पर्यटकीय गाउँ सेर्माथाङका सकस
![पर्यटकीय गाउँ सेर्माथाङका सकस](https://www.himalkhabar.com/uploads/posts/800X600/sermathang-(3)-1711183886.jpg)
बसाइसराइ, बाँझिँदै गएका खेतबारी, फेरिँदै गएको रहनसहनसँगै जलवायु परिवर्तनको असरले पर्यटकीय गाउँ सेर्माथाङ सकसमा पर्दै गएको छ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-२, शेर्माथाङका ९२ वर्षीय सोनाम लामा गाउँमा मानिस बस्न छोडेकोमा चिन्तित छन्। उर्गेन छिलिङ गुम्बाका मुख्य लामालाई अर्को चिन्ता छ, आफूपछि गुम्बाको रेखदेख कसले गर्ला?
किनकि, उनका पाँच सन्तान पनि गाउँमा बस्दैनन्। “बाजे र बुवापछि मैले गुम्बाको जिम्मा लिएँ। छोरा बाहिर छ,” उनी अड्कल लगाउँछन्, “म मरेपछि अब सरकारले चुनेको व्यक्तिले गुम्बा सम्हाल्ने त होला!”
गाउँमा अलि अलि घर त छन् तर मान्छे छैनन्। विगतमा ल्होसार लगायत चाडपर्वमा आमाबुवा भेट्न छोराछोरी शहरबाट गाउँ आउने गरेका थिए भने पछिल्ला दिनमा आमाबुवा छोराछोरीलाई भेट्न शहर र विदेश जाने गरेको उनी सुनाउँछन्।
![sermathang (14).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/sermathang/sermathang (14).jpg)
अर्का, स्थानीय हिसि नाम्झेलले गाउँमा युवा भेट्न मुस्किल हुने गरेको बताउँछन्। “गाउँमा युवा भेटिदैनन्,” नाम्झेल भन्छन्, “नयाँ पुस्ताका मान्छे कि शहरमा छन्, कि त विदेश।”
राष्ट्रिय जनगणना २०७८ अनुसार, हेलम्बु गाउँपालिकाका २५ प्रतिशत बासिन्दा विदेशमा बसोबास गर्छन्। २०७५ सालमा गाउँपालिकाले गरेको सर्वेक्षणअनुसार, एउटै वडाबाट २६२ जना विदेश गएका छन्। वडा नं. २ मा गरिएको सर्वेक्षणमा यो वडाबाट ३१ जना भारत, १५३ जना खाडी मुलुक र ७८ जना अमेरिका तथा युरोपेली मुलुक गएका छन्।
यही वडामा पर्छ, रमणीय पर्यटकीय गाउँ सेर्माथाङ। हिमालको दृश्यावलोकन गर्न आन्तरिक तथा वाह्य पर्यटक आउने गरेका छन्। पर्यटकका लागि गाउँमा होम स्टे, होटल र रिसोर्ट छन्। तर पर्यटकलाई स्वागत नयाँ पुस्ता भने गाउँ नभएको लामा सुनाउँछन्।
![sermathang (19).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/sermathang/sermathang (19).jpg)
पदयात्राका लागि पनि चचिर्त छ यो गाउँ। सेर्माथाङ भएर आमायाङ्ग्रीसँगै गोसाइकुण्ड जान सकिन्छ। प्रसिद्ध बौद्ध गुरु रिम्पोचेको गुफा पनि नजिकै पर्छ। यो गाउँका परम्परागत घर, रहनसहनले पनि पर्यटकलाई आकर्षित गर्दै आएको छ।
बन्न छोडे परम्परागत घर
सेर्माथाङमा बसोबास गर्ने होल्मो जातिको परम्परागत घरहरूले पर्यटकलाई लोभ्याउथे। ढुंगा, माटोको गाह्रो, बीचमा काठको फ्ल्याक हालिन्छ, फ्ल्याककै छानो हुन्छ। घरभित्र पनि विशेष किसिमले सजाइने गरिएको थियो।
अहिले भने परम्परागत घरको ठाउँमा जस्तापाताको छानो र आरसीसी ढलान गर्न थालिएको छ। स्थानीय कामी लामा परम्परागत घर बन्न छाडेको बताउँछन्।
