दुई दिनकै झरीले किन भयो यति ठूलो क्षति?
विपद् बाजा बजाएर आउँदैन भन्ने उखान छ, तर यस पटक बाजा बजाएरै आएको विपद्मा पनि जनधन क्षति हुनबाट जोगाउन सकेनौं।
यो विपद् अपर्झट आएको होइन। ठूलो पानी पर्छ भन्ने पहिल्यै थाहा थियो। जल तथा मौसम विज्ञान विभागले केही दिनअघि नै सूचना जारी गरेर ‘अलर्ट’ गराएको थियो।
तैपनि बर्खा सकिने वेला दुई दिन लगातार परेको झरीले देशभर झन्डै डेढ सय जनाको ज्यान लिएको छ। त्यही हाराहारीमा घाइते छन्। ठूलो संख्यामा हराइरहेका छन्। राजमार्ग अवरुद्ध छन्, जलविद्युत् आयोजनामा क्षति पुगेको छ। अझ मुलुकको राजधानी काठमाडौंमै जनधनको ठूलो क्षति भएको छ।
आखिर काठमाडौंमै पनि यति ठूलो क्षति किन भयो? पहिलो, यो विपद्ले हाम्रो काम गर्ने तौरतरीका कमजोर र अक्षम रहेछ भन्ने देखाएको छ। जस्तो, भूकम्प गएपछि सुरक्षा निकाय तत्कालै उद्धारमा खटिएका थिए। भूकम्प गयो, उद्धार गर्नुपर्छ भन्ने निश्चित जस्तै थियो। त्यसैले सबै लागेका थिए।
अहिले कतै बाढीले बगाएको छ, कतै घरभित्र पानी पसेर मान्छेको बिल्लीबाँठ भएको छ, कतै पहिरोले पुरेको छ। नख्खु खोलामा चार जना टहरामा उद्धार कुरेर बसेको पनि देखियो। यसरी थरीथरीका समस्यालाई सम्बोधन गर्ने संयन्त्र भएन। जसले गर्दा पूर्व सूचना हुँदाहुँदै पनि चुक्यौं।
हाम्रो पूर्व तयारी भनेको तालीम दिने, सरसमान तयार गर्ने हो। यसमा पनि कमीकमजोरी भयो। यस्तो वेला निर्णय कसले लिने, कसको कमान्ड मान्ने भन्नेमा अन्योल हुन्छ। तुरुन्त काम गरिहाल्ने संयन्त्र छैन। हाम्रोमा आदेश चाहिने परिपाटी छ। कसले जिम्मा लिने भन्ने छैन।
विपद्मा मानवीय सहयोग चाहिन्छ। मानवीय सहयोग गर्नेहरूलाई कसैको आदेश चाहिंदैन। जस्तो, नख्खु खोलामा चार जना बगेको देख्ने बित्तिकै चणिकलाल तामाङ बाढीमा हेलिए। एक्लैले दुई जनाको ज्यान जोगाए। विपद्मा उनी जस्तै आदेश विना आफ्नो सहयोगी भावनाले काम गर्ने हो।
तर राज्य संयन्त्र आदेशात्मक भयो। आदेश नदिईकन नजाने चलन छ। कसले आदेश दिने भन्नेमा पनि समस्या रहेछ। जसले गर्दा सावधानी अपनाउन राज्य संयन्त्र चुकेको देखिन्छ।
दोस्रो, असोज १० गतेदेखि पानी आयो। भोलिपल्ट दिनभरि नै वर्षा भयो। क्षति नभए पनि दिनभरिको पानीले डुबान भयो। बल्खु लगायत क्षेत्रमा घर अगाडि घुँडासम्म पानी जमिसकेको थियो। त्यसले क्षति नगरे पनि हिंडडुल गर्न गाह्रो भइसकेको थियो।
असोज ११ गते राति अझ भयंकर पानी आउने पूर्वानुमान थियो। नभन्दै राति पानी दर्कियो। त्यो भनेको निगरानी पुगेन। यो ठाउँमा पानी जम्न सक्छ भन्ने त थाहा छ। अलिकति पानी पर्ने बित्तिकै अग्लो ठाउँमा सार्न सकिन्थ्यो।
काठमाडौंको पानी जाने भनेको टेकु, बल्खु र नख्खुतिर हो। अझ मनोहरा र हनुमन्तेतिर हो। कता कता पानी जम्न सक्छ भनेर थाहै छ। ती ठाउँमा निगरानी गरेको भए क्षति कम हुन्थ्यो।
तेस्रो, खोला बग्ने ठाउँ नै छैन। खोला किनारमै बस्ती पुगेको छ। बाढी आउँदा पानी जाने ठाउँ रहेन। सबैतिर बस्ती विकास भएको छ। यो गलत विकासको नमूना पनि हो। काठमाडौं लगायत धेरै ठाउँमा गलत शहरीकरणले पनि क्षति हुन पुग्यो।
चौथो, मौसम परिवर्तनलाई पनि हेर्नुपर्छ। अहिले काठमाडौंमा पाँच दशकयताकै ठूलो पानी आयो भनिएको छ। यो मौसम परिवर्तनले पनि भएको हो।
योसँगै याद गर्नुपर्ने कुरा भनेको यो बर्खाको अन्तिममा आएको पानी हो। बर्खाको पानी रसाउने ठाउँमा रसाइसकेको छ। थप पानी सोस्ने बाँकी ठाउँ कतै छैन। जति पानी पर्छ, सबै बगेर जाने हो। झन् त्यसैमा पानी बढी आयो।
