हार्वर्ड विश्वविद्यालयमा नेपाली पानी बिरालो पछ्याउँदा
![हार्वर्ड विश्वविद्यालयमा नेपाली पानी बिरालो पछ्याउँदा](https://www.himalkhabar.com/uploads/posts/800X600/pani-biralo-1708163986.jpg)
हार्वर्ड विश्वविद्यालयको चक्कर लगाएर फर्किंदा आठ दशकअघि नेपालबाट अमेरिका लगिएको त्यही पानी बिरालो आँखामा नाचिरह्यो।
सागर दाहालहार्वर्ड विश्वविद्यालयको ‘कम्पेरेटिभ जूलोजी डिपार्टमेन्ट’ मा रहेको संग्रहालयको सानो लिफ्ट चढेर माथि उक्लिएँ। संगृहीत थुप्रै प्राकृतिक तथा खनिज सामग्री हेर्दै एशिया खण्डमा पुगें, जहाँ एशियामा पाइने प्राणी संगृहीत छन्।
पाटे बाघ, चितुवाका नमूना दुरुस्त थिए। झट्ट हेर्दा जिउँदै जस्ता लाग्थे। वैज्ञानिक तरीकाले ट्याक्सीडर्मी गरेर राखिएको प्राणीको छालाभित्र स्ट्रेलाइज गरिएको कपास, पोलिस्टेरोल फाइबर, फोम जस्ता वस्तु राखेर सजीव जस्तो बनाइन्छ ।
पाटे बाघ भएकै सिसाको बाकसमा फिशिङ क्याट अर्थात् पानी बिरालो (मलाहा बिरालो) र ध्वाँसे चितुवा प्रजातिको सानो बिरालो पनि राखिएका थिए। ११ वर्षदेखि पानी बिरालोबारे अध्ययन गरिरहेको म संग्रहालयको एशिया खण्डमा पाइने प्राणीमा पानी बिरालो देख्दा पुलकित भएँ। के गरौं, कसो गरौं जस्तो भयो।
हार्वर्डको संग्रहालयमा पानी बिरालो देख्ने बित्तिकै नेपालको झल्को आयो। कसरी यहाँ आइपुग्यो होला भन्ने खुल्दुली लाग्यो। हुन त म पनि कहाँ सजिलै लेखानीबाट हार्वर्ड भएको देशमा पुगेको थिए र!
उदयपुरको लेखानीबाट विराटनगर झरेका आमाबुबासँग छुट्टिएर काठमाडौं पढ्न निस्किँदा खुशीसँगै छुट्टिनुको पीडाले चिथोरेको थियो। त्रिचन्द्र कलेजमा स्नातक तह पढेपछि स्नातकोत्तरका लागि कीर्तिपुर पुगें। केन्द्रीय प्राणीशास्त्र विभागबाट स्नातकोत्तर सकेर केही वर्ष प्राणी अनुसन्धान र संरक्षणको काममा संलग्न भएपछि अमेरिकाको फ्लोरिडा आउने मौका जुर्यो।
फ्लोरिडामा विद्यावारिधि अध्ययनका क्रममा कामको पेलानले थकित भइसकेको थिएँ। बिदामा कतै घुम्न पाए हुन्थ्यो जस्तो लागिरहेको थियो। अमेरिकामा घुम्ने ठाउँ त निकै छन्, मलाई भने हार्वर्ड विश्वविद्यालय जान मन थियो।
एउटा कार्यपत्र प्रस्तुत गर्न बोस्टन जान लागेका साथी विप्लव दाहालसँगको कुराकानीपछि म पनि तयार भएँ। मेटेरियल साइन्सका विद्यार्थी विप्लवले ‘कसरी प्रभावकारी रूपमा सोलार सेल्स बनाउन सकिन्छ’ भन्ने विषयमा फ्लोरिडा अन्तर्राष्ट्रिय विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका छन्।
उनी पनि पहिलो पटक बोस्टन जाँदै थिए। पुरानो शहरमध्ये एक बोस्टनलाई अमेरिकाको शैक्षिक राजधानी पनि मानिन्छ, जहाँ हार्वर्ड र बोस्टन सहित ५० भन्दा बढी विश्वविद्यालय तथा कलेज छन्।
