जति धेरै भाषा जान्यो, त्यति बढी बुद्धिमान्
बालबालिकाले विद्यालय छाड्नुको प्रमुख कारण भाषा पनि एक हो। एउटा भाषा जानेका हुन्छन्, अर्को भाषामा पढाइ हुन्छ, अनि बुझ्दैनन्। नबुझेपछि मनोविज्ञानमा असर पर्छ र पढाइ छोड्छन्।
साधारण किसान परिवारको सदस्य हुँ। सिरहाको नवराजपुर गाउँपालिकास्थित नरहरनियामा सन् १९४६ मा जन्म भएको हो। बाजेबज्यै, आमाबुबा सबैको मुख्य पेशा खेती नै थियो। खेतीसँगै गाई र भैंसी पालिन्थ्यो। म सानो छँदा गाईभैंसी चराउन जान्थें।
त्यो वेला मेरो गाउँ शिक्षामा निकैै पछाडि थियो। गाउँमा एउटा पनि सरकारी पाठशाला थिएन। भारतबाट आएका गुरुजीले गाउँमा बसेर पढाउँथे। मेरो शिक्षाको शुरूआत गुरुजीबाटै भयो। दुई वर्षसम्म गुरुजीबाट शिक्षा आर्जन गरें।
त्यति वेला गाउँमा एक जनाले स्नातकोत्तर गर्नुभयो, उहाँ हुनुहुन्थ्यो- यमुनाप्रसाद यादव। भारतको पटना विश्वविद्यालयबाट पढेर आउनुभएको थियो। शिक्षाप्रति उहाँको अभिरुचि असाध्यै थियो। गाउँमा पाठशाला खोल्न लाग्नुभयो। गाउँका जमीनदारहरूले जग्गा दिएपछि प्राथमिक पाठशाला खुल्यो। म त्यो विद्यालयको पहिलो ब्याचको विद्यार्थी थिएँ। विद्यालयको नाम जनता मावि (सोनवर्षा) थियो।
त्यो पाठशालामा कक्षा ६ सम्म मात्रै पढाइ हुन्थ्यो। कक्षा ७ मा पढ्न बाहिर जानुपर्थ्यो। नजीकमा कुनै हाइस्कूल थिएन। मेरो गाउँबाट तीन कोश दक्षिणतिर बिहारको मधुवनीस्थित खुटौना बजार छ। त्यो बजारमा ‘हाई इङ्लिस स्कुल खुटौना’ थियो।
गाउँको स्कूलपछि पढ्न त्यता लागें। त्यति वेला कक्षा १० लाई ‘म्याट्रिकुलेशन’ भनिन्थ्यो, बिहारकै स्कूलबाट ‘म्याट्रिकुलेशन’ गरें।
राजविराजमा महेन्द्र विद्येश्वरी कलेज थियो। भारतबाट फर्केर राजविराजमै पढें। क्याम्पस पढ्न आर्थिक रूपले कठिनाइ थियो। निकै गाह्रो गरेर पढें। मेरो पढाइप्रतिको अभिरुचि देखेर होला, शिक्षकहरूले निकै सहयोग गर्नुभयो। त्यति वेला आईएमा त्रिभुवन विश्वविद्यालयमा दोस्रो भएको थिएँ।
बीए पढ्नका लागि छात्रवृत्ति पाएँ, त्यसले सजिलो भयो। त्यसपछि त काठमाडौं आएर अंग्रेजीमा एमए पनि गरें।
एमएपछि जागीर गर्नुपरिहाल्यो। २०२४ सालमा एमए गरेकै वर्ष सिरहामा सिरहा इन्टर कलेज खुल्यो। त्यहाँ दुई-तीन महीना पढाएँ। क्याम्पसमा शैक्षिक वातावरण त्यति राम्रो थिएन। त्यसैले पढाउनुभन्दा आफैं पढूँ जस्तो लाग्यो।
अर्को वर्ष जनकपुर आरआर क्याम्पसमा आवेदन खुल्यो। लेक्चररमा छनोट भएँ, २०२५ सालमा। अनि १० वर्ष पढाएँ।
पहिलादेखि नै अंग्रेजी साहित्य वा भाषाविज्ञान पढ्ने इच्छा थियो। भाषाविज्ञान गणितमा आधारित हुन्छ। हरेक कुरा तथ्यका आधारमा प्रस्टसँग भनिन्छ, त्यो मलाई मन पर्थ्यो। कसरी पढ्ने भनेर छटपटी भइरहेको थियो।
