवस्था गर्नुपर्ने हो, त्यस्तो पनि भएको देखिएन,” उनी भन्छन्।
जल व्यवस्थापन विज्ञ अजय दीक्षित पनि जथाभावी ढुंगामाटो उत्खनन गर्दा बाढीपहिरो निम्तिने बताउँछन्। जलाधार क्षेत्रहरू भिरालो र पहाड हुने भएकाले त्यहाँका ढुंगामाटो उत्खनन गर्दा पानी सोस्न नसकेर सोहोरिएर आउने र क्षति धेरै हुने दीक्षितको भनाइ छ। “रोशी खोलामा भएको अनवरत उत्खनन र दोहनले गर्दा अहिले यति ठूलो क्षति भएको हो भन्न सकिन्छ,” जल व्यवस्थापन विज्ञ दीक्षित भन्छन्।
राज्यको गलत नीतिकै कारण धनजनको क्षति भइरहेको उनको भनाइ छ। “खोलाको ढुंगा र माटोलाई दोहन गर्ने र राजस्वको हिसाबले मात्र हेर्ने गरेका कारण क्षति बेहोर्नुपरेको हो,” दीक्षित भन्छन्।