गण्डकीमा माओवादीका मन्त्री बर्खास्त
![गण्डकीमा माओवादीका मन्त्री बर्खास्त](https://www.himalkhabar.com/uploads/posts/800X600/surendra-raj-pandey-1709620534.jpg)
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी दुई मन्त्रीलाई बर्खास्त गरेका छन्।
मुख्यमन्त्री पाण्डेले मंगलबार बिहान प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई दुई जना मन्त्री हटाएको पत्र पठाएका छन्। मन्त्रिपरिषद् हेरफेर भएको पत्र आएको प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी प्रमिला गौतमले जानकारी दिइन्।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सामाजिक विकास तथा स्वास्थमन्त्री सुशीला सिम्खडालाई हटाइएको हो। दुवै जना माओवादीबाट मन्त्री बनेका थिए।
माओवादी, नेकपा (एकीकृत समाजवादी) र राप्रपाको समर्थनमा नेपाली कांग्रेसका नेता पाण्डे मुख्यमन्त्री बनेका थिए। अहिले केन्द्रमा एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ता साझेदारी गर्ने सहमति बनेको छ।
केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि प्रदेशमा माओवादीबाट सरकारमा सहभागी मन्त्रीलाई हटाइएको मुख्यमन्त्री पाण्डेले माओवादीका मन्त्रीलाई सुनाएका छन्। उनले फोन गरेर हटाएको जानकारी दिएको जुग्जाली र सिम्खडाले बताए।
गण्डकी प्रदेश सभामा ६० सदस्य छन्। बहुमतका लागि ३१ सांसदको समर्थन आवश्यक पर्छ।
अहिले प्रदेश सभामा कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का आठ, राप्रपाका दुई र नेकपा (एकीकृत समाजवादी)का एक सांसद छन्। राप्रपा र एकीकृत समाजवादीले सरकारलाई समर्थन गर्दै आएका छन्।