नसलाको ‘मिनी लाइब्रेरी’
![नसलाको ‘मिनी लाइब्रेरी’](https://www.himalkhabar.com/uploads/posts/800X600/B51X9202-1717574972.jpg)
नसला महर्जनले पाटनको आफ्नै घरमा पुस्तकालय स्थापना गरी पठन संस्कृति प्रवर्द्धनको प्रयास गरिरहेकी छन्।
ललितपुरको पाटनमा जन्मेहुर्केकी नसला महर्जन (३३) बाल्यकालमा घर नजिकै पाटनढोकामा अवस्थित पिंगल बाल पुस्तकालय जान्थिन्। बाल साहित्यका किताब पढ्थिन्। अलि ठूली भएपछि अंग्रेजी आख्यान र विदेशी पत्रिका पढ्न एक्टिभ वुमन अफ नेपाल संस्थाले पुल्चोकमा सञ्चालन गरेको ए-वान लाइब्रेरी जान थालिन्।
पिंगल बाल पुस्तकालय अझै पनि सञ्चालनमै छ, ए-वान लाइब्रेरी भने बन्द भइसकेको छ। बरु नसलाले आफ्नै घरमा ‘बूक्स इन : मिनी लाइब्रेरी’ लघु पुस्तकालय नै स्थापना गरेकी छन्।
नसलालाई धेरैले सोध्छन्, ‘पुस्तकालय खोल्ने उपाय कसरी फुर्यो?’ उनको उत्तर प्रस्ट छ, समुदायमा पुस्तकालयको अभाव भएर।
नसला ललितपुरको धापाखेलमा अवस्थित जेम्स स्कूलमा शिक्षिकाका रूपमा कार्यरत छिन्। विद्यालयले पाठ्यक्रम बाहिरको पुस्तक पढ्नै पर्ने नियम बनायो। आफैंले पुस्तकालय पनि स्थापना गर्यो। यसले विद्यार्थीमा पढ्ने बानीको विकास पनि भयो। तर विद्यालयभन्दा बाहिर समुदायस्तरमा पुस्तकालय भेट्नै मुश्किल।
![B51X9175.jpg](https://www.himalkhabar.com/uploads/editor/Book/MiniLibrary/B51X9175.jpg)
त्यसमाथि बाल्यकाल वा किशोरवयमा धेरैजसोसँग मन लागेको पुस्तक किन्ने पैसा हुँदैन। नसलाको बाल्यकालको भोगाइ पनि यही थियो। उनीसँग भन्नासाथ पैसा हुँदैनथ्यो। एउटा किताब किन्न पनि कैयौं दिनको खर्च जोगाउनुपर्थ्यो। त्यसैले पढ्न चाहने बालबालिका र किशोरकिशोरीलाई आफ्नो जस्तो दुःख नहोस्, पहुँच र पैसा दुवै पायक परोस् भनेर पुस्तकालय खोल्ने निर्णयमा उनी पुगेकी हुन्।
शुरू शुरूमा परिवारले नसलालाई घाटा हुने काम नगर्नू भनेका थिए। घरमा एउटा कवल खाली थियो। परिवारले त्यो कवल भाडामा लगाउन वा त्यहाँ आफैंले पसल चलाउन खोजेको थियो। तर उनले त्यही कवलमा पाँच लाख रुपैयाँ खर्चेर पुस्तकालय बनाइन्। किताब मात्र एक लाख ५० हजार रुपैयाँको किनिन्। नसलाले देखेको नाफा पैसा थिएन, पठन संस्कृति थियो।
पुस्तकालय स्थापना भएको अहिले तीन वर्ष पुग्यो। यो अवधिमा २५० जना सदस्य बनिसकेका छन्। एक पटक ८०० रुपैयाँ तिरेपछि ६ महीनासम्म सदस्य हुन पाइन्छ। यस्ता सक्रिय सदस्य नै १६० जना छन्।
![B51X9248.jpg](https://www.himalkhabar.com/uploads/editor/Book/MiniLibrary/B51X9248.jpg)
पुस्तकालयमा अहिले अधिकांश सदस्य कक्षा १ देखि ७ सम्मका विद्यार्थी छन्। केही कलेज तहका विद्यार्थी पनि छन्। ८, ९ र १० कक्षाका विद्यार्थीको संख्या भने न्यून छ। यो समूहका विद्यार्थी चाहिं बढीजसो परीक्षामा केन्द्रित हुने भएकाले कम हुन पुगेको उनको अनुमान छ। तथापि पाठ्यक्रमभन्दा बाहिरको पुस्तक पढ्ने विद्यार्थीको पढाइ पनि राम्रो हुने उनी बताउँछिन्।
सामान्यतः दुई वटा पुस्तक किन्ने पैसाले ‘बूक्स इन’ बाट भने वर्षभरि नै पढ्न पाइन्छ। पुस्तकालयबाट लगिएको किताब एक महीनासम्म राख्न सकिन्छ। म्याद थप्न परे फोन वा मेसेज गर्दा हुन्छ। तर म्याद नाघ्यो भने चाहिं जरिवाना तिर्नुपर्ने नियम बनाइएको छ। पुस्तकालय साँझ ४ बजेदेखि साढे ६ बजेसम्म खुला हुन्छ।
![B51X9213.jpg](https://www.himalkhabar.com/uploads/editor/Book/MiniLibrary/B51X9213.jpg)
अहिले ठाउँ सानो भएकाले पुस्तकालयमै बसेर पढ्न भने अप्ठ्यारो हुन्छ। मूलबाटोको छेउमा भएकाले गाडीको घाइँघुइँले पनि एकाग्र हुन गाह्रो पर्छ।
अंग्रेजी शिक्षण तथा शैक्षिक योजना र व्यवस्थापन गरी दुई विषयमा स्नातकोत्तर गरेकी नसला विद्यालय समय बाहेक पुस्तकालयमै व्यस्त हुन्छिन्। “नयाँ पुस्तामा किताब पढ्ने मोह बढाउनुपर्छ,” उनी भन्छिन्, “अभिभावकले बालबच्चासँगै पढ्नुपर्छ।”
पठन संस्कृति प्रवर्द्धनमा आफूले पनि अग्रसरता लिन सकेकामा उनी सन्तुष्ट छिन्।
![B51X9231.jpg](https://www.himalkhabar.com/uploads/editor/Book/MiniLibrary/B51X9231.jpg)
पुस्तकालयमा अहिले किताब थपिने क्रम जारी छ। पाठकका माग अनुसार पनि किताब उपलब्ध गराउने गरेको उनी बताउँछिन्। विदेश जानेहरू र लेखकहरूले समेत पुस्तक उपहार दिने गरेका छन्।
धेरैजसो पाठकले काल्पनिक कथा पढ्न रुचाउने नसलाको अनुभव छ। त्यस्तै, व्यक्तित्व विकासबारेका किताब पनि बढीजसो लगिन्छन्। बालबालिकाहरू भने बालकथा रुचाउँछन्।