भौमीले भत्काएको ठेक्कापट्टाको पर्खाल
![भौमीले भत्काएको ठेक्कापट्टाको पर्खाल](https://www.himalkhabar.com/uploads/posts/800X600/bhaumi-chaudhary-(1)-1711619342.JPG)
घरेलु हिंसाबाट जोगिन गाउँबाट शहर पसेकी भौमी चौधरी अथक मिहिनेतको बलमा मजदूरबाट सक्षम निर्माण व्यवसायी त बनेकी छन् नै समाजमा सम्मान पनि आर्जन गरेकी छन्।
सुपर स्प्लेन्डर बाइक। कालो हेलमेट, आँखामा कालै चश्मा। हल्का गाजल, निधारमा रातो टीका।
बिहानीपख धनगढीका सडकमा मोटरसाइकलमा हुइँकिरहेको देख्नुभयो भने अड्कल गर्दा हुन्छ, भौमी चौधरी हुन्। शहरमा मात्रै होइन, धनगढीसँगै जोडिएका गाउँमा नयाँ बनिरहेका घर छेउछाउ सुपर स्प्लेन्डर हुइँकियो भने भौमीकै हो। “हिंडेर त काम गर्ने ठाउँको रेखदेख गर्न समयमै पुग्न सकिंदैन, बाइकमै ओहोरदोहोर गर्छु,” उनी भन्छिन्।
कैलालीको कैलारी गाउँपालिका-८, दुधियाकी भौमी निर्माण व्यवसायी हुन्। अझ सुदूरपश्चिममा निर्माण व्यवसायमा सक्रिय एक्ली ठेकेदार हुन्। निर्माण कम्पनी महिलाका नाममा दर्ता गरिएको भए पनि व्यवहारमा भने पुरुषले नै चलाइरहेका हुन्छन्। “ठेकेदारका संघसंस्थाले आयोजना गर्ने कार्यक्रम जाँदा महिला त म एक्लै हुन्छु,” भौमी भन्छिन्, “शुरूआतमा त अप्ठ्यारो लाग्थ्यो, अब बानी परिसक्यो।”
![bhaumi chaudhary (4).jpg](https://www.himalkhabar.com/uploads/editor/Personalities/bhaumi chaudhary/bhaumi chaudhary (4).jpg)
ठेक्कापट्टा गर्न थालेको पनि एक दशक नाघिसकेको छ। ठेक्कापट्टा गरेर छोराछोरी पढाएकी छन्, घरजग्गा जोडेकी छन्। “गाउँबाट खाली हात आएकी थिएँ, अहिले धनगढीमै घरजग्गा बनाएकी छु,” ४४ वर्षीया भौमी खुशी हुँदै सुनाउँछिन्।
मजदूरबाट व्यवसायी
गाउँमा हुर्किेएकी भौमीलाई महिलाले पनि काम गरेर पैसा कमाउन सक्छन् भन्ने थाहा थिएन। श्रीमान्को यातना सहन नसकेर उनले गाउँ छोडेकी थिइन्। २०५७ सालमा दुधिया गाउँबाट धनगढी बजार आइपुग्दा अन्जान थिइन्।
बजार आएपछि काम गर्नै पर्यो। अरू सीप थिएन, दैनिकी ज्यालामजदूरी गर्न थालेको उनी सुनाउँछिन्। “मेरा लागि धनगढी बजार अन्जान थियो,” भौमी भन्छिन्, “श्रीमान्को कुटपिट सहन नसकेर धनगढी आएकी थिएँ।”
केही दिन बजारमा रहेका आफन्तको घरमा बसिन्। त्यसपछि एक जना छिमेकी दिदीसँग भेट भयो। “आफूसँगै इँटा बोक्न लानुभयो। इँटा बोक्ने काम गर्दा दैनिक ५० रुपैयाँ मिल्थ्यो,” उनी दुई दशकअघिका दिन सम्झिन्छिन्, “म त खुशी खुशी ज्यालादारीमा काम गर्न थालें।”
उनी दैनिक ज्यालामजदूरीमा रमाइरहेकी थिइन्। गाउँमा श्रीमान्को यातना सहेर बसीबसी खानुभन्दा त इटा बोक्नु कैयौं गुणा सजिलो लागेको उनी सुनाउँछिन्। त्यति वेला पुरुषले भने ६० रुपैयाँ पाउँथे। उस्तै काममा आफूभन्दा पुरुषलाई बढी पैसा दिएको उनलाई चित्त बुझेन। “त्यो कुरा ठेकेदारलाई पनि भनेकी थिएँ तर वास्ता गरेन,” उनी भन्छिन्।
