कृषि क्षेत्रले भोग्दै छ जलवायु परिवर्तनको चर्को असर
राष्ट्रिय तथ्यांक कार्यालयले दुई वर्ष लगाएर देशभर गरेको जलवायु परिवर्तन सर्वेक्षणले जलवायुमा आएको अस्वाभाविक फेरबदलका कारण कृषि क्षेत्रले खडेरीदेखि रोग-कीरासम्मको मार खेपिरहेको देखाएको छ।
नेपालमा विविध क्षेत्रमा जलवायु परिवर्तनको असर बढ्दै गएको सरकारी सर्वेक्षणले देखाएको छ। ‘राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०२२’ ले जलवायु परिवर्तनको असरबाट खडेरी चुलिंदै गएको र यसले कृषि उत्पादनमा ह्रास ल्याएको देखाएको छ। ६५ प्रतिशत घरपरिवारले खेती गर्दै आएको खेतबारीमा २५ वर्षदेखि खडेरीको असर परिरहेको सर्वेक्षणमा उल्लेख छ।
राष्ट्रिय तथ्यांक कार्यालयले दुई वर्ष लगाएर सातै प्रदेशमा सर्वेक्षण गरेको हो। जलवायु परिवर्तनले के-कस्ता आर्थिक र सामाजिक असर गरेको छ भन्ने बुझ्न गरिएको सर्वेक्षणमा ६ हजार ५०० जनालाई समेटिएको थियो। सर्वेक्षण प्रतिवेदन गत वैशाख ३१ गते सार्वजनिक गरिएको थियो। तथ्यांक कार्यालयले जलवायु परिवर्तनको असर सम्बन्धमा गरेको यो दोस्रो सर्वेक्षण हो। यसअघि यस्तो सर्वेक्षण पाँच वर्षअघि गरिएको थियो।
सर्वेक्षणमा सहभागी ५० प्रतिशत उत्तरदाताले बालीमा नयाँ रोग र नयाँ कीरा लाग्ने समस्या देखिएको बताएका छन्। रोग र कीराले कृषि उत्पादन घटाउँदा यस विरुद्ध किसानले रासायनिक मल र उन्नत बीउबिजनको उपयोग बढाएको प्रतिवेदनमा भनिएको छ।
सर्वेक्षणमा मुख्य प्रश्नावली र समुदायकेन्द्रित (वडास्तरीय) प्रश्नावली समावेश थिए। प्रश्नावली ६ हजार ५२० घरधुरीमा पुगेर भरिएको थियो। एउटै स्थानमा २५ वर्षभन्दा धेरै समयदेखि बसोबास गरेका ४५ वर्षमाथिका व्यक्तिलाई मात्र सर्वेक्षणमा सहभागी गराइएको थियो।
सुक्दै पानीका स्रोत
सर्वेक्षणमा सहभागी सबैजसो उत्तरदाताका अनुसार पहाडी क्षेत्रका लगभग सबैजसो र कर्णाली क्षेत्रको हिमाली भेगमा खोलामा पानीको मात्रा घट्दै गएको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका दुईतिहाइभन्दा बढी सहभागीले खोला पूर्ण रूपमा सुक्न थालेको बताएका छन्। कोशी प्रदेशका ८० प्रतिशत सहभागीले पानीका मुहान र कुवा सुक्दै गएको बताएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने यो समस्या ७५ प्रतिशत रहेको पाइएको छ। सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका झन्डै आधा जति र मधेश प्रदेशका एकतिहाइले हाते चापाकल सुक्दै गएको बताएका छन्।
सर्वेक्षणले जलस्रोतको संरक्षण र पानी भण्डारण गर्ने प्रभावकारी र दिगो विधिको अभ्यास भने न्यून रहेको औंल्याएको छ। खडेरीको सामना गर्न जल संरक्षणको अभ्यास गर्ने घरधुरी १२ प्रतिशत मात्र रहेको देखिएको छ भने वर्षाको पानी पोखरीमा जम्मा गरेर उपयोग गर्ने घरधुरी दुई प्रतिशत मात्र देखियो।
सर्वेक्षणले विशेषगरी पहाडी र हिमाली क्षेत्रमा बाढीको प्रवृत्तिमा फेरबदल भएको देखाएको छ। पहाडी क्षेत्रका झन्डै ६५ प्रतिशत घरधुरीले विगत पाँच वर्षमा भौतिक पूर्वाधारमै क्षति पुर्याउने बाढीको अनुभव गरेको सर्वेक्षणले जनाएको छ। यस्तै, भौतिक पूर्वाधारमा नोक्सान पार्ने पहिरोको अनुभव गर्ने घरधुरीको संख्या ५० प्रतिशत हाराहारी देखिएको छ।
सर्वेक्षणले जलवायु परिवर्तनको असरका कारण पहाडी क्षेत्रले ठूलो आर्थिक नोक्सान बेहोरिरहेको देखाएको छ। त्यस्तै, शहरबजारमा बस्ने र सञ्चारमाध्यमको समाचार उपभोग गर्ने पाठक एवम् श्रोताहरूमा पनि जलवायु परिवर्तनबारे जानकारी नभएको देखाएको छ।
‘असर बुझ्ने आधार’
जलवायु परिवर्तनको असर नेपालमा विभिन्न क्षेत्रमा छ भन्ने जगजाहेर नै भइसकेको तर क्षेत्रगत आधारमा वनसम्पदा, कृषि प्रणाली, ऊर्जामा कहाँ, कति प्रभाव परेको छ भन्ने बुझ्न यस सर्वेक्षणले सघाउने जलवायु विज्ञ धर्मराज उप्रेती बताउँछन्। “जलवायु परिवर्तनको मुद्दा नेपाल सरकारको वन मन्त्रालय र त्यो पनि मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखामा मात्र सीमित रहेको अवस्थामा सर्वेक्षणले यस विषयलाई व्यापक बनाउन सघाउनेछ,” उनी भन्छन्।
संरक्षण विज्ञ मधुकर उपाध्या देशव्यापी सर्वेक्षण भएकाले जलवायु परिवर्तनले पारेको देशभरको असर बुझ्ने आधार भएको बताउँछन्। “सर्वेक्षणले उच्च पहाडी भूगोल (हिमाली क्षेत्र), मध्यपहाडी क्षेत्र, तराईमा के भइरहेको छ भन्ने अनुमान गर्ने आधार दिएको छ भने देशभर के भएको छ भन्ने बुझ्ने आधार पनि दिएको छ,” उनी भन्छन्।
यो पनि पढ्नुहोस् : तराईका बाली हिमाल उक्लिंदै, हिमालका हराउँदै