सुनकोशीको पुल चार वर्षसम्म अधूरै, डुंगामा जोखिमपूर्ण यात्रा
![सुनकोशीको पुल चार वर्षसम्म अधूरै, डुंगामा जोखिमपूर्ण यात्रा](https://www.himalkhabar.com/uploads/posts/800X600/sunkoshi_dikuwa-1709447706.jpg)
सुनकोशी नदीमा चार वर्षसम्म झोलुंगे पुल निर्माण नभएपछि स्थानीय बासिन्दा डुंगामै वारपार गरिरहेका छन्।
साढे दुई वर्षभित्र झोलुंगे पुल निर्माण सम्पन्न गर्ने गरी २०७६ वैशाख २६ मा ठेक्का सम्झौता भएको थियो। कोशी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले तीन करोड ५० लाख रुपैयाँमा निर्माण सम्झौता गरेको थियो। तर निर्माण व्यवसायी वसन्त बुढाथोकीको लापरवाहीका कारण अहिलेसम्म पुल निर्माण नभएको स्थानीय बासिन्दा बताउँछन्।
स्थानीय सरकारले पुल निर्माणका लागि दबाब दिनुको सट्टा डुंगा बनाउन सघाइरहेको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नै नयाँ डुंगा बनाउन आर्थिक सहयोग गरेको छ।
सुनकोशीमा निर्माणाधीन झोलुंगे पुल।पुल निर्माण गर्ने म्याद सकिएको दुई वर्ष नाघिसकेको छ। पुल कहिले निर्माण हुन्छ भन्ने टुंगो अझै लागेको छैन। बरु स्थानीय बासिन्दा डुंगामा जोखिमपूर्ण यात्रा गरिरहेका छन्।
हलेसी तुवाचुङ नगरपालिका-२, डिकुवाका बासिन्दाले दैनिक सुनकोशीमा ओहोरदोहोर गर्नुपर्छ। डिकुवाको बाईटारका ११० परिवार उदयपुरको कटारी नगरपालिका-१० चिपटार भएर आवतजावत गर्न सुनकोशी तर्छन्। “नुनतेल ल्याउन पनि कटारी आवतजावत गर्नपर्छ,” स्थानीय सुनकोशी प्राविका प्रधानाध्यापक विशाल राई भन्छन्, “दैनिक डुंगामा जोखिमपूर्ण यात्रा गर्नुपर्छ।”
![baitar-chiptar bridge (iv).jpg](https://www.himalkhabar.com/uploads/editor/Infrastructure/sunkoshi s.bridge/baitar-chiptar bridge (iv).jpg)
बाईटारबाट नदी तरेपछि उदयपुरको चिपटार-बेतेनी हुँदै कटारी पुग्न सकिन्छ। कटारी पुगेर आवश्यक सामग्री ल्याउन सबैभन्दा छोटो दूरी भएकाले डिकुवाका बासिन्दा डुंगाबाट सुनकोशी तर्ने गरेको स्थानीय निर्पबहादुर राई बताउँछन्।
सुनकोशीको वारिपारि सडक बनिसकेको छ। सुनकोशीमा डुंगामै सरसामान पनि तार्ने गरेका छन्। डिकुवासँगै बाईटार, बलुई, टारगाउँ, डिकुवा, दाम्ली लगायत गाउँका बासिन्दा पनि डुंगाकै भरमा रहेको राई बताउँछन्।
![boat at baitar dikuwa (ii).jpg](https://www.himalkhabar.com/uploads/editor/Infrastructure/sunkoshi s.bridge/boat at baitar dikuwa (ii).jpg)
हिउँदमा डुंगा चले पनि वर्षातमा भने आवतजावत नै बन्द हुने गरेको स्थानीय बासिन्दा सुनाउँछन्। सुनकोशीमा बाढी आउने गरेकाले डुंगा चलाउन नसकिने उनीहरूको भनाइ छ।
निर्माणाधीन झोलुंगे पुलको उदयपुरतर्फको पिलर २०७९ चैत १० मा ढलेको थियो। त्यसपछि पुल निर्माणको काम ठप्प भएको हो। यो क्षेत्रका प्रदेश सभा सदस्य भूपेन्द्र राईले सबैले दबाब दिएपछि पुल निर्माणको काम पुनः शुरू गर्न ठेकेदार सहमत भएको बताउँछन्। “अब ठेकेदारले कुनै पनि बहानामा छूट पाउँदैनन्,” सांसद राई भन्छन्, “जसरी पनि काम सक्नुपर्छ, नत्र विकल्प खोज्छौं।”