पाँचौं, पानीको निकास भएन। केही समयअघि सर्वोच्च अदालतको फैसलाले काठमाडौंका नदीको वरपर २० मिटर छोड्नुपर्ने विषय चर्चामा रह्यो। अहिलको अवस्था हेर्दा त २० मिटरले पनि नपुग्ने रहेछ। धेरै भित्रसम्म डुबाएको छ। हामी खोलाबाट पर छौं, तैपनि डुबानमा परेका छौं। पानीको निकास नहुँदा यस्तो भएको हो।
पहिला पानी कता जान्थ्यो? कता होचो छ? कता अग्लो छ? यो विषयमा पनि पर्याप्त अध्ययन गरिएको छैन। मनलाग्दी निर्माण भएका छन्। काठमाडौं उपत्यकामा सडक, भवन, घर लगायत संरचना बनाउँदा पानी कहाँदेखि कहाँ जान्छ भन्ने हेरिएको छैन।
पहिलेका पानी बग्ने बाटो मासिए। नयाँ मार्ग छैन। सबै पानी सडकमा आउन थालेको छ। सडक किनारतिर घर बनाएर पानीको बाटो छेकिएको छ। यो सबै कारणले पनि क्षति बेहोर्नुपर्यो।
छैटौं, पहिले थुप्रै खहरे खोला थिए। खहरे खोलामा सधैं पानी आउँदैन। पानी आउँदैन भनेर सडक बनाइयो। त्यसको उदाहरण कपन हो। खोलालाई ढलमा हालेर माथिबाट सडक बनाइएको छ। त्यो वरपर जग्गा बेच्यो। घर बने। बजार नै बन्यो। बर्खामा त्यो खोला उर्लिहाल्छ।
यो जस्तै उपत्यकामा कैयौं खोला, खहरे तथा खोल्सा थिए। अहिले सबै मासेर सडक बनेका छन्। बागमती, विष्णुमती जस्ता केही ठूला नदी बाहेक सबै खहरे, खोला तथा खोल्सा मासिएका छन्। टुकुचा खोलालाई ढाकेर माथि घर बनाएकै हो। खोलाको बग्ने बाटोलाई सक्दो मास्ने, नसके साँघुरो बनाउने गरिएको छ।
सातौं, पहिला बाढी आउँदा फैलिन्थ्यो र गति कम हुन्थ्यो। अहिले एकै ठाउँमा भरिन्छ र गति तीव्र हुन्छ। टेकु, बल्खुमा पुग्दा गति झन् तीव्र हुन्छ। त्यसैको परिणाम उपत्यकामा यति ठूलो क्षति भयो।
यो त काठमाडौं उपत्यकाभित्रको समस्या भयो। उपत्यका बाहिर धेरैजसो राजमार्गमा क्षति भएको छ। कतै राजमार्ग भत्किएका छन् भने कतै पहिरोले गाडी पुरेको छ। अहिले पनि लास निकालिरहेका छौं।
राजमार्गमा कहाँ पहिरो आउँछ, कहाँसम्म गाडीलाई जान दिने भनेर तय गर्नुपर्थ्यो। दुई दिन गाडी रोकेको भए जनधनको क्षति हुनबाट जोगाउन सकिन्थ्यो।
पानी परेपछि पनि सतर्कता अपनाउन सकिएन। बाटोमा गाडी फस्नुभन्दा कतै बजारतिरै रोकेर राख्न सकिन्थ्यो। मान्छेको बिचल्ली हुँदैनथ्यो। यो काम पनि हुन सकेन। बसमाथि पहिरो खसेको छ। यो अचानक भएको दुर्घटना होइन, हाम्रो लापरवाहीले भएको हो।
योसँगै सडक निर्माण गर्दा पनि बाढीपहिरोको जोखिमलाई ध्यानमा राख्ने गरिएको छैन। यसले पनि क्षति निम्त्यायो।
यो सबैका पछाडि अर्को कुरा पनि छ, विश्वास। नेपाली विज्ञले निकै राम्रो दक्षता हासिल गरेका रहेछन्। उनीहरूले पहिले नै भनेका थिए, दुई दिन अत्यधिक वर्षा हुन्छ।
त्यो अलिकति अपत्यारिलो पनि लागेको हुन सक्छ। किनकि पानी पर्ने पूर्वानुमान आउँदा असोज ६-७ गतेतिर चर्को घाम लागिरहेको थियो। गर्मी पनि भइरहेको थियो। धरैले यस्तो घाम लागेको छ, पानी आउला र भन्ने सोचे। तर नभन्दै पानी आयो।
एउटा प्रचलित उखान छ, विपद् बाजा बजाएर आउँदैन। यस पटक भने विपद् बाजा बजाएरै आएको थियो भन्न सकिन्छ। किनकि विज्ञले विपद् आउँदै छ भनिसकेका थिए। राज्य होस् कि नागरिक, हामीले हाम्रा विज्ञमाथि विश्वास नगर्दा पर्याप्त सतर्कता अपनाइएन। जसले पूर्व तयारीको समय हुँदाहुँदै पनि विपद्बाट जनधनको क्षति जोगाउन सकेनौं।
(जलाधार विज्ञ उपाध्यासँग धनु विश्वकर्माले गरेको कुराकानीमा आधारित।)