भाग्य भनूँ कि के! त्यति वेला दक्षिणएशियामा सबैभन्दा राम्रो ‘इङ्लिस एन्ड फरेन ल्याङ्वेज युनिभर्सिटी’ भारतको हैदराबादमा थियो, अहिले पनि त्यो विश्वविद्यालयलाई राम्रो मानिन्छ। त्रिविले अंग्रेजीका पाँच जना शिक्षकलाई छात्रवृत्तिमा त्यही विश्वविद्यालयमा पढ्न पठायो। मैले त्यहाँबाट अंग्रेजीमा ‘पोस्टग्य्राजुएट इन डिप्लोमा’ गरें। सँगै भाषाविज्ञान पनि पढें। त्यो पढाइ पूरा गरेपछि एमफिल पनि गरें। एमफिल गर्दा मेरा लागि राम्रो भयो, त्यहाँका प्राध्यापकहरूले पीएचडी गर्न प्रोत्साहित गरे।
त्यसपछि पीएचडी गर्ने निर्णयमा पुगें। त्यसै वेला हाम्रो विश्वविद्यालयमा अमेरिकाबाट दुई जना प्राध्यापक पीएचडी गरेर आए, त्यो पनि नयाँ सिद्धान्तमा। अहिले भाषाविज्ञानको संसारमा सबैभन्दा ठूलो विद्वान् प्राध्यापक नोम चोम्स्की हुन्। त्यति वेला चोम्स्कीको नयाँ सिद्धान्त आएको थियो। अमेरिकाबाट आएका प्राध्यापक पनि चोम्स्कीकै सिद्धान्तका आधारमा पीएचडी गरेर आएका थिए।
दुवै जनाले हौसला दिए। त्यही सिद्धान्तका आधारमा पीएचडी गर्नुपर्छ भनेर सहयोग पनि गरे। त्यही सिद्धान्तका आधारमा मेरो मातृभाषा मैथिली भाषाको विषयमा पीएचडी गरें। त्यो समयमा चोम्स्कीको सिद्धान्तका आधारमा पीएचडी गर्ने दक्षिणएशियामै म पहिलो व्यक्ति भएँ। त्यति वेला भारतमा जो पनि मेरो पीएचडीको थेसिस पढ्न चाहन्थे।
पीएचडीपछि जनकपुर फर्किएँ। जनकपुरमा त मेरो पढाइको काम थिएन, ‘फ्रस्टेशन’ भयो। धन्न, जनकपुरबाट त्रिभुवन विश्वविद्यालय, काठमाडौंमा सरुवा भयो। त्रिविमा भाषाविज्ञानमा विद्यावारिधि गरेका चार-पाँच जना मात्रै थियौं।
चूडामणि बन्धु, तेजरत्न कंसाकार, नोबलकिशोर राई, निर्मलमान तुलाधर, माधव पोख्रेल र म थियौं। भाषाविज्ञान विभाग थिएन। सबै मिलेर २०५३ सालमा भाषाविज्ञान केन्द्रीय विभाग खोल्यौं। म प्रमुख भएँ, १० वर्षसम्म। विद्यार्थी पढाउनुका साथसाथै चार वटा विषयमा ‘रिसर्च’ पनि गर्यौं। जनजाति प्रतिष्ठानको सहयोगमा करीब २५-३० वटा भाषाको अभिलेखीकरण गराएँ। एक-एक जना शिक्षक र विद्यार्थीको सहयोगमा काम गरेको थिएँ।
२०६१ सालमा मदन पुरस्कार पुस्तकालय र बेलायतको मिल्टनस्थित खुला विश्वविद्यालयको संयुक्त आयोजनामा काठमाडौंमा ‘कन्फ्रेन्स’ भयो। त्यसमा दक्षिणएशियासँगै यूरोपबाट पनि भाषाविज्ञानका प्राध्यापक आएका थिए। त्यसबाट एउटा फाइदा भयो, सबै मिलेर ‘रिसर्च’ गर्ने निधो गरियो।
त्यो कामका लागि बेलायतका म्यानचेस्टर, गुटेनबर्ग र खुला विश्वविद्यालय, नेपालको त्रिभुवन विश्वविद्यालय र एउटा पेरिसको विश्वविद्यालय जोडिए। यसको संयोजन मदन पुरस्कार पुस्तकालयले गरेको थियो। चार वर्ष लगाएर काम गर्यौं। शब्दकोश पनि तयार गर्यौं।
