विद्यावारिधिको शोधपत्रमा बौद्धिक सम्पत्तिको दुरुपयोग
त्रिभुवन विश्वविद्यालयमा पढाउने एक जनाले विद्यावारिधिको शोधपत्रमा ला दोर्ची शेर्पाले खिचेको वनस्पतिको तस्वीर सर्जकको नाम नै नराखी प्रयोग गरेका छन्, जुन बौद्धिक सम्पत्तिको दुरुपयोग हो।
व्यवस्थापन विषय पढेका ला दोर्ची शेर्पा वनस्पतिमा विशेष रुचि राख्छन्। उनी १२ वर्षयता वनस्पतिको फोटोग्राफी गरिरहेका छन्। देशका विभिन्न ठाउँ पुगेर विविध प्रजातिका वनस्पतिको तस्वीर खिचिरहेका छन्।
वनस्पतिको तस्वीर खिच्न र पहिचान गर्न चाख राख्ने उनी नचिनेको प्रजाति भेटिए वैज्ञानिक नाम पत्ता लगाउन दत्तचित्त भएर लाग्छन्। यस क्रममा उनले वनस्पतिबारे प्रशस्त जानकारी हासिल गरिसकेका छन्। नेपालको दुर्लभ वनस्पति प्रजाति कुन ठाउँमा पाइन्छ भन्नेबारे उनी जानकार छन्। उनीसँग संगृहीत फोटोका कारण वनस्पति अध्ययन–अनुसन्धान गर्नेहरूलाई सजिलो भएको छ।
वनस्पतिप्रति ला दोर्चीको लगावबाट प्रभावित भएर अनुसन्धाताद्वय मानबहादुर रोकाया र साजन सुवेदीले सन् २०२१ मा नेपालमा भेटिएको विश्वकै नयाँ ऐंसेलु प्रजातिको वैज्ञानिक नामकरण उनकै नामबाट गरे। दोर्ची शब्दलाई ल्याटिन शैली अनुसार दोर्चीई बनाएर रुबस दोर्चीई नाम राखिएको छ (हेर्नुहोस् हिमालखबरमा २०७८ असार ३० मा प्रकाशित ‘नेपालमा भेटियो विश्वकै नयाँ ऐंसेलु प्रजाति’)।
दोर्चीले नेपालका वनस्पतिको अध्ययन–अनुसन्धान गर्नेहरूलाई खुला मनले सहयोग गर्दै आएका छन्। स्नातकोत्तर तहमा शोध गर्ने विभिन्न विश्वविद्यालयका करीब दुई दर्जन विद्यार्थीलाई वनस्पति पाइने ठाउँबारे जानकारी दिएका छन्, तस्वीर उपलब्ध गराएका छन्, केहीलाई स्थलगत अवलोकन गराएका छन्। विद्यावारिधि गरिरहेकाहरूले पनि उनलाई सहयोगका लागि गुहार्छन्।
सहयोग लिएका शोधकर्ताले शोधपत्रमा धन्यवादको सूचीमा नाम लेखिदिंदा नै उनी दंग पर्छन्। अझ, आफूले खिचेका वनस्पतिको तस्वीर प्रयोग हुँदा उनको मनै रमाउँछ। प्रयोग गरिएका तस्वीरमुनि आफ्नो नाम देख्न पाउँदा उनलाई क्यामेरा बोकेर डाँडाकाँडा दगुरेको व्यर्थ भएन भन्ने लाग्छ।
यस्ता उदारमना दोर्ची केही साताअघिको भेटमा आफ्नै सहयोगी व्यवहारप्रति थकथकी मान्दै थिए। खिन्न मुद्रामा उनले भने, “अब बोटानिस्टलाई सहयोग नगर्ने सोचमा पुगें।”
सुनेर एकसाथ दुःख र अचम्म लाग्यो। के भयो भनेर सोधें।