![sermathang (27).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/sermathang/sermathang (27).jpg)
भूकम्पमा पुरानो घर ढलेपछि नोर्चुङ लामाले पनि जस्ताले छाएर घर बनाएका छन्। “२०७२ सालमा आएको भूकम्पले ढुंगा माटोको घर सबै भत्कायो, त्यसपछि छड, सिमेन्ट, ईट्टा प्रयोग गरे घर बनिरहेको छ,” उनी भन्छन्।
सेर्माथाङमा मात्रै होइन, हेलम्बु गाउँपालिकामा नै परम्परागत घरहरू घट्दै गएका छन्। २०६८ सालको जनगणना अनुसार, तीन हजार ७६० घरमा जस्तापाताले छाएको थिए भने १६४ घरमा ढुँगाको छानो थियो। २६ वटा घरमा खर पारालले छाएको थियो भने ५८ घर मात्र आरसीसी गरेका थिए।
२०७८ सालसम्म आइपुग्दा आरसीसी ढलान घरको संख्या बढेर एक हजार ३७९ पुगेको छ भने जस्तापाताले छाएको घर ीन हजार २३६ वटा छ। खर तथा परालले छाएका २८ र ढुंगाले छाएका ३३ घर छन्।
![sermathang (21).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/sermathang/sermathang (21).jpg)
हेलम्बु-२ का वडाध्यक्ष पेम्बा लामा २०७२ सालको भूकम्पपछि परम्परागत घर कम हुँदै गएको बताउँछन्। भूकम्पपछि बलियो आधुनिक घर बन्न थालेको लामा सुनाउँछन्। “परम्परागत घरलाई नै बलियो बनाउनुपर्ने हो तर त्यसो हुन सकेन,” उनी भन्छन्, “परम्परागत घर जोगाउनुपर्छ भनेका त हौं तर सबैलाई बलियो र दिगो घर चाहियो।”
परम्परागत घरका लागि आवश्यक सामग्री सहज रुपमा उपलब्ध नहुँदा र कसरी बलियो बनाउने भन्ने विकल्प दिन नसक्दा सिमेन्ट, रड, बालुवा ल्याएर घर बनाउने क्रम बढेको उनको भनाइ छ। “परम्परागत घरका लागि स्रोत साधन जुटाउन गाह्रो छ, लाङटाङ राष्ट्रिय निकुञ्जले रुख काट्न दिँदैन,” वडाध्यक्ष लामा भन्छन्, “समयमै विकल्प दिन पनि सकेनौं।”
बाझो हुँदै खेत
नोर्की लामाले बारीमा आलु लगाइसकेका छन्। कोदालोले खनेका स-साना खाल्डोभित्र गाईबस्तुको गोबर मल हालेर त्यसमाथि आलु लगाएका छन्, लामाले। कतिपयले ड्याङ बनाएर पनि आलु रोपेका छन्।
![sermathang (13).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/sermathang/sermathang (13).jpg)
आलु मात्रै होइन, सेर्माथाङमा फल्ने मुला, गहुँ लगायतका बालीमा रासायनिक मल प्रयोग हुँदैन। कतिपयले प्लास्टिकको टनेल बनाएर टमाटर, खुर्सानी गाउँमै फलाउँछन्। गाईबस्तु नपालेकाहरूले गाउँघरबाट प्राङ्गारिक मल किनेर बाली लगाउँने गरेको उनी सुनाउँछन्। “देशी मल शहरबाट किनेर ल्याउनुपर्छ, माटो पनि बिगार्छ,” लामा भन्छन्, “गाईबस्तुको मल गाउँघरमै पाइन्छ, त्यहि हाल्ने गरेका छौं।”
स्थानीय कामी लामाका अनुसार, गाईबस्तुको मल प्रयोग गरेको आलु लामो समय टिक्नुको साथै बिउको लागि पनि काम लाग्छ। तर पछिल्लो समय भने यसरी खेतिपाती गर्ने कम हुँदै गएका छन्। शहरतिर बसाइ सरेका कारण खेत बाँझो रहँदै गएको उनी सुनाउँछन्। “सबैतिर आलु रोपिन्थ्यो, अब बुढापाकाले सक्दैनन्, छोराछोरी गाउँमा बस्दैनन्,” उनी भन्छन्, “गाउँको मध्य भागमा समेत जमीन बाँझो छ।”
