‘नेता त ठूला पायौं, तर विकास पाएनौं’
प्रतिनिधि सभा सदस्यको उपनिर्वाचन हुन लागेको इलामका मतदाता ठूल्ठूला नेता पाए पनि विकास नपाएको गुनासो गर्छन्।
प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा उपनिर्वाचनको मिति नजिकिंदै जाँदा उम्मेदवारहरू घरदैलोमा व्यस्त छन्। सरकारको नेतृत्व गरिसकेका दलका उम्मेदवार र कार्यकर्ता मतदातासँग अधुरा रहेका विकास निर्माण पूरा गर्ने र आउँदो दिनमा थप योजना ल्याउने वाचा गरिरहेका छन्।
त्यस्तै, अहिलेसम्म सरकारमा नपुगेका दल तथा स्वतन्त्र उम्मेदवार र कार्यकर्ता यसअघिका जनप्रतिनिधिले केही गर्न नसकेको स्मरण गराइरहेका छन्। उनीहरू यस क्षेत्रको विकासका लागि आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गरिरहेका छन्।
उम्मेदवार र कार्यकर्तालाई चुनावी चटारो भए पनि यस क्षेत्रमा मतदातालाई उपनिर्वाचनले खासै छोएको देखिंदैन। वैशाख पहिलो साताको एक मध्याह्न इलामको दक्षिणी क्षेत्र चुलाचुली गाउँपालिका-३, बाह्रगोठे सुनसान जस्तै थियो। चैतको गर्मी छल्न स्थानीय बासिन्दा घर वा रूखको सिंयालमा बसिरहेका देखिन्थे।
चुनावबारे चर्चा गर्दा उनीहरू त्यति उत्साहित देखिएनन्। उनीहरूको भनाइमा राजनीतिक दल र नेताको व्यवहारप्रति वितृष्णा झल्किन्थ्यो। उनीहरू भन्थे- कुनै पनि पार्टी र नेताले काम गरेनन्।
कच्ची सडक नजिकै खाजा पसलमा भेटिएका गोविन्द लिम्बूले पनि त्यस्तै असन्तुष्टि पोखे। “माथिका आमाबाबु नै त्यस्तै छन्, यहाँ मुनिसम्म छोराछोरी पनि उस्तै छन्,” राजनीतिक दलका नेता कार्यकर्तातर्फ लक्ष्यित गर्दै लिम्बू भन्छन्, “झुक्याउने, छक्काउने, घूसखोरी, तस्करी गर्ने मात्र भए।”
इलामको मध्य क्षेत्रमा रहेको इलाम नगरपालिका-११, निर्फुकका कोशबहादुर लोक्ताम पनि राजनीतिक दल र नेताहरूसँग त्यति सन्तुष्ट सुनिएनन्। आफ्नो गाउँ इलामकै सबैभन्दा दुर्गम भएकाले यस क्षेत्रमा नेताहरू हत्तपत्त नआउने गरेको लोक्तामको गुनासो थियो।
चुनावका वेला नेताहरू आएर बाटोघाटो र माईखोलामा पक्की पुल बनाइदिने आश्वासन दिने गरेका छन्। त्यसपछि भने कुनै नेताको पाइला समेत नपर्ने गरेको उनको आक्रोश थियो। “बाटो बनाइदिने, माईखोलामा पुल लगाइदिने भनेका थिए। चुनाव सकिएपछि गाउँमा कुनै नेताको पाइला परेको छैन,” उनी भन्छन्।
सदरमुकाम इलाम बजारछेउकै इलाम नगरपालिका-११, पिपलबोटे पुग्दा मिलन भट्टराई बारीमा मल छर्दै थिए। यसअघि नेकपा (एमाले)का नेता सुवासचन्द्र नेम्वाङलाई मत दिंदै आए पनि अहिले राजनीतिक दल र नेताहरूसँग खासै आशावादी नभएको भट्टराईको भनाइ थियो। देशमा भाषण गर्ने नेता धेरै भए पनि काम गर्ने नेता नभएकाले आफू जस्ता किसानले उत्पादन गरेका वस्तुले बजार नपाएको उनको गुनासो थियो।
नेताको व्यवहार परिवर्तन नभए अब जनताले पनि नपत्याउने उनी सुनाउँछन्। “सबै मान्छे जान्नेबुझ्ने भइसकेका छन्। बाहिर देश गएर आउने गरेका छन्। अब हाम्रो देश पनि विदेश जस्तै कहिले पुग्छ, कसले पुर्याउँछ भन्ने सबै मान्छेमा चाहना छ,” भट्टराई भन्छन्, “भाषणले मात्र मान्छेले पत्याउने वाला छैन अब। सबै पार्टी नयाँ किसिमले चल्नुपर्छ, ढाँटको खेती अब चल्दैन।”