दोर्चीले आफूले खिचेको तस्वीर त्रिभुवन विश्वविद्यालयमा अध्यापन गर्ने बाबामैया प्रधानले विद्यावारिधिको शोधपत्रमा ‘क्रेडिट’ नदिई प्रयोग गरेको बताए। उक्त शोधपत्र नियालेर हेरें। उनी खिन्न हुनु स्वाभाविक रहेछ। शोधकर्ताले अन्तर्राष्ट्रिय मान्यता र हाम्रा प्रचलित ऐन-कानून विपरीत तस्वीर प्रयोग गरेको देखियो।
शोधपत्रमा गलत काम
प्रधानको विद्यावारिधिको शोधपत्रमा तीन वटा तस्वीर दुरुपयोग गरिएको देखिएको हो। उनले सन् २०२१ मा त्रिवि वनस्पतिशास्त्र केन्द्रीय विभागबाट सुनाखरीको डेन्ड्रोबियम जातिबारे ‘ट्याक्सोनोमी अफ सबट्राइब डेन्ड्रोबिनी अफ नेपाल हिमालय’ शीर्षकमा विद्यावारिधि गरेकी थिइन्।
शोधपत्र अनुसार नेपालमा डेन्ड्रोबियम जाति अन्तर्गत २९ प्रजाति छन्। शोधकर्ताले देशभरिको भूगोलको स्थलगत अध्ययन गरेर नभई पूर्व प्रकाशित अभिलेखबाट यो विवरण राखेको बताइएको छ। २९ मध्ये तीन प्रजातिको नमूना पाउन नसकिएकाले २६ प्रजातिको अध्ययन गरिएको उल्लेख छ।
शोधपत्रमा भने २९ वटै प्रजातिका बोट र फूलका स्केच समेटिएका छन्। साथै, २९ प्रजातिको लिप अर्थात् ल्याबेलम (पुष्पपत्र) को स्केच पनि समावेश छन्। यस्तो स्केच वनस्पतिको अनुसन्धान गर्नेका निम्ति प्रजाति पहिचान गर्न अत्यन्त उपयोगी हुन्छ। यसबाट प्रजातिविशेषको फूलको पृथक् संरचना कस्तो हुन्छ भन्ने जानकारी थाहा पाउन अध्येताहरूलाई सजिलो हुन्छ। त्यस्ता संरचना प्रजाति पहिचानको मुख्य आधार मानिन्छ। शोधपत्रमा २० प्रजातिका बोट र १८ प्रजातिका फूलका तस्वीर समेत समेटिएका छन्।
शोधपत्रको पृष्ठ ४२ मा डेन्ड्रोबियमका चार प्रजातिका तस्वीर राखिएका छन्। तीमध्ये क्रमशः आर तथा टी संकेत गरिएका प्रजाति डेन्ड्रोबियम इरिफ्लोरम् र डेन्ड्रोबियम पोर्फाइरोचिलम् हुन्। ला दोर्चीले बताए अनुसार ती दुई प्रजातिका तस्वीर उनले खिचेका हुन्।
उनका अनुसार प्रधानले सुनाखरीका तस्वीर मागेपछि उनले उपलब्ध गराएका थिए। “तस्वीर राख्दा मेरो नाम उल्लेख गर्नुहुन्छ होला भनेर दिएको थिएँ। तर उहाँले त ती तस्वीर आफैंले खिचे जस्तो पारेर शोधपत्रमा राख्नुभएको बल्ल पो थाहा भयो,” उनले सुनाए।
दोर्चीले उपलब्ध गराएको डेन्ड्रोबियम इरिफ्लोरम् र डेन्ड्रोबियम पोर्फाइरोचिलम्को तस्वीर र प्रधानको शोधपत्रमा प्रयोग गरिएका यी दुईको तस्वीर एउटै छन् (हेर्नुहोस् तस्वीर १ र २)। दोर्चीले उपलब्ध गराएका तस्वीरको प्रोपर्टी हेर्दा उनले यी दुई सुनाखरीमध्ये डेन्ड्रोबियम इरिफ्लोरम्को तस्वीर १८ सेप्टेम्बर २०१६ र डेन्ड्रोबियम पोर्फाइरोचिलम्को ६ मे २०१५ खिचेको देखिन्छ।