कात्तिक-मंसीरमा फ्लोरिडाको मायामीको मौसम नेपालको तराईको दशैं-तिहारको वेला जस्तै हुँदो रहेछ। न धेरै गर्मी न त जाडो। यसको विपरीत बोस्टन पुग्दा भने चिसो बढिसकेको थियो। काठमाडौंको पुस-माघभन्दा पनि कडा चिसो। नोभेम्बर महीनामा बोस्टनको तापक्रम अधिकतम ९ देखि १२ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २ देखि ५ डिग्री सेल्सियस रहेछ।
२८ नोभेम्बर २०२३ मा हामी मायामी अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै साढे तीन घण्टाको हवाई उडानबाट बोस्टन पुग्यौं। मायामीबाट मध्याह्नतिर उडेका हामी बोस्टन पुग्दा दिन ढल्ने तर्खरमा थियो। होटल पुग्दा त झमक्क साँझ। बोस्टनमा ऐतिहासिक महत्त्वका स्थान फ्रीडम पार्क, स्टेट हाउस नजिकै रहेको म्यारियट होटलमा वास बस्यौं।
होटलको ३०औं तलामा रहेछ, कोठा। शुरूआतमा त ओहो त्यति माथि जस्तो लाग्यो तर झ्यालबाट बोस्टन शहरको झिलिमिली नियाल्दा उचाइमा हुनुको आनन्द महसूस भयो।
![boston (2).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/pani biralo_sagar dahal/boston (2).jpg)
नेपालबाट फ्लोरिडा हुँदै बोस्टन पुगेका हामीले दुई भिन्न ठाउँलाई आफ्नो लक्ष्य बनाएका थियौं। म हार्वर्ड जान चाहन्थें, विप्लव एमआईटी। बोस्टनका ऐतिहासिक र घुम्नलायक ठाउँबारे खोजबिन गरिसकेका थियौं।
जसरी बन्दीपुरका नेवार समुदायका व्यापारीले भरतपुरमा बजार बसाएका थिए, त्यसैगरी बोस्टनमा पनि बेलायतबाट १७औं शताब्दीको शुरूआतमै आएका व्यापारीले शहर बसाएका रहेछन्। बोस्टन, म्यासाचुसेट्, न्यू ह्याम्प्शाएर, रोद आइल्यान्ड र भर्मोन्टलाई न्यू इङ्ल्यान्ड भनिंदो रहेछ। बोस्टन न्यू इङ्ल्यान्डको सबैभन्दा ठूलो शहर।
त्यो साँझ होटल नजिकै रहेको सन् १८४८ मा स्थापित बोस्टन पुस्तकालय घुम्न निस्क्यौं। सार्वजनिक पुस्तकालयविहीन देशभन्दा फरक नपर्ने नेपालबाट गएका हामी बोस्टन पुस्तकालयको भव्यताले तिलमिलायौं। बोस्टनमा रहेका विश्वविद्यालयका विद्यार्थीले पुस्तकालय गुल्जार भएको लख काट्यौं।
हामीले पढेको त्रिचन्द्र कलेजमा पनि पुस्तकालय त छ तर अव्यवस्थित। बिहान १० बजेदेखि खुल्ने पुस्तकालय अपराह्न साढे ३ बजे नै बन्द हुन्थ्यो, राति पढ्न पाउनु त कहाँ हो कहाँ! कीर्तिपुरको त्रिवि केन्द्रीय पुस्तकालयको कथा पनि उस्तै छ।
मैले २०६१ देखि २०६३ सालसम्म बीएस्सी पढ्दाको वेलाभन्दा अहिले त्रिचन्द्र कलेजको अवस्था नाजुक छ। राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा १९७५ सालमा खुलेको १०० वर्ष पुरानो त्रिचन्द्र कलेज भौतिक, प्रशासनिक र प्राज्ञिक हिसाबले कमजोर हुँदै गएको छ। यता बोस्टनमा भने २०० वर्षअघि स्थापना भएका विश्वविद्यालय तथा कलेजले विश्वभरका उम्दा शिक्षार्थीलाई अध्ययन तथा अनुसन्धानका लागि आकर्षित गरिरहेका छन्।
![boston (4)-1.jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/pani biralo_sagar dahal/boston (4)-1.jpg)