त्यसपछि ‘फुलब्राइट भिजिटिङ स्कलर’ भएर ‘युनिभर्सिटी अफ सिकागो’ गएँ। त्यहाँ मेरो प्राध्यापक संसारकै नामी भाषाविद् जेम्स डी म्याक्ले हुनुहुन्थ्यो। उहाँले नै मलाई ‘गाइड’ गर्नुभयो। त्यहाँ गएपछि मेरो कार्यक्षेत्रमा संसारभर के काम भइरहेको छ भन्ने थाहा पाएँ। विभिन्न देशका प्राध्यापकसँग नजीक भएँ।
त्यसपछि उहाँँहरूसँग मिलेर धेरै काम गर्यौं। खास गरेर स्वीट्जरल्यान्ड र जर्मनीका विश्वविद्यालयसँग सहकार्य गरेर अनुसन्धान नै गर्यौं। हाम्रा अध्ययन अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।
युनिभर्सिटी अफ लन्डनमा लोप हुने अवस्थामा पुगेका भाषाको डिजिटल अभिलेखीकरण भइरहेको थियो। त्यसमा चाख लाग्यो। त्यसका निम्ति पहल गरें। हाम्रोमा पनि त्यो काम गर्न प्राविधिक सहयोग पायौं। गोर्खामा बोलिने बराम भाषाको अडिओ र भिडिओ बनाएर डिजिटल अभिलेखीकरण गर्यौं। त्यो भाषाको विश्लेषण गरेर व्याकरण बनायौं। त्यसको शब्दकोश र पाठ्यपुस्तक पनि तयार गर्यौं।
नेपालमा भाषिकाको विविधता छ। यो सानो मुलुकमा १२३ वटा भाषा बोलिन्छन्। यसको अध्ययन हुनुपर्छ भन्ने लाग्यो। त्यसैले योजना आयोगको आर्थिक सहयोगमा नेपाल भाषिक अध्ययन (लिंग्विस्टिक सर्भे अफ नेपाल) गर्यौं। मैले शुरू गरेको त्यो कामलाई अरूले पनि निरन्तरता दिए। भाषिक अध्ययन गर्दा विश्वविद्यालयमा विज्ञताको विकास भयो। तर आर्थिक अभावले धेरै लामो अध्ययन हुन सकेन। त्यो प्रोजेक्ट अहिले बन्द छ।
दुई पटक नेपाल प्रज्ञा-प्रतिष्ठानको प्राज्ञ भएँ। त्यहाँ पनि भाषा सम्बन्धी थुप्रै प्रकाशन गरें। रिसर्च गराएँ। मलाई यो कुरा भन्नमा गर्व लाग्छ कि प्रज्ञा-प्रतिष्ठानमा हुँदा गरिएका अध्ययन-अनुसन्धान अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित भएका छन्। अहिले पनि चार वटा अनुसन्धानात्मक लेखमा काम गरिरहेको छु।
त्यस्तै, जनगणनामा पनि काम गरेको छु, सल्लाहकारका रुपमा। २०५८ र २०६८ सालको जनगणनामा तथ्यांक हेरेर भाषाको निर्धारण गरें। यस पटकको जनगणनामा पनि म र डा. लवदेव अवस्थी मिलेर काम गरेका छौं। अहिले भाषाको विश्लेषण हुँदै छ।
भाषाविज्ञानमा अनुसन्धान गरूँ भन्ने सोचें। यसमा आर्थिक लाभ हुन्छ कि हुँदैन भन्नेतिर वास्ता गरिनँ। त्यसैले अवकाश पाएपछि एउटा सानो घर बनाएँ। त्यो घर प्रोफेसरको जस्तो देखिंदैन। मैले आर्थिक नाफाघाटा हेरिनँ, सहकर्मी र विद्यार्थी मिलेर काम गरौं भन्ने सोचें र त्यस्तै गरें।