भौमीले ६ महीनासम्म दैनिक ५० रुपैयाँमै काम गरिन्। पछि मिस्त्रीको काम पनि सिक्न थालिन्। मिस्त्रीको काम सिक्दा भने ८० रुपैयाँ ज्याला पाएको उनी सुनाउँछिन्। “तीन वर्षपछि त मिस्त्री भएँ,” उनी भन्छिन्, “ज्याला भने ठेकेदारले दैनिक २५० रुपैयाँ मात्रै बनायो।”
त्यति वेला मिस्त्रीको काम गर्ने पुरुषले भने दैनिक ४०० रुपैयाँ ज्याला पाउँथे। जुन कुरा भौमीलाई चित्त बुझेन। बराबर ज्याला नभएपछि काम छोडेको उनी बताउँछिन्। ठेकेदार चेचुराम चौधरीलाई छोडेर खुशीराम चौधरीसँग काम गर्न थालेपछि पुरुषकै बराबर ज्याला पाएको उनी सुनाउँछिन्। “मैले गर्ने कामको पनि पुरुषले जत्तिकै ज्याला पाउनुपर्छ भन्ने मनमा लागिरहन्थ्यो,” भौमी भन्छिन्, “बराबरी ज्याला पाएपछि साह्रै खुशी भएँ।”
पाँच वर्ष मिस्त्रीको काम गरिन्। उनको मिहिनेत देखेर ठेकेदार खुशीरामले ‘पार्टनरशिप’ मा ठेक्का लिन प्रस्ताव गरे। खुशी भएर स्वीकार गरिन्। “अर्को पाँच वर्ष पार्टनरशिपमा ठेक्कापट्टा गर्यौं,” भौमी भन्छिन्, “काम पनि जानें, अनुभव पनि भयो, अनि आफैंले ठेक्का बोल्न शुरू गरें।”
![bhaumi ichaudhary (1).jpg](https://www.himalkhabar.com/uploads/editor/Personalities/bhaumi chaudhary/bhaumi ichaudhary (1).jpg)
बिस्तारै उनले एक्लै ठेक्का लिन थालिन्। यसरी एक्लै ठेक्का लिन लागेको पनि १० वर्ष भइसकेको छ। अहिलेसम्म सयभन्दा बढी घर निर्माण गरिसकेको उनी बताउँछिन्। “राम्ररी काम गर्छु, मेरो काममा अहिलेसम्म कसैले गुनासो गरेका छैन,” भौमी गम्भीर हुँदै भन्छिन्, “राम्रो काम गरेकाले होला, ठेक्का पनि पाइरहेकी छु।”
एक्लै गरेको संघर्ष
भौमी साढे दुई वर्षकी छँदा बुबाको मृत्यु भयो। त्यसपछि आमाको अर्को विवाह भयो, काकासँग। तर काकाले उनलाई नागरिकता बनाइदिन मानेनन्। आमाले मामाघरबाटै नागरिकता बनाइदिइन्।
गाह्रोसाह्रोमा दैनिकी चलिरहेकै वेला १८ वर्षको उमेरमा दसिराम चौधरीसँग विवाह भयो। दुवै परिवारको सहमतिमै मागी विवाह भएको थियो। तर वैवाहिक जीवन सोचे जस्तो सहज भएन। श्रीमान्ले शारीरिक तथा मानसिक यातना दिने गरेको उनी बताउँछिन्। “आज सुध्रिन्छ, भोलि सुध्रिन्छ भन्ने आशैआशमा २० वर्ष बिताएँ,” उनी भन्छिन्, “छोराछोरी जन्मिएपछि त सहनै पर्यो तर केही गरी सुध्रिएन।”
श्रीमान्सँगका २० वर्ष कहिले सुखले बस्न नपाएको उनी सुनाउँछिन्। “न मीठो-मसिनो खाना पाएँ न त राम्रो लाउन पाएँ,” उनी विगत सम्झिन्छिन्, “मार्छु भनेर आउँथ्यो, राति काखका बच्चा च्यापेर अर्काको घरमा जान्थें।”
उनी एक्लैले छोराछोरी हुर्काइन्। लेखपढ गराइन्। अहिले त तीनै छोरीछोरी बिहे गरेर आआफ्नो कामकाजमा लागिसकेका छन्।