बोस्टन पुस्तकालयको भव्यता आँखाभरि सजाएर शहर घुम्न निस्कियौं। राति बोस्टनको सिरेटोले हानिरहेकै थियो। लङकोट, ऊनी गलबन्दी र अंग्रेजी टोपले पनि चिसो छेक्न सकेको थिएन। दुई घण्टा बोस्टन शहरको फन्को लगाउँदा कता कता काठमाडौंतिरै भए झैं लाग्यो। कहिले कालीमाटी, टेकु त कहिले न्यूरोड गए झैं भइरह्यो। काठमाडौं व्यवस्थित हुन नसक्दा आफ्नो भव्यता गुमाइरहे जस्तो लाग्यो, बोस्टनको चक्कर लगाउँदा।
भोलि पल्ट बिहान ७ बजे नै एमआईटीतिर लाग्यौं। चार्ल्स नदी पार गरेर टोपी उडाउने हावा छिचोल्दै एमआईटी पुग्दा एकातिर रमाइलो लागिरहेको थियो भने अर्कातिर चिसोले नाक र मुख रातो बनाएको थियो।
चिसोको परवाह नगरी एमआईटीको भौतिकशास्त्र विभागतिर लाग्यौं। एमआईटीका भवनहरू हाम्रै त्रिचन्द्र कलेजकै प्रारूपका थिए। दुई घण्टा एमआईटी घुमेपछि हार्वर्ड विश्वविद्यालयतिर लाग्यौं।
हार्वर्ड विश्वविद्यालयको पनि ‘हार्वर्ड म्यूजियम अफ न्याचुरल हिस्ट्री’ घुम्न मन थियो। थाकेका थियौं, हिंड्न सकिएन। बस चढेर जाने सहमति गर्यौं।
एकै छिनमा एउटा बस आयो। चढ्न खोज्दा रोक्यो। हार्वर्ड विश्वविद्यालयका विद्यार्थीले मात्र चढ्न पाउने रहेछन्। एक जना चिनियाँ मूलकी विद्यार्थी परिचयपत्र देखाउँदै बस चढिन्।
विद्यार्थी कार्ड देखाएर बस चढ्ने सुविधा घत लाग्यो। कीर्तिपुर जान-आउने विद्यार्थीलाई पनि त्यस्तै सुविधा भए कस्तो राम्रो हुन्थ्यो! त्योे बस चढ्न नपाएपछि ट्याक्सी चढ्नुको विकल्प रहेन।
![boston (1)-1.jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/pani biralo_sagar dahal/boston (1)-1.jpg)
ट्याक्सीको झ्यालबाट बोस्टनका घर हेर्दै हुइँकियौं। धेरैजसो घर पुरानै देखिए, ती पनि साना तर चिटिक्क परेका। बाटो पनि काठमाडौंका जस्तै साँघुरा नै थिए। तर आधुनिक शहरको आवश्यकतालाई सम्बोधन गर्ने गरी व्यवस्थित पारिएका, सडकमुनिबाट बाटो काट्ने अन्डरपास धेरै।
काठमाडौंमा मात्र नभई बाहिरी शहरमा पनि बाटो काट्न आकाशे पुल बनेका छन्। अझै नयाँ नयाँ आकाशे पुल बनिरहेका छन् तर अन्डरपास त कतै देखिंदैन। नेपालमा मैले देखेको अन्डरपास भनेको पिंगलास्थानमा रहेको पशुपति जाने बाटो मात्रै हो।
पूर्वाधार विकासको दृष्टिले हेर्दा आकाशे पुलको साटो उकालो परेको ठाउँमा अन्डर पास बनाउँदा लागत कम हुन्थ्यो कि! गाडीलाई उकालो-ओरालोले फरक नपर्ला, बूढापाकालाई भने भर्याङ उक्लने-ओर्लने आकाशे पुलभन्दा अन्डरपास सजिलो हुन्छ।
बोस्टन र काठमाडौंमा अर्को समानता हो- मेयर। बोस्टनकी मेयर पनि काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) जस्तै अल्पसंख्यक समुदायबाट चिनियाँ मूलकी मिसेल हु छिन्। बोस्टनकी मेयर हुले केही निःशुल्क सार्वजनिक बस सेवा शुरू गरेकी रहिछन्। बस, मेट्रो लगायत सार्वजनिक यातायातको राम्रो सुविधा भएको बोस्टनमा कार चलाउनु र पार्किङ गर्नु गाह्रो हुँदो रहेछ।
बोस्टन र काठमाडौंमा यथार्थ र कल्पनामा रमाउँदा रमाउँदै हार्वर्ड म्यूजियम अफ न्याचुरल हिस्ट्री पुगेको पत्तै पाइएन।