भाषिक विविधता भएको देशमा सरकारले भाषाको विकासका लागि नीति बनाउनुपर्छ। यसमा अध्ययन-अनुसन्धान गर्न सघाउनुपर्छ। हामी पानीको संरक्षण यसरी गर्ने भनेर लागेका छौं, तर भाषाको संरक्षणतिर ध्यान दिएनौं। भौतिक संसाधनका रूपमा जसरी पानीको महत्त्व छ, त्यस्तै भाषा पनि सांस्कृतिक संसाधन हो। भाषा, संस्कृति र प्राकृतिक सम्पदाबीच अन्तरसम्बन्ध छ। यी एकआपसमा अन्तरनिर्भर छन्। त्यसैले यी सबैको संरक्षण हुनुपर्छ।
नेपालमा थुप्रै भाषाको लिपि समेत छैन। कम बोलिने भाषाका वक्ताको संख्या एकदमै कम छ। त्यो जति वेला पनि लोप हुन सक्छ। त्यसैले भाषाको संरक्षण हुनुपर्छ।
सबै भाषाको डिजिटल अभिलेखीकरण गर्नुपर्छ। त्यसो गर्दा भाषाका वक्ता नभए पनि भाषा मर्दैन। डिजिटल अर्काइभबाट भाषा संरक्षित र पुनर्जीवित गर्न सकिन्छ। जस्तो- आयरल्यान्डमा ‘आइरिश’ भाषाको डिजिटल अर्काइभ गरिएको थियो, त्यसैबाट भाषा पुनर्जीवित गर्न सहज भयो।
भाषा लोप भयो भने संस्कृतिमा पनि ह्रास आउँछ। संस्कृति लोप भएसँगै मानसिक विकासमा पनि असर पर्छ। जस्तै- मगर संस्कृति नेपाली भाषामा अनुवाद गर्दा धेरै कुरा आउँदैन। त्यसैले हरेक भाषाको संरक्षण हुनुपर्छ। अध्ययनले के देखाउँछ भने, जति धेरै भाषा बोल्न आउँछ, त्यति धेरै बौद्धिक विकास हुन्छ। बढी भाषा जान्ने मान्छे बढी बुद्धिमान् हुन्छ।
अर्को, भाषा भनेको सम्प्रेषणको माध्यम हो। सम्प्रेषणका धेरै माध्यम छन्। हात हल्लाएर यता आऊ, जाऊ भन्ने गर्छौं। त्यसमा पनि भाषाको प्रयोग गरेका हुन्छौं।
जातजातिबीच पनि भाषाको सम्बन्ध छ। एउटा भाषा एउटा जाति, एउटा भाषा अनेक जाति, थुप्रै भाषा एउटा जाति। जस्तो- यादव जातिले क्षेत्र अनुसार फरक फरक भाषा बोल्छ। मैथिली बोल्छ, हिन्दी बोल्छ, नेपाली बोल्छ, अवधी बोल्छ र अंग्रेजी पनि बोल्छ। यसरी भाषाको अन्तरसम्बन्ध छ।
भाषा संरक्षण गर्ने धेरै उपाय छन्। डिजिटल अभिलेखीकरण सबैभन्दा राम्रो उपाय हो। अर्को उपाय भनेको भाषाको अधिक प्रयोग हुनुपर्छ। कुनै भाषालाई संरक्षित गर्न त्यसको प्रयोग बढाउनुपर्छ। यसका लागि प्राथमिक शिक्षामा मातृभाषाको प्रयोग गर्नुपर्छ। बच्चाहरूले सिक्छन्। त्यसरी सिक्दा भाषा नयाँ पुस्तामा हस्तान्तरण भइरहन्छ, लोप हुँदैन।
अहिले बच्चाहरू आफ्नो मातृभाषा छाड्दै छन्। स्कूलमा बोलिने भाषा नै घरमा बोलिरहेका छन्, जसले गर्दा मातृभाषा वक्ताको संख्या ह्रास हुँदै गइरहेको छ। यसरी त भाषा लोप भइहाल्छ।
यसका केही बाध्यता पनि छन्। आर्थिक लाभको कुरा छ। एउटा अध्ययनका क्रममा झापा पुगेका थियौं। एउटा गाउँमा नेपाली र अंग्रेजीसँगै सन्थाल भाषाको पढाइ हुन्थ्यो, तर पछि हटाएछन्। स्थानीयसँग हटाउनुको कारण सोध्दा उनीहरूले भने, “हाम्रा छोराछोरी विदेश जान्छन्। विदेशमा आवतजावत गर्दा, गाडी चलाउँदा पनि ट्राफिक नियम अंग्रेजी भाषामा हुन्छ। हाम्रो सन्थाली भाषा वा नेपाली भाषाले काम चल्दैन। त्यसैले अंग्रेजीलाई जोड दियौं।” भाषा यसरी मर्दै छ।