प्रधानले शोधपत्रको कृतज्ञता खण्डमा ला दोर्ची शेर्पाले स्थलगत अनुसन्धानमा सहयोग गरेको उल्लेख गरेकी छन्। दोर्ची चाहिं प्रधानसँग आफू स्थलगत अनुसन्धानमा कहिल्यै नगएको बताउँछन्। उपलब्ध गराइएको तस्वीरमा दिनुपर्ने ‘क्रेडिट’ नदिएर प्रधानले जाँदै नगएको स्थलगत अनुसन्धानमा नाम जोडिन्। दोर्चीले सहयोगी भावनाले तस्वीर दिए, शोधार्थीले आफैंले खिचेको अर्थ लाग्ने गरी समेटिन्। बौद्धिक सम्पत्तिको चोरी तथा नेपाल सरकारको प्रतिलिपि अधिकार ऐन, २०५९ विपरीतको कार्य हो, यो।
प्रधानले शोधपत्रको पृष्ठ ५० मा डेन्ड्रोबियम हेटेरोकार्पमको तस्वीर राखेकी छन्। त्यो तस्वीर पनि दोर्चीले नै खिचेका रहेछन्। यसमा पनि उनको नाम लेखिएको छैन। (हेर्नुहोस् तस्वीर ३)। यो तस्वीर १ अप्रिल २०१५ मा खिचिएको देखिन्छ।
बौद्धिक सम्पत्ति
प्रधानले ‘शोधपत्रको कृतज्ञता पृष्ठमा ला दोर्चीको नाम लेखेकै छ, त्यसैले उनले गुनासो गर्नु या असन्तुष्टि जनाउनु मनासिब छैन’ भन्ने तर्क गर्न सक्छिन्। बुझ्नुपर्ने कुरा के हो भने, कृतज्ञता खण्डमा सम्बन्धित शोधपत्र वा अनुसन्धानात्मक पत्र तयार गर्दा सघाउने अर्थात् पढेर सुझाव दिने, भाषा सम्पादन गर्ने, तालिका बनाउने, तथ्य जाँच गरिदिने, सम्बद्ध सन्दर्भ थप खुलाइदिने, फिल्डमा सहजीकरण गरिदिने लगायत कार्यका लागि धन्यवाद प्रकट गर्न नाम लेखिने हो। कृतज्ञतामा तस्वीर उपलब्ध गराउने व्यक्तिको नाम लेख्न नमिल्ने होइन। जसले जुन तस्वीर उपलब्ध गराएको हो, त्यो तस्वीर विशेषको नाम खुलाएर त्यसका लागि कृतज्ञता व्यक्त गर्न सकिन्छ।
तर शोधपत्र वा लेखमा कसैले खिचेको तस्वीर प्रयोग गर्नु नितान्त फरक कुरा हो। तस्वीर मौलिक सिर्जना हो। शोधपत्र वा लेख थप सान्दर्भिक, वस्तुनिष्ठ र प्रस्ट बनाउन सकियोस् भन्ने उद्देश्यले अरूका सिर्जना स्रोत खुलाएर वा नाम उल्लेख गरेर समेट्ने गरिन्छ। कसैको मौलिक सिर्जना कुनै सन्दर्भमा शोधपत्र वा लेखमा प्रयोग गर्दा त्यो सिर्जना शोधार्थी वा अनुसन्धाताको हुँदैन। त्यसैले कसैले खिचेको तस्वीर पुस्तक, अनुसन्धानमूलक लेख, शोधपत्र आदिमा प्रयोग गर्दा खिच्ने व्यक्तिको नाम सोही तस्वीरमुनि लेख्नुपर्छ। तस्वीर खिच्न लगाएर पारिश्रमिक दिएको भए पनि त्यस्तो ‘क्रेडिट’ लेख्नै पर्छ। यसमा सामान्यतया सम्झौता नै गर्नुपर्छ।
