‘लोकतान्त्रिक गणतन्त्र विरुद्धको गतिविधि मान्य छैन’
![‘लोकतान्त्रिक गणतन्त्र विरुद्धको गतिविधि मान्य छैन’](https://www.himalkhabar.com/uploads/posts/800X600/Sher-Bdr-Deuba-1708346299.jpg)
लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरामा हामी दृढ छौं। लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई सम्बोधन गरेर देशलाई विकासको बाटोमा लान सक्दछ।
नेपालको इतिहासमा अविस्मरणीय दिनका रूपमा रहेको फागुन ७ गतेको अवसर पारेर नेपाली कांग्रेसले महासमिति बैठक शुभारम्भ गरिरहेको छ। म यस महासमिति बैठकमा सबै साथीहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु।
देशमा लोकतन्त्र स्थापना र संरक्षणका लागि आफ्नो जीवन अर्पण गर्नुहुने सबै प्रातः स्मरणीय शहीदहरूमा श्रद्धाञ्जली व्यक्त गर्दछु। कांग्रेसको स्थापना गर्ने, पार्टीलाई मार्गनिर्देश गर्ने, वैचारिक र संगठनात्मक रूपले सबल बनाउँदै कांग्रसकै नेतृत्वमा देशमा ठूला ठूला परिवर्तनको अभियानलाई सार्थक तुल्याउने आदरणीय नेता बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाप्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।
पार्टीमा निरन्तर रूपले क्रियाशिल रही लोकतन्त्र स्थापना, पुन:स्थापना र रक्षाका लागि जेलनेल, निर्वासन, सर्वस्वहरण लगायत तमाम दुःखकष्ट बेहोरेका र पार्टीलाई सुदृढ बनाउन दिनरात प्रयत्नशील रहेका सबै नेता र साथीहरूको उच्च सम्मान गर्दै उहाँहरूको योगदान स्मरण गर्न चाहन्छु।
हामी पार्टीको १४ औं महाअधिवेशनपछिको पहिलो महासमिति बैठक प्रारम्भ गरिरहेका छौं। पार्टीको १४औं महाधिवेशनमा समय अभावका कारण नीतिगत विषयमा दस्तावेज प्रस्तुत गरी छलफल गर्न पाइएन। पार्टीका नीतिगत विषयमा छलफल गर्ने उद्देश्यले महाधिवेशनको निर्णय अनुसार यो महासमिति बैठक बोलाइएको हो। यो बैठकमा विभिन्न दस्तावेज प्रस्तुत हुनेछन्। सबै सहभागी साथीहरूले ती विषयहरूमा राम्ररी अध्ययन गरी आफ्ना विचार राख्नुहुनेछ। साथीहरूका विचार, सुझाव र धारणा समेत समेटेर नीतिगत दस्तावेजहरू परिमार्जन गरी पारित गरिनेछन्।
कांग्रेसले देशमा लोकतन्त्र स्थापना, पुन:स्थापना र संरक्षणका लागि लामो संघर्ष गरेको इतिहास सबैमा विदितै छ। हाम्रो इतिहास लोकतन्त्रका लागि जनताको हकअधिकार र स्वतन्त्रताका लागि त्याग, तपस्या र बलिदानका गाथाले भरिपूर्ण छ। मुलुकमा जहिले पनि संकट उत्पन्न भएका वेला कांग्रेसले आफ्नो नेतृत्वमा समाधान दिएको छ। लोकतान्त्रिक मूल्यमान्यतासँग कहिल्यै पनि सम्झौता नगर्ने कांग्रेसको दृढताका कारणले नै यो पार्टी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा एक मात्र लोकतान्त्रिक पार्टीका रूपमा पहिचान बनाउन सफल भएको हो।
लोकतान्त्रिक मूल्यमान्यताप्रतिको अविचलित निष्ठा, जनतासँगको निरन्तर एवं अटूट सम्बन्धका कारणले नै कांग्रेसले जन्मकालदेखि नै राष्ट्रका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै इतिहास निर्माण गरेको छ। लोकतन्त्रको स्थापना, पुन:स्थापनाका लागि भएका शृंखलाबद्ध क्रान्ति, संघर्ष आन्दोलनदेखि दशवर्षे सशस्त्र द्वन्द्वलाई शान्तिमा रूपान्तरण गर्ने विषय होस् वा अन्तरिम संविधानदेखि वर्तमान संविधान निर्माण र संविधानको कार्यान्वयनको कार्यमा नेतृत्व प्रदान गरेका सबै काम कांग्रेसको महत्त्वपूर्ण भूमिकाका उदाहरण हुन्। कांग्रेसले आफ्नो इतिहासमा गर्व गर्दै वर्तमान र भविष्यमा समेत जिम्मेवारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नेछ। कांग्रेसका सैद्धान्तिक मान्यता, नीति, कार्यक्रम र व्यवहार सबै लोकतान्त्रिक मान्यताबाट निर्देशित हुनेछन्।