यसको एउटा कारण आर्थिक पनि हो। अर्को, गतिशीलता हो। एउटा पहाडको अथवा तराईको कुनै गाउँमा बसेको मान्छे काठमाडौं आउँछ। तिनका बच्चा स्कूल जाँदा त्यहाँ मातृभाषा हुँदैन, नेपाली वा अंग्रेजी हुन्छ। त्यसैले गाउँदेखि शहर बसाइँ सर्दा पनि मातृभाषाका वक्ता कम हुँदै गएका छन्। यो एउटा बाध्यता हो, किनभने गाउँमा आर्थिक उपार्जनको माध्यम छैन। त्यसैले मान्छे शहर आउँछन्।
यी बाध्यतालाई नकार्न सकिंदैन। तर कुनै जनसंख्या गाउँमा छ अथवा कुनै भाषिक समुदायमा छ भने त्यहाँको मातृभाषालाई शिक्षाको माध्यम बनाइनुपर्छ। स्थानीय प्रशासनमा कामकाजको माध्यम पनि बनाइनुपर्छ। किनभने प्रयोग भएन भने भाषा बाँच्न सक्दैन।
हाम्रो समाज विविधतापूर्ण छ। विविधता हुनु नराम्रो होइन। चार-पाँच भाषा सिक्नुभयो भने अझ बुद्धिमान् बन्नुुहुन्छ। धेरै भाषा सिक्दा एउटा भाषा लोप हुने भएन, अर्को संस्कृति पनि सिकिन्छ। एकअर्काको संस्कृतिबारे जानकारी हुँदा ज्ञानको भण्डार वृद्धि हुन्छ। कुनै कुरा एउटा भाषामा हुँदैन, अर्को भाषामा हुन्छ।
मातृभाषामा शिक्षा भयो भने बच्चाको घरको भाषा र विद्यालयको भाषा एउटै हुन्छ। त्यसले सिकाइ सहज हुन्छ। भाषामा संस्कृति पनि हुन्छ। त्यसले सिकाइलाई सहज बनाउँछ। तर अहिले मातृभाषा वा घरको भाषा एउटा, अनि पाठशालाको भाषा अर्कै भइरहेको छ। त्यसले बच्चालाई असर पर्छ, बुझ्न असहज हुन्छ। भाषा बुझ्नै दुई-तीन वर्ष लाग्छ। त्यसबाट मनोवैज्ञानिक असर पर्छ।
त्यस्तो असरले गर्दा थुप्रै विद्यार्थीले पढाइ छाड्छन्। बालबालिकाले विद्यालय छाड्नुको प्रमुख कारण भाषा पनि एक हो। मातृभाषामा शिक्षा भयो भने पढाइ छाड्ने पनि कम हुन्छन्। एउटा भाषा जानेका हुन्छन्, अर्को भाषामा पढाइ हुन्छ, अनि बुझ्दैनन्। नबुझेपछि मनोविज्ञानमा असर पर्छ, अनि पढाइ छोड्छन्।
मलाई शिक्षा विभागका कर्मचारीले एउटा उदाहरण दिएका थिए। भोजपुरी क्षेत्रमा विद्यालयको निरीक्षण गर्न जाँदा केही विद्यार्थी बाहिर खेलिरहेका थिए, केही कक्षाकोठामा पढिरहेका थिए। खेलिरहेका विद्यार्थीलाई किन नपढेको भनी सोध्दा ‘यो विद्यालय हाम्रो होइन, हामी पढाएको बुझ्दैनौं’ भनेछन्। यसरी हाम्रा विद्यार्थी ‘ड्रपआउट’ भइरहेका छन्। त्यसैले हामीले नीति बनाउँदा बहुभाषिक शिक्षा नीति बनाउन जरूरी छ।
(कुराकानीमा आधारित। मदन पुरस्कार गुठीले प्रा. यादवलाई २०८० सालको जगदम्बा-श्री सम्मान अर्पण गर्ने निर्णय गरेको छ।)