हार्वर्ड विश्वविद्यालयको ‘कम्पेरेटिभ जूलोजी डिपार्टमेन्ट’ मा रहेको यो म्यूजियम पुग्दा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय प्राणीशास्त्र विभागको झलझली याद आयो। जहाँ मैले दुई वर्ष बिताएको थिएँ।
![Clouded Leopard_Harvard Museum.jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/pani biralo_sagar dahal/Clouded Leopard_Harvard Museum.jpg)
जूलोजी अर्थात् प्राणीशास्त्रलाई अचेल ‘क्लासिक’ विषय ठानिन्छ। नयाँ विश्वविद्यालयमा यस विषयमा पढाइ हुँदैन। हार्वर्ड, अक्सफोर्ड, क्याम्ब्रिज, दिल्ली युनिभर्सिटी जस्ता पुराना विश्वविद्यालयले मात्रै ‘जूलोजी’ पढाउँछन्। नयाँ विश्वविद्यालयमा ‘जूलोजी’ लाई वाइल्डलाइफ साइन्स, इकोलोजी, इन्भाइरोमेन्ट साइन्स अन्तर्गत पढाइन्छ।
म्यूजियममा रहेको सानो लिफ्ट चढेर माथि उक्लियौं, जहाँ थुप्रै प्राकृतिक तथा खनिज सामग्री संगृहीत थिए। घुम्दै जाँदा पुगिएको एशिया खण्डमा देखिएको पानी बिरालोले नेपालको याद दिलाएको थियो।
नेपालमा छँदा अध्ययनका क्रममा कोशी नदी क्षेत्रमा पानी बिरालोलाई प्रत्यक्ष देख्ने मौका पाएको थिएँ। त्यसैगरी, एमएस्सीको थेसिस गर्दा पनि चितवन राष्ट्रिय निकुञ्जमा पानी बिरालोलाई खोरमा थुनेर त्यसका विविध पाटामाथि अध्ययन गरेको थिएँ। त्यसबारे जर्नल लेख पनि लेखेको थिएँ।
![Fishing cat_Havard Museum.jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/pani biralo_sagar dahal/Fishing cat_Havard Museum.jpg)
नेपाल बाहेक एशियाका भारत, पाकिस्तान, बाङ्लादेश, श्रीलंका, कम्बोडिया, थाइल्यान्डमा पनि पाइने पानी बिरालो कसरी हार्वर्ड पुग्यो भन्ने कौतूहल जाग्यो। आजभन्दा ८८ वर्षअघि ल्याइएको रहेछ।
संग्रहालयमा भएका अभिलेख पल्टाउँदा त्यो पानी बिरालो नेपालबाटै लगिएको भेटियो। त्यो थाहा पाउँदा भने औडाहा भयो। त्यो पनि बेलायती कम्पनीले विश्वविद्यालयलाई बेचेको रहेछ।
विश्वविद्यालयको अनलाइन डाटाबेसमा हार्वर्ड विश्वविद्यालयले त्यो पानी बिरालोलाई सन् १९३६ मा ब्रिटिश ट्याक्सीडर्मी कम्पनी रोल्यान्ड वार्डसँग किनेको उल्लेख छ। बेलायतको कम्पनीले नेपालको कुन ठाउँबाट लगेको भन्ने चाहिं खुलाएको छैन।
![Book Keeping of Species.jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/pani biralo_sagar dahal/Book Keeping of Species.jpg)
सन् १९२३ मा हिन्टन र फ्राईले जर्नल अफ बम्बे न्याचुरल हिस्ट्री सोसाइटीको २९औं भोल्युमको पृष्ठ ४१५-४२८ मा त्यति वेला मोरङको बंगकल्वा (हाल सुनसरीमा)मा पानी बिरालो पाइएको उल्लेख गरेका छन्। त्यो स्थानमा अझै पनि पानी बिरालो पाइन्छ। मैले सन् २०१६ मा गरेको अध्ययनमा त्यसको पुष्टि भएको थियो।