इलाम नगरपालिका-५, बिप्ल्याँटे बजारका केही स्थानीय बासिन्दासँग कुराकानी गर्दा नजिकै आएको चुनावप्रति चासो देखाएनन्। चासो देखाउने केहीले राजनीतिक दल र नेताप्रति रोष प्रकट गरे। बिप्ल्याँटे बजारमा सुनचाँदी व्यवसाय गर्दै आएका ३८ वर्षीय युवकको सरकार र नेताको कमजोरीका कारण व्यापार व्यवसाय चौपट भएको गुनासो थियो। “बुढाले काम दिंदैनन्, नयाँ पुस्ताले मात्र काम गर्छ,” उनी भन्छन्, “पुराना दलबाट युवा आए पनि काम छैन।”
बिप्ल्याँटे बजारमै भेटिएकी ३५ वर्षीया मेनुका पौडेल इलामबाट प्रतिनिधित्व गर्ने नेता राज्यको ठूला ओहोदामा पुगे पनि यस क्षेत्रको विकासमा खासै योगदान नदिएको गुनासो गर्छिन्। कृषि तथा पर्यटनमा पर्याप्त सम्भावना भएको इलाममा नेताले पहल नगरेको पौडेलको भनाइ थियो।
छेउकै इलाम नगरपालिका-४, जसवीरेमा चिया उद्योग सञ्चालन गर्दै आएका शरद सुब्बा चिया क्षेत्रको विकास, बजार प्रवर्द्धनमा सरकारले चासो नदिएको गुनासो गर्छन्। जसवीरे टी प्रोसेसिङ इन्ड्रस्टिज प्रालिका सञ्चालक सुब्बाका अनुसार यस क्षेत्रमा उत्पादित चियाले जेजति बजार पाएको छ, त्यो उत्पादककै बलबुताले भएको हो। चिया उद्योगी र किसानले उत्पादन गरेको चियाको बजार व्यवस्थापन गर्न जनप्रतिनिधिले पहल गर्नुपर्ने उनको भनाइ छ।
चैत ३० मा इलाम नगरपालिका-१, साँखेजुङमा भेटिएका डेरी सञ्चालक किशोर राईको दुखेसो चिया उद्योग सञ्चालक सुब्बाको भन्दा फरक थिएन। दुग्ध उत्पादक किसान र डेरी सञ्चालकको पीडा सुनाउँदा नेताप्रति आक्रोशित देखिन्थे, राई। किसानले उत्पादन गरेका दूध, घ्यू, चीजको बजार व्यवस्थापनमा सरकारको सहयोग नभएको उनको गुनासो थियो। “सरकारले दूधको मूल्य बढाए पनि सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानले दूध र दूधजन्य वस्तु खरीद नगर्दा किसान र डेरी सञ्चालक मर्कामा परेका छन्,” उनी भन्छन्।
यति मात्र होइन, संस्थाले तीन-चार महीनाको दूधको भुक्तानी नदिंदा डेरी सञ्चालन गर्नै समस्या भएको राईको पीडा थियो। आफ्नै क्षेत्रका नेता देशको उच्च ओहोदामा पुगे पनि जनचाहना अनुसार विकास निर्माणका काम नगरेको उनको भनाइ छ। साँखेजुङ पूर्व प्रधानमन्त्री झलनाथ खनालको जन्मगाउँ हो।
पश्चिमी इलामको सबैभन्दा ठूलो बजार देउमाई नरपालिका-४, मंगलबारे बजारका घनश्याम आचार्य इलामले झलनाथ खनाल, केबी गुरुङ, सुवासचन्द्र नेम्वाङ, केशव थापा, बेनुपराज प्रसाईं जस्ता ठूला नेता पाए पनि विकास नपाएको गुनासो गर्छन्। खनाल प्रधानमन्त्री, गुरुङ मन्त्री तथा नेपाली कांग्रेसको महामन्त्री, नेम्वाङ संविधानसभा अध्यक्ष तथा प्रतिनिधि सभाका सभामुख, थापा र प्रसाईं मन्त्री भइसकेका नेता हुन्।
मंगलबारे क्षेत्रमा खानेपानी, सडकको समस्या रहेको उनी सुनाउँछन्। ट्र्याक खोलिए पनि कालोपत्रे गरिएको छैन। मंगलबारेदेखि झापाको बिर्तामोड जोड्ने सडक, झापाको दमकदेखि इलाम र पाँचथरको सीमा क्षेत्रको बजार जोड्ने सडकको ट्र्याक वर्षौंअघि खोलिएका थिए। यी सडक कालोपत्रे भए झापाबाट ढुवानी गरी ल्याउनुपर्ने खाद्यान्न, निर्माण सामग्रीको भाडा कम पर्ने र उपभोक्ताले महँगो मूल्य तिर्नुनपर्ने आचार्य बताउँछन्।
