ब्लकबस्टर फिल्म ओपनहाइमर बनेको पुस्तकका लेखक काई बर्डले नेपाललाई आफ्नो दोस्रो घरका रूपमा चित्रण गरेका छन्।
घुमफिरका क्रममा चर्चित अमेरिकी लेखक काई बर्ड ५१ वर्षअघि पहिलो पटक नेपाल आएका थिए। त्यति वेला २२ वर्षे बर्ड घुम्न पोखरा पुगे। फेवा तालमा पौडी खेले। हिमालको सौन्दर्य र शान्त पोखराले लोभ्यायो।
उही फेवा ताल किनारमा बसेर लेखक बर्डले पाँच दशकअघिको पोखरा यात्रा सम्झिए। नेपाल लिटरेचर फेस्टिभल को तेस्रो दिन फागुन ५ मा पत्रकार कुन्द दीक्षितले बर्डलाई नेपालको पहिलो यात्रामा फर्काए।
‘फ्रम बेस्टसेलर टु ब्लकबस्टर द ओपनहाइमर’ संवादमा लेखक बर्डले पोखराको सुन्दरताले त्यति वेलै लोभ्याएको सुनाए। नेपाल आफ्नो दोस्रो घर भएको बताउँदै उनले दोस्रो पटक पदयात्राका लागि आफ्नो छोरासँग पोखरा आएको बताए।
लेखक काई बर्डसँग संवाद गर्दै पत्रकार कुन्द दीक्षित।
पुलित्जर पुरस्कार विजेता लेखक बर्डले पोखरा हुँदै जोमसोम पुगेको स्मरण गरे। जोमसोमका लागि पोखरा विमानस्थलबाट बोर्डिङ भएर जहाजमा चढ्दा पाइलटले बाख्राको बलि दिंदै प्रोपेलर (विमानमा हुने पंखा)मा रगत चढाएको उनले सम्झिए। बर्ड हाँस्दै बोले, “जोमसोम विमानस्थलको धावनमार्ग सानो रहेछ, डर लाग्ने रहेछ। यसका लागि भगवान्लाई सम्झिनु राम्रै होला।”
गत वर्ष चर्चामा रहेको ओपनहाइमर फिल्म उनकै पुस्तक अमेरिकी प्रोमिथस : द ट्रायम्प एन्ड ट्र्याजेडी अफ जे. रोबर्ट ओपनहाइमर मा आधारित थियो। सन् २००५ मा उनले मार्टिन जे. शेरविनसँग मिलेर यो पुस्तक लेखेका थिए। यो पुस्तक भौतिकशास्त्री जे. रोबर्ट ओपनहाइमरको जीवनीमा आधारित छ। रोबर्ट ओपनहाइमरलाई ‘परमाणु बमका पिता’ भन्ने गरिन्छ।
गत वर्ष क्रिस्टोफर नोलानको निर्देशनमा बनेको चलचित्र ओपनहाइमर सोही पुस्तकमा आधारित थियो। फिल्म प्रदर्शनमा आएसँगै लेखक बर्डको पुस्तकको पनि चर्चा चुलिएको हो।
पाकिस्तान र भारतबीचको द्वन्द्व, उनीहरूसँग भएको परमाणु बम र त्यसले नेपाल लगायत हिमाली क्षेत्रमा पार्ने असर र ओपनहाइमर पुस्तकसँगको सान्दर्भिकताबारे पत्रकार दीक्षितले प्रश्न गरे। लेखक बर्डले नेपालका छिमेकी राष्ट्र चीन, भारत, पाकिस्तानसँग बलियो हातहतियार रहेको उल्लेख गर्दै यसले नेपाल जस्तो सानो राष्ट्रमा असर पर्ने बताए।
आणविक बमको इतिहास आठ दशकको भए पनि अहिलेको अवस्था झनै खतरनाक भएको उनले सुनाए। “नेपालमा तपाईंका छिमेकी भारत, चीन र पाकिस्तानसँग साँच्चै खतरनाक आणविक हतियार छन्,” बर्डले भने, “अहिले उत्तर कोरिया, इजरायल, फ्रान्स र इङ्ल्यान्ड जस्ता देशहरूसँग पनि खतरनाक हतियार छन्। हामी धेरै खतरनाक समयमा बाँचिरहेका छौं।”
लेखक बर्ड पत्रकार हुन्। उनी पत्रकारिताबाट कसरी जीवनी लेखनतिर लागे भन्ने विषयमा पत्रकार दीक्षितले सोधे। लेखक बर्डले जीवनी लेखनमा संयोगवश आइपुगेको सुनाए।
