परिवारलाई थाहै नदिई सगरमाथा चढेका विनोद घर फर्किएनन्
परिवारजनलाई थाहै नदिई संसारकै सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका विनोदबाबु बस्ताकोटीले त्यो खुशी आफन्तसँग साट्न भने पाएनन्।
घुमफिरमा रमाउने पोखरा महानगरपालिका-२६ का ३७ वर्षीय विनोदबाबु बस्ताकोटी वेलामौकामा पदयात्रामा निस्किन्थे। पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा गरिराख्ने उनी आरोहणको याममा हिमालसम्म पुग्थे।
सानैदेखि उनको हिमाल चढ्ने रुचि थियो। सगरमाथाको आरोहण गर्ने इच्छा परिवारलाई सुनाउँथे। सुरक्षाका कारण देखाउँदै परिवारजन आरोहणका लागि अनुमति दिंदैनथे। तर उनको मनमा सगरमाथा चढेरै छाड्ने हुटहुटी जागेको थियो।
यस पटक भने परिवारजनलाई सुइँको नदिई उनी सगरमाथा आरोहणका लागि निस्के। आधारशिविर पुगी तस्वीर तथा भिडिओ सामाजिक सञ्जालमा शेयर गरेपछि उनी आरोहणमा गएको थाहा पाएको परिवारजन सुनाउँछन्।
जेठ ४ मा त सगरमाथाको दोस्रो शिविरमा पुगेको भिडिओ सामाजिक सञ्जाल फेसबूकमा शेयर गरे।
त्यसको पाँच दिनपछि जेठ ९ गते बिहान सगरमाथाको चुचुरोमा पाइला राखे। त्यो खबर पोखरास्थित उनको घरमा पनि पुग्यो। उनले सगरमाथा चढेको खबरले परिवारजन पनि खुशी भए।
सगरमाथाको चुचुरोबाट ओर्लिने क्रममा जेठ ९ गते बेलुकी ५ बजे चौथो शिविरमा उनी अचानक बिरामी परे। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-४, बालकुनीमा आइपुग्दा बिरामी (अल्टिच्यूड सिक्नेश) भएकोे पर्यटन विभागको अस्थायी फिल्ड कार्यालय, सगरमाथा आधारशिविरले जनाएको छ।
बालकुनीभन्दा केही तल आठ हजार २५० मिटरमा रोकिए। त्योभन्दा तल ओर्लिन सकेनन्। त्यहीं उनको मृत्यु भएको विभागको अस्थायी फिल्ड कार्यालयका इन्चार्ज खिमलाल गौतमले जनाएका छन्।
सगरमाथा आधारशिविरबाट विभागको अस्थायी फिल्ड कार्यालयले दिएको पत्रमा भनिएको छ, ‘जेठ ९ गते बिहान सगरमाथा आरोहण गरी फर्किने क्रममा सोही दिन साँझ ५ बजेतिर सगरमाथाको चौथो शिविरको माथि बालकुनीको तल लगभग ८२५० मिटरमा आइपुग्दा उनको मृत्यु हुन पुगेको निजलाई शेर्पा गाईड उपलब्ध गराएको कम्पनीको क्याम्प पाईनयर एड्भान्चरबाट जानकारी प्राप्त भएको।’
पर्यटन व्यवसायी समेत रहेका बस्ताकोटीको शव सगरमाथा आधारशिविरबाट काठमाडौं ल्याइएको छ। शुक्रबार उनको शव पोखरा पुर्याइने आफन्तजनले बताएका छन्। उनी यती एभरेस्ट एक्सपिडिशनबाट आरोहणमा गएका थिए।
उनी तीन दाजुभाइमध्ये कान्छा हुन्। उनका श्रीमती र छोरा पोखरामा बस्छन्।