अहिलेसम्म पनि उनको विवाह दर्ता गरिएको छैन। सम्पत्ति माग्ली भनेर विवाह दर्ता गरिदिएन। “मलाई कसैको सम्पत्ति चाहिंदैन, आफ्नै मिहिनेतले खान्छु,” भौमी भन्छिन्, “मैले कमाएको सम्पत्ति न श्रीमान्लाई दिन्छु न त श्रीमान्को पुर्ख्यौली सम्पत्तिमा दाबी गर्छु।”
मिहिनेतले दैनिकी पनि सहज भएको छ, जीवनशैली बदलिएको छ। धनगढीमा जग्गा किनेकी छन्। “दुवै छोरालाई छुट्टाछुट्टै दुई घर बनाइदिएँ,” उनी सुनाउँछिन्, “आआफ्नो घरमा बस्छन्, मनमुटाव पनि हुँदैन।”
अब आफ्ना लागि छुट्टै घर बनाउने योजनामा छिन्। घरका लागि धनगढीमै १२ धुर जग्गा किनिसकेकी छन्। “जीवनमा धेरै दुःख पाएँ, मेरा बच्चाहरू आरामसँग बसून् भनेर घर बनाएकी हुँ,” उनी भन्छिन्, “आफ्ना लागि पनि जग्गा किनेकी छु, अब घर बनाउँछु, आरामले बस्छु।”
प्रौढ कक्षाले थपेको साहस
सानी छँदा उनले स्कूल देख्नै पाइनन्। अलि ठूली भएपछि विवाह भयो। घरधन्दामै अल्झिइन्। २०५६ सालतिर गाउँमा प्रौढ कक्षा शुरू भयो। उनी पनि पढ्न जान खोज्थिन् तर अवस्था सहज थिएन। “उसले पढ्न जान दिंदैनथ्यो तर म भागेर पढ्न जान्थें,” उनी सम्झिन्छिन्।
![bhaumi chaudhary (3).jpg](https://www.himalkhabar.com/uploads/editor/Personalities/bhaumi chaudhary/bhaumi chaudhary (3).jpg)
गाउँमा प्रौढ कक्षा पढ्न जाँदा तीन छोराछोरी भइसकेका थिए। साँझ हुने प्रौढ कक्षामा जाँदा श्रीमान्ले झैझगडा गर्थे। “कति रात उसले घरको ढोका खोलेन,” उनी भन्छिन्, “छरछिमेकीको घरको बार्दलीमा सुतें।”
प्रौढ कक्षाले साहस बढाएको उनी बताउँछिन्। ६ महीना प्रौढ कक्षा पढिसकेपछि त श्रीमान्ले कुटपिट गर्दा आफूले पनि प्रतिरोध गर्न सक्ने भएको उनी सुनाउँछिन्। प्रौढ कक्षा सकिए लगत्तै नौ महीनाको ‘रिफ्लेक्ट’ कक्षा पनि लिइन्। “पढाइले मलाई साहसी बनायो, आत्मबल बढ्यो,” भौमी भन्छिन्, “त्यही पढाइले हिसाबकिताब राख्ने, नापनक्शा लगाउन सक्ने भएँ।”
अहिले ठेक्कापट्टाको हिसाबकिताब आफैं गर्छिन्। निर्माण व्यवसायी संघले आयोजना गर्ने सभा-सम्मेलन, गोष्ठीमा सहभागी हुन्छिन्। त्यस्ता भेलामा आफू एक्लै पर्ने गरेको उनी सुनाउँछिन्। “शुरू शुरूमा मलाई देखेर सबै हाँस्थे, फरक तरीकाले हेर्थे। ठेकेदार हो भनेर पत्याउँदैनथे,” एक पल्ट चितवनमा भएको कार्यक्रमको मञ्चमा उभिएर उनले प्रश्न गरेकी थिइन्, “तपाईंहरूले बनाउने घर र मैले बनाउने घरमा कुनै फरक छ? यदि फरक छैन भने मलाई देखेर किन आश्चर्य मान्नुहुन्छ?”
त्यसपछि निर्माण व्यवसायीको नजर पनि बदलिएको उनको अनुभव छ। अहिले कसैले पनि खिसीटिउरी नगर्ने गरेको उनी सुनाउँछिन्। भौमी भन्छिन्, “चितवनको कार्यक्रमपछि सबै ठेकेदार फेरिए, समान व्यवहार गर्छन्, सबैले सम्मान गर्छन्।”