नेपालको वर्तमान संविधान कांग्रेसको नेतृत्वमा निर्माण भएको हो। संविधानले बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली सुनिश्चित गरेको छ। यो शासकीय स्वरूप कांग्रेसको मान्यता अनुकूल छ। संविधानको रक्षा र सार्थक कार्यान्वयन आजका मुख्य अजेन्डा हुन्। कांग्रेस संविधानको सुरक्षा र कार्यान्वयनका पक्षमा दृढ छ र यो हाम्रो दायित्व पनि हो। यसै संविधानको उचित कार्यान्वयनले देशमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि ल्याउन सकिन्छ भन्ने विषयमा हामी स्पष्ट छौं। संविधान गतिशील दस्तावेज हो।
![Nepal-Congress-1708346595.jpg](https://www.himalkhabar.com/uploads/posts/Nepal-Congress-1708346595.jpg?timestamp=1708346596465)
संविधानको दीर्घ जीवनका लागि संविधानमाथि जनताको स्वीकार्यता र स्वामित्व स्थापित गर्न आवश्यक हुन्छ। संविधान जनताको आशा, भरोसा र मर्यादा गर्ने विषय बन्नुपर्दछ। संविधान जारी भएको आठ वर्ष भइसकेको छ। संविधान कार्यान्वयनको मूल्यांकन गर्ने, कार्यान्वयनका क्रममा देखा परेका समस्या, जटिलता वा अस्पष्टता समेतको पहिचान गर्ने समय भएको छ। संविधानले व्यवस्था गरेको शासकीय स्वरूप र मूलभूत विषयमा प्रतिकूल प्रभाव नहुने गरी संविधानको संशोधन गर्न सकिने गरी अब छलफल प्रारम्भ गर्नुपर्दछ।
अहिले हामी गठबन्धनको अभ्यासमा छौं। अहिलेको गठबन्धन सरकार गठनका लागि मात्र बनेको होइन। केही समय पहिले प्रतिनिधि सभालाई असमयमा विघटन गर्ने, मुलुकमा राजनीतिक अस्थिरता ल्याउने, संविधानलाई जोखिममा पार्ने र संघीय लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने गतिविधि भए। संविधानको रक्षाका लागि कांग्रेसकै पहल, प्रयत्न र अग्रसरतामा तत्काल नै गठबन्धन बनेको हो। गत निर्वाचन पूर्वको गठबन्धन र वर्तमान सरकार त्यसैको निरन्तरता हो। आज पनि हामीले संविधानको रक्षालाई प्राथमिक अजेन्डाका रूपमा लिएका छौं। महासमितिमा प्रस्तुत हुने सबै दस्तावेजले यस विषयलाई उल्लेख गरेका छन्।
हामीले संविधानमा मिश्रित निर्वाचन प्रणाली अपनाएका छौं। मिश्रित निर्वाचन प्रणालीका गुणदोष दुवै छन्। यो प्रणालीले देशको सबै जातजाति र समुदायको उचित प्रतिनिधित्वलाई प्रत्याभूति गरेको छ। यो सकारात्मक पक्ष हो। तर यो निर्वाचन प्रणालीमा कुनै एक मात्र पार्टीको स्पष्ट बहुमत आउने सम्भावना कम हुन्छ। वर्तमान गठबन्धन हामी समेतको अग्रसरतामा संविधानको रक्षाको उद्देश्यले गठन भएको हुँदा यसको निरन्तरता हाम्रो राजनीतिक जिम्मेवारी पनि हुन गएको छ।