![sermathang (1).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/sermathang/sermathang (1).jpg)
फल्दैन स्याउ
हेलम्बुको स्याउ प्रसिद्ध छ। काठमाडौंमा मात्रै होइन, भारत र तेस्रो मुलुकमा समेत हेलम्बुको स्याउको पहिचान छ। सिजनमा रसिलो स्याउले सजिएका रुख प्रशस्त देखिन्थे।
अहिले भने स्याउ कम हुँदै गएको छ। अझ सेर्माथाङमा त स्याउ नफलेको दशक भइसक्यो। स्थानीय पूर्ण लामा अचेल गाउँमा स्याउको बोट हुर्काउनै मुश्किल भएको बताउँछन्। “हुर्किहाल्यो भने पनि स्याउको रुखमा फूल फुल्छ तर फल लाग्दैन,” उनी भन्छन्।
९२ वर्षीय सोनाम लामाका अनुसार पहिले गाउँमा स्याउको फार्म नै थियो, राम्रो फल्थ्यो। गाउँमा पनि लटरम्मै स्याउ हुन्थे। सेर्माथाङबाट बोकेर काठमाडौं, वीरगञ्जसम्म लैजाने गरेको उनी सुनाउँछन्। “अहिले सेर्माथाङका बासिन्दाले स्याउ किनेर खानुपर्छ,” उनी भन्छन्, “के भयोे कुन्नी, फार्म हट्यो। हामीले स्याहार गर्न नजानेर हो कि के हो? स्याउको बोट सबै सुक्यो।”
![sermathang_1.jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/sermathang/sermathang_1.jpg)
पछिल्लो समय सरकारलो पनि स्याउका विरुवा दिएको थियो। ति विरुवा पनि हुर्कन नसकेको उनी बताउँछन्।
हराउँदै हिउँ
सेर्माथाङको आकर्षण नै नजिकबाट हिमाल देखिनु हो। हिउँदमा सेर्माथाङमा पाँच फिटसम्म हिउँ पथ्र्यो। गाउँबाट देखिने हिमाल बाह्रै महीना सेतो कम्बल ओढेका जस्ता हुन्थे।
अहिले भने गाउँमा बाक्लो हिउँ पर्न छोडेको छ। हिमाल कालो पहाड जस्तै देखिन थालेका छन्। “अब पहिलेको जस्तो हिउँ पर्दैन। हिमालमा समेत हिउँ कम पर्छ, वरपरका लेकमा पनि हिउँद कमै हुन्छ,” लामा भन्छन्, “गर्मी बढेको छ, हिउँदमा मुश्किलले एक-दुई पटक हिउँ पर्छ।’’
![sermathang (2).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/sermathang/sermathang (2).jpg)
सेर्माथाङमा मात्र नभई जलवायु परिवर्तनका कारण पृथ्वीको तापक्रममा वृद्धि हुँदा देशैभर हिउँले ढोकेको क्षेत्र घट्दै गइरहेको छ। अध्ययनहरूले पनि हिउँ कम हुँदै गएको पुष्टि गरेको छ। ‘डाइनामिक्स एन्ड म्याक्सिमम स्नो कभर एरिया एन्ड स्नो लाइन अल्टिच्युड एक्रोस नेपाल’ अध्ययनले पश्चिमी र मध्य नेपालमा प्रतिवर्ष ३३.३ मिटर र पूर्वी नेपालमा ६६.७ मिटर प्रतिवर्ष हिमरेखा माथि सर्दै गएका देखाएको छ। त्यसमा जलवायु परिवर्तनको सन्दर्भमा सन २००३ देखि २०१५ सम्मको हिमरेखा र त्यसको अवस्थितिबारे अनुसन्धान तथा विश्लेषण गरिएको छ।
त्रिभुवन विश्वविद्यालयको वातावरण विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. सुदीप ठकुरी हिउँ कम पर्ने तर पग्लने क्रम बढ्दा काला पहाडहरू बढी देखिने गरेको बताउँछन्। “जलवायु परिवर्तनका कारण नेपालका हिमालयमा १४-१८ प्रतिशतले हिउँ घटेको छ,” जलवायु वैज्ञानिक ठकुरी भन्छन्, “त्यसले हिमाल कालो पहाड बन्दै गएको देखिन्छ।”