छेउकै देउमाई नगरपालिका-३ को पर्यटकीय क्षेत्र पानीटारमा घाँस बोकेर फर्किरहेका केशव ढकालको पनि त्यस्तै गुनासो थियो। कृषि र पर्यटनको पर्याप्त सम्भावना रहेको भए पनि विकास हुन सकेको ढकाल सुनाउँछन्। बाटो कालोपत्रे भए पर्यटक सजिलै आउजाउ गर्न सक्ने, किसानले उत्पादन गरेका वस्तु बजारसम्म पुर्याउन सजिलो हुने उनको भनाइ थियो।
पानीटारका चिया बगानमा चिया टिपेर सुस्ताइरहेका मनमाया तामाङ र धनमाया तामाङको गुनासो थियो, कसैले हाम्रा लागि केही गरिदिएनन्। दिनभर चिया बगानमा काम गरे पनि बिहानबेलुकाको छाक टार्न समस्या हुने गरेको तामाङको भनाइ थियो। सरकारले बाटोघाटो र किसानले उत्पादन गरेका वस्तुको बजार व्यवस्थापन गरिदिए सजिलो हुने उनको आशा थियो।
पश्चिमी इलामको मात्रै होइन, उत्तरी भेगका पनि उस्तै समस्या छन्, उस्तै गुनासा छन्। उत्तर-पश्चिमी क्षेत्रको फाकफोकथुम गाउँपालिका-६, सिमसारका किसान दुर्गा चम्लागाईं मल ओसार्दै थिए। लामो समयदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका चम्लागाईं आफूले उत्पादन गरेका तरकारी सहज रूपमा बजारसम्म पुर्याउन सडकको राम्रो व्यवस्था नभएको गुनासो गर्छन्। “अरू केही नगरे पनि बाटो राम्रो भइदिए बजारसम्म उत्पादन लग्थ्यौं,” उनी भन्छन्।
अहिलेसम्म कच्ची सडकबाटै जसोतसो ढुवानी गर्दै आएको उनी सुनाउँछन्। त्यही पनि बर्खा याममा बाटो बिग्रिए ढुवानी गर्न नसकिने चम्लागाईं बताउँछन्। नजिकमा तरकारी राख्ने चिस्यान केन्द्र नहुँदा उत्पादन खेर जाने गरेको उनी गुनासो गर्छन्।
मतदाताका समस्यैसमस्या र गुनासैगुनासो भए पनि उम्मेदवार र कार्यकर्ता भने चुनावी प्रचारमा जुटिरहेका छन्। उनीहरू कतै समस्या समाधान गर्ने आश्वासन दिइरहेका छन् कतै तर्केर हिंडिरहेका छन्।
२०७९ सालको निर्वाचनमा एमालेबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सुवासचन्द्र नेम्बाङको गत भदौमा हृदयाघातबाट निधन भएको थियो। रिक्त रहेको प्रतिनिधि सभा सदस्यका लागि इलाम २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ।
उपनिर्वाचनका लागि १२ वटा राजनीतिक दलका र सात जना स्वतन्त्र गरी १९ उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये एमालेका सुहाङ नेम्बाङ, कांग्रेसका डम्बरबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बूबीच प्रतिस्पर्धा हुने आकलन छ।
सुहाङ यसअघि यसै क्षेत्रबाट निर्वाचित सुवासचन्द्र नेम्बाङका छोरा हुन्। डम्बर कांग्रेस जिल्ला सभापति हुन् भने यसअघि नेम्बाङसँग ११४ मतले पराजित भएका थिए। मिलन पत्रकारिताबाट राजनीतिमा आएका हुन्। डकेन्द्र प्रदेशको नाम कोशी राखिएपछि त्यसको खारेजीको आन्दोलनको अगुवाइ गर्दै आएका व्यक्ति हुन्।
इलाम २ मा ५९ हजार १८ पुरुष, ५६ हजार ८६९ महिला र दुई जना तेस्रोलिंगी गरी एक लाख १५ हजार ८८९ मतदाता छन्।