जलेश्वर सुक्खा बन्दरगाहको काम आठ वर्षदेखि अलपत्र
मधेश प्रदेशको महोत्तरीमा निर्माण गर्ने तय भएको जलेश्वर सुक्खा बन्दरगाहको काम भारततर्फ धमाधम चलिरहेको भए पनि नेपालतर्फ भने अलपत्र छ।
जलेश्वर सुक्खा बन्दरगाहका लागि आठ वर्षअघि तयारी थालिएको थियो। त्यसका लागि जलेश्वर भन्सार कार्यालयको स्तरोन्नति गरिएको छ।
त्यस्तै, भारततर्फ पनि बिहार राज्य सरकारले तयारी गरिरहेको छ। बिहारको भिठ्ठामोड नाकामा जग्गा अधिग्रहण गरी भौतिक पूर्वाधार निर्माण कार्य चलिरहेको छ। भारतीय पक्षले द्रुतगतिमा काम थाले पनि नेपालले भने शुरूआत नै गर्न सकेको छैन।
सुक्खा बन्दरगाहको सम्भाव्यता अध्ययन गर्ने टोलीका सदस्य इन्जिनीयर उज्ज्वल झा अहिलेसम्म काम अघि नबढ्नु दुःखको कुरा भएको बताउँछन्। “आठ वर्षअघि नै जलेश्वर सुक्खा बन्दरगाहका लागि उपयुक्त रहेको प्रतिवेदन तयार गरी बुझाएका थियौं,” इन्जिनीयर झा भन्छन्, “अहिलेसम्म यो काम कागजी प्रक्रियामै रहेको सुन्दा आश्चर्य लाग्छ।”
गत आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा यो योजना पनि समावेश गरिएको थियो। त्यसपछि नेपाल इन्टरमोडल यातायात विकास समितिले गत साउनमै सर्भे गरेर सरकारलाई प्रतिवेदन बुझाएको थियो।
तर अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा सुक्खा बन्दरगाहसँगै नेपाल-भारत एकीकृत जाँच चौकी निर्माण कार्य पनि अघि बढ्न सकेको छैन। बन्दरगाहसँगै एकीकृत जाँच चौकीका लागि आवश्यक ६५ बिघा जग्गा अधिग्रहण नसकिएको जलेश्वर भन्सार कार्यालयका प्रमुख अमित पौडेल बताउँछन्।
हरेक पटक नीति तथा कार्यक्रममा जलेश्वर सुक्खा बन्दरगाहको विषय समेटिने गरेको छ। तर बजेटमा आउँदा बिर्सिने गरिएको छ।
बजेट अभावले काम अघि बढ्न नसकेपछि गत असोजमा स्थानीय जनप्रतिनिधिले तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतलाई आग्रह गरेका थिए। महतले बजेट निकासा हुने आश्वासन दिएका थिए।
त्यसपछि पनि बजेट निकासा नभएपछि स्थानीय सरकारका प्रमुखले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएका छन्। सुक्खा बन्दरगाहको काम सम्पन्न गराउन तत्काल बजेटको व्यवस्थापनका लागि वातावरण निर्माण गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनार बताउँछन्।
स्थानीय सरकार र महोत्तरी उद्योग वाणिज्य संघले प्रधानमन्त्री दाहाललाई बुझाएको ज्ञापनपत्रमा बजेट व्यवस्थापनको माग गरेका छन्। उनीहरूले सुक्खा बन्दरगाहको फाइल तयार हुने र बजेट निकासा हुने ठाउँमा नपुग्दै हराउने गरेको गुनासो प्रधानमन्त्री दाहालसँग गरेका छन्।
प्रधानमन्त्री दाहालले बजेटको व्यवस्था गर्ने आश्वासन दिएको मेयर सोनारले जानकारी दिए।