कसैले खिचेको तस्वीर अरूले मूलतः दुई किसिमबाट प्रकाशन गर्न सक्छन्। पहिलो, खिच्ने व्यक्तिलाई प्रकाशन गर्नेले चलनचल्तीभन्दा बढी रकम दिएर तस्वीरमा सर्जकको नाम नराखी प्रकाशन गर्न पाउने। दोस्रो, चलनमा रहेको रकम दिएर क्रेडिट राखेर प्रकाशन गर्ने। यसमा पनि तस्वीर एक चोटि प्रकाशन गर्ने कि कति पटक भन्ने सम्झौता आवश्यक हुन्छ। यो सन्दर्भ पत्रपत्रिकाको हकमा पनि लागू हुन्छ। कुनै सर्जकले कुनै लेखका लागि तस्वीर उपलब्ध गराएको भए पत्रिकाले उक्त तस्वीर अर्को पटक पनि प्रकाशन गर्नुपर्ने भएमा सर्जकसँग अनुमति लिनुपर्छ। तर हामीकहाँ कस्तो अभ्यास छ भने, एक पटक दिएको तस्वीर पत्रिकाले अर्को पटक प्रयोग गर्दा आर्काइभबाट वा फाइल तस्वीर प्रयोग गरिएको भन्ने अर्थमा लेख्ने गरिन्छ। यो सरासर गलत हो।
माथि चर्चा गरिएका तीन तस्वीर ला दोर्चीको बौद्धिक सम्पत्ति हो। ती तस्वीरको गुणस्तर जस्तोसुकै होस्, त्यो खिच्न उनी समय र पैसा खर्चेर सुनाखरी फुलेको ठाउँमा पुगेका थिए। तस्वीर खिच्न मिहिनेत लाग्यो। खिच्ने उपकरणमा पैसा परेका कारण त्यो लागतको पाटो पनि जोडियो। त्यो सुनाखरीको कुन प्रजाति भनेर अध्ययन र परामर्श गरे। यसकारण ती तस्वीर उनको बौद्धिक सम्पत्ति अन्तर्गत पर्छ र कसैले जुनसुकै प्रयोजनमा प्रयोग गरे पनि दोर्चीसँग स्पष्ट सम्झौता गरिएको हुनुपर्थ्यो। दोर्चीले तस्वीर माग्नासाथ सहजै दिए होलान्, तर कुनै समयमा उनले कानूनको ढोका ढकढक्याए भने प्रयोगकर्ता कारबाहीको भागीदार हुन्छन्।
हामीकहाँ बौद्धिक सम्पत्तिको सुरक्षा गर्न प्रतिलिपि अधिकार ऐन, २०५९ र प्रतिलिपि अधिकार नियमावली, २०६१ कार्यान्वयनमा छ। यस्तै, पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ पनि छ। बौद्धिक सम्पत्तिको प्रतिलिपि अधिकारका लागि तस्वीर पहिले नै दर्ता गर्नु अनिवार्य हुँदैन। कसैले चोरी गरेपछि उजुरी पर्यो भने ऐन आकर्षित हुन्छ।
प्रतिलिपि अधिकार ऐन, २०५९ को दफा १ (८) मा फोटोजन्य सिर्जना पनि बौद्धिक सम्पत्ति मानिने उल्लेख छ। यस्तो कानूनी प्रावधान हुँदाहुँदै कतिपय अनुसन्धाताले तस्वीरको प्रयोगमा खेलबाड गर्नु विडम्बना हो। यसले हाम्रा विश्वविद्यालयमा विद्यावारिधिको शोध निर्देशनको अवस्था कस्तो छ भन्ने पनि झल्काउँछ। शोधार्थीले तयार पारेको विद्यावारिधिको शोधपत्र तीन जना विज्ञबाट रिभ्यू गरिन्छ। त्यो रिभ्यू पनि कति गहिरो या छिपछिपे हुँदो रहेछ भनेर यही प्रकरणबाट अनुमान गर्न सकिन्छ।
अत: विद्यावारिधि गराउने गुरुहरू, रिभ्यू गर्ने विज्ञहरूको क्षमता र विज्ञतामा प्रश्न गर्न सकिन्छ। उनीहरूले बौद्धिक सम्पत्ति, प्याटेन्ट राइटबारे गहिरो गरी बुझ्नुपर्ने देखिन्छ। साथै, यस्ता विषयमा जर्नलका सम्पादक पनि सचेत हुनुपर्छ।