उनले जीवनीका लागि व्यक्तिबारे अनुसन्धान गरेर उनीहरूको अनुभवलाई आफ्नो दृष्टिकोणबाट लेख्न सकिने बताए। जीवनी पनि उपन्यास जस्तै भएको उनको भनाइ थियो। लेखक बर्डले थपे, “उत्कृष्ट लेखन गरियो भने जीवनी पनि उपन्यास जस्तो लाग्नेछ।”
यो पुस्तक लेख्न लामो समय लागेको उनले सुनाए। यसको सहलेखन गरेका मार्टिन जे. शेरविनले सन् १९८० मा पुस्तक लेख्न शुरू गरेका थिए। दुई दशक अनुसन्धान गरेपछि सहकार्यका लागि आफूसँग आएको बर्डले बताए।
इतिहासको एक महत्त्वपूर्ण व्यक्ति भएकाले रोबर्ट ओपनहाइमरको जीवनी लेखेको उनको भनाइ थियो। “रोबर्ट एक जटिल व्यक्ति थिए, तपाईंले चलचित्रमा पनि हेर्नुभयो होला तर उनी इतिहासका एक महत्त्वपूर्ण व्यक्ति थिए,” बर्डले भने।
आणविक बम बनेपछिको नतीजाबारे रोबर्ट ओपनहाइमरको विचारबारे प्रश्न गरिएको थियो। त्यसको जवाफमा लेखक बर्डले रोबर्ट ओपनहाइमर आणविक बम बनेपछिको नतीजाबारे जानकार रहेको बताए। तर जापान हिटलरसँग मिल्न जाने खतरा देखेर बाध्यतामा आणविक बम बनाएको सुनाए।
दोस्रो विश्वयुद्धमा जापानको हिरोशिमा र नागासाकीमा आणविक बम प्रहार भएका थिए। हिरोशिमामा एक लाख २९ हजार र नागासाकीमा दुई लाख २६ हजारले ज्यान गुमाएका थिए। ज्यान गुमाउने अधिकांश सर्वसाधारण थिए, जसमा बालबालिका, महिला र वृद्धवृद्धा पनि थिए।
त्यो हृदयविदारक घटनापछि रोबर्ट ओपनहाइमरको धारणाबारे पत्रकार दीक्षितले लेखक बर्डलाई सोधे। लेखक बर्डले महाभारत को कथाका अर्जुन पात्रलाई रोबर्ट ओपनहाइमरसँग दाँजे।
“अर्जुनले लडाइँमा आफ्नै नातेदारलाई मार्नुपर्यो, उनी आफ्नो दायित्वबाट पछि हट्न सक्दैनथे,” लेखक बर्डले थपे, “ओपनहाइमरलाई पनि आणविक बमको परीक्षण सफल भयो, अब कुनै शहरलाई लक्ष्यित गरिनेछ र त्यहाँ बालबालिका, महिला, वृद्धवृद्धा नै पीडित हुनेछन् भन्ने थाहा थियो। तर विज्ञानका लागि यो गर्नुपर्ने थियो, उनी आफ्नो दायित्वबाट हट्न मिल्दैनथ्यो। ओपनहाइमर पीडामा भित्रभित्रै रोइरहेका थिए।”
आणविक बमका आविष्कारक रोबर्ट ओपनहाइमरले पनि कृष्णले अर्जुनलाई दिएका उपदेश पढेका थिए। उनले श्रीमद्भगवतगीता पढेका थिए। हिन्दू धर्मग्रन्थप्रति जिज्ञासु थिए। श्रीमद्भगवद्गीता लाई मूल लिपिमा अध्ययन गर्न उनले संस्कृत सिकेका थिए।
७२ वर्षीय बर्ड नेपाल आउजाउ गर्दै आएका छन्। पहिलो पटक सन् १९६९ मा नेपाल आएका उनी दोस्रो पटक सन् १९७३ आए। घुमफिरकै क्रममा सन् १९७३ नेपालको भ्रमण गरेका उनले फेरि सन् १९८० मा नेपाल आएका थिए।
उनकी पत्नी विश्व ब्यांकको कन्ट्री डाइरेक्टरका रूपमा नेपालमा खटिएपछि उनी सन् २००७ देखि २०११ सम्म नेपालमै बसेका थिए। त्यस्तै, सन् २०१५ मा भूकम्प जानुअघि पनि उनी नेपालमा थिए। पछिल्लो पटक लिटरेचर फेस्टिभलका लागि पोखरा पुगेका लेखक बर्डले आफ्नो आगामी योजनाबारे पनि सुनाए।
अमेरिकी वकील रोय कोनको जीवनीमा आधारित पुस्तकमा काम गरिरहेको उनले बताए। त्यसको प्रारम्भिक नाम ‘अमेरिकन स्काउन्डलर’ रहेको समेत लेखक बर्डले सुनाए।
यो पनि पढ्नुहोस् : ‘आणविक हतियारको खतरा सकिएको छैन’