बेलायतका तर्फबाट नेपालमा पहिलो आवासीय राजदूतका हैसियतमा आएका एफएम बेलीले नेपालका धेरै ठाउँमा पाइने पन्छी तथा अन्य प्राणी प्रजाति संकलन गरेका थिए। उनी मार्फत पनि ती प्राणी विदेशिएको अनुमान पन्छीविद् हेमसागर बरालको छ।
औपनिवेशिक कालमा अध्ययन अनुसन्धानका लागि प्राणी तथा जीव संकलन गरिन्थ्यो। यसै सन्दर्भमा सन् १८७९ मा तत्कालीन इस्ट इन्डिया कम्पनीले हात्ती संरक्षणका लागि भनेर एउटा कानून बनाएको थियो, जसको मुख्य उद्देश्य हात्तीको दाराबाट हुने व्यापारमाथि बेलायती आधिपत्य स्थापित गर्नु थियो। भारतमा बेलायतको आधिपत्य भएको त्यस समयमा स्थानीय प्राणीलाई मारेर शोख र सजावटका लागि यूरोप-अमेरिका लगिने व्यवसाय पनि फस्टाएको थियो। किनभने त्यस वेला प्राणी चोरी शिकारी विरुद्ध कुनै नियम-कानून बनेका तथा बनाइएका थिएनन्।
त्यसैगरी, हार्वर्ड संग्रहालयमा सन् १९३६ मा भारतको आसामबाट लगिएको ध्वाँसे चितुवा पनि राखिएको छ। यससँगै सन् १८९८ मा तिब्बतबाट लगिएका जंगली चौरी गाई हेर्न सकिन्छ। त्यस बाहेक संग्रहालयमा डाँफे, चित्तल, नेप्टे चमेरो लगायत नेपालमा पाइने थुप्रै जीव पनि छन्।
नेपालमा तराईका सिमसार तथा नदी किनारका जलक्षेत्र पानी बिरालोका मुख्य वासस्थान हुन्। कोशी टप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बारा जिल्लामा भएका माछापोखरी, बर्दिया राष्ट्रिय निकुञ्ज, जगदीशपुर ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पानी बिरालो पाइएका छन्। पानी बिरालो संरक्षित क्षेत्र तथा मानव प्रभावित भूक्षेत्रमा पाइन्छ।
राति सक्रिय हुने पानी बिरालोलाई विरलै देख्न सकिन्छ। ओसिलो र न्यून तापक्रम हुने होचो ठाउँमा बस्ने पानी बिरालोको पैतालामा पौडिन सजिलो बनाउने खालको जाली हुन्छ। यसको शारीरिक बनोट पानीमा शिकार खेल्न मिल्ने गरी बनेको हुन्छ।
![boston (3).jpg](https://www.himalkhabar.com/uploads/editor/himal_saptahant/pani biralo_sagar dahal/boston (3).jpg)
यसको मुख्य आहारा स्वस्थ्य र स्वच्छ पानीमा हुने माछा हो। माछा खाइदिने हुँदा माझी बस्तीमा यसलाई दुष्ट प्राणी मानिन्छ। कतिपय ठाउँमा यसलाई मारेर खाने पनि गरिएको पाइन्छ। यसले मुसा पनि खाने हुँदा कृषि सहयोगी प्राणी पनि मानिन्छ। जलाधार क्षेत्रमा बस्ने पानी बिरालोको वासस्थान मासिनु नै संरक्षण चुनौती हो। यसलाई जोगाउन जलाधार संरक्षणलाई नै मुख्य प्राथमिकतामा राख्नुपर्छ।
हार्वर्डको चक्कर लगाएर निस्किँदा त्यही पानी बिरालो आँखामा आइरह्यो। म त हार्वर्डबाट फर्किएँ तर नेपालबाटै लगिएको पानी बिरालो भने फर्किनेछैन। यस्तै कति प्राणी नेपाल नफर्किने गरी विदेश लगिएका छन्।
हार्वर्डमा जस्तै अरू कति ठाउँमा नेपालका अमूल्य जैविक विविधताका अवशेष रहेका होलान्। तिनमाथि अनुसन्धान गर्न सकियो भने हाम्रो यस क्षेत्रको प्राणी इतिहासको नयाँ आयाम खुल्ने थियो।
(दाहाल फ्लोरिडा इन्टरन्याशनल युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गर्दै छन्।)