आगामी दिनमा तीनै तहमा कांग्रेसले बहुमत ल्याउन सक्ने गरी पार्टी संगठनलाई सुदृढ बनाउने काममा लागौं। यसका लागि म पार्टीका सबै साथीहरूलाई अनुशासित, एकताबद्ध र क्रियाशील भई पार्टी संगठन सुदृढ गर्ने काममा लाग्न आह्वान गर्दछु। भविष्यमा राजनीतिक गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय तत्कालीन परिस्थितिमा निर्भर हुने भएको हुँदा पार्टीेले तत्कालीन परिस्थिति अनुसार गठबन्धनको औचित्य, सान्दर्भिकता लगायत विषयमा ठोस मूल्यांकन र छलफल गरी त्यसै वेला उचित निर्णय लिन सक्नेछ।
हाम्रो पार्टी देशको सबैभन्दा ठूलो पार्टी बनेको छ। देशका सबै गाउँबस्ती, सबै वर्ग, समुदायमा बलियो संगठन छ। गत निर्वाचनमा संघ, प्रदेश र स्थानीय तीनै तहमा सबैभन्दा बढी जननिर्वाचित प्रतिनिधि हाम्रा छन्। कांग्रेस नेपाली जनताले सबैभन्दा बढी आशा, भरोसा र विश्वास गरेको पार्टी हो। जनताको यो विश्वासलाई खण्डित हुन दिनु हुँदैन। कांग्रेसका साथीहरूले उच्च मनोबल र आत्मविश्वासको साथ राष्ट्रसेवामा समर्पित हुनुपर्दछ। हामीले शिर झुकाउनुपर्ने, मन सानो गर्नुपर्ने कुनै कारण छैन। कांग्रेसको विधानमा समयसापेक्ष संशोधनको आवश्यकता छ। विधानले कांग्रेसको आन्तरिक लोकतन्त्रलाई बलियो बनाएको छ। पार्टीमा समानुपातिक प्रतिनिधित्व भएको छ। पार्टीलाई सांगठनिक रूपले थप सबल बनाउनका लागि विधानमा संशोधनबारे आवश्यक छलफल गर्न सकिन्छ।
विश्वभरि नै आर्थिक मन्दीको अवस्था छ। कोभिड-१९ को महामारी, अन्तर्राष्ट्रिय स्तरमा केही मुलुकबीच युद्ध वा अशान्तिका कारण हाम्रो अर्थतन्त्रमा पनि प्रतिकूल प्रभाव परेको छ। तथापि आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव देखिन थालेको छ। आर्थिक प्रतिकूलताका कारण चाहे जस्तो काम गर्न सकिएको छैन। जनतामा केही निराशा देखिएको छ। हामी प्रतिकूल अवस्थालाई अनुकूलतामा बदल्न सक्छौं। जनतामा नयाँ भरोसा र विश्वास जगाउन सकिन्छ। यसका सबै मिलेर काम गर्नुपर्दछ। जनताको निराशालाई देखाएर लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा हुने गतिविधि कांग्रेसलाई मान्य हुन सक्दैन। लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो भन्ने कुरामा हामी दृढ छौं। लोकतान्त्रिक व्यवस्थाले नै सबै समस्यालाई सम्बोधन गरेर देशलाई विकासको बाटोमा लान सक्दछ। हामीले विधिको शासन र सुशासनमा विशेष जोड दिनुपर्दछ।
कांग्रेसले सदैव संवाद, सहमति र सहकार्यको नीति अवलम्बन गरेको छ। देशमा विद्यमान राजनीतिक दलहरूमा प्रतिस्पर्धा हुनु स्वाभाविक हो तर कतिपय हाम्रा साझा विषय छन्। देशको सार्वभौमिकता, अखण्डता, लोकतन्त्र, विकास, परराष्ट्र नीति र शान्ति प्रक्रियाका बाँकी काम संक्रमणकालीन न्याय जस्ता विषयमा हाम्रा समान धारणा हुनुपर्दछ। यस निम्ति संवाद, सहमति र सहकार्यको संस्कारलाई प्रोत्साहित गर्नुपर्दछ। पार्टीभित्र वा सबै पार्टीबीचमा पनि निरन्तर संवाद र सहमतिको अभ्यास गर्नुपर्दछ।
महासमितिको यो बैठकलाई देशभित्र र विदेशमा रहेका सबै नेपालीले उत्सुकतापूर्वक हेरिरहेका छन्। अन्तर्राष्ट्रिय जगत्को पनि चासोको विषय बनेको छ। सञ्चार जगत्ले महासमितिलाई निकै महत्त्व दिएको छ। महासमितिको यो बैठक कांग्रेसलाई थप सबल, सुदृढ र एकताबद्ध बनाएर लैजान सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु।
(नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाद्वारा २०८० फागुन ७ गते ललितपुरको गोदावरीमा शुरू महासमिति बैठकमा प्रस्तुत उद्घाटन मन्तव्य)