मेलम्ची खानेपानी आयोजनाले क्लोरिनयुक्त पानीको प्रयोगले स्वास्थ्यमा असर परेमा आफू जवाफदेह नहुने भनेर उपभोक्तालाई आतंकित पारिरहेको छ।
केही दिनयता दिनहुँजसो ललितपुरको पाटनढोका क्षेत्रका गल्लीमा सुस्त गतिमा एउटा मोटरसाइकल माइक बजाउँदै आउँछ, टोलवासीलाई आतंकित पार्दै फर्कन्छ। माइकबाट जारी सूचना यस्तो छ, ‘ललितपुर महानगर वडा नं १६ र २० अन्तर्गत पर्ने महापाल, गाबाहाल, लबिम मल, पुल्चोक क्याम्पस, पाटनढोका क्षेत्रभित्र बिछ्याइएको मेलम्चीको पाइप अन्तिम चरणको परीक्षण तथा निर्मलीकरण कार्य भइरहेको हुँदा अत्यधिक मात्रामा क्लोरिन प्रयोग गरिएकाले घरायसी तथा पशुपन्छीजन्य प्रयोजनका लागि मेलम्ची धाराको पानी अर्को सूचना नआउन्जेल प्रयोग नगर्नहुन/नखोलिदिनुहुन अनुरोध छ।’
त्यो सूचनामा थप भनिन्छ, ‘यदि पानी प्रयोग गरेमा त्यसले स्वास्थ्यमा असर पर्न गएमा आयोजना जवाफदेह नहुने जानकारी गराउँछौं।’
यो सूचनाले टोलवासी आतंकित छन्। किनकि ललितपुर-१६ मा पानी बन्द भएको जानकारी वडाध्यक्ष निर्मलरत्न शाक्यलाई पनि जानकारी छैन। शाक्य भन्छन्, “दुई दिनअघि साथीहरूबाट सुनेको हुँ। उहाँहरूले विना परीक्षण कसरी पानी छाडिदिएको होला? कतिपयले त त्यो पानी प्रयोग पनि गरिरहेका होलान्।”
मेलम्ची खानेपानी आयोजनाको काम शुरू भएको दुई दशकभन्दा बढी समयपछि मात्र नागरिकको घरमा आएको मेलम्चीको पानीले उपत्यकावासीमा खुशी ल्याएको धेरै भएको छैन, तर यस्तो सूचनाले वडा नम्बर १६ र २० का टोलवासीलाई उल्टै त्रसित बनाएको छ।
वडा नम्बर २० का वडाध्यक्ष चन्द्रलाल महर्जन आफ्नो वडाका सबै स्थानमा मेलम्चीको पानी आइनपुगेको बताउँछन्। महर्जन भन्छन्, “एक वर्षदेखि वितरण गरेको पानी अहिले आएर विभिन्न बहानामा बन्द गर्नु उचित होइन।”
उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना खानेपानी व्यवस्थापनको जिम्मेवारी काठमाडौं उपत्यका खानेपानी लिमिटेडले लिनुपर्ने बताउँछन्। तिमिल्सिना भन्छन्, “काठमाडौं उपत्यकामा खानेपानी लिमिटेडलाई खानेपानीको जिम्मेवारी दिइसकेपछि व्यवस्थापन गर्ने दायित्व उसको हो। तर विडम्बना नागरिकप्रति अत्यन्तै गैरजिम्मेवार भएको छ।”
मेलम्ची खानेपानी आयोजनाका निर्देशक राजेन्द्र सापकोटा भने सम्बन्धित निकायलाई पूर्व जानकारी दिएर परीक्षण कार्य थालिएको दाबी गर्छन्। सापकोटा भन्छन्, “नागरिकलाई स्वच्छ पानी पुर्याउनका लागि यी क्षेत्रभित्रका पानीका पाइपहरूको परीक्षण गरिएको हो। त्यसैले परीक्षण गर्दा अधिक मात्रामा क्लोरिन प्रयोग गरिएकाले प्रयोग नगर्नु भनेका हौं।”